+
+
Shares
काठमाडौं-५ स्थलगत :

ईश्वर पोखरेललाई मतदाताले भने- नेताहरूको बोलीमा लगाम लगाउनुस्

नेकपा एमालेका नेता ईश्वर पोखरेल पुनः काठमाडौं-५ बाट उम्मेदवार छन् । दिनहुँ चुनाव प्रचारमा हिँडिरहेका पोखरेललाई मतदाताले पार्टी अध्यक्ष केपी शर्मा ओली र नेतृ रामकुमारी झाँक्रीको बोलीमा लगाम लगाउन भनेका छन् ।

लिलु डुम्रे लिलु डुम्रे
२०८२ फागुन ८ गते १९:३७

८ फागुन, काठमाडौं । निर्वाचन आयोगले ४ फागुनबाट प्रतिनिधिसभा उम्मेदवारका लागि प्रचारप्रसार सुरु गर्ने अवधि तोकेसँगै नेकपा एमालेका नेता ईश्वर पोखरेलको दैनिकी फेरिएको छ ।

काठमाडौं-५ का उम्मेदवार पोखरेलले आसन्न चुनावका लागि मतदाता भेटघाट एवं घरदैलो ४ फागुनबाटै सुरु गरे । पछिल्ला दिनमा बिहान-बेलुका मतदाताको घरघरमा पुग्ने उनको दैनिकी नै भएको छ । उनको दिउँसोको समय भने क्षेत्रमा हुने सार्वजनिक कार्यक्रम, फरकफरक क्षेत्रमा आवद्ध व्यक्तिहरूसँग भेटघाट गर्दै बित्ने गरेको ५ ।

फागनु ७ गते (बिहीबार) बिहानका लागि पोखरेलले घरदैलो गर्ने स्थान छुट्याएका थिए बाँसबारी क्षेत्र । उनले काठमाडौं महानगरपालिका-३ कपनमार्ग पिपलबोटबाट बिहीबार बिहानको घरदैलो प्रचार सुरु गरे ।

ब्यानर, प्रचार सामग्री, एमालेको पक्षमा बनेका गीत बजाउँदै बिहान ८:३० बजे पिपलबोटबाट प्रचार टोली पश्चिमतिर लाग्यो । २-४ घर पश्चिम लाग्नासाथै एमालेका स्थानीय नेताहरूले एक घरमा पोखरेललाई प्रवेश गराए ।

वृद्ध नागरिकले पोखरेललाई शुभकामना दिए । अस्वस्थ ती वृद्ध पोखरेलसँग उभिएर केही बोल्न खोज्दै गर्दा अर्की महिला आएर पोखरेललाई टीका लगाइदिइन् । जितको शुभकामना दिइन् । धैरै वर्ष पहिले पोखरेलसँग राजविराजमा भेट भएको त्यो बेलाको स्मरण गराइन् । पोखरेलले तत्कालीन समय सम्झँदै भने, ‘हो हो ।’

घरदैलोको अगुवाइ प्रेम थापाले गरेका थिए । थापा महानगरपालिका-३ मा एमालेबाट जितेका वडाध्यक्ष हुन् । कपनमार्गबाट अघि बढेको प्रचार टोली गोपीकृष्ण मार्गतिर अघि बढ्यो ।

एमालेलाई मत दिनुपर्ने कारण लाउडस्पिकरबाट प्रचार गरिएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गरेको बेलामा भएका कार्यलाई चुनावी प्रचार सामग्री बनाइएको थियो ।

नेपालको भूभाग समेटेर सार्वजनिक गरिएको चुच्चे नक्सा, सगरमाथाको उचाइ मापन लगायतका कार्य एमालेबाट सम्भव भएको दाबी सहितको चुनावी प्रचार गरिएको थियो । एमालेको प्रचारमा छुट्दै नछुट्ने चुनावी गीत त छँदै थियो, ‘सै पनि एमाले । मै पनि एमाले ।’

सल्लाघारी टोल नजिक पुग्नै लाग्दा पोखरेलाई स्वागत गर्न एउटा परिवार अबिर, फूलमालासहित प्रतीक्षा गरिरहेको थियो । फराकिलो प्राङ्गण भएको घरमा पोखरेललाई अघि बढाएर प्रचार टोली छिर्‍यो । वृद्ध महिला र उनका छोराले स्वागत गरे ।

वडाध्यक्ष प्रेम थापाले वृद्धालाई आग्रह गरे, ‘सूर्यतिर हैर्दै आर्शिवाद दिनुस् है आमा ।’ उनले टीकासहित माला लगाएर जितको शुभकामना दिइन् । सल्लाघारी टोलमा मतदाताहरूका घरघरमा मत माग्दै प्रचार टोली अघि बढ्दै थियो ।

सल्लाघारी टोलबाट प्रचार टोली नर्सरी लेनतिर अघि बढ्दै गर्दा अनलाइनखबरसँग स्थानीय एक महिला चुनावी कुरा गर्न तयार भइन् । हामीले सोध्यौं, ‘दिदी, यता वरपर के भन्छन् ? चुनावी माहोल कस्तो छ ?’

