+

सुदूरबाट आएकी उज्यालो उद्यमी

बझाङको विकट गाउँमा जन्मिएर काठमाडौंमा हुर्किएकी सुमन जोशीले बैंकिङ क्षेत्रको सफल करिअरको माया मारेर जलविद्युतमा हात हालिन्। आफूलाई औसत विद्यार्थी बताउने उनी अहिले अर्बौं लगानी र जोखिमले भरिएको नेपालको ऊर्जा क्षेत्रमा उदाहरणीय नेतृत्व गरिरहेकी छिन्।
पूरा सूची
Shares
सुमन जोशी

नेपालको ऊर्जा (जलविद्युत्) क्षेत्र परम्परागत रूपमा पुरुष–प्रधान मानिन्छ। ठूला आयोजना, करोडौंको लगानी, अस्थिर सरकारी नीतिनियम, स्थानीय विवाद, बैंकिङ जोखिम र प्राविधिक जटिलताले भरिएको यो क्षेत्र धेरैका लागि कठिन मात्रै होइन, डरलाग्दो पनि हुन्छ। तर, यही चट्टानी क्षेत्रमा आफ्नो छुट्टै र बलियो पहिचान बनाएकी छिन्- सुमन जोशीले।

उनी हाल स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) की कार्यकारी सदस्य हुन्। यसका साथै उनी ह्वाइट लोटस पावर लिमिटेडकी कार्यकारी निर्देशक र ह्वाइट लोटस म्यानेजमेन्टकी कार्यकारी अध्यक्षको भूमिकामा रहेर ऊर्जा क्षेत्रको नेतृत्व गरिरहेकी छिन्।

सुमन विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको ऊर्जा संरचना, निजी लगानी र हरित हाइड्रोजन जस्ता प्राविधिक विषयमा खरो रूपमा आफ्ना भनाइ राख्ने गर्छिन् । दशकौं लामो सङ्घर्ष, अध्ययन, परिवारको साथ र असीमित धैर्यको बलमा उनी आजको जिम्मेवारीमा आइपुगेकी हुन् । 

बझाङको माटोदेखि जोरपाटीको सङ्घर्षसम्म

१९ चैत २०३८ मा बझाङको मेलबिसौनामा जन्मिएकी सुमनको हुर्काइ र शिक्षादीक्षा भने काठमाडौंमा भयो। ‘मेरो जन्म बझाङमा भए पनि हुर्काइ काठमाडौंमै भयो। भाषाले पनि मलाई सुदूरपश्चिमको भनेर चिनाउँदैन’, उनी भन्छिन्।

उनी जन्मिएको समयमा बझाङ निकै विकट थियो। सडक त परै जाओस्, राम्रो गोरेटो बाटो समेत थिएन। डोटीबाट हप्तौं हिंडेर काठमाडौं आउनुपर्ने अवस्था थियो। करिब २०४०/४२ सालतिर उनका बुबाआमाले सुमनलाई काँधमा बोकेरै काठमाडौं ल्याएका थिए।

सुमनका बुबा गाउँकै स्कूलका हेडमास्टर थिए भने आमा पनि शिक्षिका। छोराछोरीको राम्रो शिक्षा र प्रगतिकै लागि उनीहरू काठमाडौं पसेका थिए। पञ्चायतकालीन त्यो समयमा गाउँमा सबैले पढ्न पाउँदैनथे। जात र सामाजिक हैसियतका आधारमा विद्यालय प्रवेशमा रोक लगाउने कुप्रथा थियो।

‘गरिब र दलित समुदायले त विद्यालय टेक्नै पाउँदैनथे। हामी ब्राह्मण समुदायको भए पनि समाजका ठालुहरूले पण्डितले पढ्ने-पढाउने होइन, पुरोहितको काम गर्ने हो भनेर मेरो परिवारलाई समेत पढाउन रोक लगाउन खोजेका थिए’, सुमन विगत सुनाउँछिन्।

