१४ फागुन, काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने २ उम्मेदवार र एक राजनीतिक दललाई कारबाही गर्ने निर्णय गरेको छ ।
केन्दीय निर्वाचन आचारसंहिता तथा अनुगमन समितिले नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार शक्तिबहादुर बस्नेत र स्वतन्त्र उम्मेदवार डा. निकोलस भूसाललाई आचारसंहिता उल्लंघन गरेको भन्दै २५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको हो ।
त्यसैगरी श्रम शक्ति नामको राजनीतिक दललाई पनि २५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको हो ।
न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै केन्द्रीय निर्वाचन आचारसंहिता तथा अनुगमन समितिका संयोजक समेत रहेका निर्वाचन आयुक्त सगुन शमशेर जबराले दुई जना प्रतिनिधि सभा सदस्य उम्मेदवार र एक राजनीतिक दललाई कारबाही गरिएको जानकारी दिए ।
आचारसंहिता उल्लंघन गरेको सम्बन्धमा सोधेको स्पष्टीकरण चित्तबुझ्दो नभएपछि आयोगले कारवाही स्वरुप २५ हजार रुपैया जरिवाना तिराउने नर्णय गरेको हो ।
‘आचारसंहिता उल्लङ्घनको उजुरी परेका छन् । उजरी परेर मात्र पनि हुँदैन आयोगलाई कारबाही गर्नको लागि प्रमाण पनि चाहिन्छ । मान्छेले कसैलाई दु:ख दिनको लागि पनि बिना प्रमाण अरुको नाम पोलिदिन पनि सक्छ । अहिले हामीले दुई जना उम्मेदवारलाई र एक राजनीतिक दललाई २५ हजार जरिवाना तिराएका छौं,’ उनले भने ।
आयोगमा मुलुकभर ३ सय बढी आचारसंहिता उल्लङ्घनका उजुरी परेका छन् । उनले निर्वाचन आयोगमार्फत ८२ जनालाई स्पष्टिकरण सोधिएको जानकारी दिए । तीमध्ये ५७ जनाबाट जवाफ प्राप्त भएको तथा ६ जना उम्मेदवारलाई पुन: स्पष्टिकरण सोधिएको पनि जबराले जानकारी दिए ।
‘दुई जना कर्मचारीलाई सचेत गराएका छौं । र आचारसंहिता ख्याल नगरेर एउटा संस्थानले कर्मचारीलाई निकालिदिएको भन्ने उजुरी परेको थियो । उनीहरुलाई पुनर्बहाली गर्न आयोगले निर्देशन दिएको छ,’ उनले भने, ‘अहिले देशभर सरदर ३ सय जना उम्मेदवारलाई स्पष्टीकरण सोधेका छौं । केन्द्रीय निर्वाचन आयोगबाट ८२ जनालाई स्पष्टीकरण सोधिएको छ । ६ जनाको स्पष्टीकरण चित्त नबुझेको कारण फेरी सोधिएको छ । ५७ जनाबाट जवाफ प्राप्त भएको छ ।’
प्रतिक्रिया 4