+
+
Shares

गाडी निषेध गरेर सुरु भयो जीवन्त र समृद्ध असन कार्यक्रम

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ५ गते १५:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं महानगरपालिकाले असन क्षेत्रमा हरेक शनिबार सामाजिक, सांस्कृतिक तथा परम्परागत व्यापारिक प्रवर्धन कार्यक्रम सुरु गरेको छ।
  • कमलाछी चोकदेखि असनसम्मको क्षेत्रमा शनिबार सवारीसाधन प्रवेश पूर्णरूपमा रोक लगाइएको छ।
  • कार्यक्रमले असनको मौलिकता जोगाउँदै परम्परागत जीवनशैली, जात्रा पर्व, संस्कार र पूर्खाको ज्ञान निरन्तरता दिने उद्देश्य राखेको छ।

५ वैशाख, काठमाडौं । काठमाडौंको प्राचीन असन क्षेत्रमा शनिबारदेखि सामाजिक, सांस्कृतिक तथा परम्परागत व्यापारिक प्रवर्धन कार्यक्रम सुरु गरिएको छ ।

असन क्षेत्रको मौलिकतालाई जोगाउन काठमाडौं महानगरपालिकाले आजबाट हरेक शनिबार जीवन्त र समृद्ध असन कार्यक्रम सुरु गरेको हो ।

काठमाडौंको सांस्कृतिक पहिचान, सहरभित्रका परम्परागत जीवनशैली, जात्रा पर्व, संस्कार, संस्कृतिको पुरस्तान्तरण र पूर्खाको ज्ञान र सिपलाई निरन्तरता दिने उद्देश्यले यस्तो कार्यक्रम गरिएको महानगरले जनाएको छ ।

कमलाछी चोक, भोटाहिटी चोक र महाबौद्धबाट असनसम्मको क्षेत्रमा सामाजिक, सांस्कृतिक तथा परम्परागत व्यापारिक प्रवर्धन कार्यक्रम आयोजना गरिएपछि सो क्षेत्रमा हरेक शनिबार सवारीसाधन प्रवेशमा पूर्ण रुपमा रोक लगाइएको छ ।

यस क्षेत्रलाई सम्पदा मार्गका रूपमा विकास गरेर स्थानीय परम्परागत तथा रैथाने व्यापार व्यवसायलाई प्रवर्धन गरिने महानगरले जनाएको छ ।

आजबाट हरेक हप्ता शनिबारको दिन असन क्षेत्रमा सामाजिक तथा सांस्कृतिक, रैथाने ज्ञान तथा सीपको प्रदर्शनी, गायन, वादन तथा नृत्यलगायत क्रियाकलाप सञ्चालन हुनेछन् ।

असनका कुन–कुन गल्लीमा निषेध छ सवारी साधन ?

‘भेहिकल फ्री असन’ कार्यक्रम अन्तर्गत महानगरपालिकाको वडा नं. २७ वडा कमलाक्षी चोकदेखि असनसम्म, भोटाहिटी चोकदेखि असनसम्म र महाबौद्धबाट असनसम्मको क्षेत्रमा हरेक शनिबार सवारी साधन प्रवेशमा रोक लगाइनेछ ।

  • कार्यक्रम सञ्चालन अवधिमा जमलतर्फ कमलाछी सिंह ढोकाबाट असनतर्फ सवारी प्रवेश गर्न पाइने छैन ।
  • यस्तै भोटाहिटी कलश ढोकाबाट असनतर्फ प्रवेश पाइने छैन ।
  • वीर अस्पतालबाट महाबौद्ध स्तुपतर्फ सवारी प्रवेश निषेध हुनेछ ।
  • बटु गणेश र भोँसीको स्थित गणेश मन्दिरबाट महाबौद्ध स्तूपतर्फ प्रवेश पाइने छैन ।
  • इन्द्रचोकबाट पनि सवारी प्रवेश रोकिनेछ ।
  • मच्छिन्द्रबहाल, मांस गल्लीबाट मोटरसाइकलसमेत प्रवेश रोकिनेछ ।
  • गोसिफबाट इनबहाल इनबहाल गणेश मन्दिर जान सकिनेछ ।
  • गणेश मन्दिरबाट पिलांतु गल्लीतर्फ प्रवेश निषेध हुनेछ । न्हकेटलाबाट असनतर्फ जान पाइने छैन । कान्तिपथतर्फ ज्याठा अन्नपूर्ण स्कुलबाट भमुलु गल्लीतर्फ प्रवेश रोकिनेछ ।

कहाँ गर्ने पार्किङ ?

यो क्षेत्र भएर सवारी धनीहरुले वैकल्पिक मार्गको प्रयोग गर्नुपर्नेछ । शनिबारका दिन असन आउने आगन्तुकहरुले धरहराको भूमिगत पार्किङ, जमल बहाल, दरबार हाइस्कुल तथा अन्य तोकिएका स्थानमा सवारीसाधन राखेर पैदलयात्राबाट असन प्रवेश गर्नुपर्ने छ ।

असनमा मौलिक सांस्कृतिक कार्यक्रम तथा सामाजिक क्रियाकलाप व्यवस्थापनका जिम्मेवारी महानगर प्रहरी बललाई प्रदान गरिएको छ ।

असन क्षेत्रमा भएका जीवन्त मूर्त अमूर्त सम्पदा बचावट गर्ने, संरक्षण र प्रवर्द्धन गर्ने, परम्परागत धार्मिक, सांस्कृतिक, सामाजिक तथा परम्परागत व्यापारिक क्रियाकलापको प्रदर्शन र प्रवर्द्धनात्मक क्रियाकलाप सञ्चालन गरिने महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । यस्ता कार्यक्रमले सांस्कृतिक पहिचान, सहरभित्रका परम्परागत जीवनशैली, जात्रा पर्व, संस्कार संस्कृति पुस्तान्तरण हुँदै जाने अपेक्षा गरिएको छ ।

मानवीय तथा सवारी आवागमन चापका कारण पछिल्लो समय काठमाडौंका भित्री सहरी क्षेत्रमा व्यवस्थापकीय चुनौती थपिएका छन् । काठमाडौंको मौलिक पहिचानमा नकारात्मक प्रभाव पर्दै गएकाले काठमाडौं महानगरपालिकाले सवारी साधनलाई हरेक शनिबार प्रवेश रोकेर सांस्कृतिक तथा सामाजिक चलनलाई मौलिक स्वरुपमा प्रवर्द्धनमा जोड दिन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?