+
+
Shares

गुल्मी-१ मा आलोपालो इतिहास : फेरिन सक्छ परम्परागत गणित

मुख्य प्रतिस्पर्धा दुई नेताबीच देखिए पनि पछिल्ला चुनावहरूमा वैकल्पिक राजनीतिक शक्तिहरूको प्रभाव बढ्दो छ । तेस्रो शक्तिको आक्रामक प्रवेशले यस पटक भने परम्परागत गणित फेरिन सक्ने देखिन्छ ।

अनिल खत्री अनिल खत्री
२०८२ फागुन १० गते १९:५०

१० फागुन, गुल्मी । गुल्मी क्षेत्र नम्बर १ विगत डेढ दशकदेखि राष्ट्रिय राजनीतिमा चासोको केन्द्र बन्दै आएको छ । यहाँको चुनावी नतिजाले केवल एक क्षेत्रको प्रतिनिधित्व तय गर्दैन, बरु राष्ट्रिय शक्ति सन्तुलनमा समेत सन्देश दिने गरेको छ ।

२०६४ सालदेखि सुरु भएको आलोपालो जितको शृङ्खलाले यस क्षेत्रलाई विशेष बनाएको छ । २०६४ सालको संविधानसभा निर्वाचनमा यो क्षेत्रबाट नेकपा (एमाले) का नेता प्रदीपकुमार ज्ञवाली विजयी बने । त्यसपछि २०७० सालको संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका डा. चन्द्र भण्डारीले जित हात पारे ।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा नतिजा उल्ट्याउँदै फेरि एमालेका ज्ञवाली विजयी भए । २०७९ सालमा कांग्रेसका भण्डारीले पुनः बाजी मारे ।

यसरी हेर्दा हरेक चुनावमा गुल्मी-१ का मतदाताले मत परिवर्तन गर्दै आएका छन् । यहाँ कुनै एक नेताको लगातार वर्चस्व स्थापित हुन सकेको छैन । यो क्षेत्रमा मुख्य प्रतिस्पर्धा प्रायः नेकपा एमाले र नेपाली कांग्रेसबीच हुँदै आएको छ ।

एमाले नेता ज्ञवाली राष्ट्रिय राजनीतिमा परराष्ट्र मन्त्रीसम्म भइसकेका अनुभवी नेता हुन् । उनी विकास, पूर्वाधार र राष्ट्रियताका मुद्दा उठाउँदै मतदातासमक्ष जाने गरेका छन् ।

कांग्रेस नेता डा. भण्डारी सामाजिक न्याय, स्वास्थ्य, शिक्षा र स्थानीय विकासका एजेन्ड अघि सार्दै आएका छन् ।

अब प्रश्न उब्जिएको छ, २०८२ मा कसको पालो ?

विगतको ट्रेन्ड हेर्ने हो भने यस क्षेत्रमा परिणाम बदलिने क्रम देखिन्छ । यदि त्यही प्रवृत्ति दोहोरियो भने यस पटक एमालेको पक्षमा परिणाम जान सक्ने आकलन कतिपयको छ । राष्ट्रिय राजनीति अस्थिर देखिएको सन्दर्भमा स्थानीय मतदाता स्थिर र प्रभावकारी प्रतिनिधित्व चाहने मनोविज्ञानमा रहेको विश्लेषकहरू बताउँछन् ।

मुख्य प्रतिस्पर्धा दुई नेताबीच देखिए पनि पछिल्ला चुनावहरूमा वैकल्पिक राजनीतिक शक्तिहरूको प्रभाव बढ्दो छ । यदि तेस्रो शक्तिले उल्लेख्य मत कटौती गर्‍यो भने परम्परागत गणित फेरिन सक्छ ।

युवा मतदाता र पहिलो पटक मतदान गर्ने पुस्ताको निर्णय निर्णायक हुनसक्ने आकलन गरिएको छ ।

सागर ढकालको प्रवेश : नयाँ तरंग

२१ फागुनको प्रतिनिधिसभा चुनावलाई विशेष बनाउने मुख्य कारण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सागर ढकालको उम्मेदवारी हो । २०७९ सालको निर्वाचनमा उनले डडेरधुराबाट पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएर राष्ट्रिय स्तरमा चर्चा बटुलेका थिए ।

उनले जित हासिल गर्न सकेनन् तर युवा, स्वतन्त्र र वैकल्पिक राजनीतिका पक्षधर उम्मेदवारका रूपमा आफ्नो पहिचान बनाएका थिए । अहिले उनी गुल्मी–१ बाट मैदानमा उत्रिएपछि परम्परागत दुई दलमाथि दबाब बढेको छ ।

युवा मतदाताको आकर्षण र वैकल्पिक राजनीतिक शक्तिप्रतिको रुचिले मत परिणाममा प्रभाव पार्न सक्ने आकलन भइरहेको छ ।

यस पटक नेकपाबाट उम्मेदवार बनेका सुदर्शन बराल पनि अर्को चुनौतीका रूपमा रहेका छन् । उनी पनि यस क्षेत्रबाट प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित भएका थिए ।

यस पटक चारकोणीय प्रतिस्पर्धाले मत विभाजनको सम्भावना बढाएको छ ।

यदि रास्वपाले उल्लेख्य मत काट्न सफल भयो भने एमाले र कांग्रेस दुवैको परम्परागत गणित बिग्रन सक्छ ।

गुल्मी–१ ले विगत १६ वर्षदेखि आलोपालो परिणाम दिँदै आएको छ । २०८२ सालको निर्वाचनले त्यो परम्परा तोड्ने कि निरन्तरता दिने भन्ने प्रश्नको उत्तर मतपेटिकाले दिनेछ ।

राजनीतिक रूपमा परिपक्व मानिएको यस क्षेत्रका मतदाताले सन्तुलित निर्णय गर्ने इतिहास रहँदै आएको छ ।

लेखक
अनिल खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?