तर, ढुङ्गाको स्लेटमा खरीले लेखेर पढेका उनका बुबाले समाजको त्यो पर्खाल भत्काउँदै गाउँगाउँमा विद्यालय खोल्ने अभियान चलाए। बुबाको त्यही क्रान्तिकारी सोच र सङ्घर्षले सुमनलाई सानैदेखि अगाडि बढ्न प्रेरित गर्‍यो।

काठमाडौंको जोरपाटीमा हुर्किंदा उनको परिवार निम्न–मध्यम वर्गीय थियो। दशैंमा एक जोर नयाँ लुगा पाउने आशा नै बाल्यकालको सबैभन्दा ठूलो खुसी हुन्थ्यो। ‘तर मैले कहिल्यै भोकै स्कूल जानुपरेन। खाजा खान नपाएर स्कूल नगएको सम्झना मलाई छैन। अहिले सोच्दा त हामी धेरै भाग्यमानी पो रहेछौं जस्तो लाग्छ’, उनी भन्छिन्।

बाल्यकालको त्यही सीमित सुविधाले उनलाई सिकायो- ‘स्रोत र साधनलाई हेर्ने नजरले नै भविष्यको लक्ष्य निर्धारण गर्छ।’

बलियो आत्मविश्वास भएकी ‘औसत विद्यार्थी’

सुमनले काठमाडौंको मातेस मेमोरियल स्कूलबाट एसएलसी, भीएस निकेतनबाट स्नातक र काठमाडौं युनिभर्सिटी स्कूल अफ म्यानेजमेन्टबाट एमबीएसम्मको अध्ययन पूरा गरेकी छिन्।

उनी आफूलाई कहिल्यै ‘टप विद्यार्थी’ भन्न रुचाउँदिनन्। ‘म सधैं एभरेज (औसत) विद्यार्थी नै थिएँ। तर हाम्रो घरमा एउटा कडा नियम थियो- छोरी भए पनि पढ्नैपर्छ’, उनी भन्छिन्। तत्कालीन समयमा गाउँघरमा छोरीमान्छेलाई स्कूल पठाउने कुरा कल्पना बाहिरको विषय हुन्थ्यो। तर उनका अभिभावकले कहिल्यै ‘छोरीलाई धेरै पढाएर के हुन्छ ?’ भनेनन्।

बैंकमा हुँदा जलविद्युत परियोजनाहरूलाई ऋण लगानी स्वीकृत गर्ने काम गरेकी सुमन अहिले आफैं चारवटा ऊर्जा परियोजनाको नेतृत्वदायी भूमिकामा छिन्।

जतिसम्म पढ्न मन लाग्यो, परिवारले त्यति नै पढाए। घरको त्यही सकारात्मक वातावरणले उनको आत्मविश्वासलाई सगरमाथा जस्तै उच्च बनाइदियो।

बैंकिङको जगबाट उघ्रिएको ऊर्जाको आकाश 

एमबीएको अध्ययन सकिएसँगै सुमनले व्यावसायिक जीवन शुरु गरिन्। ‘मास्टर्स सिद्ध्याइसकेपछि अब त फिल्डमा जानुपर्छ, काम गर्नुपर्छ वा आफ्नै उद्यम शुरु गर्नुपर्छ भन्ने हुटहुटी चल्यो’, उनले भनिन्।

सन् २००८ तिर माछापुच्छ्रे बैंकबाट बैंकिङ करिअर शुरु गरेकी उनी छोटो समयमै प्राइम कमर्सियल बैंक पुगिन्। प्राइम बैंक नै उनको करिअरको वास्तविक आधार बन्यो, जसलाई उनी अहिले पनि माइती जस्तै ठान्छिन्। प्राइममा उनले झन्डै एक दशक काम गरिन्। त्यहींको अनुभवले उनलाई आज जलविद्युत् उद्यमी र ऊर्जा क्षेत्रको विज्ञका रूपमा स्थापित गराएको छ।

प्राइम बैंकमा रहँदा उनले दुईवटा महत्त्वपूर्ण कुरा सिकिन्- जटिल परियोजनाहरूको वित्तीय व्यवस्थापन र व्यावसायिक नैतिकता । ‘म औसत विद्यार्थी थिएँ, कर्मचारी पनि औसत नै । तर प्राइमले मलाई प्रगति गर्ने र सिक्ने ठाउँ दियो। छोरीमान्छेलाई अलिकति ‘पुस’ (प्रोत्साहन) गर्ने हो भने धेरै गर्न सक्दी रहेछ भन्ने मैले त्यहीं महसुस गरें’, उनी कृतज्ञ सुनिन्छिन्।

