+
+
Shares

काठमाडौंको विषाक्त हावा : एक दिनमा ८ खिल्ली चुरोट ताने बराबर

काठमाडौंको अहिलेको वायु अवस्थालाई दैनिक जीवनसँग तुलना गर्दा दिनको झन्डै ८ खिल्ली चुरोट तानेजत्तिकै हानिकारक हुन्छ ।

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०८३ वैशाख ११ गते २१:४३
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं उपत्यकामा वायु प्रदूषणको स्तर १९६ पुगेको छ र यो विश्वकै सबैभन्दा प्रदूषित शहरको सूचीमा पहिलो स्थानमा छ।
  • नेपालमा वायु प्रदूषणका कारण वर्षेनी ४८ हजार मानिसको मृत्यु हुन्छ र औसत आयु काठमाडौंमा ४ वर्षले घटेको छ।
  • वायु प्रदूषणको मुख्य कारण देशभर फैलिएको डढेलोको धुवाँ, सडक निर्माण, सवारी साधनको धुलो र भारततर्फबाट आएको धुवाँ हो।

११ चैत, काठमाडौं । घर बाहिर निस्कँदै हुनुहुन्छ ? एकपटक सोच्नुहोस् । किनकि, अहिले स्वास फेर्ने हावा सामान्य छैन, खतरनाक अवस्थामा पुगेको छ । बाहिरको हावा दिनभरि झन्डै ८ खिल्ली चुरोट तानेजत्तिकै हानिकारक छ ।

केही दिनयता धेरैलाई एउटै खालका समस्याले सताइरहेको छ । आँखा पोल्ने, घाँटी खसखस हुने, रूघाखोकी लागिरहने जस्ता समस्या देखिएका छन् ।

अस्पतालका ओपीडीमा श्वासप्रश्वाससम्बन्धी समस्या लिएर जाने बिरामीहरूको संख्या बढ्दो छ । कतिपयलाई काममा ध्यान केन्द्रित गर्न गाह्रो भइरहेको छ । मुटुको धड्कन बढ्ने, चिड्चिडापन, शरीर अल्छी र थकित महसुस भइरहेको छ । कतिपयलाई धुलो र धुवाँको एलर्जीले सताएको छ ।

यी लक्षणहरू छुट्टाछुट्टै रोग जस्ता देखिए पनि यसको एउटै साझा कारण छ– वायु प्रदूषण ।

दुई–तीन दिनयता काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वायु प्रदूषणको मात्रा लगातार बढिरहेको छ । श्वास फेर्ने तल्लो वायुमण्डल धुलो, धुवाँ र विषालु कणहरूले भरिएको छ । हावामा आँखाले देख्न नसकिने सूक्ष्म तर अत्यन्त हानिकारक रसायनयुक्त कणहरू थुप्रिएका छन् ।

हावामा कपालको रौंको मोटाइभन्दा २०औं गुणा साना कणहरू हुन्छन् । यिनै कण विष बनेर श्वासनली, फोक्सो हुँदै रगतमा पुग्छन् । फोक्सोमा पुगेका यी कणहरूले रगतमा पुगेर ‘रियाक्सन’ गर्छन् । परिणामतः दम, हृदयाघात, फोक्सो र अन्य दीर्घरोग बल्झिन्छ ।

यी कणहरू फोक्सोभित्र पुगेर शरीरको प्राकृतिक सुरक्षा प्रणालीलाई कमजोर बनाउँछन् र स्वास्थ्यमा गम्भीर असर पार्छन् । विशेषगरी दम, फोक्सोको समस्या वा अन्य दीर्घकालीन श्वासप्रश्वास रोग भएका बिरामीका लागि यस्तो हावा झन् खतरनाक बन्न सक्छ ।

