+
+
Shares

काठमाडौं उपत्यकाका ८ राम्रा सामुदायिक विद्यालय

सुरुमा शासक परिवारका सन्तानका लागि मात्र सीमित यो विद्यालयलाई वि.सं. १९४२ सालदेखि आम नागरिकका लागि पनि खुला गरिएको थियो ।

सुमित्रा लुइटेल सुमित्रा लुइटेल
२०८३ वैशाख १६ गते १७:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विश्व निकेतन, तरुण, ज्ञानोदय, त्रिपद्म विद्याश्रम लगायत आठ सामुदायिक विद्यालयहरूले उत्कृष्ट नतिजा र गुणस्तरीय शिक्षा प्रदान गरिरहेका छन्।
  • यी विद्यालयहरूले प्रविधिमैत्री शिक्षण, अनुशासित वातावरण र नविन कार्यक्रममार्फत गुणस्तरीय शिक्षा सम्भव भएको प्रमाणित गरेका छन्।

काठमाडौँ उपत्यकाभित्रका धेरै सामुदायिक विद्यालयहरूमा अहिले विधार्थीको चाप बढ्न थालेको छ । सरकारी विद्यालय भन्ने बित्तिकै नाक खुम्चाउने प्रवृत्ति छ । महँगा निजी स्कुलमा छोराछोरी पढाउनुलाई प्रतिष्ठा ठान्ने र सामुदायिक स्कुलमा पढाउनुलाई हीनताका दृष्टिले हेर्ने प्रवृत्ति हाम्रो समाजमा छ । तर अहिले धेरैले निजी स्कुलबाट निकालेर आफ्ना छोराछोरी सामुदायिक स्कुलमा भर्ना गरिरहेको पाइन्छ ।

त्यसो हुनुमा सरकारी विद्यालयले नतिजामा मात्र नभएर विधार्थीको बहुआयामिक विकासमा ध्यान दिनु हो । उत्कृष्ट नतिजा, प्रविधिमैत्री शिक्षण, अनुशासित वातावरण र नविन कार्यक्रममार्फत केही सरकारी विद्यालयहरूले उत्कृष्ट शिक्षा दिइरहेका छन् ।

काठमाडौं, ललितपुर र भक्तपुरमा धेरै राम्रा सामुदायिक विद्यालय विद्यालयहरू छन् ।

गुणस्तरीय शिक्षा सरकारी विद्यालयमै सम्भव छ भन्ने उदाहरण प्रस्तुत गरेका यिनै मध्येका ८ विद्यालयको विवरण हामीले प्रस्तुत गरेका छौँ ।

१.विश्व निकेतन माध्यमिक विद्यालय, त्रिपुरेश्वर

विश्व निकेतन माध्यमिक विद्यालय काठमाडौंको त्रिपुरेश्वरमा अवस्थित एक उत्कृष्ट सामुदायिक विद्यालय हो । वि.सं. २००३ साल माघ १९ गते स्थापना भएको यस विद्यालयमा हाल कक्षा १ देखि १२ सम्म ४ हजार विद्यार्थी अध्ययनरत छन् । १३५ शिक्षक तथा कर्मचारी कार्यरत छन् ।
नियमित रूपमा उच्च शैक्षिक नतिजा दिन सफल यो विद्यालयले वि.सं. २०७४ र २०७५ मा लगातार राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गरेको थियो ।

विद्यालयको गुणस्तरप्रति शिक्षक तथा कर्मचारीहरूको समेत उच्च विश्वास छ । जसको प्रमाण हो–९० प्रतिशतभन्दा बढी शिक्षक तथा कर्मचारीले आफ्ना छोराछोरीहरूलाई यही विद्यालयमा पढाइरहेका छन् । सामुदायिक विद्यालयमा पनि उच्च गुणस्तरको शिक्षा दिन सक्छ भन्ने कुरा यसले प्रमाणित गरेको छ ।

यो विद्यालयले सामुदायिक शिक्षाको क्षेत्रमा उत्कृष्ट नमुना प्रस्तुत गर्दै देशभरका सामुदायिक विद्यालयहरूमध्ये शैक्षिक गुणस्तरमा अग्रस्थान कायम गरेको छ । २०७८ मा यस विद्यालयबाट निस्किएका १० जना विद्यार्थीले एमबीबीएसको पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका थिए । साथै ४० जना बढी विद्यार्थीले बीईमा निःशुल्क अध्ययनको अवसर प्राप्त गरेका थिए ।

