काठमाडौं । जारी मतगणनाबीच अनलाइनखबरले यो ब्रिफिङ तयार पार्दासम्म ४५ सिटमा रास्वपा प्राय: धेरै ठाउँमा विशाल मतान्तरसहित अग्र स्थानमा छ ।
विशेष महाधिवेशनपछि बदलावको सन्देश लिएर मतदातासामु गएको कांग्रेसले आम समुदायमा त्यो सन्देश विस्तार गर्न सकेन । कांग्रेस ५ सिटमा अग्रतासहित दोस्रो स्थानमा देखिए पनि रास्वपासँग अन्तर ठूलो छ । सभापति गगन थापाल सर्लाही ४ मा नै दबाबमा छन् भन्ने हाम्रो टिमको आन्तरिक बुझाइ छ ।
यो चुनावले सर्वाधिक धक्का दिएको छ, एमालेलाई । अहिलेसम्म एमाले ३ सिटमा अग्रताको स्थानमा छ । अन्तिम परिणाम आउँदासम्म, अनि समानुपातिक तर्फको मत गन्दासम्म एमालेले केही सन्तोषजनक स्थान बनाउन सक्छ । तर ०७९ को चुनावमा पपुलर भोटमा एक नम्बर बनेको एमालेका अध्यक्ष केपी ओली, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेलसहित अधिकांश शीर्षस्थ नेता बढारिने पक्कापक्की छ ।
प्रचण्डले रुकुमपूर्वमा चुनाव जित्ने सम्भावना बलियो देखिँदा स्वयं नेकपा भने कमजोर आधारसहित चौथो स्थानमा बस्ने सम्भावना छ । अहिले नेकपाका २ उम्मेदवार अग्रतामा छन् ।
कुलमान घिसिङ नेतृत्वको उज्यालो पार्टी, हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको यो चुनावमा उल्लेख्य प्रभाव देखिँदैन ।
क्षेत्रीय पार्टीहरु ०६४ को चुनावपछि पहिलोपल्ट अस्तित्वको संघर्षमा छ । ०७९ मा उदाएको सीके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरी नेतृत्वको नाउपा समेत उही संघर्ष भोगिरहेको छ ।
आगामी संसदमा ५–६ भन्दा बढी पार्टीहरु नहुने सम्भावना देखिन्छ ।
रास्वपाले यही लहर कायम राखेमा ऊ संसदमा दुई तिहाइको हाराहारीमा हुन सक्ने छ ।
अनलाइनखबरका सहकर्मीहरुले देशैभरिका विभिन्न भेगमा गएर मतदाताहरुसँग गरेको कुराकानीबाट के बुझ्न सकिन्छ भने– काठमाडौं महानगरमा मेयर चलाउने क्रममा बालेन शाहले दिएको सुशासन र डेलिभरीको सन्देश सोसल मिडियाबाट जुन किसिमले प्रवाहित हुन सक्यो, त्यो नै यो चुनावी लहरको मुख्य कारक हो ।
त्यसपछि प्रवासी नेपालीहरुले आफ्नो घर, समुदायमा प्रवाह गरेको सन्देशमा निहित सुशासन, रोजगारी र स्वदेशमै अवसरको नारा बलियो बन्न गयो ।
मधेशको बहुसंख्यालाई पर्न गयो– नेपालको इतिहासमा पहिलोपल्ट मधेशी समुदायको व्यक्ति प्रधानमन्त्री बन्दै छ । उसले भ्रष्टाचार गर्दैन ।

विश्लेषक तुलानारायण साह भन्छन्– ‘सुशासन र पारदर्शिताका लागि बालेनले काठमाडौं मेयर हुँदा जुन काम गरे, त्यसको प्रभाव मधेशका गाउँसम्म परेको देखियो । छात्रवृत्तिमा काठमाडौंका स्कुल कलेजले सुलभ र पारदर्शी गराउँदा मधेशका विद्यार्थीले जुन लाभ पाए, तिनका परिवारले बालेनको मज्जाले प्रचार गरे ।’
यो चुनावमा याद गर्नुपर्ने के छ भने बलियो संगठन आधार भएको एमाले कार्यकर्ता पंक्ति स्वयं चलायमान देखिएन । यसअघि ०६४ मा धक्का खाए पनि त्यसबेला एमालेको आधार भत्केको थिएन । यसपल्ट पहिलोपल्ट त्यो संगठनात्मक आधार रास्वपा लहरको प्रहारमा मक्किएको छ ।
कांग्रेसले सभापति गगन थापाको नेतृत्वमा सय बढी नयाँ उम्मेदवार उठाए पनि बालेन क्रेजका अगाडि त्यो जित निकाल्ने सम्भावनातर्फ उन्मुख देखिएन । यो देशमा वर्षौंदेखि व्याप्त बेथितिको मूल जस कांग्रेस र एमालेले लिनुपर्ने, अनि माओवादी अर्थात् नेकपा पनि त्यसकै सारथि रहेको आम बुझाइ नै यस चुनावको परिणामलाई प्रभावित पार्ने तत्व रह्यो ।

र, अर्को कारण रह्यो जेनजी आन्दोलन । गत भदौमा भएको आन्दोलनमा राज्यले मच्चाएको हिंसा र त्यसपछि भएको उथलपुथल ब्यालेट बक्समा व्यक्त भएको देखिन्छ । चुनावका क्रममा धेरैले आन्दोलनमा बगेको खुनपसिना सम्झेर मतदान गर्नु भन्ने सन्देश प्रवाह गरे । सोसल साइटहरुमा त्यसको बलियो प्रभाव थियो ।
लामो समयदेखि एकोहोरो पुन:निर्वाचित हुँदै गरेका शक्ति अनि नेतालाई फेरि जित निकाल्न कहिले गठबन्धन बनाउने, अर्को गठबन्धनमा जाने जस्ता प्रवृत्ति पनि मतदाता रिसाउने कारक बने । यसअघि कांग्रेस, एमाले हरुलाई परीक्षण गरेका मतदाताले नयाँ अनुहारको खोजीमार्फत् परिवर्तनको इच्छा व्यक्त गरे ।
पार्टीहरुले समयमा आफूलाई नवीकरण गर्न नसक्दा जनताले नै विस्थापित गरिदिएको जानकारहरु बताउँछन् ।
समयमा महाधिवेशनमार्फत् नेतृत्व परिवर्तनको बाटोलाई खुला गर्न सकेको भए अहिलेको लहर सिर्जना नहुने उनीहरुको बुझाई छ ।
अब जनादेशको कदर गर्दै संयमित भएर योजना बनाउन उनीहरु दलहरुलाई सुझाव दिन्छन् ।
स्वयं रास्वपालाई पनि जनमतको सन्देश बुझेर अघि जाने दबाब हुनेछ । विगतमा माओवादी, कांग्रेस, एमालेले समेत यस्तै ठूला अवसर खेर फालेका कारण पनि रास्वपाले त्यसको शिक्षा लिनुपर्ने विश्लेषकहरु बताउँछन् ।
प्रतिक्रिया 4