News Summary
Generated by OK AI. Editorially reviewed.- लोकप्रिय नेपाली सांगीतिक समूह कन्दराले काठमाडौंको क्लब नोभामा २००० भन्दा बढी दर्शकसामु सन् ९० को दशकका हिट गीत प्रस्तुत गरेको छ।
- कन्सर्टमा मुख्य गायक विवेक श्रेष्ठले 'मेरी माया', 'फूलचोकीको डाँडैमा' लगायत गीत गाउँदा दर्शकले हुटिङ र नृत्य गरेर साथ दिएका थिए।
- कन्दराले पश्चिम एसियाको युद्धका कारण इजरायल कन्सर्ट रद्द गरी बेलायत, अमेरिका र क्यानडामा टूर गर्ने तयारी गरेको छ।
काठमाडौं । लोकप्रिय नेपाली सांगीतिक समूह ‘कन्दरा’ काठमाडौंमा गुञ्जिएको छ । ठमेलस्थित क्लब नोभामा सन् ९० को दशकको यो चर्चित ब्यान्डलाई सुन्न प्रशंसक साँझैदेखि जम्मा भैसकेका थिए ।
घडीको सुईले १० बजेर ३० मिनेट बजाउने वित्तिकै मुख्य गायक विवेक श्रेष्ठ स्टेजमा उक्लिए । दर्शक दीर्घाबाट हिँडेर ‘मेरी माया’ गाउँदै उनी मञ्चमा उक्लिएका थिए । बंगलादेशी स्पटलाइटले उनलाई पछ्याउन थाल्यो । दर्शकले हुटिङसहित रमाइलो गर्न थाले ।
स्टेजमा चढेपछि विवेकले ‘विदेशिएर गइन् उनी’ गाउँदा दर्शक झुमे । त्यसपछि उनले अर्को हिट ट्रयाक ‘फूलचोकीको डाँडैमा’ गाउँदा दर्शक मन्त्रमुग्ध बने । ‘भेडीगोठैमा’ गाउँदा दर्शकले गायनमा साथ दिए ।
‘तगारोमा रुमाल राखी बाटो छेक्यौ तिम्ले’ गाएपछि दर्शकले वान्स मोरको हुटिङ गरे । त्यसपछि विवेकले लगातार गाइरहे । ‘चन्चले कान्छीको जोवन हावा सरी उडेछ’ गाउँदा दर्शकले नाचेर साथ दिए ।
‘तिमी हाँसे हासिदिउँला, रोए फकाउँला’ गाउँदा दर्शकको जोडदार हुटिङ बज्यो । बिनागीत ड्रमर सुनील थापाले ड्रम बजाउँदा त्यत्तिकै दर्शकले हुटिङ दिए जतिबेला बिना गीतमै अविनाश गायकले मादल बजाएर वाद्यवादन कला प्रस्तुत गरे ।

बीचमा बीचमा अन्य गीत गाउँदा पनि ९० को दशकका प्रशंसकले रमाइलो गरिरहे । युवादेखि ९० को दशकसम्मका सबै दर्शक गरेर कन्सर्टमा २००० हजारभन्दा बढीको भीड रहेको बताइएको छ ।
जति रात छिप्पिँदै गयो, उति नै कन्दराले आफ्ना हिट ट्रयाकमा दर्शकलाई नचाउँदै थियो । अनि पालो आयो- लेककी हे माया र हङकङ पोखराको ।’
यो सर्वकालिन प्रिय गीत विवेकले गाउँदा दर्शक झुमे, रमाए र आफूलाई बिर्सिए । दमदार लाइट र साउन्डले कन्सर्टलाई अझै भब्य तुल्याएको थियो । हरेक प्रस्तुतिपछि दर्शकले वान्स मोरको नारा लगाइरहे, यसले कन्दराप्रति दर्शकीय रुचि र आकर्षणलाई प्रतिविम्वित गर्छ ।
यो कन्सर्टमा विवेक आफ्नो वास्तविक हेयर स्टाइलमा प्रस्तुत थिए । विगतमा विग लगाएर प्रस्तुत हुने उनी आफ्नो वास्तविक अवतारमा देखिएका थिए । यो कन्सर्टलाई ‘र एन्ड रियल’ शैलीमा प्रस्तुत गरेको उनी बताउँछन् ।
विवेकले वास्तविक लुक्समा देखिन पाउँदा आफूलाई आनन्द लागेको पनि बताए । ‘रिदम अफ चेन्ज’ श्रृंखलाअन्तर्गत यसअघि कन्दराले ठमेलकै एक्सओ क्लबमा प्रस्तुति दिएको थियो । कन्दराले ‘परिवर्तन संगीतमा, सोचमा र स्वयममा’ नारासहित पछिल्लोपटक सांगीतिक प्रस्तुति दिँदै आइरहेको छ ।
पश्चिम एसियाको युद्धको कारण इजरायलमा हुने तयारीमा रहेको ब्यान्डको कन्सर्ट रोकिएको छ । जुनमा बेलायत, जुलाईपछि अमेरिका र क्यानडा टूरको तयारीमा ब्यान्ड छ ।
त्यसपछि स्वदेश फर्किएर विभिन्न सहरमा प्रस्तुति दिने तालिका रहेको ब्यान्डका लिड भोकलिस्ट समेत रहेका विवेकले बताए । ब्यान्डको सदस्यमा ड्रममा सुनील थापा, गिटारमा सन्देश म्यूजो, बेस गिटारमा पंकज झा, मादलमा अविनाश गायक, किबोर्डमा नीरज विश्वकर्मा छन् ।




प्रतिक्रिया 4