News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेत्री स्वस्तिमा खड्काले आगामी फिल्म ‘लालीबजार’लाई आफ्नो करिअरकै विशेष रूपमा लिएकी छन्।
- फिल्मले पश्चिम तराईको सीमान्तकृत वादी समुदायकी महिलाको संघर्ष र सामाजिक यथार्थलाई केन्द्रमा राखेको छ।
- ‘लालीबजार’ फिल्म बैशाख १८ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ र स्वस्तिमाले दर्शकलाई ‘ह्याप्पी मदर्स डे’ भन्दै सम्बोधन गरिन्।
काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्काले आगामी फिल्म ‘लालीबजार’लाई आफ्नो करिअरकै विशेष रूपमा लिएकी छन् । फिल्मबारे शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यो फिल्मलाई जीवनभर सम्झिरहने बताइन् ।
उनले भनिन्, ‘मेरा लागि यो फिल्म निकै विशेष हुन्छ । धेरै वर्षपछि फर्केर हेर्दा पनि म यसलाई सधैं सम्झिरहन्छु । नतिजा जे आए पनि, यो मेरो लागि स्पेसल मोमेन्ट हो ।’
‘लालीबजार’मा स्वस्तिमाले पश्चिम तराईको सीमान्तकृत वादी समुदायकी महिलाको भूमिका निर्वाह गरेकी छन् । फिल्मले आमा र छोरीबीचको सम्बन्ध, संघर्ष र सामाजिक यथार्थलाई केन्द्रमा राखेको छ । विशेषगरी साहुको शोषणविरुद्ध एक आमाले छोरीका लागि गर्ने संघर्षलाई फिल्मले मार्मिक ढंगले प्रस्तुत गर्छ ।
आमाको मुख हेर्ने दिनको अवसरमा सार्वजनिक गरिएको ट्रेलरले पनि यही भावनालाई समेटेको छ । करिब तीन मिनेट लामो ट्रेलरले कथा, चरित्र र केन्द्रीय द्वन्द्वलाई स्पष्ट संकेत गर्छ । ट्रेलर हेर्दा फिल्म भावनात्मक र सामाजिक सन्देश बोकेको देखिन्छ ।
स्वस्तिमा भन्छिन्, ‘हामीले धेरै पारिवारिक कथा भनिसकेका छौं, तर यो फिल्मको पृष्ठभूमि फरक छ । वादी समुदायको सेटअपमा आमा-छोरीको कथा देखाउँदा दर्शकलाई नयाँ अनुभव हुन सक्छ ।’
उनले फिल्म निर्माण टिमको काम गर्ने शैलीको पनि प्रशंसा गरिन् । ‘षट्कोण आट्र्सले आफूलाई कमर्सियल र क्रिटिकल दुवै हिसाबले प्रमाणित गरिसकेको टिम हो । उहाँहरूसँग काम गर्दा धेरै सिक्ने मौका पाएँ,’ उनले भनिन् ।

निर्देशक तथा लेखक यम थापाले वादी समुदायका महिलाले भोग्दै आएको श्रम र यौन शोषणलाई फिल्ममा चित्रण गरेका छन् । समाजमा जरा गाडेर बसेको सामन्ती र पितृसत्तात्मक सोचविरुद्धको आवाज फिल्मको मुख्य स्वर हो ।
फिल्ममा नत्थी प्रथामार्फत हुने शोषण र त्यसविरुद्ध एक आमाले गर्ने प्रतिरोधलाई कथा बनाइएको छ । रवीन्द्रसिंह बानियाँले साहुको भूमिकामा अभिनय गरेका छन् ।
निर्माता म्याक्स दिपेश खत्रीका अनुसार स्वस्तिमाको अभिनयले दर्शकलाई गहिरो प्रभाव पार्नेछ । ‘उहाँले सामाजिक कथा र पात्रमा निरन्तर काम गरिरहनुभएको छ । यस फिल्ममा उहाँको बहुआयामिक अभिनय देख्न पाइन्छ’, उनले भने ।
फिल्ममा मुकुन्द श्रेष्ठ, विशाल देवकोटा, प्रशंसा सुवेदी, समाइरा थापा र अभय बराल लगायत कलाकारको पनि अभिनय छ । ‘टलकजंग भर्सेस टुल्के’, ‘जात्रा’ श्रृंखला र ‘महापुरुष’ निर्माण गरेको षट्कोण आट्र्सको ब्यानरमा बनेको यो फिल्म आगामी बैशाख १८ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ ।
पत्रकार सम्मेलनको अन्त्यतिर स्वस्तिमाले दर्शकलाई सम्बोधन गर्दै भनिन्, ‘ह्याप्पी मदर्स डे । बैशाख १८ मा हलमा भेटौंला।”

प्रतिक्रिया 4