News Summary
Generated by OK AI. Editorially reviewed.- गृहमन्त्री सुधन गुरुङले १६ चैतमा प्रहरी प्रधान कार्यालय निरीक्षण गर्दा नयाँ आईजीपीलाई प्रधानमन्त्रीले फुली लगाउने व्यवस्था गर्ने बताएका थिए।
- सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको चार वर्षे कार्यकाल सकिएपछि १८ वैशाखमा नयाँ आईजीपी नियुक्त हुने र फुली लगाउने तयारी भइरहेको छ।
- प्रहरी ऐनमा फुली लगाउने विषय उल्लेख नभए पनि परम्पराअनुसार अवकाशमा जाने आईजीपीले नवनियुक्तलाई फुली लगाउने चलन छ।
१० वैशाख, काठमाडौं । गृहमन्त्रीको कार्यभार सम्हालेको तीन दिनपछि १६ चैतमा प्रहरी प्रधान कार्यालयको निरीक्षण गर्न पुगेका सुधन गुरुङले भनेका थिए, ‘अब नवनियुक्त आईजीपीलाई प्रधानमन्त्रीले फुली लगाउने व्यवस्था गर्छौं । त्यसका लागि म पहल गर्छु।’
गृहमन्त्रीको यो बोली खस्नासाथ प्रहरी हेडक्वार्टर नक्सालस्थित अडिटोरियम हलमा उपस्थित प्रहरी अधिकृतहरूले ताली बजाएर स्वागत गरे ।
त्यसको भोलिपल्टै गुरुङ सशस्त्र प्रहरी बल मुख्यालय हल्चोक पुगेर उस्तै शैलीमा प्रस्तुत भए । उनले सशस्त्रको मनोबल बढाउने काममा आफू लाग्ने बताए । गृहमन्त्रीले दुई दिनमा दुई प्रहरी हेडक्वार्टर पुगेर मनोबल बढाउने र फुली प्रधानमन्त्रीले लगाउने सिस्टम मिलाउने बताएपछि प्रहरी अधिकृतहरूले सकारात्मक रूपमा लिएका छन् ।
गृहमन्त्री गुरुङले प्रधानमन्त्रीको हातबाट फुली लगाउने व्यवस्था मिलाउने बताएको एक महिनापछि अर्थात् अबको ८ दिनपछि सशस्त्र प्रहरीमा नयाँ आईजीपी नियुक्त हुँदैछन् ।
सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्याल आईजीपीको चार वर्षे कार्यकाल पूरा गरी १८ वैशाखमा अनिवार्य अवकाशमा जाने भएसँगै उनको ठाउँमा नयाँ आईजीपी बन्नेछन् । सम्भवत: यही हप्ता सरकारले नयाँ आईजीपी कसलाई बनाउने भन्ने निर्णय गर्नेछ । र, अबको ८ दिनपछि नयाँ आईजीपीले फुली लगाउने छन् ।