२.तरुण माध्यमिक विद्यालय, बालाजु

तरुण माध्यमिक विद्यालय २०३० सालमा स्थापना भएको थियो । स्थापनाको १७ वर्षभित्रै यसले राष्ट्रियस्तरमा चार पटक सर्वोत्कृष्ट हुने कीर्तिमान राखेको छ भने एक पटक दोस्रो स्थान प्राप्त गरेको छ ।

क्षेत्रीय र बागमती प्रदेशस्तरमा पनि पटक–पटक पुरस्कृत भएको यो विद्यालयले २०५८ सालमा पहिलो पटक देशकै नम्बर एक सामुदायिक विद्यालयको रूपमा सम्मान पाएको थियो । त्यसयता विद्यार्थी संख्या अत्यधिक बढेर हाल दुई हजारको हाराहारी पुगेको छ ।

अंग्रेजी माध्यमबाट पढाइ हुने, निःशुल्क शिक्षा तथा खाजा, प्रविधिमैत्री कक्षा, ‘बुक फ्रि फ्राइडे’ जस्ता नविन कार्यक्रम, सीपमूलक अतिरिक्त क्रियाकलाप र जीवनोपयोगी शिक्षा प्रदान गर्ने यस विद्यालयले सामुदायिक विद्यालयमा पनि गुणस्तरीय शिक्षा सम्भव छ भन्ने उदाहरण प्रस्तुत गरेको छ ।

प्रतिबद्ध शिक्षक, चुस्त व्यवस्थापन, विद्यार्थीमैत्री वातावरण र अनुशासनले गर्दा निजी विद्यालयबाट पनि विद्यार्थी ल्याएर पढ्ने अभिभावकको संख्या बढ्दो छ । ब्रिटिश काउन्सिलको ‘अन्तर्राष्ट्रिय स्कूल पुरस्कार २०२३’ र काठमाडौं महानगरपालिकाको ‘एक वडा एक नमूना विद्यालय’ को सम्मान प्राप्त गरेको तरुण मावि नेपालको शैक्षिक क्षेत्रमा एक महत्वपूर्ण र प्रेरणादायी सामुदायिक विद्यालयको रूपमा स्थापित भएको छ ।

३.ज्ञानोदय माध्यमिक विद्यालय, बाफल

ज्ञानोदय मावि पनि काठमाडौँको एक उत्कृष्ट सामुदायिक विद्यालय हो । २०२९ सालमा स्थापना भएको यो विद्यालय २०३६ सालमा माध्यमिक विद्यालयको रूपमा स्वीकृत भएको थियो । निजी विद्यालय छोडेर पनि धेरै अभिभावक तथा विद्यार्थीहरू गुणस्तरीय शिक्षा प्राप्त गर्न यहाँ आउने गर्छन् ।

हाल ४ हजारको हाराहारी विद्यार्थी अध्ययनरत रहेको यो विद्यालय विद्यार्थी संख्या र शैक्षिक गुणस्तर दुवैमा देशकै अब्बल सामुदायिक विद्यालयमध्ये एक मानिन्छ । २०५२ सालको एसएलसी परीक्षामा ९० प्रतिशत उत्तीर्ण दर हासिल गरेपछि विद्यालयको चर्चा व्यापक बनेको थियो ।

शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउने आफ्नो ब्रान्ड बनाएको ज्ञानोदय माविले शिक्षक, अभिभावक र विद्यार्थीहरूको सामूहिक मेहनतबाट निरन्तर उत्कृष्टता हासिल गर्दै आएको छ । विद्यालयले ‘बुक फ्री फ्राइडे’ र ‘शिक्षामा सीप’ जस्ता नवीन कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

४.त्रिपद्म विद्याश्रम माध्यमिक विद्यालय, ललितपुर

त्रि–पद्म विद्याश्रम माध्यमिक विद्यालय ललितपुरको पुल्चोकमा अवस्थित एक प्रथम श्रेणीको सामुदायिक विद्यालय हो । वि.सं. २००४ मा स्थापना भएको यो विद्यालय नेपालका पुराना र अग्रणी सामुदायिक विद्यालयहरूमध्ये एक हो । ईसीडीदेखि कक्षा १० सम्मको अध्ययन तथा प्लस टु तहमा व्यवस्थापन र शिक्षा संकाय सञ्चालन गर्दै आएको यस विद्यालयले नेपाल प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटिभीटीसँग सम्बन्धनमा जुनियर कम्प्युटर टेक्निसियन कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ ।