परिश्रमको फल आजको भोलि नै मिल्दैन, सिकाइ र प्रगति हरेक पाइलामा हुन्छ भन्ने कुरा उनले बैंकिङबाटै बुझिन्। १० वर्ष प्राइम बैंकमा काम गरेपछि उनी एनएमबि बैंकमा काम गर्न गइन्। एनएमबिले उनलाई नेतृत्व र निर्णय क्षमता सिकायो।

त्यहाँ सुमनले ऊर्जा विभागको प्रमुख बनेर काम गरिन्। यही क्रममा जलविद्युत् आयोजनाले कसरी काम गर्छ भन्नेमा उनको गहिरो रुचि जाग्यो। जलविद्युतको प्राविधिक मूल्याङ्कन, विद्युत् खरिद सम्झौता (पीपीए) र वित्तीय सम्भाव्यताबारे उनले गहिरो अध्ययन गरिन्। अन्ततः एनएमबिमा करिब दुई वर्ष काम गरेपछि उनले बैंकिङ क्षेत्र नै छाडिन्।

सुमनले कुनै संस्था छाडेकी थिइनन्, बरु एउटा सीमित कर्मचारी जीवन छाडेर असीमित सम्भावना भएको उद्यमी जीवन रोजेकी थिइन्।

जलविद्युतमा एकदशक तपस्या

बैंकमा हुँदा जलविद्युत परियोजनाहरूलाई ऋण लगानी स्वीकृत गर्ने काम गरेकी सुमन अहिले आफैं चारवटा ऊर्जा परियोजनाको नेतृत्वदायी भूमिकामा छिन्। जसमध्ये हिदी खोला (६.८२ मेगावाट) परियोजना राष्ट्रिय ग्रिडमा जोड्ने तयारीमा छ । म्याग्दीमा अर्को परियोजनाको निर्माण शुरु भइसकेको छ।

जोशी सेती सैपाल हाइड्रोपावर लिमिटेडकी पनि अध्यक्ष हुन्, जसले  ३१.५ मेगावाट क्षमताको जलविद्युत परियोजना निर्माण गर्दैछ । अहिले सो परियोजना अध्ययन चरणमा रहेको छ ।

तर जलविद्युत् क्षेत्र सोचे जस्तो सजिलो पटक्कै छैन। ‘आज आयोजना शुरु गर्‍यो भने उत्पादनसम्म पुग्न कम्तीमा १० वर्ष दिनुपर्छ। एक दशक भनेको जीवनको एउटा पूरै उमेर हो’ उनी भन्छिन्, ‘२० देखि ३०, ३० देखि ४० वा ४० देखि ५० वर्षको मानिसको ऊर्जाशील जीवनको एउटा चरण नै यसले खाइदिन्छ।’

जलविद्युतमा पाइला–पाइलामा चुनौती छन्। राज्यका अस्थिर नीतिनियमले उद्यमीलाई सधैं अन्योलमा पार्छ। यो अत्यन्तै ठूलो पूँजी आवश्यक पर्ने क्षेत्र भएकाले इच्छाशक्तिले मात्र पुग्दैन, स्रोत व्यवस्थापन गर्न सकिएन भने काम अघि बढ्दैन।

अर्को ठूलो चुनौती भनेको स्थानीय स्तरका समस्या हुन्। यस्ता परियोजना दुर्गम पहाडी क्षेत्रमा बन्ने भएकाले कहिलेकाहीं स्पष्ट कारण विनै बाटो बन्द गरिदिने र काम रोकिदिने प्रवृत्ति हावी छ। गाउँको सामाजिक परिवेश बुझ्न र उनीहरूका माग सम्बोधन गर्न निकै संयमता चाहिन्छ।

