२३ चैत, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले नेपाली कांग्रेस र नेकपा एमालेबीच विगतमा भएको मुख्यमन्त्रीमा आलोपालो भागबण्डाबारे आफूलाई थाहा नभएको बताएका छन् ।
सत्ता साझेदार दल एमालेले विगतमा कांग्रेससँग भएको सहमतिअनुसार नेतृत्व हस्तान्तरणको विषय उठाइरहेको बेला मुख्यमन्त्री बानियाँले भागबण्डाबारे अनभिज्ञता देखाएका हुन् ।
‘भागबण्डाको कुरा मलाई थाहा छैन । पार्टी नेतृत्वलाई पनि यसबारे जानकारी छैन,’ सोमबार मुख्यमन्त्री कार्यालयमा भएको मुख्यमन्त्री र मन्त्रीहरूको पत्रकारसँग अन्तरसंवादका क्रममा उनले भने, ‘यहाँ कांग्रेस र एमालेकै मन्त्री ज्युहरू हुनुहुन्छ, उहाँहरूलाई पनि थाहा छैन ।’
कांग्रेस र एमालेबीच गत वर्ष साउनमा संयुक्त सरकार निर्माण हुँदा २०/२० महिना आलोपालो मुख्यमन्त्री हुने सहमति थियो । जतिबेला एमालेको समर्थनमा कांग्रेसबाट दलका नेतासमेत रहेका बहादुरसिंह लामा मुख्यमन्त्री नियुक्त भएका थिए ।
लामाले एमाले संसदीय दलका नेता जगन्नाथ थपलियालाई सत्ता हस्तान्तरण गर्ने सहमति भएको कांग्रेसको लामा पक्षका सांसद बताउँछन् । थपलियाले पूर्वसहमति अनुसार फागुनपछि नेतृत्व हस्तान्तरण हुनुपर्ने विषय उठाउँदै आएका छन् ।
तर, लामा मुख्यमन्त्री बनेको एकवर्षपछि कांग्रेस संसदीय दलमा बहुमत जुटाएका बानियाँले अविश्वासको प्रस्ताव दर्ता गरेर उनलाई हटाएका थिए ।
चालु आव २०८१/८२ को बजेटमा पार्टी भित्र विवाद भएपछि जसको बलमा आफ्नो पक्षमा बहुमत सांसद जुटाउँदै तत्कालीन पार्टी सभापति शेरबहादुर देउवाको समर्थनमा बानियाँले लामालाई सरकारबाट हटाएर आफू मुख्यमन्त्री बनेका थिए । बानियाँ २० साउन २०८२ मा मुख्यमन्त्री बने ।
९ साउन ०८२ मा मुख्यमन्त्रीसमेत रहेका दल नेता लामाविरुद्ध बानियाँकै नेतृत्वमा २१ सांसदले अविश्वास प्रस्ताव दर्ता गराए । १३ साउनमा अविश्वासको प्रस्तावमाथि मतविभाजन हुँदा अविश्वास प्रस्तावको पक्षमा २२ र विपक्षमा १५ मत परेपछि लामाले दल नेताको हैसियत गुमाएका थिए ।
गत १४ साउनमा दलको नेता चयनका लागि भएको निर्वाचनमा लामालाई हराएपछि बानियाँको मुख्यमन्त्री हुने बाटो खुलेको थियो । त्यसअघि १३ पुस २०७९ मा दलको नेताका लागि भएको निर्वाचनमा लामासँग बानियाँ ५ मतले पराजित भएका थिए ।
प्रतिक्रिया 4