चुनावी घरदैलो भन्ने बित्तिकै एउटा दृश्य आउँछ, उम्मेदवारको पछि–पछि हिँड्ने कार्यकर्ताको ताँती, ठूला–ठूला स्वरमा बज्ने माइकिङ र हात जोड्दै भोट माग्ने नेता । तर मोरङ क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट चुनावी मैदानमा उत्रिएका गणेश कार्कीको शैली भने केही फरक छ ।
उनी घरदैलोमा पुग्छन्, भाषण गर्न होइन, कुरा सुन्न । कार्कीको सुरुवाती थेगो नै छ– नमस्कार, म गणेश कार्की, मोरङ–३ को घण्टी उम्मेदवार । म आफ्ना कुरा बिस्तारै सुनाउँला, तर त्योभन्दा पहिले तपाईंका प्रश्न, सुझाव र जिज्ञासाहरू के छन्, सुन्न चाहन्छु ।
कार्की मतदाताले सोधेका प्रश्न र सुझावहरू डायरीमा टिप्छन् र त्यसपछि मात्रै आफ्ना कुरा राख्छन् ।
परम्परागत राजनीतिमा नेताले बोल्ने र जनताले सुन्ने एकोहोरो संवादले समाज र नेताबीचको दूरी बढाएका कारण नयाँ शैली अपनाएको उनी बताउँछन् । कार्की भन्छन्, ‘प्रश्न लोकतन्त्रको सबैभन्दा सुन्दर उपलब्धि हो । नागरिकका हातमा त्यो उपलब्धि हुनै पर्छ ।’
परम्परागत शैलीभन्दा अलिक फरक रूपमा घरदैलो गरिरहेका कार्कीसँग अनलाइनखबरका लागि हरि अधिकारीले गरेको कुराकानी :
मोरङ–३ मा चुनावी अभियान कस्तो चलिरहेको छ ?
अभियान एकदमै उत्साहजनक र आशावादी छ । विशेषगरी लामो समयदेखि राजनीतिक परिवर्तनको पर्खाइमा रहेका आम नागरिकका लागि हाम्रो उपस्थिति एउटा ठूलो भरोसा बनेको छ । धेरै ठाउँमा पुग्दा मतदाताहरूले हाम्रै मान्छे आएछ भनेर जुन आत्मीयता र सौहार्द्रपूर्ण व्यवहार देखाउनुभएको छ, त्यसले मलाई थप जिम्मेवार बनाएको छ । नागरिकमा अब त केही हुन्छ कि भन्ने एउटा आशा पलाएको छ ।
मतदाताको मुख्य अपेक्षा के देख्नुभयो तपाईंले ? उहाँहरू के भन्नुहुन्छ ?
मतदाताको एउटै स्वर छ, परिवर्तन अब अनिवार्य भइसक्यो । पुराना दल र उही अनुहारबाट मतदाता वाक्क भइसक्नुभयो । उहाँहरू नयाँ टेस्ट गरौँ भन्ने मुडमा हुनुहुन्छ । कतिपयले त ठ्याक्कै के भन्नुहुन्छ भने, तपाईंलाई भेटे पनि नभेटे पनि हाम्रो भोट त यसपालि घण्टीमै हो, तर तपाईं आफैँ आएर आफ्ना कुरा राखेपछि हामीलाई अरूलाई पनि भन्न र बुझाउन सजिलो भयो । मान्छेहरू सही र इमानदार नेतृत्वको खोजीमा छन् भन्ने कुरा स्पष्ट छ ।

मोरङ–३ को सबैभन्दा जटिल समस्या भनेको दोहोरो स्वामित्व र सुकुम्बासी समस्या हो । हरेक चुनावमा यो मुद्दा बन्छ तर समाधान हुँदैन । तपाईंसँग यसको समाधानका लागि केही ठोस खाका छ ?
मसँग यसको स्पष्ट खाका र कार्यतालिका दुवै छ । मेरो पहिलो प्राथमिकता भनेकै संसद्मा पुगेपछि भूमिसुधार, सुकुम्बासी समस्या र जग्गाको दोहोरो स्वामित्व अन्त्यका लागि ‘संकल्प प्रस्ताव’ पेस गर्नु हुनेछ ।
हामीले विकासका ठूला गफ गर्नुभन्दा पहिले मान्छेले टेक्ने जमिनको सुरक्षा गर्नुपर्छ । वर्षौँदेखि बसिरहेको घर आफ्नो कित्तामा छ कि छैन भन्ने अन्योलमा नागरिकलाई राख्नु राज्यको लाचारी हो ।
म संसद्मा पुगें भने ६ महिना भित्र कुन ऐन सुधार गर्नुपर्ने हो, कुन संरचना बदल्नुपर्ने हो, ती सबै टुङ्ग्याएर एउटा ‘रिपोर्ट कार्ड’ सहित मतदाताको माझमा आउने छु । सांसदहरूले आफ्नो कार्यकालको रिपोर्ट कार्ड बोकेर जनताको घरदैलोमा जानुपर्ने बाध्यकारी अवस्था हामी सिर्जना गर्नेछौँ ।
क्षेत्र नम्बर ३ कम्युनिस्ट गढ मानिन्थ्यो, जसलाई अघिल्लो चुनावमा कांग्रेस नेता सुनिल शर्माले तोड्नुभयो । उहाँले स्वास्थ्य सेवामार्फत मतदातालाई प्रभाव पारिरहनुभएको छ । यस्तो बलियो प्रतिस्पर्धामा तपाईंको नयाँ शक्तिले कसरी ठाउँ बनाउँछ ?
चुनौती त पक्कै छन्, तर यहाँका समस्याहरूमा आँखा चिम्लेर मसँग अस्पताल छ, त्यही दानमा बाँच भन्नु नागरिकको स्वाभिमानमाथिको प्रहार हो ।
अस्पतालबाट सेवा दिनु एउटा कुरा हो, तर जनप्रतिनिधिको रूपमा नीति निर्माण गर्ने र जनताको अधिकार स्थापित गर्ने अर्कै कुरा हो । मतदाताहरूले अब के बुझिसकेका छन् भने, अस्पतालले उपचार गर्ला, तर क्षेत्रको समग्र विकास र दीर्घकालीन समस्याको समाधान गर्ने काम संसद्को हो ।
उहाँले अस्पतालबाटै सेवा गर्दा झन् राम्रो हुन्छ । म संसदीय फाँटबाट नीतिगत सुधार र सुशासनको काम गर्नेछु । यसले त यो क्षेत्रलाई दोहोरो फाइदा पुग्छ नि ।

अन्त्यमा, तपाईंको क्षेत्रका मतदातालाई केही भन्न चाहनुहुन्छ ?
परिवर्तन हाम्रा लागि अब रहर होइन, बाध्यता बनिसकेको छ। विगतमा हामीले धेरै दललाई जिताएर पठायौँ, तर हाम्रा स्थानीय समस्याहरू कहिल्यै राष्ट्रिय मुद्दा बन्न सकेनन् । संसद्मा हाम्रा मुद्दाहरू जसरी उठ्नुपर्ने थियो, त्यसरी उठेनन् ।
मसँग ती समस्यालाई प्राथमिकताका आधारमा उठाउने क्षमता र योजना छ । त्यसैले, यस पटक आफ्नो र आफ्ना सन्तानको भविष्यका लागि परिवर्तनको पक्षमा उभिनुहोस् र घण्टीमा मतदान गरी मलाई सेवा गर्ने अवसर दिनुहोस् ।
प्रतिक्रिया 4