+
+
Shares

डलरको बजारमा लिलाम भएको ‘चलचित्र पत्रकारिता’

जब पत्रकार नै पब्लिसिस्ट बन्न थाल्छ, सत्य हराउँछ । अहिले चलचित्र पत्रकारिताबाट हराएको यही ‘सत्य’ हो।

रामजी ज्ञवाली रामजी ज्ञवाली
२०८३ वैशाख ५ गते १२:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चलचित्र निर्माता अविरल थापाले चलचित्र पत्रकारिताको वर्तमान अवस्थाबारे सामाजिक सञ्जालमा प्रश्न उठाएका छन्।
  • चलचित्र पत्रकारिता प्रचारभन्दा सत्य प्रस्तुतिमा केन्द्रित हुनुपर्नेमा अहिले पब्लिसिटी बढी देखिएको छ।
  • चलचित्र पत्रकार महासंघको दशौं महाधिवेशनमा नेतृत्वले पत्रकारिताको गुणस्तर सुधार र आत्मअनुशासनमा जोड दिनुपर्नेछ।

अघिल्लो वर्ष फिल्म ‘भुठान’ रिलिजको क्रममा यसका निर्माता अविरल थापाले सामाजिक सञ्जालमार्फत एउटा गम्भीर प्रश्न उठाएका थिए– ‘के नेपाली चलचित्र पत्रकारिता सही दिशामा अघि बढिरहेको छ ?’

फिल्म रिलिजको संवेदनशील समयमा उनले यस्तो प्रश्न उठाउनु आफैंमा अर्थपूर्ण थियो । चलचित्र पत्रकारहरूको व्यवहार र क्रियाकलापबाट निराश भएरै उनले यस्तो स्टाटस लेख्न बाध्य भएको अनुमान गर्न गाह्रो थिएन ।

स्टाटस सार्वजनिक भएको केही दिनमै लविम मलमा सोही फिल्मको ट्रेलर रिलिज कार्यक्रम आयोजना गरियो । त्यहाँ उपस्थित केही पत्रकार, विशेषगरी युट्युबरहरूबाट आएका असान्दर्भिक र अनावश्यक प्रश्नहरूले कार्यक्रम नै असहज बन्न पुग्यो । फिल्मबारे केन्द्रित हुनुपर्ने संवाद व्यक्तिगत, सनसनीपूर्ण र असम्बन्धित दिशातर्फ मोडिएको देखिन्थ्यो ।

अविरल थापा फिल्म निर्माता मात्र होइनन्, पत्रकारिता अध्यापन गराउने कलेज ‘पोलिगन’ का प्रिन्सिपल समेत हुन् । यस्तो पृष्ठभूमि भएका व्यक्तिलाई केही युट्युबरले नै पत्रकारिता सिकाउने अवस्था देखियो । निर्माता थापा मौन रहे । कार्यक्रमको सन्तुलन बिग्रन नदिने प्रयास गर्दै संयमित र कूटनीतिक ढंगले जवाफ दिए ।

केही वर्षअघि अभिनेत्री स्वस्तिमा खड्काले पनि यस्तै अनुभव सार्वजनिक गरेकी थिइन् । एक अनौपचारिक कार्यक्रममा उनले भनेकी थिइन्– ‘चलचित्र पत्रकारिताको नाममा चाहिने भन्दा नचाहिने प्रश्न धेरै सोधिन्छ, यो ठीक होइन ।’ त्यसकै कारण पछिल्ला दिनहरूमा आफू धेरै कार्यक्रममा सहभागी हुन नचाहेको समेत उनले बताएकी थिइन् ।

यस्ता घटनाहरू नयाँ भने होइनन् । बेला–बेलामा फ्याट्टफुट्ट देखिन्छन्, सुनिन्छन् पनि । तर प्रायः यिनले उचित कभरेज पाउँदैनन्। सार्वजनिक बहस बन्नुपर्ने विषयहरू चुपचाप ओझेलमा पर्छन् ।

तर, यिनै प्रतिनिधि घटनाहरूले नेपाली चलचित्र पत्रकारिताभित्रको वास्तविक समस्या प्रस्टसँग उजागर गर्छन् । पत्रकारिताको नाममा असान्दर्भिकता, सनसनी प्रस्तुति र व्यक्तिगत चासो जब हावी हुन थाल्छ, त्यसले कलाकार र निर्मातालाई मात्र होइन, समग्र यस क्षेत्रकै विश्वसनीयतामाथि प्रश्न उठाउँछ ।

०००

नेपालको चलचित्र उद्योगले समयसँगै आफूलाई बदल्ने प्रयास गरिरहेको छ । कुनै बेला श्याम–श्वेत युगमा सीमित सिनेमा आज प्राविधिक रूपमा धेरै अगाडि बढिसकेको छ । अन्तर्राष्ट्रिय बजारसम्म पुग्ने साहस गरेको छ । र, नयाँ पुस्ताका फिल्ममेकरहरूले नयाँ भाषा र शैली खोजिरहेका छन्।

