+
+
Shares

‘चिनियाँ फिल्मले नेपाली बजारमा ध्यान दिएका छैनन्, दुवै देशका सरकार सक्रिय हुनुपर्छ’

भाषा एउटा चुनौती हो, तर असम्भव छैन । दुवै देशका सरकारले सहकार्य बढाउन पहल गर्नुपर्छ । नीतिगत रूपमा सहयोग भएमा बजारमा प्रवेश सजिलो हुन्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २४ गते १४:४०
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चीनको युनिभर्सिटी अफ इलेक्ट्रोनिक साइन्स एन्ड टेक्नोलोजीकी प्राध्यापक जुन झान नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको जुरी सदस्यका रूपमा काठमाडौंमा छिन्।
  • झानले नेपाली फिल्ममा नाच–गानको मात्रा बढी र जीवन्तता देखिएको बताउँदै नेपाल-चीन फिल्म सहकार्यका लागि संयुक्त अनुसन्धान र सह-लेखन आवश्यक रहेको उल्लेख गरिन्।
  • उनले नेपाली फिल्मकर्मीलाई तिब्बतजस्ता विषयमा कथा बनाउन प्रोत्साहित गर्दै भाषा चुनौती भए पनि सरकारको पहलले चिनियाँ बजारमा प्रवेश सजिलो हुने बताइन्।

चिनियाँ प्राध्यापक जुन झान काठमाडौंमा छिन् । नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)को जुरी सदस्यको रुपमा नेपाली राजधानीमा ओर्लिएकी उनी चीनको युनिभर्सिटी अफ इलेक्ट्रोनिक साइन्स एन्ड टेक्नोलोजीकी पत्रकारिता तथा सञ्चार विभाग प्रमुख, प्राध्यापक तथा मिडिया विशेषज्ञ हुन् । नयाँ मिडिया, अन्तर्राष्ट्रिय सञ्चार र अन्तरसंस्कृति अध्ययनमा दखल राख्ने झान चीनका विभिन्न थिंक ट्याङ्कसँग पनि जोडिएकी छन् । युनिभर्सिटी अफ क्यालिफोर्निया, स्यान डिएगो र कलेज अफ विलियम एन्ड मेरीमा समेत अध्ययन-अनुसन्धानको अनुभव लिएकी उनी मिडिया इकोलोजी र भिजुअल स्टोरीटेलिङमा विश्लेषणात्मक दृष्टि राख्छिन् । झानसँग महोत्सवको अनुभव, नेपाली सिनेमाको अवस्था र नेपाल-चीनबीच फिल्म तथा मिडिया सहकार्यका सम्भावनाबारे अनलाइनखबरकर्मी विष्णु शर्माले गरेको संवादको सम्पादित अंश :

तपाईं नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) को जूरी सदस्यका रूपमा काठमाडौंमा हुनुहुन्छ । महोत्सवबारे तपाईंको समग्र अनुभव कस्तो रह्यो ?

निफ एकदमै पेशेवर संस्थाजस्तो लाग्यो । आयोजक मित्रवत् र सहयोगी छन् । वर्षेनी अझ राम्रो हुँदै गएको महसुस हुन्छ ।सबैलाई समान व्यवहार गरेका छन्, विशेष गरी विदेशी निर्देशक, निर्माता र फिल्मकर्मीलाई पनि बराबरी सम्मान दिएका छन्, जुन निकै महत्वपूर्ण कुरा हो । स्क्रिनिङ पनि राम्रोसँग योजना बनाएर उत्कृष्ट स्थलमा आयोजना गरिएको छ, जसले मलाई प्रभावित बनायो ।

अहिले युवापुस्ता मोबाइलमा भिडियो हेर्न रुचाउँछन्, तर ठूलो पर्दामा फिल्म हेर्ने अनुभव अझै पनि निकै महत्वपूर्ण छ । ठूलो स्क्रिन, साउन्ड सिस्टम र दृश्य-श्रव्य अनुभवले दिने भावनात्मक प्रभाव मोबाइलभन्दा धेरै फरक हुन्छ । यस्ता महोत्सवले विश्वभरका फिल्मलाई एउटै प्लेटफर्ममा ल्याएर मानिसले के-कस्ता काम गरेका छन् भन्ने देखाउने राम्रो अवसर दिन्छ ।

मिडिया र कथा भन्ने दृष्टिकोणबाट अहिले नेपाली सिनेमाको अवस्थालाई तपाईं कसरी हेर्नुहुन्छ ?

