+

एकल आमाको भोटो सिलाउने स्टार्टअप 

पढ्नु पर्दैन भन्ने आदेश दिएर श्रीमान् विदेश उडेपछि होस्टेलमा ‘अविवाहित’ नै लेखाएर रेवती गुरुङले स्नातकोत्तर पढिन् । बच्चाको कपडाको व्यापार शुरु गर्दा 'भोटो सिलाएर बस्ने ?' भन्दै समाज गरेको खिसीटिउरीलाई चिर्दै आज ‘कोक्रोमा’ लाई वार्षिक २ करोडभन्दा बढी कारोबार गर्ने प्रतिष्ठित ब्रान्ड बनाएकी छिन्।
पूरा सूची
Shares
रेवती गुरुङ

दुई लाख रुपैयाँको सानो लगानीबाट शुरु भएको आफ्नो व्यवसायले एक दिन करोडौंको कारोबार गर्दै प्रतिष्ठित ‘ब्रान्ड’ बन्ला भन्ने उनले शायदै कल्पना गरेकी थिइन्। तर, भविष्य नदेखे पनि आफूले थालेको सानो कामलाई उचाइमा पुर्‍याउने दृढ सङ्कल्प भने उनीभित्र थियो।

यो कथा हो मिहिनेत, चुनौती र सङ्घर्षलाई साथी बनाएर अघि बढेकी रेवती गुरुङको। आज उनी सफलताको जुन बिन्दुमा उभिएकी छिन्, त्यसले उनलाई थप ऊर्जा दिएको छ। स्थानीय बजारलाई मात्रै लक्षित गरेर थालिएको उनको व्यवसायले यतिबेला अन्तर्राष्ट्रियस्तरमै आफ्नो बलियो पहिचान बनाएको छ। उनले उत्पादन गरेका सामग्रीहरू अहिले अमेरिका, अस्ट्रेलियादेखि ताइवान लगायतका देशहरूसम्म पुग्छन्।

आजभन्दा ६ वर्षअघि रेवतीलेकोक्रोमा’ नामक स्टार्टअप व्यवसायको जग बसालेकी हुन्। ‘कोक्रो’ भन्नेबित्तिकै धेरैको दिमागमा बच्चा सुताउने झोलुङ्गो आउँछ। सुरुवाती दिनमा कोक्रो नै बनाएर बेच्ने उद्देश्यले ‘कोक्रोमा’ नाम जुराइए पनि अहिले यसले कोक्रो भने बनाउँदैन।

बरु, यसले साना नानीबाबुहरूलाई न्यानो राख्न आवश्यक पर्ने दौरासुरुवाल, पजामा, टोपी, पन्जा, मोजा, तोरीको सिरानी र यस्तै अन्य अर्गानिक तथा सुतीका सामग्रीहरू उत्पादन गरी बिक्री गर्दै आएको छ।

पढाइको भोक र वैवाहिक जीवनको सङ्घर्ष

नेपाल फर्किएपछि उनले त्यही ‘बेबी बक्स’ को अवधारणालाई स्वदेशी हस्तकलासँग जोड्ने योजना बुनिन्।

सिन्धुलीको दुधौलीमा जन्मिएर हुर्किएकी रेवतीको स्कूले शिक्षा त्यहीं पूरा भयो। उच्च शिक्षाका लागि उनी धरान झरिन् र त्यहाँबाट स्नातक सकिन्।

बाल्यकाल सम्झिंदै उनी भन्छिन्, ‘आमाले सानोमा बारीमा फलेको गोलभेंडा बजार लगेर बेच भन्दा मलाई एकदमै लाज लाग्थ्यो। म त पढेर जागिर खानुपर्छ भन्ने सोच्थें। त्यति लजाउने मान्छे आज आफैं उद्यमी बनेकी छु।

स्नातक सकेपछि २२ वर्षको उमेरमा रेवतीको विवाह भयो। विवाहपछि उनी श्रीमानसँगै काठमाडौं आइन्। काठमाडौं आएपछिका दिनहरू उनका लागि निकै कष्टकर रहे। उनलाई स्नातकोत्तर (मास्टर्स) पढ्ने तीव्र इच्छा थियो, तर श्रीमानले ‘अब पढेर केही हुँदैन’ भन्दै रोक लगाए र वेटरको काम सिकेर साउदी अरब उडे।