धेरैजसो सामग्री ‘भ्युज’ का लागि तयार हुन्छ, डलर कति झर्छ भनेर बनाइन्छ । नचल्नेजस्तो लागे डिलिट गरिन्छ ।

तर, यही यात्राको अर्को पाटो ‘चलचित्र पत्रकारिता’ ठीक उल्टो दिशातर्फ बगिरहेको देखिन्छ । उद्योगले रंगीन रूप लिँदै गर्दा पत्रकारिता भने बिस्तारै फिक्का हुँदै गएको विश्लेषण हुन थालेको छ । आजकाल यस विषयमा गुनासा पनि बढ्दै गएका छन् ।

चलचित्र पत्रकारिताको नाममा भइरहेका पछिल्ला गतिविधिले एउटा गम्भीर प्रश्न उठाउँछ– हामीले चलचित्र पत्रकारिता भनिरहेका छौँ, के यो साँच्चै पत्रकारिता हो ? कि पत्रकारिताको नाममा छुट्टै धन्दा चलिरहेको छ ?

यहाँ सबैलाई भिडियो खिच्नु छ, युट्युब र फेसवुकमा तत्कालै अपलोड गरेर भाइरल बनाउनु छ, डलर कमाउनु छ । नभए पनि- प्रमोसनको नाममा इसेवा या खाममा आएको पैसाको मूल्य चुकाउनै पर्‍यो ! फिल्मकर्मीले जे भन्यो, त्यही गर्नुपर्ने बाध्यता देखिन्छ । जसोजसो बाहुनबाजे, उसैउसै स्वाहा जस्तै ।

चलचित्रसँग सम्बन्धित कार्यक्रममा जाने मात्रै पत्रकारहरूको काम हो । पत्रकार अफिस नपुग्दै मिडिया कोअर्डिनेटरले कन्टेन्ट र तस्वीर पठाइसकेको हुन्छ । त्यसपछि धमाधम– एकाध मिडिया बाहेक जहाँसुकै उस्तै किसिमको समाचार छापिन्छ । शीर्षकदेखि भित्रको कन्टेन्टसम्म एउटै ।

०००

चलचित्र क्षेत्रमा पब्लिसिस्ट र चलचित्र पत्रकार भन्ने शब्दहरू सँगै सुन्न पाइन्छन् । तर यी दुई एउटै होइनन् । एकले प्रचार गर्छ, अर्कोले सत्य प्रस्तुत गर्छ । एकले धारणा बनाउँछ, अर्कोले त्यसलाई परीक्षण गर्छ ।

पब्लिसिस्टको काम फिल्म, कलाकार वा प्रोजेक्टलाई आकर्षक बनाउनु हो । पोस्टर, ट्रेलर, इन्टरभ्यु– सबैलाई यस्तो ढंगले प्रस्तुत गरिन्छ कि दर्शकमा उत्साह जागोस् । त्यसैले उनीहरूका लागि प्रस्तुति महत्वपूर्ण हुन्छ, सत्य होइन । कमजोरी लुकाइन्छ, बलियो पक्षलाई चम्काइन्छ ।

अर्कोतर्फ, चलचित्र पत्रकार दर्शकको प्रतिनिधि हो । उसको काम प्रचार गर्नु होइन, यथार्थ देखाउनु हो । फिल्म राम्रो भए प्रशंसा, कमजोर भए आलोचना– यही पत्रकारिताको धर्म हो । पत्रकार कसैको होइन, सत्यको पक्षमा उभिनुपर्ने हो । तर, अहिले यस्तो भइरहेको छैन ।

यी दुईबीचको सीमाना मेटिएको छ । आजकल पत्रकारिता भन्दा पब्लिसिटी बढी देखिने गरेको छ । प्रश्न सोध्नुपर्ने ठाउँमा चापलुसी, विश्लेषण गर्नुपर्ने ठाउँमा प्रशंसा मात्र देखिन्छ ।

यसको कारण के हो त ?

