+

मुस्ताङ ब्रान्डिङ गर्ने सुकुटी साहुनी

२०६१ सालतिर मुस्ताङको मार्फामा सुकुन रसाइली विकले खोलेको देउराली होटल एन्ड रेस्टुराँलाई ‘कामीको होटल’ भन्दै छिमेकीले नै पाहुना भड्काइदिन्थे । तर, सेवा र सफाइका कारण होटलले प्रगति गर्दै गयो । अहिले उनले बनाएका स्याउको सुकुटी, ड्राइ एप्पल, क्यान्डी, माडा, एफ्रिकट जाम, आलुको चिप्स लगायत उत्पादनले मुस्ताङकै ब्रान्डिङ गरिरहेका छन् ।
पूरा सूची
Shares
सुकुन रसाइली विक

कुन परिवारमा जन्मिने ? त्यो उनको रोजाइ थिएन । तर जन्मथलोबाटै परिचय बनाउनु भने पहिलो रोजाइ थियो । गर्वका साथ उभिनु र समाजले रोपेको विभेदको चौघेरो नाघेर आफ्नै वैभव निर्माण गर्नु त उनको विद्रोह नै थियो, उद्यम र लगनशीलताले सिञ्चिएको एक क्रान्ति नै थियो ।

सुकुन रसाइली बिक दलित समुदायमा जन्मिइन् । तर, कुण्ठित भएर बसिनन् । दलित, त्यसमाथि महिला । समाजले कोरेको दोहोरो सिमानाबाट उनले आफ्नै बाटो कोरिन् । त्यो उद्यमको बाटो जहाँ उनले आफू मात्र होइन, परिवारलाई नै हिंडाएकी छिन् ।

भान्साबाट शुरु भएको सुकुनको संघर्ष केवल चुलोको धुवाँ थिएन । थियो त सदियौंको विभेदलाई जलाउने आगो । जसलाई समाजले छुन हुँदैन भन्यो, उनले त्यही हातले अनेक परिकार बनाइन् र समाजलाई स्वाद चखाइदिइन् ।

मुस्ताङको मार्फा जति स्याउका लागि प्रख्यात छ, त्यति नै सुकुन रसाइलीले तयार गरेको रसिलो परिकार र उद्यमशीलताको बासना पनि मिसिएको छ । देउराली होटल एन्ड रेस्टुरेन्ट उनको व्यवसाय मात्र होइन, त्यो त आफ्नै अस्तित्व निर्माण गर्ने पहिलो साहसिक कदम हो ।

पाइलैपिच्छे विभेद, हिमाली जिल्ला मुस्ताङमा भोग्नु परेको दुःख र पीडालाई नाघेर सुकुनले एक दिन निर्णय गरिन् । अनि, खुल्यो– देउराली होटल एन्ड रेस्टुरेन्ट । यो २०६२ सालतिरको कुरा हो । जतिबेला देशमा युद्धले शान्ति खोज्दै थियो तर सुकुनको उद्यमशीलताको युद्ध त बल्ल शुरु हुँदैथियो ।

आफैंले कोरेको बाटो भए पनि सजिलो कहाँ थियो र ?

होटलका ढोका भित्र सुकुनले ग्राहक मात्र होइन, समाजको अनुहार देखिन् । उनको भान्सामा पाक्ने हिमाली खानाको स्वाद मात्र थिएन, त्यो बेला दैनिक रूपमा चाखेको जातीय विभेदको तीतोपना पनि थियो । तर, उनले आफ्नो हातको स्वादले त्यही समाजलाई नजिक ल्याइन् । हरेक अपमानलाई हार होइन, इन्धन बनाइन् र अहिलेसम्म उद्यमको फराकिलो राजमार्ग बनाउँदै देशका कुनाकाप्चासम्म पौरखलाई गुडाइरहेकी छन् ।

सुकुनले उभ्याएको फलफूल तथा तरकारी प्रशोधन उद्योग अहिले धेरै महिलाका लागि प्रेरणाको स्रोत बनेको छ । ७ लाख लगानीबाट शुरु भएको उनको रेस्टुरेन्ट तथा होटल, ४५ लाख रुपैयाँमा शुरु भएको फलफूल तथा तरकारी प्रशोधन उद्योगको पूँजी आज डेढ करोड पुगिसक्यो ।

