News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं वसन्तपुरकी ४० वर्षीया गीता कायस्थ श्रेष्ठले दुई साताअघि खुट्टाको शल्यक्रिया गरेपछि पहिलो पटक मतदान गरिन्।
- गीताका ८० वर्ष नाघेका ससुरा, दुबईबाट फर्किएका श्रीमान् र छोरीले पनि पहिलो पटक मतदान गरे।
- तीन पुस्ताले एकैचोटि पहिलो पटक मतदान गर्नु परिवारका लागि विशेष र स्मरणीय अनुभव बनेको छ।
२१ फागुन, काठमाडौं । संघीय राजधानी काठमाडौं वसन्तपुरकी ४० वर्षीया गीता कायस्थ श्रेष्ठ । दुई साताअघि मात्रै खुट्टाको शल्यक्रिया गरेकी थिइन् । हाल उनी भक्तपुर थिमि माइतीघरमै बस्दै आएकी छिन् । बैसाखीको सहायतामा हिँडडुल गर्दै आएकी उनले जीवनमै पहिलो पटक मतदान गरिन् ।
आज जारी प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनले पहिलो पटक मतदान गरेकी हुन् । त्यसका लागि उनी थिमिबाट स्कुटरमा चढेर वसन्तपुर डबलीस्थित हनुमानढोका सत्तल मतदान केन्द्र पुगेकी थिइन । जहाँ उनकी छोरीले मतदानका लागि सघाएकी थिइन् ।
उनको तीन पुस्ताले जीवनमै पहिलो पटक मतदान गरेको छ । गीताका लागि यो मतदान केवल व्यक्तिगत अनुभव मात्र थिएन, तीन पुस्ताको साझा क्षण पनि बन्यो ।
उनीसँगै उनका ८० वर्ष नाघेका ससुरा, दुबईबाट घर फर्किएका श्रीमान् र छोरीले पनि पहिलो पटक मतदान गरे ।
‘अहिले म ४० वर्ष पुगिसकेँ, पहिलो पटक नै हो मैले भोट हालेको, त्योभन्दा अगाडि भोट हाल्ने मलाई कुनै चाहना थिएन,’ उनले भनिन्, ‘अहिले केही परिवर्तन हुन्छ कि भनेर त्यसकै लागि आएका हौं ।’
उनले दुई साताअघि मात्रै खुट्टाको शल्यक्रिया गराएकी थिइन् । ‘मेरो फागुन ७ गते सर्जरी थियो, आज ठ्याक्कै १५ दिन भयो,’ गीताले भनिन्, ‘स्वास्थ्य अवस्था अझै पूर्णरूपमा ठिक भइसकेको छैन, तर पनि परिवर्तनको आशामा मतदान गर्न आएँ ।’
वैदेशिक रोजगारीका लागि दुबईमा रहेका उनका श्रीमान् गीताको शल्यक्रियाका लागि नेपाल आएका थिए । संयोगले निर्वाचन परेकाले उनले पनि मतदान गरे । ‘उहाँलाई पनि भोट हाल्ने चाहना थियो, उहाँले पनि पहिलो पटक भोट हाल्नुभयो,’ गीताले सुनाइन् ।
त्यस्तै गीताकी छोरी गण्डकी मेडिकल कलेजमा अध्ययनरत छिन् । कलेजमा बिदा भएपछि उनी पनि घर आइपुगेकी थिइन् । ‘छोरीले पनि पहिलो पटक भोट हालिन्, हामी तीन पुस्ताले एकैचोटि पहिलो पटक मतदान गरेका छौं,’ उनले गर्वसाथ भनिन् ।
गीताका अनुसार यसअघि उनको परिवारका कसैलाई पनि मतदानप्रति चासो थिएन । ‘पहिला केही परिवर्तन आएजस्तो लागेन, त्यसैले भोट हाल्ने चाहना पनि भएन,’ उनले भनिन्, ‘तर, अब नयाँ युवाहरूले केही गरोस् भन्ने चाहनाले हामी सबैलाई मतदान केन्द्रसम्म ल्यायो ।’
उनका अनुसार तीन पुस्ताले एकै पटक मतदान गर्नु परिवारका लागि विशेष र स्मरणीय अनुभव बनेको छ । ‘हामी सबैको चाहना एउटै हो- केही परिवर्तन होस्,’ उनले भनिन् ।
प्रतिक्रिया 4