नियमित फिल्मको विज्ञापन पाउन, आफ्ना लागि अन्तर्वार्ता पाउन, कार्यक्रममा निमन्त्रणा आउन, कलाकारसँग नजिक हुन– यिनै कारणले धेरैले वास्तविक पत्रकारिता गर्न छाडेको देखिन्छ । नराम्रो लेखे ढोका बन्द हुने डर, राम्रो मात्रै लेखे सबै ढोका खुला हुने लोभ । त्यसैले आज रिभ्यु भन्दा प्रमोशनल कन्टेन्ट बढी देखिन्छ । जब पत्रकार नै पब्लिसिस्ट बन्न थाल्छ, सत्य हराउँछ । अहिले चलचित्र पत्रकारिताबाट हराएको यही ‘सत्य’ हो।

फिल्म हिट वा फ्लप हुन सक्छ, तर पत्रकारिताको विश्वसनीयता फ्लप भयो भने त्यो फेरि हिट हुँदैन। अहिले फ्लप भइरहेको चलचित्र पत्रकारिताप्रति विश्वसनीयता फर्काउन गम्भीर हुनुपर्ने बेला आएको छ ।

०००

एक समय थियो, जब प्रकाश सायमी, विजयरत्न, नारायण वाग्ले, अखण्ड भण्डारीहरूले चलचित्र पत्रकारितालाई स्पष्ट लय दिएका थिए । उनीहरूको लेखाइमा अध्ययन हुन्थ्यो, अन्तर्वार्तामा गहिराइ हुन्थ्यो, र सामग्रीमा विश्वसनीयता । पाठकले पढ्दा ‘वाह !’ भन्ने ठाउँ हुन्थ्यो । त्यो पत्रकारिता सूचना दिने माध्यम मात्र थिएन, एउटा बौद्धिक अभ्यास थियो ।

त्यसपछि पनि केही पत्रकार आए, तर यो भीडमा हराए । अहिले को पत्रकार हो, को युट्युबर हो, को इन्फ्लुएन्सर हो– छुट्याउनै नसकिने अवस्था छ । सबैजना क्यामेरा र बुम बोकेर कार्यक्रम स्थलमा उपस्थित हुन्छन्, कभरेज गर्छन् तर सबै पत्रकार होइनन् । पत्रकारिता उपकरण बोक्ने मात्रै कुरा होइन, जिम्मेवारी बोक्ने पेशा हो । यही बुझाइ हराउँदा समस्या गहिरिएको छ।

चलचित्र सम्बन्धी कार्यक्रमहरूमा अहिले देखिने दृश्य आफैंमा प्रतीकात्मक छ । सय–डेढ सय क्यामेरा एउटै हलमा ठडिएका हुन्छन् । अग्रपंक्तिमा उभिने होडबाजी हुन्छ । दशकौँदेखि पत्रकारिता गर्दै आएका वरिष्ठ पत्रकारहरू पछाडि धकेलिन्छन्, प्रश्न सोध्ने मौका नै पाउँदैनन् । ताल न वेतालका सधै सोधिने उस्तै खालका प्रश्नहरू सोधिन्छन्, र कार्यक्रम सकिन नपाउँदै आधा-अधुरा भिडियोहरू सामाजिक सञ्जालमा पुगिसकेका हुन्छन् । कन्टेन्ट छिटो हाल्ने होडमा सन्दर्भ हराउँछ, तथ्य हराउँछ, र अन्ततः अर्थ नै बिग्रन्छ ।

यो भीडको मात्र समस्या होइन, दृष्टिकोणको समस्या हो । धेरैजसो सामग्री ‘भ्युज’ का लागि तयार हुन्छ, डलर कति झर्छ भनेर बनाइन्छ । नचल्नेजस्तो लागे डिलिट गरिन्छ । कलाकारको व्यक्तिगत जीवन, अनावश्यक विवाद, वा भद्दा प्रश्नहरू नै मुख्य सामग्री बन्छन् । पत्रकारिता, जसले प्रश्न गर्नुपर्ने हो, अहिले आफैं प्रश्नविहीन बनेको छ।

आज चलचित्र पत्रकारिता गर्ने धेरैलाई पत्रकारिताको आधारभूत नियम नै थाहा छैन । पूर्णविराम, लिड, बडी र अन्त्यको संरचना पनि थाहा छैन । पत्रकारिताको सर्वोच्च संस्था प्रेस काउन्सिलले बनाएका केही नियम, आचारसंहिता पढ्ने जाँगर कसले गर्दैन ।

कार्यक्रम र भेटघाटका दुई–चार लाइन लेखेर आफ्नो मिडियामा हालिन्छ । न सम्पादक, न पुनरावलोकन । आफूले लेखेको पनि नपढ्ने अवस्था छ । उता समाचार बिग्रिएको हुन्छ, यता त्यो पत्रकारलाई अर्कै कार्यक्रममा पुग्न हतारो छ ।

चलचित्र पत्रकारितामा व्यावसायिकताको अभाव गम्भीर समस्या हो । पत्रकार र स्रोतबीचको दूरी, जुन पत्रकारिताको आधारभूत सिद्धान्त हो, यहाँ प्रायः देखिँदैन । नजिकिनु गलत होइन, तर त्यो नजिकिनुले निष्पक्षता गुमाउँछ भने त्यो पत्रकारिता रहँदैन । सार्वजनिक स्थानमै पत्रकार र कलाकारबीच देखिने केही व्यवहारले सामान्य दर्शकलाई समेत असहज बनाउँछ ।