२०८० सालको एसईई परीक्षामा उल्लेखनीय सफलता हासिल गर्दै शतप्रतिशत नतिजा निकालेको यस विद्यालयले सामुदायिक विद्यालयहरूका लागि प्रेरणाको स्रोत बनेको छ ।

पूर्ण शिक्षकहरूको अथक मेहनत, विद्यार्थीहरूको लगनशीलता र अभिभावकहरूको निरन्तर सहयोगका कारण नियमित पठनपाठनसँगै अतिरिक्त क्रियाकलापमा जोड दिँदै उच्च शैक्षिक गुणस्तर कायम गर्न सफल भएको छ ।

ललितपुरका अंग्रेजी माध्यम सामुदायिक विद्यालयहरूमध्ये उल्लेखनीय स्थान बनाएको त्रि–पद्म विद्याश्रमले राष्ट्रिय, प्रादेशिक तथा स्थानीय स्तरमा समेत विभिन्न पुरस्कार र सम्मान प्राप्त गर्दै सामुदायिक शिक्षाको सकारात्मक नमुना प्रस्तुत गर्दै आएको छ ।

५.मेधा माध्यमिक विद्यालय, भक्तपुर

भक्तपुर नगरपालिकाको तेखापुखुमा अवस्थित मेधा माध्यमिक विद्यालय सामुदायिक शिक्षाको क्षेत्रमा उत्कृष्ट नमुनाको रूपमा चिनिने विद्यालय हो । २०८० सालको एसईई परीक्षामा भक्तपुरका १५ वटा सामुदायिक विद्यालयमध्ये सर्वोत्कृष्ट नतिजा निकाल्दै शतप्रतिशत नजिता हासिल गरेको यस विद्यालयले ११५ जना परीक्षार्थीमध्ये कसैलाई पनि पूरक परीक्षा दिनुपरेन ।

२००४ सालमा शान्ति भक्त विद्यालयको रूपमा स्थापना भएको यो विद्यालय ०७१ सालमा ‘मेधा माध्यमिक विद्यालय’ नामकरण भएको हो । स्वर्गीय गंगाधर हाडा र विष्णुभक्त बुजुको अथक प्रयास र मेहनतले शून्य नतिजाबाट शतप्रतिशत नतिजासम्मको यात्रा पूरा गरेको यस विद्यालयले लगभग दुई दशकदेखि निरन्तर राम्रो नतिजा दिँदै आएको छ । हाल यस विद्यालयमा करिब ८०० विद्यार्थी अध्ययनरत छन् ।

संकुचित भौतिक संरचनाका बाबजुद पनि प्रधानाध्यापक श्याम हाडाको नेतृत्वमा शिक्षक, अभिभावक र विद्यार्थीको टिम वर्कका कारण मेधा माविले प्रवेश परीक्षामार्फत योग्य विद्यार्थी छनोट गरी उच्च शैक्षिक गुणस्तर कायम गर्न सफल भएको छ। भक्तपुर जिल्लाकै उत्कृष्ट सामुदायिक विद्यालयको रूपमा चिनिने मेधाले स्थानीय विद्यार्थीसँगै विभिन्न जिल्लाबाट समेत विद्यार्थी आकर्षित गर्दै सामुदायिक शिक्षाको सकारात्मक उदाहरण प्रस्तुत गरेको छ ।

६.भानु माध्यमिक विद्यालय, रानीपोखरी

यो विद्यालय दरबार हाई स्कुलका नामले परिचित छ । दरबार हाइ स्कुल नेपालको पहिलो औपचारिक विद्यालय हो । वि.सं. १९१० सालमा स्थापना भएको यो विद्यालय नेपालकै पहिलो अंग्रेजी भाषामा पढाइ हुने विद्यालयका रूपमा थापाथलीस्थित दरबार हाल राष्ट्र बैंक रहेको स्थानमा सुरु भएको थियो । सुरुमा शासक परिवारका सन्तानका लागि मात्र सीमित यो विद्यालयलाई वि.सं. १९४२ सालदेखि आम नागरिकका लागि पनि खुला गरिएको थियो । वि.सं. १९४८ सालमा वीरशमशेरले रानीपोखरी नजिकै भवन निर्माण गरेपछि विद्यालयले आफ्नै स्थायी भवन पाएको थियो ।

१२ वैशाख २०७२ को विनाशकारी भूकम्पले क्षतिग्रस्त भएको भवनलाई चीन सरकारको सहयोगमा वि.सं. २०७६ सालमा पुनर्निर्माण सम्पन्न गरियो । हाल एउटै कक्षामा तीन वटासम्म सेक्सन सञ्चालन गरिरहेको यस विद्यालयले आधुनिक शिक्षण प्रणालीलाई अँगालेको छ ।