उनले जवाफ दिइन्, ‘उम्मेदवार आउँदा भोट दिँदैनौ भन्ने कोही हुँदैनन् ।’

यो टोलमा प्रचार सकेर नर्सरी लेनमा पोखरेलको घरदैलो सुरु भयो । यस टोलमा पोरखेलका पक्षमा खुलेर बोल्ने मतदाता अलि धेरै देखिए । नर्सरी लेनमा जति घरको गेट खोलेर पोखरेललाई घर भित्र प्रवेश गराइयो । ती सबै घरधनीले पोखरेललाई ढुक्क बनाए ।

यही टोलका एक मतदाताले पोखरेलाई विश्वस्त बनाउँदै भने, ‘हामीलाई भन्नै पर्दैन ।’ पोखरेलले जवाफ फर्काए, ‘मैले मत माग्ने आफ्नो जिम्मेवार त गर्नुपर्‍यो नि ।’

पोखरेल जति घरमा पस्थे, ५० वर्ष उमेर पार गरेका र वृद्ध उमेर समूहका घरधनी भेटिन्थे । पोखरेल विगतमा भएको भेट स्मरण गर्थे । मतदाताहरू ‘हो हो’ भन्थे । उनी सञ्चो-बिसञ्चो सबैजसो मतदातासँग सोध्थे ।

पोखरेलका चुनावी एजेन्डाका विषयमा कहीँकतै मतदाताले प्रश्न सोधेनन् । नर्सरी लेन टोलमा भने उनलाई एक मतदाताले पार्टी केन्द्रित सुझाव दिए । एमाले अध्यक्ष ओली र केन्द्रीय सदस्य रामकुमारी झाँक्रीको बोलीप्रति असन्तुष्ट ती मतदाताले भने, ‘धेरै बोल्न भएन भनिदिनुस् न ।’

पोखरेलले उनको हात समाउँदै टाउकोले इशारा गरे । फर्कनै लाग्दा पोखरेलले आफ्नो बोलीप्रति मतदातासँग सोधे, ‘हाम्रो बोलीमा केही तलबितल भएको त पाउनु भएको छैन नि ?’

अब प्रचार गर्ने स्थान थियो- कार्की टोल । कार्की टोल गंगालाल अस्पतालको ठिक पछाडिको भागमा पर्छ । यो टोलमा पोखरेलले घरघर पुगेर मत माग्न परेन । टोलका केही-केही मतदाता एउटा घरको प्राङ्गणमा भेला भएका थिए ।

स्थानीय मतदातासँग साक्षात्कार गर्ने गरी कार्यतालिका बनाइएको थियो । यो टोलको समस्या र आफूले गरेका कार्यबारे वडाध्यक्ष प्रेम थापाले उम्मेदवार पोखरेललाई जानकारी गराए । यही वडामा रहेको १० रोपनी सरकारी जग्गा आफ्नो पहलमा फिर्ता भएको दाबी उनले सुनाए ।

८ रोपनी जग्गा रहेको र बाँसबारी क्लबको अगुवाइमा सञ्चालित खेल मैदान र व्यायामशाला गंगालाल अस्पताललाई फिर्ता गर्नुपर्ने दबाब आइरहेको भन्दै त्यसका लागि उम्मेदवार पोखरेलको साथ खोजे । पूर्वस्वास्थ्य मन्त्री प्रदीप पौडेलले अस्पतालको जग्गा फिर्ता गर्न पटकपटक ताकेता गरेको र दबाब दिएको भन्दै वडाध्यक्ष रुष्ट सुनिए ।

कार्की टोलका स्थानीयको समस्या, अपेक्षा उम्मेदवारलाई सुनाउनका लागि बाँसबारी क्लबका महासचिव समेत रहेका रमेश कार्कीलाई बोल्न समय दिइयो । कार्कीले पनि क्लबले स्थानीयका लागि प्रयोगमा ल्याएको जग्गा फिर्ता गराउन आइरहेको दबाबप्रति गुनासो राखे । कार्की टोलसँगै जोडिएको गंगालाल अस्पतालबाट स्थानीयका लागि छुट्टै सेवा-सुविधा पाउन नसकेको भन्दै गुनासो पोखे ।

