News Summary
Generated by OK AI. Editorially reviewed.- गुगलका क्वान्टम अनुसन्धानकर्ताहरूले बिटक्वाइन र इथरियमको सुरक्षा प्रणाली क्वान्टम कम्प्युटरले कम शक्तिमा तोड्न सक्ने नयाँ ह्वाइटपेपर सार्वजनिक गरेका छन्।
- उच्च गुणस्तरका करिब १२०० देखि १४५० क्युबिट्स प्रयोग गरेर ९ मिनेटभित्रै बिटक्वाइनको प्राइभेट की पत्ता लगाउन सकिने गुगलको क्वान्टम एआई टोलीले बताए।
- गुगलले सन् २०२९ सम्ममा उपयोगी क्वान्टम प्रणाली विकास गर्ने लक्ष्य राखेको र क्रिप्टो जगतलाई पोस्ट-क्वान्टम सुरक्षा प्रणालीमा छिटो जान दबाब दिएको छ।
गुगलका क्वान्टम अनुसन्धानकर्ताहरूले एउटा नयाँ ह्वाइटपेपर सार्वजनिक गर्दै बिटक्वाइन र इथरियमको सुरक्षा प्रणालीलाई क्वान्टम कम्प्युटरले पहिले अनुमान गरिएभन्दा निकै कम शक्तिमा तोड्न सक्ने खुलासा गरेका छन् ।
यसअघि बिटक्वाइन्को ‘इन्क्रिप्सन’ तोड्न करोडौँ ‘क्युबिट्स’ आवश्यक पर्ने अनुमान गरिए पनि गुगलको नयाँ अध्ययनले ५ लाखभन्दा कम क्युबिट्स भए पुग्ने देखाएको छ।
गुगलको क्वान्टम एआई टोलीका अनुसार, उच्च गुणस्तरका करिब १२०० देखि १४५० क्युबिट्स प्रयोग गरेर ९ मिनेटभित्रै बिटक्वाइनको ‘प्राइभेट की’ पत्ता लगाउन सकिन्छ।
यसले गर्दा कुनै पनि ट्रान्जेक्सन पुष्टि हुनुभन्दा अगाडि नै ह्याकरले त्यसलाई बीचैबाट अर्को ठाउँमा मोड्न सक्ने ४१ प्रतिशत सम्भावना रहन्छ।
सन् २०२१ मा गरिएको बिटक्वाइन्को ‘ट्यापरुट’ अपडेटले गोपनीयता र कार्यक्षमतामा सुधार ल्याए पनि यसले सुरक्षामा नयाँ चुनौती थपेको अनुसन्धानले देखाएको छ।
ट्यापरुटले ‘पब्लिक की’ लाई डिफल्ट रूपमा सार्वजनिक गरिदिने हुनाले क्वान्टम कम्प्युटरका लागि ती वालेटहरू सजिलो निसाना बन्न सक्छन्।
अध्ययनका अनुसार हाल करिब ६९ लाख बिटक्वाइन (कुल आपूर्तिको करिब एक-तिहाइ) यस्ता वालेटहरूमा छन्, जसको पब्लिक की कुनै न कुनै रूपमा सार्वजनिक भइसकेको छ। यसमा बिटक्वाइन्को सुरुवाती चरणका करिब १७ लाख सिक्काहरू पनि पर्दछन्।
इथरियम जस्ता अन्य क्रिप्टोकरेन्सीहरूमा ट्रान्जेक्सन पुष्टि हुने समय छोटो हुने भएकाले यो विशिष्ट ‘रियल-टाइम’ आक्रमणको जोखिम केही कम देखिए पनि समग्र क्वान्टम खतरा भने कायमै छ।
गुगलले सन् २०२९ सम्ममा उपयोगी क्वान्टम प्रणाली विकास गर्ने लक्ष्य राखेको सन्दर्भमा, यो नयाँ अनुसन्धानले क्रिप्टो जगतलाई ‘पोस्ट-क्वान्टम’ सुरक्षा प्रणालीमा छिटोभन्दा छिटो जान दबाब दिएको छ।
गुगलले यो संवेदनशील जानकारी साझा गर्दा ‘जिरो-नलेज प्रुफ’ प्रविधिको प्रयोग गरेको छ, जसले गर्दा ह्याकिङको विस्तृत विधि सार्वजनिक नभई अनुसन्धानको सत्यता मात्र प्रमाणित भएको छ।
लगानीकर्ताहरूका लागि यो तत्कालै डराउनुपर्ने अवस्था नभए पनि सुरक्षा चुनौती पहिले सोचिएभन्दा नजिक आइपुगेको प्रष्ट संकेत हो।
प्रतिक्रिया 4