झण्डै एक दशकअघिदेखि उनले मुस्ताङमा फल्ने स्याउलाई मुख्य आधार बनाएर विभिन्न परिकार तयार गर्न थालिन् । जसमा सुक्खा स्याउ, कुरकुरे चिप्स, मिठा केन्डी र जाम लगायत छन् । जो मुस्ताङ पुग्ने हरकोहीको रोजाइ त बन्छ नै, त्योसँगै नेपालका विभिन्न ठाउँमा मेला–महोत्सवमा पनि सुकुन आफैं स्टल राखेर स्वाद चखाउन पुग्छिन् ।

उनले मार्फामा यस्तो क्रान्ति गरिन्, जहाँ एक दलित महिलाको आँटले पुरानो सोचलाई चुल्होमै जलाइदिएको छ । तर, उद्यमशीलताले भने उनको सफलताको कथा धेरै परसम्म पुर्‍याइदिएको छ ।

पर्यटकको हौसलाले हिंडायो उद्योगको बाटो

त्यो होटल चलाउने त कमिनी हो, नजानू है त्यहाँ२०६२ सालमा सुकुनले देउराली होटल एन्ड रेस्टुरेन्ट खोल्दा धेरैले भनेका थिए । तर, उनले विभेदलाई जितेर पाहुनाको स्वागतमा कुनै कमी गरिनन् ।

युद्ध छलेर ट्रेकिङ जानेहरूलाई पनि छिमेकीले भड्काइदिएको तितो अनुभव उनीसँग छ । तर, सरसफाइ र खानामा जोड दिंदै गइन् । प्रतिप्रश्न पनि गरिरहिन्, ‘के मैले छोएर खाँदैमा कोही मर्छ ?’ समाजको अपहेलनाले उनको बाटो छेकेन । विस्तारै उनले पस्किएको आतिथ्यताले धेरैलाई मोहित बनाउँदै लग्यो ।

आन्तरिक पर्यटक आउन थाले । मुस्ताङ स्याउ फल्ने ठाउँ, होटलमा आउने पर्यटकले स्याउको सुकुटी खोज्न थाले । सस्तोमा स्याउ आउँथ्यो । उनले १५२० किलो स्याउ किन्दै सुकुटी बनाएर बेच्न थालेकी थिइन् ।

सानो–सानो प्लास्टिकका प्याकेटमा ५० र १०० मा स्याउको सुकुटी बेच्न थालिन् । ग्राहकले प्याकेटमा उत्पादनको बारेमा लेखिएको लेबलिङ खोज्न थाले । उनले पोखराबाट छपाएर लेबलिङ टाँस्न थालिन् । मूल्य, बनेको मिति राख्न थालिन् ।

ग्राहकको भावना बुझ्दै आफूलाई परिष्कृत बनाउँदै गुणस्तरमा जोड दिंदै गइन् । ‘ग्राहकहरू कति सफा, कति राम्रो भन्न थाले, धेरै माग आउन थाल्योसुकुनले उद्यमको अनुभव खोल्दै गइन्, ‘१५२० किलो माग हुन थाल्यो । होटलबाट भन्दा पनि स्याउको सुकुटीबाट बढी कमाइ भएको अनुभव भयो ।’

ग्राहककै मागले उनलाई हौस्यायो । अब होटलभन्दा यसैलाई उद्योगको रूपमै लैजानुपर्छ, जिल्लातिर गएर बुझ्नुपर्छ भन्ने हौसला आफैं भित्र जाग्यो । दर्ता प्रक्रियाबारे बुझ्न जोमसोम गइन् ।

घरेलु तथा साना उद्योग पुगिन् । सुकुनले थाहा पाइन्महिलाको नाममा लालपुर्जा र कम्पनी छ भने सहुलियत हुने रहेछ । आफ्नै नाममा लालपुर्जा छैन भने घरबेटीसँगको घरभाडा सम्झौता चाहिन्छ ।

त्यहीअनुसार सम्झौताको कागजातबाट उनले कम्पनी खोलिन् । नाम राखिन्– मार्फा फलफूल तथा तरकारी प्रशोधन उद्योग । यो २०७० सालको कुरा हो । ‘हाम्रो समाजमा एउटा भनाइ छ नि ! तिमी आँट, भगवानले पुर्‍याउँछन् । मेरा लागि त्यस्तै भयो । व्यक्तिगत दु:ख त आफ्ना ठाउँमा छन् तर मैले आँटे, पुग्यो’, उनले उद्योग खोल्दाको खुसी साटिन् ।

