News Summary
Generated by OK AI. Editorially reviewed.- मन्त्रिपरिषद् बैठकले नारायणदत्त पौडेललाई सशस्त्र प्रहरी बलको १३औं आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको छ।
- पौडेलले १८ वैशाख २०८३ देखि आईजीपीको कमान्ड सम्हाल्नेछन्।
- पौडेलले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा २८ वर्ष सेवा गरेका छन्।
१४ वैशाख, काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको १३औं आईजीपीमा नारायणदत्त पौडेल नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) पौडेललाई आईजीपी (सशस्त्र प्रहरी प्रमुख) बनाउने निर्णय गरेको हो ।
सरकारका प्रवक्तासमेत रहेका शिक्षा मन्त्री सस्मित पोखरेलले पौडेललाई सशस्त्र प्रहरीको आईजीपीमा बढुवा गर्ने निर्णय भएको बताए । उनले यही १८ वैशाखपछि कमान्ड सम्हाल्ने छन् । हाल उनी सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकस्थित मानव स्रोत विभागका प्रमुखको रूपमा कार्यरत छन् ।
हालका आईजीपी राजु अर्याल चार वर्षे कार्यकाल पूरा गरी यही १८ वैशाखमा अवकाश जाँदैछन् । उनी अवकाशमा जाने भएपछि सरकारले पौडेललाई आईजीपी बनाउने निर्णय गरेको हो ।
पौडेल आईजीपी बढुवाको पहिलो दाबेदार थिए । उनी १८ चैत २०५४ सालमा नेपाल प्रहरीको इन्स्पेक्टरमा सेवा प्रवेश गरेका थिए ।
उनीसँगै आईजीपीको बढुवाका लागि सीमा विभागमा कार्यरत एआईजी वंशी दाहाल र कार्य विभागमा कार्यरत एआईजी गणेश ठाडा मगर पनि प्रतिस्पर्धामा थिए । तर उनीहरू दुवै जना पौडेलभन्दा जुनियर थिए ।

पौडेल ६ जेठ २०७९ मा एआईजीमा बढुवा भएका थिए । राजु अर्याल आईजीपी बनेपछि एआईजीको रिक्त पदमा उनलाई बढुवा गरिएको थियो ।
आईजीपीको दोस्रो दाबेदारका रूपमा रहेका दाहाल भने पौडेलभन्दा करिब ५ महिनापछि मात्रै एआईजीमा बढुवा भएका थिए । दाहाललाई सरकारले २८ असोज २०७९ मा एआईजीमा बढुवा गरेको थियो । दाहाललाई एआईजी बनाउन त्यतिबेला सरकारले सीमा सुरक्षा विभागमा एक एआईजीको दरबन्दीसमेत सिर्जना गरेको थियो ।
ठाडा मगर भने उनीहरूभन्दा करिब २ वर्ष जुनियर हुन् । उनी २ असार २०८२ मा मात्रै एआईजीमा बढुवा भएका थिए । भर्ना प्रक्रियामा पनि ठाडा मगर दुई वर्ष नै जुनियर हुन् । उनी २०५६ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका थिए ।
पौडेल १८ चैत २०८४ सम्म दुई वर्ष संगठन प्रमुख बन्नेछन् । विद्यमान सशस्त्र प्रहरी नियमावली अनुसार ३० वर्षे सेवा हदका कारण उनी १८ चैत २०८४ मा अवकाशमा जानेछन् ।
खरदार हुँदै आईजीपीसम्म
आईजीपीमा नियुक्त भएका पौडेल सुरुमा खरदार थिए । सुर्खेतको साविक जर्बुटा गाविस–५ मा जन्मेका उनले सुर्खेतबाट एसएलसी उत्तीर्ण गरेपछि खरिदारको परीक्षा दिए । र, उत्तीर्ण भए । त्यसपछि नगरपालिकातर्फको स्थायी नियुक्त लिएर काम गरे ।
‘लोकसेवा पास गरेर खरिदारमा नाम निकालेँ । पाँच वर्षसम्म वीरेन्द्रनगर नगरपालिकामा काम गरेँ । प्रहरीमा आउने मैले सोचेकै थिइनँ,’ पौडेलले अनलाइनखबरसँग भने ।