हावाको गुणस्तर मापन गर्ने एयर क्वालिटी इन्डेक्सअनुसार मङ्गलबार दिउँसो करिब ९२ को हाराहारीमा रहेको वायु गुणस्तर सूचकाङ्क आज बढेर १९६ पुगेको छ । यससँगै काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित शहरको सूचीमा पहिलो स्थानमा सूचीकृत भएको छ ।

एक्यूआई २०१ देखि ३०० पुग्दा अवस्था ‘अति अस्वस्थकर’ श्रेणीमा पर्छ । यो अहिलेको अवस्था त्यही सीमा नजिक पुगेको संकेत हो ।

नेपालमा वर्षेनी ४८ हजार मानिसको वायु प्रदूषणका कारण मृत्यु हुने गरेको छ । यसरी हेर्दा दिनमा सरदर १३० जना मानिसको वायु प्रदूषणसँग सम्बन्धित कारणले ज्यान जान्छ ।

संक्रमण रोग विशेषज्ञ डा. अनुप सुवेदीले वायु प्रदूषणलाई चुरोटको धुवाँभन्दा पनि बढी खतरनाक रहेको बताए ।

डा. सुवेदीका अनुसार वायु प्रदूषणले नेपालीको औसत आयु घटाइरहेको छ । ‘वायु प्रदूषणकै कारण काठमाडौंमा औसत ४ वर्ष र तराईका केही जिल्लामा ५ देखि ७ वर्षसम्म आयु घटेको देखिन्छ,’ डा. सुवेदी भन्छन् ।

दक्षिण एसिया र अफ्रिकी देशहरूमा वायु प्रदूषण सबैभन्दा ठूलो स्वास्थ्य समस्या बनेको छ । नेपालमा दमका बिरामीको मृत्युमा तीन चौथाइ हिस्सा वायु प्रदूषणकै कारण हुने गरेको छ । वायु प्रदूषणकै कारण अन्य देशमा हार्ट अट्याक (हृदयाघात) २५ प्रतिशतलाई हुन्छ । तर नेपालमा पनि ४० प्रतिशतसम्म प्रदूषणसँग जोडिएको देखिन्छ । बालबालिकामा यसको प्रभाव झन् डरलाग्दो छ ।

‘तौल र उचाइ नबढ्ने, शारीरिक तथा बौद्धिक विकास कमजोर हुने, आजीवन शारीरिक वा मानसिक अपाङ्गताको जोखिम बढेको छ । गर्भवती महिलामा प्रदूषणले समयअगावै बच्चा जन्मिने, कम तौलको बच्चा जन्मिने र टाउको सानो हुने (माइक्रोसेफाली) जस्ता समस्या निम्त्याउँछ,’ डा. सुवेदी भन्छन् ।

विशेषज्ञका अनुसार काठमाडौंको वायु अवस्थालाई दैनिक जीवनसँग तुलना गर्दा दिनको झन्डै ८ खिल्ली चुरोट तानेजत्तिकै हानिकारक हुन्छ ।

अर्थात्, चुरोट नखाए पनि अहिलेको प्रदूषित हावाबाट श्वास लिँदा दिनभरि ८ वटा चुरोट पिएजत्तिकै असर शरीरमा पर्छ । मानिसले दिनमा औसत २५ हजार पटक श्वास फेर्ने भएकाले प्रदूषित हावाले शरीरमा निरन्तर असर पुर्‍याउँछ ।

शारीरिक व्यायाम गर्ने, दौडने वा बाहिर बढी समय बिताउने मानिसहरूलाई जोखिम अझ बढी हुन्छ । किनभने, व्यायाम गर्दा मानिसले सामान्य अवस्थाभन्दा धेरै श्वास फेर्छ । धेरै श्वास फेर्दा हावामा रहेका हानिकारक कणहरू अझ गहिराइसम्म फोक्सोमा पुग्छन् ।

छाती रोग विशेषज्ञ डा. निरज बमका अनुसार हावामा हानिकारक पर्टिकुलेट म्याटर (पीएम २.५) अति सूक्ष्म कण फोक्सोभित्र हुँदै रगतसम्म प्रवेश गर्न सक्ने भएकाले स्वास्थ्यका लागि अत्यन्त खतरनाक हुन्छ ।