साँचो कुरा भन्नुपर्दा, मैले नेपाली फिल्मबारे अझै धेरै अध्ययन गर्न बाँकी छ । यसअघि पनि मैले धेरै नेपाली फिल्म हेरेकी थिइनँ, त्यसैले ठोस मूल्यांकन दिन गाह्रो हुन्छ । यद्यपि, पहिलो प्रभावका आधारमा भन्नुपर्दा नेपाली फिल्ममा नाच–गानको मात्रा धेरै देखिन्छ, जुन भारतीय फिल्मसँग मिल्दोजुल्दो लाग्छ । चिनियाँ फिल्ममा भने यस्तो कम हुन्छ ।

मलाई लाग्छ, यो मेरो एउटा पूर्वधारणा पनि हुन सक्छ । नेपाली फिल्ममा एक किसिमको खुसीपन र जीवन्तता देखिन्छ । मलाई त्यो मन पर्छ । यहाँका फिल्मकर्मीलाई देख्दा लाग्छ, उनीहरू सिक्दै अगाडि बढिरहेका छन्, जसले भविष्य राम्रो बनाउने संकेत दिन्छ ।

क्रस-कल्चरल कम्युनिकेसनको विज्ञको रूपमा अहिले नेपाली फिल्ममा संस्कृति कसरी प्रस्तुत भइरहेको देख्नुहुन्छ ?

फिल्मको दृश्य, भाषा र ध्वनि प्रणालीबाटै संस्कृति झल्किन्छ । नेपाली भाषाको उच्चारण, संगीत र कथा भन्ने शैली चिनियाँ वा अंग्रेजीभन्दा फरक छ । यही फरकपन नै यसको विशेषता हो ।

तर भावनाको स्तरमा भने सबै ठाउँमा समानता हुन्छ । जस्तै- बिछोड, माया, मृत्युजस्ता विषय सबैले समान रूपमा महसुस गर्छन् । फिल्ममा यस्ता संकेत देख्दा जुनसुकै देशका दर्शकले पनि सजिलै बुझ्न सक्छन । संस्कार, पोशाक, संगीत जस्ता कुरा पनि नेपाली फिल्ममा स्पष्ट देखिन्छन् ।

नेपाली सिनेमा आफ्नो मौलिकता जोगाउँदै अन्तर्राष्ट्रिय दर्शक, विशेष गरी चीनसँग कसरी जोडिन सक्छ ?

कथावस्तु नै सबैभन्दा महत्वपूर्ण कुरा हो । कथा राम्रो भए भाषा नबुझे पनि दर्शकले बुझ्न सक्छन् । हामीले प्रयोग गर्ने संकेत, भाव, दृश्य धेरैजसो साझा हुन्छन् । कथा कसरी भनिन्छ भन्ने कुरा अझ महत्वपूर्ण हो । उदाहरणका लागि, ‘लायन किङ’ जस्ता फिल्मले विश्वभर एउटै सन्देश दिन सके । त्यस्तै, राम्रो कथा र प्रस्तुति भएमा कुनै पनि देशका दर्शकसँग जोडिन सकिन्छ ।

संस्कृति फरक हुँदाहुँदै नेपाल र चीनले दुवै देशका दर्शकलाई छुने कथा कसरी बनाउन सक्छन् ?

यसका लागि संयुक्त अनुसन्धान निकै जरुरी हुन्छ । लेखकले कथा लेख्नुअघि दुवै देशको संस्कृति, इतिहास र पृष्ठभूमिबारे अध्ययन गर्नुपर्छ । नेपाल र चीन हिमाली क्षेत्रमा रहेका देश हुन्, र धेरै सांस्कृतिक समानता छन् ।

जस्तै- प्रार्थना झण्डा, बौद्ध संस्कृति, ऐतिहासिक सम्पर्क आदि विषयमा आधारित कथाहरू दुवै देशका दर्शकले सहजै बुझ्न सक्छन् । म नेपाली फिल्मकर्मीलाई तिब्बतजस्ता विषयमा पनि कथा बनाउन प्रोत्साहित गर्छु ।

हालको अवस्थामा नेपाल-चीन फिल्म सहकार्यका सबैभन्दा सम्भावनायुक्त क्षेत्र के देख्नुहुन्छ ?

सबैभन्दा पहिले सह-लेखनबाट सुरु गर्न सकिन्छ । त्यसपछि संयुक्त रूपमा फिल्म छायांकन गर्न सकिन्छ । दुवै देशका कलाकार, लोकेशन र अनुभवलाई जोडेर काम गर्न सकिन्छ । हामीले एकअर्कालाई राम्रोसँग बुझ्नुपर्छ । कसैलाई नेपालका ताल आकर्षक लाग्छ भने कसैलाई चीनका पाण्डा । दृष्टिकोण फरक हुन सक्छ, त्यसैले संवाद बढाउनु आवश्यक छ ।

व्यावहारिक रूपमा सहकार्य कसरी बलियो बनाउन सकिन्छ ?