उद्योग दर्ता गर्न जाने क्रममै उनले थाहा पाएकी थिइन्, यस्ता उद्योगका लागि अनुदान समेत पाइन्छ । मुस्ताङमा एडीबीको हिमाली आयोजना शुरु भएको रहेछ ।

तपाईंले पनि व्यावसायिक योजना बनाएर पेश गर्नुस् भनेर घरेलुकै सरले भन्नुभयो । महिला, दलित, हिमाली जिल्ला पनि हो । तपाईं पर्न सक्नुहुन्छ’, उनले ढुंगा खोज्दा देउता मिले जस्तो हौसला दिने कर्मचारी भेटिन् ।

हिमाली आयोजनाको कार्यालयमा गएर आफ्ना कुरा पनि राखिहालिन् । प्रशोधन केन्द्रका लागि करिब ४५ लाख रुपैयाँ बराबरको इस्टिमेट निस्क्यो । उनको खातामा जम्मा ५ हजार रुपैयाँ थियो तर बिजनेस प्लान बनाउन ३० हजार चाहिन्थ्यो । तर, प्रक्रिया मिलाउने क्रममा पैसा त त्योभन्दा धेरै पो खर्च भयो ।

मुश्किलले प्रशोधन उद्योगका लागि चाहिने सबै कुरा, ठाउँको बन्दोबस्ती भयो ।

हिमाली आयोजनाको छनोटमा परिन् । आज सिजनमा परिवारबाहेक १५ जनासम्मले रोजगारी पाउँछन् । १५ वर्ष विदेशै बसेका श्रीमान् अहिले फर्केर उद्योगमै काम गरिरहेका छन् ।

एक दिन गाउँको आमा समूहकी अध्यक्षले भनिन्हाम्रो गाउँ देउरालीमा एक जना केटी विवाह भएर आएकी छन् । टाठी छन् । तिनैलाई स्वास्थ्य स्वयंसेविका बनाऔं ।

सफलताको पछाडि मैले दलित र महिला भएकै कारण खेपेका हैरानी धेरै छन् । ४५ लाख रुपैयाँको आयोजनाको काम कामीको छोरीले के गर्न सक्ली पनि भने । तर, आज मैले वर्ल्ड रेकर्ड राख्न सफल भएँ । विश्वका महिलाहरूको एउटा डकुमेन्ट्रीमा म पनि समावेश छुउनले गर्वका सथ भनिन्, ‘शुरुमा ४५ लाखको आयोजनामा मलाई जम्मा १२ लाख रुपैयाँ मिल्यो अविश्वासले, म धुरुक्कै रोएकी थिएँ ।’

४५ जना व्यवसायी छानिंदा सबैभन्दा कम शुरुमा आफूले पाएको दु:खेसो उनको छ । हिमाली आयोजनामा छानिएका ४५ व्यवसायमा मुश्किलले अहिले आफू सहित केही मात्र भेटिने उनले सुनाइन् ।

मिहिनेत र उत्पादनले पाएको प्रख्याति

आज प्रख्यात बनेको छ, उनले उत्पादन गरेको मुस्ताङको लोकल आलुको चिप्स । काठमाडौं, पोखराका ठूलाठूला होटलबाट माग आउन थाल्यो । मुस्ताङ घुम्ने नेपाली पर्यटक बढे, उनीहरूले भिडियो बनाएर प्रचार गरे र मिडियाको साथ पनि गज्जबै पाइन् । उनलाई अहिले धेरैले ‘चिप्स दिदी’ भनेर चिन्न थालेका छन् ।

मुस्ताङको स्याउको सुकुटी धेरैले बेच्छन् । तर, सुकुनले अन्य उत्पादनलाई समेत बजारसम्म पुर्‍याइरहेकी छन् । कुरकुरे, लेस जस्ता आयातित खानेकुराको विकल्प बन्यो, उनले उत्पादन गरेको चिप्स । उनीकहाँ एकखाले पिरो र अर्को सादा खालको चिप्स बन्छ भने एउटा आवश्यक पर्नेबित्तिकै फ्राइ गरेर दिने तीन खालका चिप्स बन्छन् ।