‘अहिलेको वातावरण धुलो, धुवाँ र विभिन्न प्रदूषक कणले भरिएको छ । यस्तो अवस्थामा बाहिरको हावा श्वास फेर्नु भनेको धूमपान गर्ने व्यक्तिसरह जोखिम लिनु जस्तै हो,’ डा. बम भन्छन् ।

वातावरणमा सवारी साधनको धुवाँ, फोहोरबाट उड्ने धुलो, डढेलोबाट आएको धुवाँ र अन्य प्रदूषक कण मिसिएको छ । यी सूक्ष्म कण नाक र श्वासनली हुँदै फोक्सोसम्म पुग्छन् । यस्ता कण शरीरमा प्रवेश गरेपछि उच्च रक्तचाप, मधुमेह, हृदयाघात, पक्षघात (स्ट्रोक) लगायतका गम्भीर रोगको जोखिम बढ्छ ।

डा. बम भन्छन्, ‘यस्तो विषालु हावाले प्रजनन क्षमतामा असर गर्न सक्छ । मानसिक स्वास्थ्यमा समस्या, स्मरण शक्ति कमजोर, छाला चाउरी पार्ने र कपाल झर्ने जस्ता असरसमेत देखिन्छ ।’

वायु प्रदूषणलाई ‘साइलेन्ट किलर’ समेत मानिन्छ । छाती रोग विशेषज्ञ डा. राजु पंगेनीका अनुसार वायु प्रदूषण स्वास्थ्यका दृष्टिले खतरनाक अवस्था हो । अर्थात्, वायु प्रदूषणले मानिसको स्वास्थ्यमा प्रत्यक्ष असर गरिरहेको छ । यसले मानव शरीरमा असर नपुर्‍याउने कुनै अंग छैन ।

केही दिनयता धेरैलाई एकै खालको समस्याले सताइरहेको छ । आँखा पोल्ने, घाँटी खसखस हुने, रूघाखोकी लागिरहने, काममा ध्यान केन्द्रित गर्न गाह्रो हुने, मुटुको धड्कन बढ्ने, चिड्चिडापन, अल्छी र थकान महसुस भइरहेको छ ।

‘वायु प्रदूषण साइलेन्ट किलर हो । यो देखिँदैन । तर असर अत्यन्तै उच्च हुन्छ । शरीरका प्रत्येक अंगलाई असर गर्छ,’ डा. पंगेनी भन्छन् ।

चिकित्सकका अनुसार प्रदूषणका कारण पछिल्ला दिनहरूमा अस्पताल आउने बिरामीको संख्या पनि बढ्न थालेको छ । डा. बमका अनुसार दम, खोकी र अन्य श्वासप्रश्वाससम्बन्धी दीर्घरोग भएका बिरामीमा समस्या झन् बढेको छ ।

‘केही दिनयता दम-खोकीका बिरामी बढेका छन् । अस्पताल आउने बिरामीको संख्या झन्डै १० देखि २० प्रतिशतसम्म बढेको छ,’ डा. बमले भने ।

यसैबीच, भाइरल फ्लुका बिरामी पनि बढेका छन् । छाती भारी हुने, हल्का रुघा लाग्ने, शरीर दुख्ने, आलस्य हुने जस्ता समस्या लिएर धेरै बिरामी अस्पताल आएको डा. बमले बताए ।

चिकित्सकका अनुसार प्रदूषणले शारीरिक मात्र होइन, मानसिक अवस्थामा समेत असर पार्छ । वातावरण धुम्म हुँदा र घाम नलाग्दा उत्साह कम हुने, आलस्य बढ्ने र काममा एकाग्रता घट्ने समस्या देखिन सक्छ ।

किन बढ्यो वायु प्रदूषण ?

