उपलब्धि के हो, रेवितालाई सोध
‘तिमीले त जीवनमा केही ठूलै हासिल गर्छ्यौ भन्ने सोचेका थियौं’, रेविता श्रेष्ठलाई उनका साथीभाइ प्रायः यही भन्थे। राम्रो शैक्षिक पृष्ठभूमि र तीक्ष्ण दिमाग भएकी उनबाट समाज र आफन्तले एउटा चम्किलो कर्पोरेट करिअर वा उच्च पदस्थ सरकारी जागिरको अपेक्षा राखेका थिए। तर, रेविताले ‘उपलब्धि’ को परिभाषालाई आफ्नै तरिकाले पुनर्लेखन गरिन्।
उनले रोजेको बाटो कुनै वातानुकूलित (एसी जडित) कार्यकक्षको सानो संसारमा सीमित थिएन। त्यो त हजारौं निम्न आय भएका, सीप भएर पनि अवसर नपाएका महिलाहरूको जीवनमा प्रत्यक्ष र अर्थपूर्ण परिवर्तन ल्याउने एउटा बृहत् अभियान थियो। विगत तीन दशकदेखि ‘एसोसिएसन फर क्राफ्ट प्रोड्युसर्स‘ (एसीपी) मा आबद्ध र हाल प्रमुख कार्यकारी अधिकृत (सीईओ) को भूमिकामा रहेकी रेविताको यात्रा व्यक्तिगत सङ्घर्ष, व्यावसायिक चुनौती र हजारौं महिलाको सशक्तीकरणको एक जीवन्त दस्तावेज हो।
संस्थाको कार्यक्रम विभागको एउटा सामान्य पदबाट शुरु भएको रेविताको यात्रा प्रमुख कार्यकारी अधिकृतसम्म आइपुग्नु पछाडि कुनै जादु थिएन, बरु उनको निरन्तरको लगाव र समर्पण थियो। संस्थाकी संस्थापक मीरा भट्टराईको मार्गदर्शनमा खारिएकी रेविताले जब नेतृत्व हस्तान्तरणको समय आयो, तब आफ्नो योग्यता र अनुभवको आधारमा सर्वसम्मतिले कार्यकारी निर्देशकको जिम्मेवारी पाइन्।
जागिर, जसले लक्ष्य बदल्यो
ललितपुरको कुपण्डोलस्थित एक मध्यमवर्गीय संयुक्त परिवारमा हुर्किएकी रेविताको बाल्यकाल सामान्य थियो। सेन्ट मेरिज स्कूलबाट विद्यालय शिक्षा र नेपाल ल क्याम्पसबाट कानूनमा स्नातक गरेकी उनले पछि समाजशास्त्रमा पनि स्नातकोत्तर गरिन्।
सन् १९९४ (२०५१ साल) तिर उनको विवाह भयो। विवाहको साढे दुई वर्षपछि पहिलो सन्तान (छोरा) लाई जन्म दिइन्। छोराको जन्मपछि उनले आफूलाई केवल गृहिणीमा मात्र सीमित नराख्ने निर्णय गरिन्। ‘मैले काम गरिनँ भने म यत्तिकै सीमित हुन्छु, आफ्नो स्वतन्त्र पहिचान बनाउनुपर्छ भन्ने लाग्यो’, उनी भन्छिन्।
यही सोचका साथ छोरा करिब डेढ वर्षको हुँदा २०५५ सालमा उनले एसीपीको कार्यक्रम विभागमा जागिर शुरु गरिन्। संयुक्त परिवारमा सासूआमाले बच्चा हेरिदिने र श्रीमान्को पनि पूर्ण साथ पाएकाले उनलाई काममा निस्कन सहज भयो।
शुरुमा उनको योजना केही वर्ष अनुभव लिएर अर्को अवसर (करिअर) खोज्ने थियो। तर, काम शुरु गरेको केही महिनामै एउटा यस्तो घटना घट्यो, जसले उनको जीवन र करिअरको बाटोलाई सधैंका लागि नयाँ मोड दियो।
संस्थालाई ५० जना बुनाइ गर्ने महिला कामदार चाहिएको थियो, तर आवेदन दिनेको सङ्ख्या दुई सय नाघ्यो। अन्तर्वार्ता लिने जिम्मेवारी पाएकी रेविताले जब त्यहाँ काम खोज्दै आएका महिलाहरूका कथा सुनिन्, उनी स्तब्ध भइन्।
‘उहाँहरूले जुन पीडा र वेदना सुनाउनुहुन्थ्यो, त्यसले मलाई भित्रैदेखि हल्लायो’ उनी भावुक हुँदै सुनाउँछिन्, ‘घरेलु हिंसा, श्रीमान्ले दिने यातना, आर्थिक परनिर्भरता, एक-एक रुपैयाँका लागि हात थाप्नुपर्ने विवशता… आँखामा आँसु र अवरुद्ध गलाले सुनाएका ती कथाहरूले मलाई यो संस्था केवल मेरो जागिर खाने ठाउँ होइन, यो त हजारौं महिलाको आशाको केन्द्र हो भन्ने बोध गरायो।’
