News Summary
Generated by OK AI. Editorially reviewed.- मेलानिया ट्रम्पले ह्वाइट हाउसमा पत्रकार सम्मेलनमार्फत जेफ्री एपस्टीनसँग आफ्नो कुनै सम्बन्ध नरहेको स्पष्ट पारेकी छिन्।
- उनले एपस्टीनसँग सन् २००० मा एकपटक मात्र भेट भएको र एपस्टीनकी सहयोगीसँगको संवाद सामान्य शिष्टाचार मात्र भएको बताइन्।
- मेलानियाले एपस्टीनका पीडित महिलाहरूका लागि अमेरिकी कंग्रेसमा सार्वजनिक सुनुवाइको माग गरेकी छिन् र विपक्षी सांसदले समर्थन गरेका छन्।
२७ चैत, काठमाडौं । मेलानिया ट्रम्पले बिहीबार ह्वाइट हाउसमा आयोजित एक अप्रत्याशित पत्रकार सम्मेलनमार्फत दिवंगत यौन अपराधी जेफ्री एपस्टीनसँग आफ्नो कुनै पनि किसिमको सम्बन्ध नरहेको स्पष्ट पारेकी छिन् ।
लामो समयदेखि ओझेलमा रहेकी मेलानियाको यो आकस्मिक उपस्थिति र कडा टिप्पणीले अमेरिकी राजनीतिमा नयाँ तरंग पैदा गरिदिएको छ।
पत्रकारहरूसँग कुरा गर्दै मेलानिया ट्रम्पले एपस्टीन र आफूबीच सम्बन्ध रहेको भनी लगाइएका आरोपहरू पूर्णतः निराधार रहेको र यस्ता भ्रमपूर्ण प्रचारहरू आजैका मितिदेखि बन्द हुनुपर्ने चेतावनी दिईन।
अनलाइनमा एपस्टीनले नै मेलानियालाई डोनल्ड ट्रम्पसँग चिनापर्ची गराएको दाबी गरिएको हल्लाहरूलाई उनले आफ्नो प्रतिष्ठामा आँच पुऱ्याउने ‘दुराशयपूर्ण प्रयास’ को संज्ञा दिइन् ।
“म एपस्टीनको कुनै पनि गतिविधिमा कहिल्यै सहभागी थिइनँ र मलाई उनका पीडितहरूको दुर्व्यवहारबारे कुनै जानकारी थिएन,” उनले भनिन् ।
सन् २००० मा एकपटक मात्र उनीसँग जम्काभेट भएको र एपस्टीनकी सहयोगी घिसलेन म्याक्सवेलसँगको इमेल संवाद केवल ‘सामान्य शिष्टाचार’ मात्र भएको उनको दाबी छ।
आफ्नो बचाउ गर्ने क्रममा मेलानियाले एउटा साहसिक कदम चाल्दै एपस्टीनको यौन तस्करीबाट पीडित भएका महिलाहरूका लागि अमेरिकी कंग्रेसमा सार्वजनिक सुनुवाइको माग गरेकी छिन् ।
उनले भनिन्, ‘प्रत्येक महिलाले आफ्नो कथा सार्वजनिक रूपमा सुनाउने अवसर पाउनुपर्छ र उनीहरूको बयानलाई संसदीय अभिलेखमा स्थायी रूपमा दर्ता गरिनुपर्छ। तब मात्र सत्य बाहिर आउनेछ ।’
प्रथम महिलाको यो मागलाई विपक्षी डेमोक्र्याट सांसद रोबर्ट गार्सियाले तत्कालै समर्थन गर्दै हाउस ओभरसाइट कमिटीका अध्यक्षलाई सार्वजनिक सुनुवाइको तालिका बनाउन आग्रह गर्नुभएको छ।
मेलानियाको यो कदमले ह्वाइट हाउस प्रशासनभित्रै केही अन्योल सिर्जना गरेको देखिएको छ। राष्ट्रपति डोनल्ड ट्रम्पले आफूलाई यसबारे पूर्वजानकारी नभएको बताएका छन् भने मेलानियाका प्रवक्ताले राष्ट्रपतिलाई यसबारे थाहा भएको तर विषयवस्तुबारे स्पष्ट नभएको भनेका छन् ।
एपस्टीनका पीडितहरूले भने यो घोषणालाई मिश्रित रूपमा लिएका छन्। पीडित लिसा फिलिप्सले यसलाई ‘साहसिक कदम’ भने पनि कतिपयले यसलाई ‘राजनीतिक नाटक’ मात्र हुन सक्ने आशंका गरेका छन्।
भर्जिनिया जिउफ्रेका परिवारले भने पीडितहरूलाई फेरि बयान दिन लगाउनु न्याय नभई जिम्मेवारीबाट पन्छिने बाटो भएको टिप्पणी गरेका छन्।
मेलानिया ट्रम्पले यसअघि पनि एपस्टीनसँग आफ्नो नाम जोड्ने लेखक माइकल वोल्फ र कतिपय सञ्चारमाध्यमविरुद्ध मानहानिको मुद्दा लड्दै आएकी छिन् । पछिल्लो समयमा धेरै प्रतिष्ठित व्यवसायीहरू एपस्टीनसँगको सम्बन्धका कारण राजीनामा दिन बाध्य भइरहेका बेला मेलानियाको प्रतिक्रिया आएको हो।
प्रतिक्रिया 4