‘पहिले म छिटो रिसाउने गर्थें, तर अहिले कामको लागि आवश्यक पर्दा मात्र कडा हुन्छु। उमेर र अनुभवसँगै जीवनका जटिलताहरू स्वाभाविक हुन् भन्ने बुझाइ बढ्दो रहेछ। सानातिना समस्यामा अल्झिएर बस्ने हो भने जलविद्युतमा काम अघि बढ्न सक्दैन’, उनको अनुभवले बोल्छ।

बझाङको विकट गाउँमा जन्मिएकी उनी आज नेपालको ऊर्जा संरचना र नीतिगत तहमा बहस गर्ने विज्ञ बनेकी छिन्। जलविद्युत् परियोजनामा १० वर्ष ढुक्कले लगानी गर्न सक्ने धैर्य र सङ्कटमा नआत्तिने संयमता नै उनको असली पूँजी हो।

ऊर्जा क्षेत्रमा महिला र परिवारको आड

जलविद्युत् क्षेत्रमा महिलाको उपस्थिति न्यून छ, नेतृत्व त झनै दुर्लभ। सुमनको अनुभवमा महिला उद्यमीको मुख्य चुनौती भनेकै पूँजी (पैसा) जुटाउनु हो। ‘माइतीले लगानी दिंदैन। विवाहपछि घरको पैसा पनि पूर्ण रूपमा आफ्नै नियन्त्रणमा हुँदैन। यस्तोमा परिवार सपोर्टिभ (सहयोगी) नभए यो क्षेत्रमा टिक्नै सकिंदैन’, उनी यथार्थ खुलाउँछिन्।

सुमनको यो यात्रामा श्रीमान् र परिवारको सहयोग नै निर्णायक बन्यो। ठूला परियोजनामा लगानी गर्दादेखि लिएर सानी छोरीको हेरचाह गर्नेसम्मका काममा परिवारले बलियो आड दियो। ‘कहिलेकाहीं प्रोजेक्ट र बच्चाबीच एउटा छान्नुपर्ने कठिन अवस्था आउँथ्यो। त्यतिबेला मेरी आमा, दिदी, भाइहरू र श्रीमानले सम्हालेकै कारण म निर्धक्क काम गर्न सकें’, उनी भावुक हुन्छिन्। काम र परिवार दुवैलाई सन्तुलनमा राख्न सक्नु नै उनको सफलताको मुख्य आधार हो।

विकास, ऊर्जा र उज्यालो सन्देश

ऊर्जा परियोजनाले गाउँमा सडक, पसल र रोजगारी मात्र ल्याउँदैन, यसले सिङ्गो समाजको मुहार फेर्छ। यद्यपि, कहिलेकाहीं विकाससँगै विकृति पनि भित्रिने गरेको उनी देख्छिन्। उनका लागि जलविद्युत् भनेको केवल बिजुली उत्पादन होइन, यो एउटा बृहत् सामाजिक रूपान्तरण पनि हो।

सुमन जोशीको यात्रा कुनै जन्मजात ‘प्रतिभाशाली’ व्यक्तिको कथा होइन। यो त एउटी औसत विद्यार्थी, बैंक कर्मचारी, आमा र परिवारको साथले अघि बढेकी जुझारु महिलाको कथा हो । बझाङको विकट गाउँमा जन्मिएकी उनी आज नेपालको ऊर्जा संरचना र नीतिगत तहमा बहस गर्ने विज्ञ बनेकी छिन्। जलविद्युत् परियोजनामा १० वर्ष ढुक्कले लगानी गर्न सक्ने धैर्य र सङ्कटमा नआत्तिने संयमता नै उनको असली पूँजी हो।

काम गर्न चाहने नयाँ पुस्तालाई सुमनको एउटै सन्देश छ- ‘सकेसम्म राम्रो गर्नुहोस्, राम्रो गर्न सक्नुहुन्न भने नराम्रो गर्दै नगर्नुहोस्। सकारात्मक भएर अघि बढ्नुस्, काम आफैं बन्दै जान्छ।’

लेखक
कृष्णसिंह धामी

धामी अनलाइनखबरको बिजनेश ब्युरोका संवाददाता हुन् ।