गृहमन्त्री भएकै बेला गुरुङले प्रधानमन्त्रीले आईजीपीलाई फुली लगाउने व्यवस्था मिलाउने बताएसँगै अबको ८ दिनपछि बन्ने आईजीपीलाई कसले फुली (दर्ज्यानी चिह्न) लगाइदेला भन्ने चासो सुरक्षा वृत्तमा सुनिन्छ ।
गृह मन्त्रालय स्रोतका अनुसार गृहमन्त्री गुरुङले यसअघि भनेअनुसार नै प्रधानमन्त्रीको हातबाट आईजीपीको फुली लगाउने व्यवस्था मिलाउने गरी तयारीसमेत अघि बढाइएको छ । तर निर्णय भने भइनसकेको गृह मन्त्रालय स्रोत बताउँछ ।
‘अहिलेसम्मको तयारी प्रधानमन्त्रीको हातबाटै दर्ज्यानी चिह्न लगाउने भन्ने छ । अन्तिम समयमा केही फेरबदल नभए करिब एक सातापछि बन्ने सशस्त्र आईजीपीले प्रधानमन्त्रीको हातबाट दर्ज्यानी चिह्न प्राप्त गर्न सक्नुहुन्छ,’ मन्त्रालयका एक अधिकारीले अनलाइनखबरसँग भने ।
मन्त्रालयका ती अधिकारीकै भनाइअनुसार अहिलेसम्म कुनै निर्णय भइनसकेकाले फुली कसले लगाउने भन्ने अन्योल नै छ । गृहमन्त्री गुरुङले मन्त्री पदबाट राजीनामा दिइसकेकाले अब यो प्रयासले सार्थकता पाउला/नपाउला भन्ने बुझन् नयाँ आईजीपी नियुक्त नहुँदासम्म कुर्नुपर्ने हुन्छ ।
त्यसो त नयाँ आईजीपी नियुक्त हुँदा हरेक पटकजसो फुलीको विषयलाई लिएर अनेक टीकाटिप्पणी हुँदै आएका छन् । २५ असार २०७७ मा शैलेश थापा क्षेत्रीलाई तत्कालीन गृहसचिव महेश्वर न्यौपानेले आईजीपीको फुली लगाइदिएका थिए ।
यो तस्वीर सार्वजनिक भएपछि पूर्वएआईजी अनन्तराम भट्टराईले फेसबुकमा लेखेका थिए, ‘सेवा निवृत्त प्रहरी महानिरीक्षकले नवनियुक्त प्रहरी महानिरीक्षकलाई दर्ज्यानी चिह्न लगाइदिने तोडिएको परम्परा पुन: सुरु भएको भए राम्रो हुने थियो ।’
आईजीपी फुली इतिहासका किस्सा
आईजीपीको फुली कसले लगाउने भन्ने विषयको इतिहास खोतल्दा निकै रोचक किस्साहरू भेटिन्छ । नेपाल प्रहरीको प्रथम आईजीपी तोरण शमशेर राणालाई लिइन्छ । २००७ सालको क्रान्तिपछि विभिन्न भागमा छरिएर रहेका प्रहरी इकाइलाई संगठित गरी प्रहरी प्रधान कार्यालयको स्थापना गरिएको थियो ।
त्यसपछि तोरण शमशेर राणा आईजीपी बनेका थिए । उनी जम्माजम्मी तीन दिन आईजीपी भए । आईजीपीबाट उनी प्रधानसेनापति बनेका थिए । एकै व्यक्ति आईजीपी र प्रधानसेनापति बन्ने उनी एक्लो व्यक्ति हुन् ।
त्यतिबेलाको संक्रमण अवस्थामा आईजीपीको फुली स्वयं आफैंले लगाउने गरेको सुरक्षाका जानकारहरू बताउँछन् । त्यतिबेला आईजीपी अफिस सिंहदरबारमा थियो । २०४९ सालमा आईजीपी भएका मोतिलाल बोहरा भन्छन्, ‘त्यतिबेला मौसुफ सरकारबाट फुली दिइन्थ्यो, आफैंले लगाउँथे । मैले जानेसम्म तोरणले पनि त्यही गरेका हुन् ।’
उनीपछि नरशमशेर जबरा, ज्ञानबहादुर याक्थुम्बा, गोपाल शमशेर जबरा, पूर्णसिंह खवास, ढुण्डीराज शर्मा आईजीपी भए । गोपाल शमशेरकै पालामा प्रहरी ऐन २०१२ जारी भएको थियो ।
त्यतिबेला कतिसम्म भने एक आईजीपीले त श्रीमतीको हातबाट फुली ग्रहण गरेकोसमेत पूर्वआईजीपी बोहोरा सुनाउँछन् । ‘फुली यसैले लगाउने भन्ने सिस्टम थिएन, अग्रजदेखि आफैंले लगाउने चलन थियो,’ बोहोरा भन्छन् ।

