+
+
Shares

चुदारोको भरमा जोगिंदै परम्परागत ठेकी निर्माण, यसरी बनाइन्छ (तस्वीरहरू)

ठेकी निर्माण प्रक्रिया निकै रोचक छ, मिहिनेत पनि उस्तै छ । अहिले पनि पानी र चुदारोको प्रयोग गरेर ठेकी निर्माण गरिन्छ । जसले स्थानीय संस्कृति र परम्परालाई जिवन्त राखेको छ ।

ईश्वर थापा ईश्वर थापा
२०८३ वैशाख २ गते ७:१०

१ वैशाख, धनकुटा । आधुनिक प्रविधि र विद्युतबाट चल्ने मेसिनको प्रयोग बढ्दै गएको अहिलेको समयमा पनि धनकुटाका केही ग्रामीण भेगमा परम्परागत सीप र प्रविधिको जगेर्ना भइरहेको छ ।

विशेषगरी ठेकी निर्माणमा अहिले पनि पानी र चुदारोको प्रयोग गरिँदै आएको छ । जसले स्थानीय संस्कृति र परम्परालाई जिवन्त राखेको छ ।

धनकुटाको महालक्ष्मी नगरपालिका-४ का दीर्घबहादुर पौडेल एक वर्षमा करिब एक सय ठेकी बनाउँदै आएका छन् ।

उनले हिउँदका केही महिना मात्रै ठेकी बनाउने काम गर्दै आएको बताए । खेतीपातीको सिजन अर्थात बर्खाको समयमा ठेकि बनाउने काम नगरेको पौडेलको भनाइ छ ।

उनले बनाउने ठेकीहरू सानोदेखि ठूलो आकारसम्मका हुन्छन् । जसमा २ देखि ३८ कुरुवासम्म अट्ने क्षमता ठेकी बनाउँदै आएको उनको भनाइ छ । ठेकीसँगै पौडेलले तोङ्वा, खाने भाँडो र हर्पे समेत बनाउने गरेका छन् ।

परम्परागत तरिकाले बनाउँदा ठेकी प्रति कुरुवा तीन सय रुपैयाँका दरले बिक्री हुने गरेको छ । सानो २ कुरुवा अट्ने ठेकी ६ सय र ३८ कुरुवा अट्ने ठेकी करिब ११ हजार ४ सयमा बिक्री हुँदै आएको छ । जसले गर्दा पौडेलले वार्षिक रूपमा करिब ६ लाख रुपैयाँसम्मको आम्दानी गर्दै आएको बताए ।

पौडेलका अनुसार, बिजुलीबाट बनाइने ठेकीभन्दा परम्परागत ठेकी प्रति कुरुवा करिब एक सय रुपैयाँ सस्तो पर्ने गरेको छ । त्यसैले बजारमा परम्परागत रुपमा चुदारोको प्रयोग गरेर बनाइएको ठेकीको माग राम्रो रहेको छ ।

ठेकी निर्माण प्रक्रिया निकै रोचक छ, मिहिनेत पनि उस्तै छ । नजिकैको खोलाबाट ल्याइएको पानीलाई करिब पाँच मिटर माथिबाट झारेर साचो घुमाइन्छ । त्यसपछि सो साचोमा काठ राखेर चुदारोको सहायताले काँचो काठलाई बिस्तारै आकार दिइन्छ ।

यसरी तयार गरिने ठेकीमा कालिगढको सीप र कलात्मकता स्पष्ट देखिन्छ । ठेकी बनाउन मुख्यत: दार र कटहरका रूखको काठ प्रयोग गर्दा उपयुक्त मानिन्छ । दार र कटहरका काठबाट बनाइएको ठेकी दूध जमाउँदा दही र मोही मिठो हुन्छ भन्ने मान्यता रहेको छ । तर, पछिल्लो समय काठ र चुदारोको अभावका कारण यो परम्परा हराउँदै जाने चिन्ता बढ्दो छ ।

महालक्ष्मी नगरपालिका-का वडाध्यक्ष शुक्रराज बुढाथोकीका अनुसार, गाउँमा बिजुली पुगे पनि ठेकी निर्माणमा पुरानै विधि अपनाइँदै आएको छ ।

पानी र चुदारोको प्रयोग गरेर ठेकी मात्र नभई कुटानी–पीसानीको मिल समेत सञ्चालनमा रहेको बुढाथोकीले बताए ।

उनले गाउँमा केही समयअघि विद्युतबाट चल्ने ठेकी बनाउने मेसिन आएको भएपनि दीर्घकालीन सञ्चालन नभएको बताए ।

बुढाथोकीका अनुसार पानी र चुदारोको प्रयोगबाट उत्पादन हुने सामग्री सस्तो पर्ने मात्र होइन, वातावरणमैत्री र दिगो पनि हुन्छ । साथै यसले स्थानीय सीप, परम्परा र पहिचानलाई संरक्षण गर्न महत्वपूर्ण भूमिका खेलेको छ ।

बुढाथोकीले परम्परागत सीपलाई आधुनिक प्रविधिसँग समन्वय गर्दै संरक्षण र प्रवर्द्धन गर्न नगरपालिकाले काम गरिरहेको बताए । उनले यस्ता परम्परागत सिपले स्थानीय रोजगारी सिर्जना गर्नुका साथै सांस्कृतिक सम्पदाको जगेर्ना गर्न अझ योगदान पुर्‍याएको बताए ।

 

लेखक
ईश्वर थापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?