श्रीमान् विदेश गएपछि र घरबाट कुनै सहयोग नपाएपछि उनलाई कसरी पढ्ने र कहाँ बस्ने भन्ने ठूलो चिन्ताले सतायो। मास्टर्स भर्ना हुने समय दुई महिना ढिला भइसकेको थियो। पछि म्याद सकिए पनि भर्ना हुन पाइन्छ भन्ने थाहा पाएपछि उनी पद्मकन्या क्याम्पसमा अंग्रेजी भाषा तथा विकास अनुसन्धानमा भर्ना भइन्।

भर्ना त भइन्, तर बस्ने ठेगान थिएन। उनले कलेजको होस्टेलमा बस्ने निधो गरिन्। नियमअनुसार विवाहित महिला होस्टेलमा बस्न पाउँदैनथे। त्यसैले, पढाइकै खातिर उनले आफूलाई अविवाहितभनेर चिनाइन् र होस्टेलमै बसेर मास्टर्स पूरा गरिन्। आज उनी एक १५ वर्षीय छोराकी ‘एकल आमा’ हुन्।

फिनिस बेबी बक्स’ बाट आएको आइडिया

मास्टर्स सकेपछि रेवतीले विभिन्न संस्थाहरूमा काम गरिन्। २०७२ सालको विनाशकारी भूकम्पले उनको जीवनको दिशा नै मोडिदियो। भूकम्पपछि मलाई लाग्यो- जीवन छोटो छ, अब केही न केही परिवर्तन ल्याउनैपर्छ‘, उनी भन्छिन्।

त्यसलगत्तै उनी ‘लैङ्गिक, सांस्कृतिक र राजनीतिक’ विषयको छोटो अध्ययनका लागि फिनल्यान्ड पुगिन्। त्यहाँ उनले ‘फिनिस बेबी बक्स’ परियोजनाबारे बुझ्ने मौका पाइन्, जसमा भर्खरै सुत्केरी भएका आमाहरूलाई नवजात शिशु सुताउन मिल्ने कार्डबोर्डको बाकस र बच्चाका लागि केही जोर लुगा राज्यले नै दिने रहेछ। यो अवधारणाले रेवतीको मन छोयो।

नेपाल फर्किएपछि उनले त्यही ‘बेबी बक्स’ को अवधारणालाई स्वदेशी हस्तकलासँग जोड्ने योजना बुनिन्। सहयोगको आशमा उनले आफ्नो योजना परिवार र साथीभाइलाई सुनाइन्। तर, ‘एमए पढेको मान्छेले भोटो सिलाएर बस्ने ?’ भन्दै कसैले साथ दिएनन्।

त्यसपछि उनले नेपाली संस्कृतिलाई जोड्दै कोक्रोभित्रै बच्चाको सम्पूर्ण लुगा, तोरीको सिरानी, टोपी, भोटो र दौरासुरुवाल राखेर ३५ हजार रुपैयाँको एउटा प्याकेजबनाइन्। तर, महँगो भएको भन्दै कसैले किनेनन्। त्यसपछि उनले आइडिया बदलिन् र सेटलाई फुटाएर छुट्टाछुट्टै बेच्ने निर्णय गरिन्। गर्भवती रहेकी एक जना नाता पर्ने भाउजूलाई भेटेर ३ हजार रुपैयाँको सामान बेचिन्। त्यो नै उनको पहिलो व्यापार थियो।

सुरुवाती दिनहरूमा एउटा कोठाबाट शुरु भएको र पछि भाडाको सटरमा सञ्चालित ‘कोक्रोमा’ ले हालै आफ्नै फ्याक्ट्री खरिद गरेको छ।

विदेशी महिलाको त्यो अप्रत्याशित सहयोग

आफूसँग भएको सबै पैसा सकिएको र पहिलो व्यापार ३ हजारको मात्र भएको दिन उनी बौद्ध स्तुपा नजिकैको एउटा क्याफेमा कफी खान गएकी थिइन्। त्यहीं एक जना अपरिचित विदेशी महिला आएर बसिन्। ती महिलाले रेवतीलाई चिन्तित देखेर सोधपुछ गरिन्।