२०१८ सालमा पहलसिंह लामा आईजीपी बनेपछि भने प्रहरीमा आधुनिकीकरण भएको र धेरै कुराहरूको सिस्टम बस्दै गएको बताइन्छ । उनकै पालामा प्रहरी नियमावली जारीदेखि प्रहरी सुधारका लागि समिति गठन, आईजीपीलाई विशिष्ट श्रेणी र इन्स्पेक्टरलाई राजपत्रांकित श्रेणीमा राख्ने काम भएको थियो ।
यसअघि फाट्टफुट्ट रूपमा अवकाशमा जाने आईजीपीले नवनियुक्त आईजीपीलाई फुली लगाउने प्रचलन रहेकोमा लामाको कार्यकालपछि भने यसलाई प्रहरी परम्पराको रूपमा लिँदै अवकाशमा जाने आईजीपीले नवनियुक्त आईजीपीलाई फुली लगाउने प्रचलन बसेको २०६५ सालमा अवकाश भएका पूर्वएआईजीपी अमरसिंह शाह बताउँछन् ।
पूर्वएआईजी अमरसिंह शाह तिनै व्यक्ति हुन् जसका बाबु नारायणसिंह शाह आईजीपीका दाबेदार थिए । २०२३ सालमा नारायणसिंह शाह र रोमबहादुर थापा आईजीपीका प्रमुख दाबेदार थिए । उनीहरू दुवै जना दोस्रो विश्वयुद्ध र २००७ सालको क्रान्तिमा योगदान गरेका व्यक्ति हुन् ।
नारायण सिंहलाई उछिनेर रोमबहादुर थापा आईजीपी बनेका थिए । रोमबहादुर थापालाई अवकाशमा जाँदै गरेका पहलसिंह लामाले फुली लगाइदिएको बताइन्छ । तर केही भने रोमबहादुर थापालाई त्यतिबेलाका गृहसचिव क्षेत्रविक्रम राणाले आईजीपीको फुली लगाइदिएको दाबी गर्छन् ।
रोमबहादुर थापाकै छोरा पूर्वडीआईजी डा. कुलेश थापा अहिलेसम्म आफ्ना बाबु रोमबहादुरलाई गृहमन्त्री वा अवकाशमा जाँदै गरेका आईजीपी पहलसिंह लामामध्ये कसले फुली लगाइदिएको भन्ने अन्योलमै छन् ।
‘दुवै कुरा मैले सुनेको छ । तर अहिलेसम्म फुली लगाउँदै गरेको फोटोसमेत भेटेको छैन । कुन कुरा पत्याउने, कुन नपत्याउने,’ पूर्वडीआईजी थापाले अनलाइनखबरसँग भने ।
रोमबहादुर थापाको हकमा आ–आफ्नै दाबी रहे पनि त्यसपछिका आईजीपीहरूका हकमा भने अवकाशमा जाँदै गरेका आईजीपीले नवनियुक्त आईजीपीलाई फुली लगाउने गरेका प्रमाणहरू भेटिन्छन् ।
अवकाशमा जाँदै गरेका रोमबहादुर थापाले १ साउन २०२९ मा आईजीपीको कमान्ड सम्हालेका खड्गजित बराललाई आईजीपीको फुली लगाउँदै गरेको तस्वीरमा देखिन्छ ।

बरालका नाति पुजनले अनलाइनखबरलाई उपलब्ध गराएको तस्वीरमा अवकाशमा जाँदै गरेका आईजीपी रोमबहादुरले खड्गजित बराललाई दर्ज्यानी चिह्न लगाउँदै गरेको देखिन्छ ।
अवकाशमा जाँदै गरेका खड्गजितले पछि नवनियुक्त आईजीपी दुर्लभकुमार थापालाई आईजीपीको दर्ज्यानी चिह्न लगाइदिएका थिए ।

दुलर्भले दिलबहादुर लामालाई, दिलबहादुरले हेमबहादुर सिंहलाई दर्ज्यानी चिह्न लगाइदिएका थिए । हेमबहादुरले आफ्ना उत्तराधिकारी रत्न शमशेर जबरालाई आईजीपीको फुली लगाइदिए ।