खरिदारमा नाम निस्के पनि उनले आफ्नो अध्ययनलाई भने छाडेका थिएनन् । सुर्खेतबाटै स्नातक उत्तीर्ण गरे । प्रहरीको इन्स्पेक्टरमा भर्ना खुल्यो । इन्स्पेक्टरमा जाँच दिने सोच नै नबनाएका उनी सँगै पढेका साथीहरूले दिऔं न भनेपछि लहलहैमै काठमाडौं आए । त्यो नै उनको काठमाडौंमा पाइला टेकेको पहिलो क्षण थियो ।
इन्स्पेक्टरको फारम भरेपछि भने प्रहरीतर्फ उनलाई चाख बस्यो । नगरपालिकाको काम गर्दै इन्स्पेक्टरको तयारी गरे । पहिलो प्रयासमै इन्स्पेक्टरमा नाम निकाले ।
‘प्रहरीमा आउने सोचेकै थिइनँ । निजामतीकै कुनै अधिकृतमा परीक्षा दिन्छु भन्ने थियो । तर साथीभाइकै लहलहैमा काठमाडौं आएर इन्स्पेक्टरको परीक्षा दिइयो । पहिलो प्रयासमै उत्तीर्ण भएपछि खरिदारबाट राजीनामा दिएँ,’ पौडेल भन्छन् ।

१८ चैत २०५४ मा नेपाल प्रहरी इन्स्पेक्टरको नियुक्ति लिएर पौडेलले निजामती सेवालाई बिदाइ गरे । नेपाल प्रहरीमा तीन वर्षसम्म काम गरे । प्रहरीमा रहँदा उनी रोल्पा स्ट्राइकिङमा खटिएका थिए । त्यतिबेला माओवादी द्वन्द्वका कारण सुरक्षाका हिसाबले रोल्पा निकै चुनौतीपूर्ण मानिन्थ्यो ।
इन्स्पेक्टरको आधारभूत तालिम सम्पन्न भएपछि रोल्पा स्ट्रिाइकिङ टोलीका कमान्डर बनेर उनी खटिएका थिए । त्यतिबेला उनले गरेको काम, अपरेसन, निडरपन र आफू मातहतका प्रहरी कर्मचारीको मनोबल प्रोत्साहन गर्न उत्कृष्ट भूमिका खेलेको भन्दै पुरस्कारस्वरूप प्रहरी प्रधान कार्यालयले १ ग्रेड थप गरिदिएको थियो ।
पटक–पटक माओवादीसँग आमनेसामने भएर लडेको अनुभव उनीसँग छ । ‘त्यतिबेला सँगैका साथीहरू गोली लागेर घाइते भए । संयोग नै भन्नुपर्छ, मलाई भने केही भएन,’ उनी स्मरण गर्छन् ।
सुरुमा उनी रोल्पाको इलाका प्रहरी कार्यालय जिनाबाङमा खटिएर काम गरे । त्यहाँबाट फेरि इलाका प्रहरी कार्यालय पाखापानीको स्ट्राइकिङ बेसमा बसेर काम गरेका थिए ।
प्रहरी रहँदा उनले इलाका प्रहरी कार्यालय बिर्तामोड, झापाको प्रमुख भई काम गरे । त्यसपछि उनी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा प्रशिक्षकको रूपमा खटिए ।
त्यसपछि जिल्ला प्रहरी कार्यालय दाङमा खटिएर काम गरेको अनुभव पौडेलसँग छ । माओवादी द्वन्द्व उत्कर्षमा पुगेपछि त्यसविरुद्ध लड्न तत्कालीन सरकारले सशस्त्र प्रहरी बल गठन गरेको थियो । जहाँ सुरुवाती क्रममा नेपाली सेना र नेपाल प्रहरीका कर्मचारीलाई एक तह बढुवा गर्दै लगिएको थियो ।
सोहीअनुसार पाडेल ४ वैशाख १०५८ मा सशस्त्र प्रहरीमा स्थानान्तरण भएका थिए । स्थानान्तरण भएपछि १८ असार २०५८ मा सशस्त्रको कामु डीएसपी भएर उनले काम गरे । डीएसपीमा स्थायी बढुवा भने १८ चैत २०५८ मा भयो ।
सशस्त्रको डीएसपीमा रहँदा सुुरक्षा बेस तुल्सीपुर, दाङको प्रमुख रहेर काम गरेको अनुभव पौडेलसँग छ । डीएसपीमै रहँदा राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय सिंहदरबारमा रहेर पनि उनले काम गरे ।
०००
तत्कालीन माओवादी शान्तिपूर्ण राजनीतिमा आएपछि माओवादी लडाकु समायोजन सुरु भएको थियो । शान्ति प्रक्रियाको बेला अनमिन (युनाइटेड नेसन मिसन इन नेपाल) ले नेपालमा काम गरेको थियो । त्यतिबेला अनमिन मातहत रहने गरी आर्म्स मोनिटरिङ सदस्यको रूपमा पौडेलले काम गरेका थिए ।
