ओपन एआईका प्रमुख कार्यकारी अधिकृत(सीईओ) साम अल्टम्यानले क्यानडाको एक विद्यालयमा भएको सामूहिक गोलीकाण्डका मुख्य अभियुक्तको च्याटजिपिटी एकाउन्टबारे सुरक्षा निकायलाई पूर्वजानकारी दिन नसकेकोमा माफी मागेका छन् ।
गत फेब्रुअरी १० मा क्यानडाको ब्रिटिस कोलम्बियास्थित टम्बलर रिज सेकेन्डरी स्कुलमा १८ वर्षीय जेसी भ्यान रुट्सेलरले अन्धाधुन्ध गोली चलाउँदा ६ विद्यार्थीसहित उनका आमा र भाइ गरी आठ जनाको ज्यान गएको थियो ।
शुक्रबार ब्रिटिस कोलम्बियाका प्रिमियर डेभिड इबीले सामाजिक सञ्जालमा सार्वजनिक गरेको एक पत्रमा अल्टम्यानले उक्त समुदायले भोगेको पीडा अकल्पनीय रहेको भन्दै गहिरो दु:ख व्यक्त गरेका छन् । अल्टम्यानका अनुसार उक्त आक्रमणकारीको च्याटजिपिटी एकाउन्ट घटना हुनुभन्दा करिब आठ महिनाअघि नै प्रतिबन्धित गरिएको थियो ।
‘जुन महिनामा प्रतिबन्ध लगाइएको उक्त एकाउन्टबारे कानुनी निकायलाई जानकारी गराउन नसकेकोमा म हृदयदेखि नै माफी चाहन्छु,’ अल्टम्यानले पत्रमा लेखेका छन् ।
ओपन एआईले गत फेब्रुअरीमै सिबिएस न्युजलाई दिएको जानकारी अनुसार स्वचालित दुरुपयोग पहिचान प्रणाली र मानव अनुसन्धानकर्ताहरूले उक्त एकाउन्टलाई हिंसात्मक गतिविधिमा प्रयोग हुन सक्ने भन्दै ‘फ्ल्याग’ गरेका थिए ।
तर, तत्कालीन समयमा कम्पनीले उक्त प्रयोगकर्ताबाट तत्काल र गम्भीर शारीरिक क्षतिको जोखिम नरहेको निष्कर्ष निकाल्दै प्रहरीलाई खबर नगर्ने निर्णय गरेको थियो ।
घटनापछि कम्पनीले रोयल क्यानेडियन माउन्टेन पुलिससँग सहकार्य गरिरहेको र भविष्यमा यस्ता घटना दोहोरिन नदिन सुरक्षा प्रणालीमा सुधार गर्ने प्रतिबद्धता जनाएको छ ।
प्रतिक्रिया 4