फुली खोसिएको परम्परा
हेमबहादुर सिंहसम्म आइपुग्दा आईजीपीको फुली लगाउने परम्परा नै बसेको थियो । तर जब सरकारले ३० वर्षे सेवा हद लगाएर १५ फागुन २०४९ मा रत्न शमशेरलाई हटायो, त्यसपछि प्रहरीको फुली लगाउने परम्परा तोडियो ।
२०४९ सालसम्म प्रहरीमा सेवा अवधि तोकिएको थिएन । प्रहरी नियमावली २०१५, प्रहरी नियमावली २०३३ र प्रहरी नियमावली २०४९ मा ३० वर्षे सेवा अवधि थिएन । अनिवार्य अवकाशका लागि उमेर हद र पदावधि मात्र तोकिएको थियो ।
तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला सरकारसँग रत्न शमशेरको ट्युनिङ मिलेन । त्यतिबेला गृहमन्त्री भने शेरबहादुर देउवा थिए । रत्न शमशेरलाई राजदूत बनाएर मोतिलाल बोहरालाई आईजीपी बनाउन लागिएको थियो ।
‘राजा वीरेन्द्रले औंला ठड्याउँदै फोर्समा सिनियारिटीको ठूलो अर्थ हुन्छ, विचार गर्नू भनेपछि गिरिजा रोकिएका थिए । पछि मलाईसमेत थाहै नदिई आईजीपी बनाइयो,’ त्यतिबेलाको घटना स्मरण गर्र्दै पूर्वआईजीपी मोतिलाल बोहरा भन्छन् ।
पहिलो प्रयासबाट असफल भएपछि प्रहरीमा हुँदै नभएको सेवा अवधि छिराइएको थियो । प्रहरी नियमावली २०४९ लाई संशोधन गर्दै ३० वर्षे अवधि लगाएर रत्न शमेशरलाई आईजीपीबाट हटाइएको थियो ।
त्यतिबेला आफू भने प्रहरी संगठनकै कामको सिलसिलामा कैलाली पुगेको बोहोरा स्मरण गर्छन् । बोहोरा कैलाली रहेका बेला तत्कालीन गृहसचिव भोजराज पोखरेलले फोन गर्दै तुरुन्त काठमाडौं आउन भनेका थिए ।
उनी भोलिपल्ट काठमाडौं आए । प्रहरी निमायवली संशोधन गरेर आईजीपी रत्न शमशेरसँगै ४८ जनालाई घर पठाएको र अब आईजीपी बोहोरा भएको जानकारी गराइयो ।
बोहरा प्रहरी प्रधान कार्यालय गएर रत्न शमशेरलाई खोज्दा फेला परेनन् । फुली लगाइदिन माग गर्दा रत्न शमशेरले ‘सरकारको निर्णयले म अवकाशमा गइसकें । मलाई हटाएपछि पो तपाईं आईजीपी बन्नु भएको हो । बर्दी फुकालिसकेको मान्छेले फेरि बर्दी लगाएर तपाईंलाई फुली लगाउन आउन मिल्ला ? सरी’ भने ।
यो कुराको जानकारी बोहराले मन्त्रालयमा गरे । गृह मन्त्रालयबाट प्रधानमन्त्री कोइरालासम्म यो सन्देश पुग्यो । ‘नेताहरूबाट फुली नलगाऔं । सचिवलाई लगाउन लगाऔं’ भन्ने कोइरालाबाट सन्देश आयो ।
त्यसपछि पहिलो पल्ट प्रहरी इतिहासमा गृहसचिवबाट आईजीपीको फुली लगाइयो । तत्कालीन गृहसचिव भोजराज पोखरेलले मोतिलाल बोहोरालाई आईजीपीको फुली लगाइदिए ।

पछि उनै बोहरोको कार्यकाल लम्ब्याउन २ वर्ष थप गर्न सकिने गरी नियमावली संशोधन गरियो । सोही आधारमा उनी २०४९ देखि २०५३ सम्म आईजीपी भए । त्यसपछि अच्युतकृष्ण खरेल आईजीपी भए ।
खरेललाई बोहोराले नै आईजीपीको फुली लगाइदिए ।
जानकारहरूका अनुसार बोहोरा–खरेल सम्बन्धमा तिक्तता रहँदारहँदै पनि फौजी परम्परा भन्दै बोहोराले खरेललाई आईजीपीको फुली लगाएर जिम्मेवारी हस्तान्तरण गरेका थिए ।