वातावरणविद् भुषण तुलाधरका अनुसार अहिले देखिएको प्रदूषण नयाँ समस्या होइन, हरेक वर्ष दोहोरिने मौसमी चक्रकै परिणाम हो ।

उनका अनुसार नेपालमा वायु प्रदूषण सामान्यतया वर्षमा दुई पटक उच्च विन्दुमा पुग्ने गर्छ । अहिले देखिएको प्रदूषणको मुख्य कारण देशभर फैलिएको वन डढेलोको धुवाँ हो ।

‘जाडोमा धुवाँ र धुलो थुप्रिने कारणले र चैत–वैशाखतिर सुख्खा मौसम र डढेलोका कारण प्रदूषण बढ्ने गर्छ,’ डा. तुलाधर भन्छन् ।

उनका अनुसार देशका सयौं स्थानमा डढेलो लागेको र विशेषगरी पश्चिमी तराई र भारततर्फ लागेको डढेलोको धुवाँ काठमाडौंसम्म आइपुग्दा हावा अत्यधिक प्रदूषित भएको छ ।

‘नेपालमा डढेलो धेरै लाग्ने क्षेत्रमा बर्दिया तथा सुर्खेत जस्ता पश्चिमी क्षेत्र पर्छन् । त्यहाँबाट उठेको धुवाँ हावाको बहावसँगै काठमाडौंसम्म आइपुग्छ,’ तुलाधर भन्छन् ।

विज्ञका अनुसार डढेलो लाग्नुका मुख्य तीन कारण हुन्छन्- जंगलमा थुप्रिएको सुक्खा इन्धन (पात-पतिङ्गर), आगो फैलिने अनुकूल मौसम र मानवीय गतिविधिबाट उत्पन्न हुने आगोको झिल्का । अहिले तापक्रम बढेको छ । पानी परेको छैन, हावा चलिरहेको छ । यस्तो मौसम डढेलो फैलिन उपयुक्त हुन्छ ।

काठमाडौंसहित देशभर डढेलोका कारण ‘ग्यास च्याम्बर’ जस्तो अवस्था भएको वातावरणविद् तथा डढेलो विज्ञ सुन्दरप्रसाद शर्माले बताए ।

वरिष्ठ मौसमविद् मीनकुमार अर्यालका अनुसार देशका विभिन्न क्षेत्रमा तातो मौसम, कमजोर हावाको बहाव र स्थानीय मौसम प्रणालीका कारण धुवाँ र तुवाँलो जमेर आकाश धुम्म देखिएको हो ।

‘अहिले नेपालका विभिन्न जंगलमा डढेलो लागिरहेको छ। त्यसबाट निस्किएको धुवाँ नै काठमाडौंसम्म आइपुगेको हो,’ शर्मा भन्छन्, ‘प्रदूषणमा डढेलोको सम्भवतः ७० प्रतिशतसम्म योगदान छ ।’

प्रदूषणको कारण डढेलो मात्रै होइन, सडक निर्माण र सवारी साधनबाट उड्ने धुलो, इँटा भट्टा र उद्योगबाट निस्किने धुवाँ पनि हुन् ।

भारतको हरियाणा, पञ्जाबलगायत क्षेत्रबाट पनि धुवाँ हावासँगै नेपालतिर सर्छ । यसलाई ‘ट्रान्सबाउन्ड्री एयर पोलुसन’ भनिन्छ । यसअघि भएका अध्ययनले पनि भारततर्फबाट आएको धुवाँ काठमाडौंसम्म आइपुग्ने देखाएको छ ।

अहिले काठमाडौं मात्रै होइन, चितवन, धनगढी, पोखरालगायत धेरै क्षेत्र धुवाँले ढाकिएका छन् । ‘स्याटेलाइट तस्वीर हेर्दा नेपाल पूरै धुवाँको बाक्लो तहले ढाकिएको देखिन्छ । मानौं, कुनै बाक्लो कम्बलले ढाके जस्तो अवस्था छ,’ शर्मा भन्छन्, ‘अहिले हामी ग्यास च्याम्बर जस्तो वातावरणमा बसिरहेका छौं ।’

अहिले नेपालका धेरै स्थानहरूमा वायुमण्डल स्थिर अवस्थामा छ । हावा चलिरहेको छैन र धुवाँ-धुलो अन्यत्र फैलिन पाएको छैन, वायुमण्डलमा नै तैरिरहेको छ ।

कहिले पर्छ पानी ?