त्यस दिनदेखि एसीपी रेविताका लागि जागिर मात्र रहेन, एउटा ‘मिसन‘ बन्यो।
सङ्घर्षको आगोबाट खारिएको नेतृत्व
सफलताको यो बिन्दुसम्म आइपुग्दा रेविताले धेरै अग्निपरीक्षाहरू पार गरेकी छिन्। करिब २५ वर्षअघि उनी आफ्नो दोस्रो सन्तान (छोरी) को पर्खाइमा (गर्भवती अवस्थामा) थिइन्। ठीक त्यही बेला संस्थामा पारिश्रमिकको विषयलाई लिएर ठूलो आन्दोलन चर्कियो र तालाबन्दी भयो।
शारीरिक रूपमा निकै कठिन अवस्थामा रहे पनि उनी हरेक दिन राति ८-९ बजेसम्म संस्था र आन्दोलनकारी पक्षका वकिलहरूसँग वार्ता गर्थिन्। ‘त्यो समयमा यस्तो अवस्था आयो कि अब यो काम नै छाडिदिऊँ जस्तो पनि लाग्यो’ उनी त्यो कठिन समय सम्झिन्छिन्, ‘एकातिर मेरो शारीरिक अवस्था, अर्कोतिर संस्थाको चरम तनाव। तर मैले हार मानिनँ।’

अचम्मको संयोग त के भने, जुन रात उनको छोरीको जन्म भयो, त्यसको भोलिपल्टैबाट संस्थामा अनिश्चितकालीन तालाबन्दी शुरु भयो। सुत्केरी अवस्थामा भोगेको यो घटना उनको व्यावसायिक जीवनको सबैभन्दा कठोर परीक्षा थियो, जहाँबाट उनी अझै बलियो र परिपक्व भएर निस्किइन्।
आज उनको नेतृत्वमा संस्था र ट्रेड युनियनहरू बीचको सम्बन्ध मैत्रीपूर्ण र सहयोगात्मक बनेको छ। ‘शुरुमा ट्रेड युनियन भन्नेबित्तिकै व्यवस्थापनको विपक्षमा हुन्छ भन्ने सोच थियो, तर हामीले यो धारणा बदल्यौं। आज संस्थामा कुनै सङ्कट आउँदा व्यवस्थापन र युनियन एक भएर उभिन्छौं’, उनी गर्वसाथ भन्छिन्।
आँसुदेखि अमेरिकासम्मको यात्रा
सन् १९८४ मा मीरा भट्टराईको अग्रसरतामा स्थापित एसीपी एउटा गैर-नाफामुखी संस्था हो। यसले विशेषगरी आर्थिक रूपमा विपन्न र बजारको पहुँच नभएका महिलाहरूलाई लक्षित गरेर काम गर्छ। संस्थामा आबद्ध ९० प्रतिशतभन्दा बढी महिलाहरू छन्। एसीपीले देशका १२ जिल्लाका हजारभन्दा बढी (हाल करिब ५००) साना हस्तकला उत्पादकहरूलाई १७ विभिन्न विधामा सीप विकास, डिजाइन र बजारीकरणको सेवा दिंदै आएको छ।
संस्थाको सबैभन्दा बलियो पक्ष ‘होम-बेस्ड’ (घरमा आधारित) उत्पादन प्रणाली हो। यसले महिलाहरूलाई आफ्नो घरेलु जिम्मेवारी निभाउँदै आयआर्जन गर्ने अवसर दिएको छ। यहाँ आबद्ध भएपछि महिलाहरूको जीवनमा जादुमयी परिवर्तन आएको छ। शुरुमा अन्तर्वार्ता दिंदा टाउको उठाएर बोल्न नसक्ने महिलाहरू आज आत्मविश्वासले भरिएका छन्।
‘एक जना महिलाले रुँदै सुनाउनुभएको थियो- श्रीमान्ले काम गर्न दिंदैन, बनाएको सामान बिगार्दिन्छ, त्यसैले ऊ सुतेपछि राति मैनबत्ती बालेर लुकेर काम गर्छु’ रेविता अनुभव सुनाउँछिन्, ‘आज तिनै महिलाहरू आफ्नै खुट्टामा उभिएर आर्थिक रूपमा सक्षम भएका छन्। निरक्षर महिलाहरूले आफ्नै समूह बनाएर ५०-६० लाखको व्यवसाय चलाइरहेका छन् र अरू २०-२५ जनालाई रोजगारी दिएका छन्।’
जब तिनै सङ्घर्षशील महिलाहरू ‘आफ्नो छोराछोरीको ग्राजुएसनमा सहभागी हुन अमेरिका जाँदैछु‘ भनेर खुसी साट्न आउँछन्, तब रेवितालाई आफ्नो तीन दशक लामो मिहिनेत सार्थक भएको महसुस हुन्छ।