तर, आईजीपी भएको ३६ दिनमै खरेललाई राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा सरुवा गरियो । र, ध्रुवबहादुर प्रधानलाई आईजीपी बनाइयो । त्यतिबेला प्रधानमन्त्री राप्रपाका लोकेन्द्रबहादुर चन्द थिए । गृहमन्त्री वामदेव गौतम थिए । गृहमन्त्री बनेको २४औं दिनमा वामदेवले प्रहरी इतिहासमै नभएको र कानुनले समेत नचिन्ने नेपाल प्रहरीका आईजीपीलाई गुप्तचर प्रमुखको रूपमा सरुवा गरेका थिए ।
खरेललाई हटाएर प्रधानलाई आईजीपी बनाउने निर्णय भएपछि प्रधान आईजीपीको फुली लगाइमाग्न खरेलकहाँ पुगे । तर कानुनविपरीत सरकारले हटाएको भन्दै खरेलले प्रधानलाई दर्ज्यानी चिह्न लगाइदिएनन् । उनी सरकारको यो निर्णयलाई चुनौती दिँदै अदालत गएका थिए ।
खरेललाई हटाएपछि प्रहरी इतिहासमै पहिलो पल्ट गृहमन्त्री वामदेव गौतमले ध्रुवबहादुर प्रधानलाई आईजीपीको दर्ज्यानी चिह्न लगाइदिएका थिए । गृहमन्त्रीले आईजीपीलाई फुली न त्यसभन्दा अघि लगाइदिएको न त्यसपछि वा अहिले नै लगाइदिएका छन् ।

मोतिलाल बोहोरा र ध्रुवबहादुर प्रधानको घटनालाई प्रहरी संगठनभित्र राजनीति छिराएर कमजोर पार्ने प्रयासको रूपमा अर्थ्याउने गरिन्छ । आफ्नो राजनीतिक स्वार्थ पूरा गर्न प्रहरीलाई गिजोल्ने र कमजोर पार्ने काम त्यतिबेला जस्तो कहिल्यै नभएको जानकारहरू बताउँछन् ।
हटाइएको ८ महिनापछि सर्वोच्च अदालतबाट मुद्दा जितेर खरेल पुन: आईजीपी बने । उनी दोस्रो पटक २०५४ मंसिरदेखि २०५७ असोजसम्म आईजीपी बने । अवकाशमा जानुपूर्व खरेलले एआईजी प्रदीप शमशेर जबरालाई निमित्त दिएर बिदामा बसे ।
त्यहीबीचमा राजीनामा दिन बाध्य पारिएपछि खरेलले राजीनामा दिए । सरकारले प्रदीप शमशेर जबरालाई आईजीपी बनायो । अनि खरेल प्रहरी प्रधान कार्यालय पुगेर प्रदीप शमशेरलाई दर्ज्यानी लगाउँदै जिम्मेवारी हस्तान्तरण गरे ।

गृहमन्त्री गौतमले तोडेको फुली लगाउने परम्परालाई फेरि खरेलले ट्र्याकमा ल्याए । राजीनामा गर्न बाध्य पारिँदासमेत प्रहरी परम्परा, भाइचारा भन्दै खरेलले प्रदीप शमशेरलाई आईजीपीको फुली लगाइदिएका थिए ।
प्रदीप शमशेरले आफ्ना उत्तराधिकारी श्यामभक्त थापालाई आईजीपीको फुली लगाइदिए ।

