१ वैशाख, काठमाडौं । बिहारका मुख्यमन्त्री नितिश कुमारले पदबाट राजीनामा दिएका छन् । उनले राज्यपालसमक्ष मुख्यमन्त्री पदबाट राजीनामा दिएको व्यहोरा एक्समार्फत सार्वजनिक गरेका छन् ।
एक्समार्फत राजीनामा दिएको पुष्टि गर्दै उनले सबैलाई धन्यवाद दिएका छन् । यस्तै उनले आगामी सरकारलाई पूरा सहयोग र मार्गनिर्देशन दिने पनि प्रतिबद्धता जनाएका छन् ।
यस्तै उनले मुख्यमन्त्रीमा आफ्नो कार्यकालको पनि स्मरण गरेका छन् ।
उनले लेखेका छन्, ‘२४ नोभेम्बर २००५ मा पहिलो पटक एनडीए सरकार बनेको थियो । त्यहाँदेखि राज्यमा कानुनको राज छ र हामी लगातार विकासका काममा लागेका छौं ।’
आफ्नो कार्यकालमा बिहार राज्यका सबै धर्म, जाति, समुदाय, वर्ग तथा तह र तप्का जनताको विकास भएको नितिश कुमारको दाबी छ । ‘हर क्षेत्रमा काम भएको छ । चाहे शिक्षा होस्, चाहे स्वास्थ्य होस्, विद्युत् होस्, कृषि होस्,’ उनले लेखेका छन्, ‘महिला र युवाका लागि पनि धेरै काम गरिएका छन् ।’
नितिशकुमार यही मार्चमा बिहारबाट राज्यसभा(केन्द्रको माथिल्लो सदन)को सदस्यमा निर्वाचित भएका थिए । जसका लागि उनले सांसद पदको शपथ पनि लिइसकेका छन् ।
नितिश कुमार पछिल्लो समय बिहारमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी(बिजेपी)को सहयोगमा मुख्यमन्त्री थिए ।
अब नितिश कुमारको ठाउँमा बिहारमा पहिलो पटक बिजेपीको नेतृत्वमा सरकार बन्ने भएको छ । जहाँ नयाँ मुख्यमन्त्रीका रूपमा बिजेपीले सम्राट चौधरीलाई अगाडि सार्ने आजतकले लेखेको छ ।

बिहारमा पहिलो पटक सन् २००० मा नितिश कुमार सात दिनको मुख्यमन्त्री बनेका थिए । त्यसपछि सन् २००५ देखि २०१४ सम्म ८ वर्ष १७७ दिन मुख्यमन्त्री रहे ।
त्यसपछि बीचमा जितनराम माझी २०१४ देखि २०१५ सम्म २७८ दिन मुख्यमन्त्री रहेका थिए । त्यसपछि भने लगातार ११ वर्ष ५१ दिन मुख्यमन्त्री रहेर आज नितिश कुमारले पदबाट राजीनामा दिएका छन् ।
प्रतिक्रिया 4