ढुकुटी: सीप र स्वाभिमानको सङ्गम
एसीपीले उत्पादन गरेका सामग्रीहरू कुपण्डोलस्थित ‘ढुकुटी’ शोरुम मार्फत स्थानीय बजारमा र ‘नेपाली क्राफ्ट ट्रेडिङ’ मार्फत अन्तर्राष्ट्रिय बजारमा पुग्ने गरेका छन्। संस्थाको वार्षिक बाह्य कारोबार करिब ७-८ करोड र आन्तरिक कारोबार ४-५ करोड रुपैयाँ हाराहारीमा छ।
कुपण्डोलको मुख्य सडकबाट अलिकति भित्र छिर्नासाथ भेटिने ‘ढुकुटी’ शोरुम अन्य हस्तकला पसलहरूको कोलाहल र मोलमोलाइको झन्झटभन्दा नितान्त फरक छ। पसलभित्र छिर्नासाथ इन्द्रेणीका रङहरूसँग खेले जस्ता लाग्ने विविध उत्पादनहरूले ग्राहकलाई स्वागत गर्छन्।

एकातिर हाते बुनाइका आकर्षक सल, ढाकाका उत्पादन र ब्लक प्रिन्ट गरिएका कुसन कभरले मन लोभ्याउँछन् भने अर्कोतिर ऊन (फेल्ट) बाट बनेका खेलौना, माटोका कलात्मक भाँडा, तामा-पित्तलका सजावटका सामग्री र लोक्ताको कागजबाट बनेका डायरीहरू सजिएका छन्।
‘यी सामग्रीहरूको बाहिरी आवरणभन्दा यसको भित्री कथा झनै सुन्दर छ’ रेविता भन्छिन्, ‘यहाँ खर्चिएको हरेक पैसाले गाउँ वा शहरको कुनामा बसेर काम गरिरहेकी महिलाको जीवनस्तर उकास्न, उनीहरूका छोराछोरीको शिक्षा-दीक्षामा र अनुहारमा आत्मविश्वासको चमक ल्याउन प्रत्यक्ष मद्दत पुर्याएको छ।’
सफलताका यी कथाहरू बीच चुनौतीका चाङ पनि कम छैनन्। कच्चा पदार्थको अभाव, दक्ष जनशक्तिको कमी र नयाँ पुस्तामा परम्परागत सीपप्रतिको विकर्षण मुख्य चुनौती हुन् । तैपनि रेविता आशावादी छिन्। उनको अबको योजना नेपाली हस्तकलालाई एउटा ‘सम्मानित’ क्षेत्रका रूपमा विकास गर्नु र ‘नेपाली सामान सस्तो हुनुपर्छ’ भन्ने मानसिकतालाई परिवर्तन गर्नु हो।
आफ्नो परिवार र विशेषगरी श्रीमान् प्रविण श्रेष्ठको निरन्तर साथलाई सफलताको श्रेय दिने रेविता आज हजारौं महिलाका लागि प्रेरणाको स्रोत बनेकी छिन्। उनको जीवनले प्रमाणित गरिदिएको छ- उपलब्धि भनेको कुनै पद वा पैसा मात्र होइन, अरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्नु नै वास्तविक सफलता हो।
ट्रेन्डिङ
सम्बन्धित
५० प्रभावशाली महिला २०८१
सञ्जिता नेपालचार्टर्ड एकाउन्टटेन्ट
सीता पोखरेलसमाजसेवी
मित्रकुमारी परियारवडाध्यक्ष
पूर्णिमा श्रेष्ठपर्वतारोही
मनिषा द्वाखगोलविद्
भावना पुलामीमगरउद्यमी
अलिसा श्रेष्ठउद्यमी
पूजा महतोक्रिकेटर
बिन्दवासिनी कंसाकारप्रतिनिधिसभा सदस्य
सुभासिनी श्रेष्ठसमाजसेवी
डा. निर्मला फुयालअनुसन्धाता
गोमा खनालउद्यमी
डोल्मामाया गोलेउपाध्यक्ष, महाङ्काल गाउँपालिका
मीना अर्यालप्रशासक
पलेशा गोबर्धनखेलाडी
५० प्रभावशाली महिला - २०८०
सञ्जिता नेपालचार्टर्ड एकाउन्टटेन्ट
सीता पोखरेलसमाजसेवी
मित्रकुमारी परियारवडाध्यक्ष
पूर्णिमा श्रेष्ठपर्वतारोही
मनिषा द्वाखगोलविद्
भावना पुलामीमगरउद्यमी
अलिसा श्रेष्ठउद्यमी
पूजा महतोक्रिकेटर
बिन्दवासिनी कंसाकारप्रतिनिधिसभा सदस्य
सुभासिनी श्रेष्ठसमाजसेवी
डा. निर्मला फुयालअनुसन्धाता
गोमा खनालउद्यमी
डोल्मामाया गोलेउपाध्यक्ष, महाङ्काल गाउँपालिका
मीना अर्यालप्रशासक
पलेशा गोबर्धनखेलाडी