अनि पुग्यो गृहसचिवको हातमा
२०६२/६३ को आन्दोलनमा दमन गरेको भन्दै चार महिना कार्यकाल बाँकी छँदै श्यामभक्त थापालाई आईजीपीबाट हटाइयो । र, ओमविक्रम रानालाई आईजीपी बनाइयो ।
कार्यकाल बाँकी छँदै हटाइएकाले रुष्ट बनेका थापाले रानालाई आईजीपीको फुली लगाइदिएनन् । त्यतिबेला कांग्रेस नेता कृष्ण सिटौला गृहमन्त्री थिए । गृहसचिव भने उमेश मैनाली थिए । उनै सिटौलाले गृहसचिव मैनालीलाई आईजीपी रानालाई फुली लगाउन लगाए ।
तत्कालीन गृहसचिव मैनाली त्यो परिस्थितिजन्य कारणबाट आएको अवस्था बताउँछन् । ‘त्यतिबेला सबै आईजीपीहरूलाई आन्दोलनमा दमन गरेको भनेर सस्पेन्ड गर्ने, कारबाही गर्ने काम भएको थियो । त्यो अवस्थामा कसले फुली लगाउने भन्ने छलफल भयो । पहिला पनि गृहसचिवले लगाएको भनेपछि मैले फुली लगाइदिएको हो । पछि यो परम्परा नै बन्न गयो,’ मैनालीले अनलाइनखबरसँग भने ।

त्यसयता भने नेपाल प्रहरीमा गृहसचिवकै हातबाट आईजीपीको फुली लगाउने परम्परा बसेको छ । राणापछि अहिलेसम्म १४ जना आईजीपी बनिसकेका छन् । ती सबैलाई गृहसचिवले नै फुली लगाइदिएका छन् ।
यसअघि अवकाशमा जानेले आउने आईजीपीलाई फुली लगाउने परम्परा इतिहास बनेको छ भने गृहसचिवले आईजीपीलाई फुली लगाउने परम्परा बसेको छ ।
सशस्त्रमा पनि उस्तै भद्रगोल
सशस्त्र प्रहरीमा पनि फुली लगाउने परम्परा निकै भद्रगोल छ । माओवादी सशस्त्र युद्धसँगै २०५७ सालमा सशस्त्र प्रहरी बल, नेपालको गठन गरियो । सशस्त्रको प्रथम आईजीपी कृष्णमोहन श्रेष्ठ बने । त्यतिबेला गृहमन्त्री हालका राष्ट्रपति रामचन्द्र पौडेल थिए । उनै पौडेलले कृष्णमोहनलाई आईजीपीको फुली लगाइदिएका थिए ।

कृष्णमोहनलाई फुली लगाएको प्रसंग सम्झिँदै सशस्त्रको २५औं स्थापन दिवस (९ माघ २०८२)मा राष्ट्रपति पौडेलले भनेका थिए, ‘सशस्त्र स्थापनाको म साक्षी पनि हुँ । तत्कालीन राजालाई विश्वासमा लिएर यो संगठन गठन गरियो । कृष्णमोहनलाई फुली लगाइदिएको सम्झना अझै ताजै छ ।’
गृहमन्त्रीबाट फुली लगाउने प्रचलन बसेको सशस्त्रमा त्यसपछि भने भद्रगोल बनेको देखिन्छ । ‘सेना र नेपाल प्रहरीबाट सुरक्षाकर्मी स्थानान्तरण गरेर गठन गरिएको सशस्त्रमा न प्रहरीको जस्तो अवकाशमा जानेले नवनियुक्त हुनेलाई फुली लगाउने परम्परा बस्यो न सेनाको जस्तो अनुशरण गरियो । मन्त्रालयले आफूखुसी फुली लगाउने परम्परा चलायो,’ सशस्त्रका पूर्वएआईजी नारायणबाबु थापा भन्छन् ।
१२ माघ २०५९ मा राजधानीमै सशस्त्रका पहिलो आईजीपी कृष्णमोहन मारिएपछि सहवीर थापालाई सशस्त्रको आईजीपी बनाइयो । सहवीरलाई भने तत्कालीन गृहसचिव टीकादत्त निरौलाले फुली लगाइदिएका थिए ।