दुवै देशका विश्वविद्यालय वा अनुसन्धान संस्थामार्फत साना कार्यक्रम सुरु गर्न सकिन्छ । लेखक, निर्देशक, प्राध्यापकलाई एकै ठाउँमा ल्याएर तालिम र आदानप्रदान गर्न सकिन्छ । वन्यजन्तु, हिमालय क्षेत्र, वृत्तचित्र निर्माण, एआई प्रविधि जस्ता विषयमा अनुभव साटासाट गर्न सकिन्छ । यसले भविष्यमा ठूलो सहकार्यको आधार तयार गर्छ ।

नेपाली फिल्मकर्मीले चिनियाँ बजारमा कसरी प्रवेश गर्न सक्छन् ?

भाषा एउटा चुनौती हो, तर असम्भव छैन । दुवै देशका सरकारले सहकार्य बढाउन पहल गर्नुपर्छ । नीतिगत रूपमा सहयोग भएमा बजारमा प्रवेश सजिलो हुन्छ ।

चिनियाँ फिल्मले नेपालमा आफ्नो बजार कसरी विस्तार गर्न सक्छ ?

चिनियाँ फिल्मले अझै नेपालजस्ता बजारमा ध्यान कम दिएका छन् । उनीहरू प्रायः पश्चिमी बजारमा केन्द्रित छन् । यदि दुवै देशका सरकार र विज्ञ सक्रिय भए भने यस क्षेत्रमा धेरै सम्भावना छ ।

फिल्मलाई सांस्कृतिक कूटनीतिको माध्यमका रूपमा कसरी प्रयोग गर्न सकिन्छ ?

फिल्मले संस्कृति आदानप्रदानमा ठूलो भूमिका खेल्छ । जब फिल्मकर्मी एकअर्काको देशमा पुग्छन्, तब मात्र उनीहरूले वास्तविक संस्कृति बुझ्न सक्छन् । यस्तो अनुभवले गहिरो सम्बन्ध बनाउँछ ।

नेपालले चीनको फिल्म उद्योगबाट के सिक्न सक्छ ?

विविध कथा बनाउनुपर्छ । केवल प्रेम वा पारिवारिक कथामा सीमित नहुँदा राम्रो हुन्छ । लगानीको समस्या दुवै देशमा छ, त्यसैले व्यावसायिक तत्वसँग जोडेर फिल्म बनाउन सकिन्छ । एआई प्रविधिको प्रयोग पनि अहिले निकै महत्वपूर्ण छ, यसले निर्माण प्रक्रियालाई सजिलो बनाउँछ ।

सानो फिल्म उद्योग भएका देशका कथा अन्तर्राष्ट्रिय स्तरमा कसरी पुग्न सक्छन् ?

सामाजिक सञ्जाल सबैभन्दा प्रभावकारी माध्यम हो । अंग्रेजी सबटाइटल वा एआई अनुवादले भाषा बाधा हटाउँछ । नेपालसँग हिमाल, पर्यटन र प्रकृतिसम्बन्धी धेरै कथा छन् । यस्ता विषयमा वृत्तचित्र र फिल्म बनाएर विश्वभर दर्शक आकर्षित गर्न सकिन्छ ।

भविष्यमा नेपाल-चीन मिडिया सहकार्य कस्तो देख्नुहुन्छ ?

म निकै आशावादी छु । हामीले प्रयास गर्‍यौं भने सहकार्य अझ बलियो हुन्छ । सुरुमा केही समस्या हुन्छ, तर क्रमशः सुधार हुँदै जान्छ ।

जूरीका रूपमा फिल्म मूल्यांकन गर्दा तपाईं के कुरामा ध्यान दिनुहुन्छ ?

सबैभन्दा महत्वपूर्ण कुरा कथा र भावना हो । प्राविधिक पक्ष पनि महत्वपूर्ण हुन्छ, तर केवल प्रविधिले मात्र राम्रो फिल्म बन्दैन । यदि कथा र भावनात्मक प्रभाव कमजोर छ भने म त्यस्तो फिल्म रोज्दिनँ ।

नेपालको कुन पक्ष तपाईंलाई मन पर्छ ?

सबै कुरा । यहाँका मानिसहरू, उनीहरूको आत्मीयता, संस्कृति सबै मन पर्छ । मैले यहाँ धेरै साथीहरू बनाएँ । उनीहरूले घरमै बोलाएर खाना खुवाए, जुन मेरो लागि निकै भावुक अनुभव थियो । मलाई यहाँको मुस्कान, निलो आकाश, पहाड, प्रकृति सबै मन पर्छ । नेपाल साँच्चै सुन्दर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?