हरेक कक्षामा प्रोजेक्टर जडान गरिएको छ भने प्रत्येक विद्यार्थीलाई विभिन्न तालिम प्रदान गर्ने व्यवस्था मिलाइएको छ । कोरोनापछि विद्यालय प्रशासन पूर्णरूपमा परिवर्तन भएसँगै आईसीटीमा आधारित शिक्षण सिकाइ प्रक्रिया सुरु गरियो । भूकम्पपछिको पुनर्निर्माण र आधुनिक प्रविधिको प्रयोगले भानु माविलाई नयाँ युगमा प्रवेश गराएको छ ।

७.श्रम राष्ट्रिय माध्यमिक विद्यालय, कुमारीगाल

काठमाडौं महानगरपालिका–७ कुमारीगालस्थित श्रम राष्ट्रिय माध्यमिक विद्यालय साँघुरो भौतिक पूर्वाधारका बाबजुद पनि उत्कृष्ट शैक्षिक नतिजा दिन सफल सामुदायिक विद्यालय हो । जम्मा एक रोपनी क्षेत्रफलमा फैलिएको यस विद्यालयमा १३ वटा कक्षाकोठा छन् र विद्यार्थीको चाप अत्यधिक भएकाले बिहान र दिउँसो गरी दुई शत्रमा कक्षा सञ्चालन गर्नुपरेको छ । हाल यस विद्यालयमा ८०० को हाराहारी विद्यार्थी अध्ययनरत छन्।

२०५५ सालदेखि प्रधानाध्यापक नारायण प्रसाद नेपालको नेतृत्वमा आएपछि विद्यालयले उल्लेखनीय प्रगति गरेको हो । उनले २०५८ सालदेखि चाडपर्वबाहेक शनिबार पनि अंग्रेजी, गणित र विज्ञान विषयको कक्षा सञ्चालन गर्ने नीति लागू गरे, जसले एसईई नतिजामा ठूलो सुधार ल्यायो ।

त्यसयता विद्यालयले २०७८, २०७९ र २०८० सालमा काठमाडौं जिल्लामा उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ र काठमाडौं महानगरपालिकाबाट बारम्बार उत्कृष्ट सामुदायिक विद्यालयको सम्मान प्राप्त गर्दै आएको छ ।

साँघुरो प्राङ्गण र खेल्ने ठाउँ नभए पनि शनिबारको अतिरिक्त कक्षा, कमजोर विद्यार्थीका लागि छुट्टै कक्षा, बुक फ्रि फ्राइडे, प्रविधिमैत्री शिक्षण तथा शिक्षकहरूको निरन्तर मेहनतका कारण श्रम राष्ट्रिय माविले सीमित स्रोतसाधनमा पनि उच्च शैक्षिक गुणस्तर कायम गर्न सफल भएको छ।

८.महेन्द्र राष्ट्रिय माध्यमिक विद्यालय, बालुवाटार

महेन्द्र राष्ट्रिय विद्यालय सन् १९५६ मा खुला मैदानमा प्राथमिक विद्यालयको रूपमा स्थापना भएको थियो । नेपाल सरकारले सन् १९७३ मा यसलाई औपचारिक प्राथमिक विद्यालयको मान्यता दिएको थियो । सन् १९९५ मा निम्न माध्यमिक तहमा स्तरोन्नति भएको यो विद्यालय सन् २००० मा माध्यमिक तहमा र पछि उच्च माध्यमिक तह (१०+२) सम्म स्तरोन्नति भयो ।

स्थापनाकालदेखि नै स्थानीय समुदायमा गुणस्तरीय शिक्षाको सन्दर्भमा उल्लेखनीय सफलता हासिल गर्दै आएको यस विद्यालयले समयक्रममा निरन्तर प्रगति गर्दै आधुनिक र गुणस्तरीय शिक्षण सिकाइलाई जोड दिँदै आएको छ ।

जागरूक शिक्षकहरूको अथक प्रयास र स्थानीय समर्थनका कारण महेन्द्र राष्ट्रिय विद्यालयलाई स्थानीय स्तरको एक उत्कृष्ट सामुदायिक विद्यालयको रूपमा चिनिन्छ ।

लेखक
सुमित्रा लुइटेल

अनलाइनखबरकी संवाददाता लुइटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?