अहिले काठमाडौं उपत्यका लगायतका ठूला शहरमा हावा नचल्दा र पानी नपर्दा प्रदूषित विषालु हावा सतहमा तैरिएर बसेको छ ।

काठमाडौँ त कचौरा जस्तो छ । खासगरी काठमाडौंको पश्चिमी ढोका नागढुंगाको वनपाखा हुँदै छिरेको धुवाँ-धुलोसहितको हावा नागार्जुन, साँगा हुँदै बाहिरने गर्छ । तर अहिले धुवाँ र धुलोको कण सतहमा माथि जान सकेको छैन ।

विज्ञका अनुसार जबसम्म झरी दर्केर पर्दैन, हावी चल्दैन, त्यो बेलासम्म यस्तै हुनेछ । त्यसका लागि त मनसुन नै कुर्नुपर्छ ।

वरिष्ठ मौसमविद् मीनकुमार अर्यालका अनुसार देशका विभिन्न क्षेत्रमा तातो मौसम, कमजोर हावाको बहाव र स्थानीय मौसम प्रणालीका कारण धुवाँ र तुवाँलो जमेर आकाश धुम्म देखिएको हो ।

आगामी तीन दिनको मौसम पूर्वानुमान हेर्दा शुक्रबार लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा ‘हिट वेभ’ अर्थात् तातो हावाको लहर छ । बाँकी तराईका भूभाग, खोँच तथा उत्तर–दक्षिण बग्ने नदीले काटेका होचा भू–भागमा पनि अत्यधिक तातो छ ।

अर्यालका अनुसार भोलि र पर्सिदेखि भने मौसममा केही परिवर्तन देखिने सम्भावना छ । ‘भोलि र पर्सि केही मौसमी प्रणाली सक्रिय हुने देखिएको छ । त्यसका कारण आजको तुलनामा अधिकतम तापक्रम क्रमिक रूपमा घट्ने सम्भावना छ,’ अर्यालले भने, ‘विशेषगरी मध्य र पूर्वका भूभागमा तापक्रम आजभन्दा भोलि र भोलिभन्दा पर्सि केही घट्न सक्छ ।’

तुवाँलो हट्ने मुख्य दुई कारण मात्र हुन सक्छन्– वर्षा र हावाको गति बढ्नु ।

पूर्वदेखि मध्य क्षेत्रसम्म शनिबार र आइतबार केही स्थानमा वर्षा हुने सम्भावना छ । वर्षाले वायुमण्डलमा रहेको धुलो र धुवाँलाई केही हदसम्म कम गर्छ । त्यसैगरी, पश्चिमी वायु सक्रिय भएर हावाको गति बढेमा पनि प्रदूषण घट्न मद्दत पुग्छ ।

कोशी, बागमती, गण्डकी र मधेश प्रदेशका केही स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना रहेको अर्यालले बताए । विशेषगरी पहाडी क्षेत्रमा वर्षाको सम्भावना बढी देखिएको छ ।

काठमाडौं उपत्यकामा पनि भोलि र पर्सि केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको अर्यालले जानकारी दिए । ‘उपत्यकामा पनि भोलि र पर्सि थोरै स्थानमा वर्षा हुन सक्छ । त्यसले एक चरणमा वायु प्रदूषण कम गर्न मद्दत पुर्‍याउन सक्छ,’ अर्यालले भने ।

लेखक
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?