स्याउको सुकुटी बाहेक, जाम, क्यान्डी चकलेस, खुर्पानीको जाम र अचार उत्पादन गरेर बेच्न उनलाई भ्याईनभ्याई छ । मुस्ताङका उत्पादन साग, फापरको पिठो, सिस्नोको धुलो, सिटी, आलु पनि उनले बिक्री गरिरहेकी छन् ।

नेपालका विभिन्न संस्था र सरकारी तहबाट उनी पुरस्कृत र सम्मानित भएकी छन् । सुकुनको नाममा वृत्तचित्र नै बनेको छ । देशभरका मेलामहोत्सवमा स्टल राख्न उनको खोजी भइरहन्छ ।

देश–विदेशबाट हौसला प्राप्त भइरहेको छ । तर, उनको अन्तरमनले भनिरहेको छ, ‘सुकुन तँ मख्ख भएर बस्ने होइन, तैंले त अझै उद्यमलाई धेरै विस्तार गर्नु छ । अझै धेरै परिश्रम गर्नुछ’, यत्ति भनेर उनी विगततिरै फर्किइन् ।

८ कक्षामै विवाह, १५ वर्षमा आमा

सुकुन ८ कक्षामा पढ्दै थिइन्, बाबुआमाले विवाहको कुरा छिनिदिए । त्यतिबेला सुकुन जम्मा १४ वर्षकी थिइन् र श्रीमान् १८ वर्षका ।

मेरो त बालविवाह भएको हो नि ! लभ पार्नेलाई राम्रो मान्थेनन्, केटा देखेकै थिइनँ ।सुकुन १५ वर्षकै उमेरमा आमा बनिन् । समाज शिक्षित भइसकेको थिएन । ‘त्यसैमाथि दलित, १५ वर्षमै आमा भएँसुकुनले पुराना दिन सम्झिइन्, ‘दु:ख र पीडाका क्षण त कति छन् कति । तर, अहिले लाग्छ तिनै दिनले आज मलाई बलियो बनायो ।’

जीवनको पहिलो सफलताको खुड्किलो

सुकुन विवाह भएको १३ वर्षसम्म गाउँमै बसिन् । ८ कक्षा मात्रै पढे पनि उनी राम्रैसँग लेखपढ गर्न सक्थिन् । आफ्ना कुरा राख्न सक्थिन् ।

त्यति नै बेला गाउँमा महिला स्वास्थ्य स्वयंसेविकाको खोजी भयो । गाउँमा पढेलेखेका महिलाको कमी थियो । हिमाली जिल्ला मुस्ताङका भौगोलिक दु:ख आफ्नै थिए । एक दिन गाउँको आमा समूहकी अध्यक्षले भनिन्हाम्रो गाउँ देउरालीमा एक जना केटी विवाह भएर आएकी छन् । टाठी छन् । तिनैलाई स्वास्थ्य स्वयंसेविका बनाऔं ।

ग्रामीण क्षेत्रमा काम गर्ने महिला उनीहरूलाई चाहिएको थियो र त्यहाँ पनि सुकुन नै अब्बल ठहरिइन् । २१ जना महिला प्रतिस्पर्धामा थिए । १ नम्बरमा उनै छानिइन् र भइन्, गैरसरकारी संस्थाको जागिरे ।

सुकुन महिला स्वास्थ्य स्वयंसेविकामा छानिइन् । सानैमा आमा बनेकी उनले महिला स्वास्थ्यको तालिम लिइन् । गाउँमा आमाहरूको स्वास्थ्य कसरी ख्याल गर्ने, सुत्केरी आमा र शिशुको स्याहार कसरी गर्ने, खोप कुन बेला कसरी लगाउने भनेर गाउँमा ज्ञान बाँड्दै हिंडिन् ।

ज्ञान मात्रै बाँडिनन्, अनुभव र आफ्नो क्षमता पनि बढाइन् । उनले थुप्रै तालिम लिने अवसर पाइन् । क्षमता बढाइन् । त्यो समयमा पनि जिल्लाकै उत्कृष्ट स्वयंसेविका भएर देशका विभिन्न ठाउँ घुम्ने अवसर पाइन् ।