२०६२/६३ को आन्दोलनमा दमन गरेको भन्दै सहवीरलाई हटाएर वासुदेव वलीलाई आईजीपी बनाइएको थियो । उनलाई तत्कालीन गृहसचिव उमेश मैनालीले फुली लगाइदिएका थिए । त्यतिबेलाको घटना सम्झिँदै मैनाली भन्छन्, ‘दुई आईजीपीलाई फुली लगाइदिएँ, गुप्तचरका एआईजीलाई आईजीमा बढुवा गरिएको पत्र दिएको थिएँ ।’
वलीको कार्यकाल सकिएपछि २ वैशाख २०६६ मा सनतकुमार बस्नेत सशस्त्रको आईजीपी बने । मैनालीकै पथ पछ्याउँदै बस्नेतलाई तत्कालीन गृहसचिव गोविन्द कुसुमले आईजीपीको फुली लगाइदिए ।
त्यसपछि १४ दिनका लागि किशोरकुमार लामा आईजीपी बने । उनको कार्यकाल १ साउन २०६८ देखि १४ साउन २०६८ सम्म हो । उनलाई सशस्त्रको इतिहासमै सबैभन्दा कम कार्यकालको आईजीपी भनेर चिनिन्छ ।

उनी आईजीपी हुँदा कृष्णबहादुर महरा गृहमन्त्री थिए । आशकोट ड्रेसमै गएर महराले लामालाई आईजीपीको फुली लगाइदिएका थिए ।
लामापछि बनेका ७ आईजीपीहरू (शैलेन्द्रकुमार श्रेष्ठ, कोषराज वन्त, दुर्जकुमार राई, सिंहबहादुर श्रेष्ठ, शैलेन्द्र खनाल, पुष्पराम केसी, राजु अर्याल) सबैलाई गृहसचिवले फुली लगाइदिएका छन् । सशस्त्रमा पनि प्रहरीकै जस्तो गृहसचिवले आईजीपीको फुली लगाउने परम्परा बसेको छ ।

अबको एक सातामा बन्ने सशस्त्र प्रहरी महानिरीक्षकलाई कसले फुली लगाउला भन्ने विषय यस अर्थमा रोचक बनेको छ कि, केही दिनअघि मात्रै राजीनामा दिएका गृहमन्त्री सुधनले प्रधानमन्त्रीको हातबाट फुली लगाउने व्यवस्था गर्ने बताएका थिए ।
यदि १८ वैशाखमा बन्ने सशस्त्र आईजीपीले प्रधानमन्त्रीको हातबाट फुली लगाए सशस्त्र र प्रहरीको इतिहासमै यो पहिलो घटना हुनेछ ।
कसले लगाइदिने आईजीपीको फुली ?
प्रहरी ऐन तथा नियमावलीमा फुली कसले लगाउने भन्नेबारे केही पनि उल्लेख छैन । सामान्यतया राजपत्र अनंकित पदसम्म कार्यालय प्रमुखले फुली लगाउने परम्परा रहेको देखिन्छ । २०५२ सालमा प्रकाशित ‘नेपाल प्रहरीको इतिहास’ पुस्तकमा दर्ज्यानी चिह्नबारे लेखिएको छ, ‘प्रहरी कर्मचारीको पदोन्नति भइसकेपछि समारोहको आयोजना गरी कार्यालय प्रमुखले दर्ज्यानी चिह्न लगाइदिने गरिन्छ । यस अवसरमा धुप बाल्नुका साथै एक थालीमा फलफूल, अबिर आदि शुभवस्तुहरू राख्ने गरिन्छ ।’
उक्त पुस्तकमा कार्यालय प्रमुखले भनिए पनि सिनियर अघिकृतको हकमा मानव स्रोत विभागका एआईजीदेखि आईजीपीसम्मले एक समारोह आयोजना गरी फुली लगाउने चलन प्रहरी, सशस्त्र प्रहरीमा छ ।