यो कामसँगै द्वन्द्वदेखि शान्तिको प्रक्रियामा कसरी काम गर्ने भन्ने अनुभव पौडेलले बटुल्ने अवसर पाएका थिए । एकातिर प्रहरीको अनुभव, त्यहाँ रहँदा रोल्पा स्ट्राइकिङको कमान्डर त्यहाँमाथि सशस्त्र र अनमिनमा रहँदासमेत काम गरेको अनुभवले थप निखार आएको उनको बुझाइ छ ।
अनमिन रहँदा द्वन्द्व व्यवस्थापन कसरी गर्नेलगायतका व्यावहारिक ज्ञान बुझ्ने अवसर उनले पाएका थिए ।
२९ चैत २०६३ मा एसपीमा बढुवा भएपछि उनले सीमा सुरक्षा कार्यालय बर्दिया, निलबराही गण र बंगलामुखी विशेष कार्यदलको गणपति भएर काम गरेका थिए ।
एसपीमै रहँदा पूर्वक्षेत्रीय सशस्त्र प्रहरी मुख्यालय बराह बाहिनी पकली, सशस्त्र प्रहरीको कार्य विभाग, उपत्यका हेर्ने पशुपति बाहिनी मुख्यालयको (इन्ट)मा रही काम गरेको अनुभव उनीसँग छ । फिल्ड ड्युटी र स्टाफिङ ड्युटीमा रहेर पनि उनले काम गरेका छन् ।
०००
२ जेठ २०७० मा पौडेल एसएसपीमा बढुवा भएका थिए । त्यसपछि प्रशासन विभागमा रहेर काम गरे । प्रशासन विभागको व्यावसायिकता तथा गुणस्तर निर्धारण निर्देशनालय, उपत्यका सुरक्षा कार्यालय (इन्ट)मा रहेर नीतिगत तहमा काम गरेको अनुभव पौडेलसँग छ ।
एसएसपीमै रहँदा आर्थिक प्रशासन महाशाखा प्रमुख, यूएन शान्ति स्थापनार्थ तालिम शिक्षालय ककनीको समादेशकको रूपमा पनि उनले काम गरेका छन् ।

त्यसपछि बराह बाहिनी पकली, वैद्यनाथ बाहिनीको सहायक बाहिनीपति भएर काम गरे । १३ कात्तिक २०७५ मा डीआईजीमा बढुवा भएका पौडेलले कार्य तथा सीमा सुरक्षा विभाग, मानव स्रोत विभागमा रहेर काम गरेका थिए ।
डीआईजी हुँदा बाहिनीपतिको रूपमा उनले लुम्बिनी तथा गण्डकी प्रदेशस्थित बाहिनीको कमान्ड गरेका थिए । ६ जेठ २०७९ मा एआईजीमा बढुवा भएपछि मानव स्रोत, सीमा तथा कार्य विभाग गरी सशस्त्रमा हाल कायम रहेकै एआईजीले कमान्ड गर्ने तीन वटै विभागको कमान्ड गरेको अनुभव पौडेलसँग छ ।
०००
प्रहरी सेवाको करिब २८ वर्षको अवधिमा उनले धेरै पुरस्कार तथा पदक प्राप्त गरेका छन् । जसमा सुप्रबल जनसेवाश्री, प्रबल जनसेवाश्री (चौथो), गोरखा दक्षिण बाहु (चौथो), प्रदेश सेवा पदक, संयुक्त राष्ट्र संघ (यूएन) पदक (लाइबेरिया र कोसोभो) प्राप्त गरेका छन् ।
६ महिनाका लागि एफपीयू मिसन लाइबेरिया र २५ महिना कोसोभो मिसनमा काम गरेका उनले अन्तर्राष्ट्रियस्तरका ६ वटा तालिम गरेका छन् । श्रीलंकाबाट काउन्टर टेरोरिजम स्ट्रेटिजी म्यानेजमेन्टको तालिमसमेत लिएका छन् ।
एफपीयू कमान्डर फोर्स (इटाली)मा सहभागी भएर पनि उनले काम गरेका छन् । पौडेलले एड्भान्स सेक्युरेटी कोअपरेसन कोर्स (अमेरिका), इन्टरनेसनल फोरम अन बिग डाटा पोलिसिङ (चीन) जस्ता तालिम गरेका छन् ।
आईएसीपी कन्फरेन्स (अमेरिका), ग्रेट वाल इन्टरनेसनल काउन्टर टेरोरिजम सिम्पोसियम (चीन), स्टडी टुर (डेनर्माक)मा पनि उनी सहभागी भएका थिए ।
यस बाहेक स्वदेशमा भने पौडेलले प्रहरी अनुसन्धान तालिम, विशेष सशस्त्र तथा युद्धकला तालिम, सशस्त्र प्रहरी सहिष्णुता तालिम, गुल्मपति तथा स्टाफ तालिम, अपरेसन ल एन्ड पीएस अपरेसन, काउन्टर टेरोरिजम कम्पोनेन्टस अफ एकेडेमी डेभलपमेन्ट तालिम, पुलिस लिडर रोल इन कम्ब्याटिङ टेरोरिजम कोर्सलगायतका तालिम सम्पन्न गरेका छन् ।
प्रतिक्रिया 4