ती महिलाको फ्लाइटको समय हुन लागेकाले १० मिनेट मात्र कुराकानी भयो। हतार–हतार ती महिलाले एउटा न्यापकिन पेपरमा आफ्नो इमेल ठेगाना लेखेर दिइन् र व्यवसायबारे इमेल गर्न भनिन्।

आफ्नाले त साथ दिएनन्, नचिनेको विदेशीले के देला र ? भन्ने सङ्कोच मान्दै रेवतीले इमेल पठाइन्। तर, नसोचेको कुरा भयो। ती महिलाले ३ वर्षभित्र आत्मनिर्भर बन्ने शर्तमा रेवतीलाई १५ हजार अमेरिकी डलर सहयोग गर्ने वाचा गरिन् र पहिलो किस्ता स्वरूप ५ हजार डलर पठाइन्।

त्यही पैसाले उनले सिलाइ मेसिन र आवश्यक सामग्री किनेर व्यवसायलाई गति दिइन्। शुरुमा २ जना कामदार राखेर उनले दिनको १८ घण्टासम्म काम गरिन्। मिहिनेतले रङ ल्यायो। विस्तारै कारोबार लाखौंमा पुग्यो। कोरोना महामारीका बेला आयात बन्द हुँदा उनको स्वदेशी उत्पादनले झनै राम्रो बजार पायो।

अवार्ड, आफ्नै फ्याक्ट्री र २ करोडको कारोबार

पछिल्लो समय ‘कोक्रोमा’ ले निकै ठूलो व्यावसायिक फड्को मारेको छ। सुरुवाती दिनहरूमा एउटा कोठाबाट शुरु भएको र पछि भाडाको सटरमा सञ्चालित ‘कोक्रोमा’ ले हालै आफ्नै फ्याक्ट्री खरिद गरेको छ।

व्यापार पनि उल्लेख्य रूपमा बढेको छ। कम्पनीको वार्षिक कारोबार झन्डै २ करोड रुपैयाँ पुगेको रेवती बताउँछिन्। व्यवसायको यही सफलता, कर चुक्ता र सामाजिक प्रभावको मूल्याङ्कन गर्दै हालै ‘कोक्रोमा’ ले नेपालका उत्कृष्ट ४९ कम्पनीलाई उछिन्दै स्टार्टअप विधामाएचआरएम कर्पोरेट एक्सिलेन्स अवार्ड’ समेत प्राप्त गरेको छ।

पहिले ‘कोक्रोमा’ का उत्पादनहरू ४० प्रतिशत विदेश निर्यात हुन्थ्यो भने ६० प्रतिशत मात्र नेपालमा खपत हुन्थ्यो। तर, अहिले यो तथ्याङ्क उल्टिएको छ। अहिले ८० प्रतिशत उत्पादन नेपालमै खपत हुन्छ। नेपाली उपभोक्ताहरू स्वदेशी उत्पादनप्रति सचेत हुँदै जानुलाई रेवती व्यवसायको सबैभन्दा बलियो पक्ष मान्छिन्।

अहिले ‘कोक्रोमा’ मा १८ जना महिलाले रोजगारी पाएका छन्। रेवती ‘स्लो फेसन’ र ‘परिमाणभन्दा गुणस्तर’ मा विश्वास गर्छिन्। त्यसैले हतारमा धेरै उत्पादन गरेर बजार भर्नुभन्दा विस्तारै तर गुणस्तरीय कपडाहरू ल्याउन उनी केन्द्रित छिन्।

मैले आफ्नो जीवनमा यति धेरै हन्डर र ठक्कर खाएँ कि त्यसैले मलाई उद्यमी बन्न सिकायोसङ्घर्षले खारिएकी ४३ वर्षीया रेवती भन्छिन्, ‘शुरुका ३ वर्ष मैले निकै दुःख भोगें, तर मैले लिएको जोखिम अनुसारको प्रतिफल पाएकी छु। समयलाई बुझेर अवसरलाई समात्न सकियो भने असम्भव भन्ने कुरा केही छैन।

लेखक
ऋतु काफ्ले

काफ्ले अनलाइनखबरकाे बिजनेस ब्युराे संवाददाता हुन् ।