News Summary
Generated by OK AI. Editorially reviewed.- पाँचथरको याङवरक गाउँपालिका–३ मा ३ सय ६६ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको छ।
- पुल उद्घाटन नहुँदै यहाँ टिकटक बनाउने र फोटो खिच्ने मानिसहरूको भिड लागेको छ।
- स्थानीय पूर्वाधार विकास विभागले ४ करोड ८७ लाख ६२ हजार लागतमा पुल निर्माण गरेको छ।
८ वैशाख, पाँचथर । पाँचथरको याङवरक गाउँपालिका–३ मा रहेको हयेलुङ खोलामा निर्माण गरिएको झोलुङ्गे पुल उद्धाटन नहुँदै भाइरल बनेको छ ।
लामो पुल भएकाले यहाँ गएर फोटो खिचाउनेको संख्या बढ्दै गएपछि यो पुल भाइरल बन्दै गएको हो ।
यहाँको तेमुना र वारेबुङ गाउँलाई जोड्नका लागि झोलुङ्गे पुल बनाइएको थियो ।
३ सय ६६ मिटर लामो पुलमा फोटो-भिडियो खिच्ने, टिकटक बनाउन आउने मानिसहरूको भिड लाग्ने गरेको पूर्ववडाध्यक्ष मुबिन योङ्याले जानकारी दिए । उनका अनुसार यो पुलको औपचारिक रूपमा उद्धाटन समेत भएको छैन । उद्घाटन हुनुअघि नै पुल भाइरल बनेकोमा स्थानीयहरू दङ्ग छन् ।
पाँचथरको याङवरक गाउँपालिकासँगै फालेलुङलु, हिलिहाङ गाउँपालिका र फिदिम नगरपालिकाबाट मानिसहरू यहाँ घुम्न आउने गरेका छन् । यसैगरी छिमेकी जिल्ला ताप्लेजुङबाट समेत मानिसहरू आएर टिकटक बनाउने, फोटो खिच्ने गरेको स्थानीय बताउँछन् ।
नजिकै रहेको रमणीय चरिभञ्ज्याङ र चिया बगान घुम्न आउने मानिसहरू समेत यहाँ पुग्ने गरेका छन् । विशेष गरी शनिबार र पर्वका दिन सवारी साधन लिएरै मानिसहरू झोलुङ्गे पुल चढ्न आउने गरेको स्थानीय प्रविण साउदेनले बताए ।
स्थानीय पूर्वाधार विकास विभाग सस्पेन्सन ब्रिज डिभिजन कार्यालय ललितपुरले ४ करोड ८७ लाख ६२ हजार लागतमा ‘सस्पेन्डेड डी’ प्रविधिको पुल बनाएको उनले बताए ।



प्रतिक्रिया 4