एउटा उदाहरण यहाँ स्मरण गराउन चाहन्छु ।

‘एउटा कार्यक्रम आयोजना हुँदैछ । चलचित्र पत्रकारले ती हिरोइनलाई स्वागत गर्छ । हिरोइन हग गरेर त्यो पत्रकारको गालामा किस खान्छे ! त्यो पत्रकार हिस्स हाँस्छ ।’

यदि यो कुनै निजी ठाउँमा हुन्थ्यो तेस्रो व्यक्तिलाई चासो हुनु पर्ने विषय होइन तर, यस्ता हर्कत सार्वजनिक कार्यक्रममा देखिनु लाजमर्दो कुरा हो ।

चलचित्र पत्रकारितामा, खोज पत्रकारिता हराइसकेको छ । चलचित्र पत्रकारिता भनेकै, फिल्मको पोस्टर रिलिज, ट्रेलर सार्वजनिक, गीत रिलिज, टिजर रिलिज र यो हिरो-हिरोइन यो फिल्ममा आवद्ध छन् भन्नेबाहेकका कुरा धेरैलाई थाहा छैन । अलिकति थाहा भएकाहरू अन्य पेशा, व्यवसायमा लागिसके।

०००

यसरी चलचित्र पत्रकारिता बिग्रँदै जाँदा संस्थागत कमजोरी पनि उत्तिकै जिम्मेवार छन् । चलचित्र पत्रकार संघ, जसले यो क्षेत्रलाई मार्गदर्शन गर्नुपर्ने हो, आफैं प्रभावहीन देखिन्छ । संघ गठन भएको तीन दशक नजिक पुगेको छ, तर यसको भूमिका अझै स्पष्ट हुन सकेको छैन । तालिम, मापदण्ड, सदस्यता छनोट जस्ता विषयमा खासै पहल देखिँदैन । सम्मान कार्यक्रम, औपचारिक तालिम र चुनावी वाचा बाहेक ठोस काम देखिँदैन भन्ने गुनासो स्वयं पत्रकारहरूबाटै आउँछ ।

यो अवस्था किन आयो ?

डिजिटल प्लेटफर्मले अवसरसँगै अराजकता पनि ल्यायो । अर्को कारण नियमनको अभाव हो । सबैभन्दा ठूलो कारण आत्मअनुशासनको कमी हो । पत्रकारितामा बाह्य नियमभन्दा पहिले आन्तरिक नैतिकता आवश्यक हुन्छ । जब त्यो नै कमजोर हुन्छ, कुनै संरचनाले यसलाई सम्हाल्न सक्दैन।

चलचित्र पत्रकारिता चलचित्र उद्योगको ऐना हो । ऐना धमिलो भयो भने चित्र पनि विकृत देखिन्छ । आज पत्रकारिता बिग्रिँदा त्यसको असर पत्रकारितामा मात्रै सीमित हुँदैन, यसले सम्पूर्ण उद्योगको विश्वसनीयता, छवि र दीर्घकालीन विकासमा असर पार्छ ।

०००

आझ गते चलचित्र पत्रकार महासंघको दशौं महाधिवेशन हुँदैछ । नेतृत्व परिवर्तनको यो क्षण पद बाँडफाँड मात्र होइन आत्ममूल्यांकन गर्ने, गल्ती स्वीकार गर्ने, र नयाँ दिशा तय गर्ने अवसर पनि हो । प्रश्न उही छ– के नयाँ नेतृत्वले यसलाई गम्भीर रूपमा लिनेछ ? कि फेरि पुरानै ढर्रा दोहोरिनेछ ?

यदि साँच्चै परिवर्तन चाहिएको हो भने, सुरुवात आत्मअनुशासनबाट गर्नुपर्छ । पत्रकारिता सिक्नुपर्छ, बुझ्नुपर्छ, अभ्यास गर्नुपर्छ । संघले स्पष्ट मापदण्ड बनाउनु पर्छ । सदस्यताको गुणस्तर सुनिश्चित गर्नुपर्छ, र निरन्तर तालिममार्फत नयाँ पुस्तालाई मार्गदर्शन गर्नुपर्छ । कलाकार र पत्रकारबीचको सम्बन्ध पनि पुनः परिभाषित हुन आवश्यक छ- सम्मानसहितको दूरी कायम हुनैपर्छ ।

चलचित्र पत्रकारिता अझै मरेको छैन, तर यो गम्भीर मोडमा उभिएको छ । अबको निर्णयले निर्धारण गर्नेछ– यो क्षेत्रले पुनः आफ्नो गरिमा फर्काउँछ कि भीडभाडको कोलाहलमै हराएर जान्छ– अहिलेको मूल प्रश्न यही हो ।

लेखक
रामजी ज्ञवाली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?