प्रहरीको सर्वोच्च पद आईजीपीको फुली पनि कसले लगाइदिने भन्नेबारे कतै उल्लेख छैन । यो एउटा परम्पराको रूपमा मात्रै कोबाट ग्रहण गर्ने भन्ने कुराले निर्धारण गर्दै आएको छ । जसका कारण फुली लगाउने प्रचलनबारे पनि आ–आफ्नै धारणा छन् ।
पूर्वआईजीपी मोतिलाल बोहोरा अहिले गृहमन्त्रीले भने जस्तै प्रधानमन्त्रीको हातबाट आईजीपीको फुली लगाइनु निकै राम्रो हुने बताउँछन् ।
‘प्रधानमन्त्रीको हातबाट फुली लगाउनु राम्रो परम्परा हो । नेपाली सेनाको चिफलाई ‘हेड अफ द स्टेट’ले फुली लगाउने चलन छ भने प्रहरीलाई ‘हेड अफ गभर्मेन्ट’ले लगाउँदा राम्रो सन्देश जान्छ,’ बोहोरा भन्छन् ।
प्रहरीको आईजीपी र गृहसचिव भनेको प्यारालल रिलेसन हो । दुवै जना विशिष्ट श्रेणीका हुन् । तर यहाँ गृहसचिव भर्टिकल सम्बन्ध राख्न खोजेको देखिन्छ । तालुक मन्त्रालयको हिसाबले प्रहरीलाई आवश्यक कुराहरू व्यवस्थापन गर्ने जिम्मा र रेखदेखको जिम्मा हो । तर फुली लगाइदिएकै कारण गृहसचिव ८० हजार फौजकै कमान्ड मै हुँ जस्तो गर्न थालेको बोहोरा बताउँछन् ।
तर, पूर्वगृहसचिव उमेश मैनालीको तर्क भने फरक छ । ‘प्रहरी संगठन भनेकै गृह मन्त्रालय मातहतको रहेकाले गृहलाई क्रस गर्न खोज्ने, हामीले नेपाल सरकारले भनेको मात्रै मान्ने जस्तो प्रहरी संगठनबाट गर्न खोजे जस्तो देखिन्छ । त्यो राम्रो होइन,’ मैनालीले अनलाइनखबरसँग भने, ‘प्रधानमन्त्रीको हातबाट फुली लगाउँदा भोलि फेरि गृह मन्त्रालयलाई किन टेर्ने भन्नेसम्मका कुरा आउलान् । पूर्वपरम्परा जस्तो अवकाशमा जाँदै गरेका आईजीपीले फुली लगाइदिँदा राम्रो हुन्छ ।’
पूर्वएआईजी अमरसिंह शाह पनि प्रधानमन्त्रीको हातबाटभन्दा पनि पूर्वपरम्पराअनुसार अवकाशमा जाने आईजीपीले नवनियुक्त आईजीपीलाई फुली लगाउँदा राम्रो हुने बताउँछन् ।
‘परम्परा भत्किनु राम्रो होइन । आत्मीयता, भाइचारा, फौजी परम्परा कायम गर्न र जिम्मेवारी हस्तान्तरण गर्नका लागि पनि पहिला जस्तै जाँदै गरेका आईजीपीले आउँदै गरेका आईजीपीलाई फुली लगाउँदा राम्रो हुन्छ,’ उनी भन्छन् ।

प्रहरी प्रशासनबारेका जानकार पूर्वएसपी रवीन्द्रनाथ रेग्मी पनि पूर्वपरम्परा जस्तो अवकाशमा जानेले नवनियुक्त आईजीपीलाई फुली लगाइदिने र अझ एक महिनाअघि नै आईजीपी बिदामा बस्ने चलन ल्याउनुपर्ने बताउँछन् ।
एक महिनापछि हुने आईजीपीले कायम मुकामय भएर काम कारबाही गर्ने । त्यो बीचमा बिदामा बसेका आईजीपीसँग समन्वय र सूचना आदानप्रदान हुने, समस्या हलका लागि सामूहिक प्रयत्न हुने । नयाँ आईजीपीले काम सिक्ने अवसर पनि पाउने । जिम्मेवारी हस्तान्तरण गर्ने र अवकाशका दिन दुई आईजीपीको सँगै बिदाइ र स्वागत गरिने परम्परा बसाल्नु राम्रो हुन्छ,’ रेग्मी भन्छन् ।
(तस्वीरहरू : नेपाल प्रहरी, सशस्त्र प्रहरी, पूर्वएआईजी नारायणबाबु थापा र पुजन बराल)
प्रतिक्रिया 4