गाउँलेहरू धामीझाँक्रीमा विश्वास गर्थे । उनी सम्झाउँथिन्, बुझाउँथिन् । झन्डै १० वर्ष स्वास्थ्य स्वयंसेविका बनेपछि सुकुनमा आत्मविश्वास बढ्योअब त म जे पनि गर्न सक्छु । उनलाई लाग्यो, अब सधैं गाउँ बसेर हुँदैन । गाउँमा सक्ने जति गरें अब योभन्दा माथि सोच्नुपर्छ । उनले गाउँ छोड्ने निर्णय गरिन् ।

अनि भइन्, गैरसरकारी संस्थाको जागिरे

मुस्ताङको लेतेमा धौलागिरि प्राविधिक शिक्षालय खुल्दै थियो । लक्जम्बरका गिल्बर र म्यारी दम्पतीले सहयोग गरेका थिए । उनीहरूले गाउँमा अगुवा महिला भएर ग्रामीण महिला अगुवा तालिम लिने अब्बल बुहारी महिलाको खोजी गरेको खबर सुकुनले पाइन् । बुहारी महिला खोज्नुको कारण तालिम लिएपछि पनि गाउँमै सेवा गर्छन् भन्ने थियो ।

उनले त्यहाँ इच्छा व्यक्ति गरिन् र छानिइन् । नवज्योति प्रतिष्ठान केन्द्र बालुवाटार काठमाडौंमा तालिमका लागि जानुपर्ने थियो । परिवारको जिम्मेवारी थियो । डेढ वर्षको काखे छोरा थियो । सबै जिम्मेवारीलाई मिलाएर सुकुन काठमाडौं जान तयार भइन् । त्यतिबेलै हो, उनले पहिलो पटक काठमाडौं टेकेको ।

डेढ वर्षको दूधे बच्चा थियो । उसको हेरचाह गरिदिने परिवार नभएको भए म कहाँ काठमाडौं जान पाउँथें र ? मेरी सासूआमा मेरो दाहिना हुनुभयोसुकनले भनिन्, ‘कुनै महिला होस् वा पुरुष, परिवारको साथ विना अगाडि बढ्न सक्दैनन् । त्यसैमाथि महिलाका त झन् छुट्टै जिम्मेवारी छन् ।’

स्वयंसेविकाको अनुभव समेत लिएर सुकुनले ६ महिने तालिम सकिन् । २०५५ सालमा जब गाउँ फर्किइन्, उनका सामु फेरि अर्को कामले कुरेर बसिरहेको थियो । महिला पुनर्स्थापना ओरेक नामक संस्थाले भर्खर मुस्ताङमा शाखा खोलेको थियो, तत्कालीन कुञ्जो गाविसमा ।

ग्रामीण क्षेत्रमा काम गर्ने महिला उनीहरूलाई चाहिएको थियो र त्यहाँ पनि सुकुन नै अब्बल ठहरिइन् । २१ जना महिला प्रतिस्पर्धामा थिए । तर, ६ महिने तालिम र स्वास्थ्य स्वयंसेविका भएर ग्रामीण क्षेत्रमा काम गरेको अनुभव काम लाग्यो । अनि १ नम्बरमा उनै छानिइन् र भइन्, गैरसरकारी संस्थाको जागिरे । ओरेक नेपालमा उनले ४ वर्ष जागिर खाइन् ।

जब गैरसरकारी जागिरे भएँ, चेतना पनि बढ्यो । ५० वटा समूहमा काम गरेकी थिएँ । हात बाँधेर हुँदैन, आफैं पेशाव्यवसाय गर्नुपर्छ भन्ने लागिरह्यो । महिला आत्मनिर्भर हुनुपर्छ भन्ने कुराले झक्झक्याइरह्योउनको आत्मविश्वास बोल्यो, ‘६ महिना म यत्तिकै बसें । त्यही बेला श्रीमान् विदेश जानुभयो ।’

उद्यम गर्ने अवसरको खोजी गर्दै श्रीमान्‌को गाउँ देउरालीबाट उनी मार्फा झरिन् । त्यहीं छोराछोरी पढाइन् । मार्फामै बस्दा उनले थाहा पाइन्, त्यहाँ घर भाडामा छ ।

सुकुनको हिम्मत जाग्यो, आँट छोरी, यही हो मौका । आँटिन्, जोडजाम गरेर ७ लाख रुपैयाँ जुटाइन् र खोलिन्– देउराली होटल एन्ड रेस्टुरेन्ट ।’

लेखक
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् ।