वडाध्यक्ष र स्थानीय मतदाता कार्की बोलेपछि उनीहरूको मागप्रति धारणा राख्न उम्मेदवार पोखरेलको बोल्ने पालो आयो । स्थानीयलाई आश्वस्त पार्दै उनले भने, ‘यहाँका बासिन्दाको स्वार्थ र हितका लागि यो खुला अकुपाइ हुन दिइने छैन । त्यहाँ कुनै नाममा भौतिक संरचना खडा गर्ने र जनतालाई अप्ठ्यारो पर्ने काम हुन नदिने वचन दिन चाहन्छु ।’

गंगालाल अस्पतालबाट स्थानीयका लागि छुट्टै सुविधाको अपेक्षा गरेका स्थानीयलाई यस क्षेत्रमा बसोबास गर्नेलाई अस्पतालबाट विशेष सुविधा प्रदान गराउने भूमिका खेल्ने प्रतिबद्धता पोखरेलले जनाए ।

संवैधानिक व्यवस्था, तीन तहका सरकार र जनप्रतिनिधिले गर्ने फरकफरक कार्य छन् । संघीय सांसदको मूलतः नीति निर्माण गर्नका लागि भूमिका हुन्छ । तल्लो तहका सरकारले गर्न नसकेका कार्य व अप्ठ्यारा हटाउन आफ्नो भूमिका हुने पोखरेलले बताए ।

‘स्थानीय र प्रदेश तहले गर्न नसकेका अप्ठ्यारा काम जुन छन्, ती कामको मैले जिम्मेवारी लिन्छु । म तपाईंलाई वचन दिन चाहन्छु,’ पोखरेलले मतदातालाई आश्वस्त पारे ।

यो क्षेत्रमा पोखरेलका लागि अघिल्लो चुनावका दुई प्रतिस्पर्धी छन् । कांग्रेस महामन्त्री प्रदीप पौडेल दोस्रो पटक यही क्षेत्रबाट उठेका छन् । अघिल्लो पटक स्वतन्त्र उम्मेदवार बनेका श्री गुरुङ यस पटक उज्यालो नेपाल पार्टीबाट उम्मेदवार छन् । पोखेरल, पौडेल र गुरुङ अघिल्लो निर्वाचनका प्रतिस्पर्धी हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सस्मित पोखरेललाई उम्मेदवार बनाइएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कमल थापालाई उम्मेदवार बनाएको छ ।

२०७४ सालमा निर्वाचित भएका एमाले उम्मेदवार पोखरेलले २०७९ मा भने जित निकाल्न सकेनन् । २०७४ मा पोखरेलले कांग्रेसका प्रकाशशरण महतलाई फराकिलो मतान्तरले पराजित गरेका थिए ।

गत निर्वाचनमा भने कांग्रेसका उम्मेदवार पौडेलले पाँच हजार बढी मतान्तरले पोखरेललाई हराए । दोस्रो स्थानका पोखरेलले १० हजार १९० मत प्राप्त गर्दा निर्वाचित पौडेलले १५ हजार २६९ मत ल्याएका थिए ।

एमालेको ११औं महाधिवेशनमा एक पक्षको नेतृत्व गरेर अध्यक्षमा पराजित पोखरेल चुनावी एजेन्डासहित हरेक दिन मतदाताको घरदैलोमा पुगेका छन् । स्थानीय मुद्दालाई प्राथमिकतामा राखेर उनी प्रचारमा दिनहुँ मतदातासँग भेटघाट गरिरहेका छन् । क्षेत्रको विकासका लागि विभिन्न चुनावी एजेन्डा सार्वजनिक गरेका छन् ।

बुढानीलकण्ठ मन्दिरलाई अन्तर्राष्ट्रिय स्तरको धार्मिक पर्यटन गन्तव्य बनाउने पोखरेलेको प्रतिबद्धता छ । टोखाको चाकुलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने संकल्प उनले गरेका छन् ।

टोखा-छहरे सुरुङ मार्ग निर्माण अबिलम्ब अघि बढाई नेपाल–चीन अन्तरदेशीय राजमार्ग निर्माण गर्न आफ्नो जित आवश्यक रहेको पोखरेलको चुनावी एजेन्डामा उल्लेख छ ।

यस क्षेत्रमा रहेको हाँडीगाउँ, टुँडालदेवी, धरमपुर, बुढानीलकण्ठ, धापासी र टोखाको सांस्कृतिक जात्रा, स्थानीय कलालाई सम्बर्द्धन गर्ने प्रतिबद्धता उनले मततदातासँग गरेका छन् ।

यस क्षेत्रका सबै सामुदायिक विद्यालयलाई भौतिक र शैक्षिक रूपमा सक्षम बनाउन र संस्थागत विद्यालयसँग समन्वय बढाई बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्ने पोखरेलको वाचा छ ।

तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

लेखक
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?