News Summary
Generated by OK AI. Editorially reviewed.- मौसमविद् डा. विनोद पोखरेलले यस वर्ष मनसुन कमजोर हुने र जेठ १५ देखि साउन १५ सम्म सुक्खा रहने प्रक्षेपण गरेका छन्।
- उनले सामाजिक सञ्जालमा लेखेका छन्, \'३०–४० प्रतिशत मात्र रोपाइँ हुन देला जस्तो छ\' र धान खेती प्रभावित हुने चिन्ता व्यक्त गरेका छन्।
- जल तथा मौसम विज्ञान विभागले मनसुनको प्रक्षेपण अझै सार्वजनिक नगरेको र यसबारे एकिन भन्न नसकिने जनाएको छ।
२० वैशाख, काठमाडौं । मौसमविदले यस वर्षको मनसुन सुरुवाती चरणमा कमजोर हुने र देशका धेरैजसो भू–भागमा औसतभन्दा कम वर्षा हुने प्रक्षेपण गरेका छन् । त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक समेत रहेका मौसमविद् डा. विनोद पोखरेलका अनुसार आगामी जेठ १५ देखि साउन १५ (जुन र जुलाई) सम्मको समय सुक्खा रहने देखिएको हो ।
उनका अनुसार वैशाख महिनाभरि भने पानी परिरहने सम्भावना छ । वैशाखको झरीले राहत दिए पनि धान खेतीको मुख्य समयमा पानी कम पर्ने प्रक्षेपणले किसान र कृषि विज्ञहरूलाई चिन्ता थपिदिएको छ ।
तर नेपालको सम्भावित मौसमी अवस्था प्रक्षेपण गर्ने आधिकारिक निकाय जल तथा मौसम विज्ञान विभागले भने यसपालीको मनसुनबारे अझै एकिनका साथ भन्न नसकिने जनाएको छ । विभागले यस साताको अन्तिमतिर मनसुन प्रक्षेपण सार्वजनिक गर्ने तयारीमा छ । विभाग प्रवक्ता विभूति पोखरेलले भनिन्, ‘हुन त एल निनोको अवस्था छ । तर नेपालको मनसुनलाई प्रभाव पार्ने अरु धेरै कुराहरु पनि छन् । अहिले नै यस वर्षको मनसुन यस्तै हुन्छ भनेर ठोकुवा गर्न सक्ने अवस्था छैन ।’
मौसमविद्हरूका अनुसार यो वर्ष मनसुन कमजोर हुनुमा मुख्य दुईवटा विश्वव्यापी मौसमी प्रणालीहरू जिम्मेवार देखिएका छन् –
१. ‘एल निनो’ को प्रभाव र जलवायु परिवर्तन
प्रशान्त महासागरको तापक्रम औसतभन्दा बढी हुने अवस्थालाई ‘एल निनो’ भनिन्छ । यसले दक्षिण एसियाली मनसुनलाई कमजोर बनाउँछ । यद्यपि अहिले यो अवस्था तटस्थ बन्दै गएको देखिएको छ । तर यसको बाँकी प्रभाव र वायुमण्डलमा आएको फेरबदलका कारण जुन र जुलाईमा बादल निर्माण हुने प्रक्रिया सुस्त हुन सक्ने अनुमान छ ।
२. हिन्द महासागरको अवस्था (आईओडी)
नेपालको मनसुनमा हिन्द महासागरको तापक्रम (इन्डियन ओसन डाइपोल– आईओडी) को ठूूलो भूमिका हुन्छ । विभिन्न अन्तर्राष्ट्रिय मोडेलहरूका अनुसार यो वर्ष जुन–जुलाईको समयमा हिन्द महासागरको अवस्था मनसुनका लागि त्यति अनुकूल नहुने देखिएको छ । यसले गर्दा जलवाष्पयुक्त हावा नेपालसम्म आइपुग्न अवरोध सिर्जना गर्नसक्ने अनुमान छ ।
मौसमी मोडेलहरूमा यस वर्ष मनसुनी हावाको दिशा र गतिमा विचलन देखिएको छ । यसले गर्दा नेपालमा जुन महिनामा हुनुपर्ने वर्षाको मात्रा औसतभन्दा कम हुनसक्ने सम्भावना देखिएको हो ।
धान खेती प्रभावित हुने चिन्ता
मौसमविद डा. पोखरेलले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको विश्लेषण अनुसार, मनसुनको पहिलो आधा समय सुख्खा हुँदा यो वर्ष ३० देखि ४० प्रतिशत मात्र रोपाइँ हुन सक्ने सम्भावना छ । नेपालको कुल धान खेतीको ठुलो हिस्सा आकाशे पानीमा निर्भर रहने भएकाले जेठ र असारमा वर्षा नभएमा उत्पादनमा भारी गिरावट आउन सक्छ ।
उनले आफ्नो अनुमान फेसबुकमा लेखेका छन्, ‘नेपालमा वैशाख पुरै झरीमय हुने लगभग निश्चित भयो । जेठ १५ देखि साउन १५ सम्मको अवस्था हेर्दा योपाली पनि मनसुनको पहिलो आधा समय सुख्खा हुने र ३०–४० प्रतिशत मात्र रोपाइँ हुन देला जस्तो छ ।’
हरेक वर्ष मनसुनमा पानी पर्ने तरिका र क्षेत्रमा व्यापक परिवर्तन देखिएकाले सावधानी अपनाउनुपर्ने विज्ञहरु बताउँछन् । पोहोरसाल पनि मनसुनको बेला सुक्खा र खडेरीको सामना गर्नुपरेको थियो ।
नेपालको आधिकारिक सिजनल फोरकास्ट जल तथा मौसम विज्ञान विभागले जारी गर्दछ । यो समाचार तयार पार्दासम्म मनुसनको प्रक्षेपण सार्वजनिक भइसकेको छैन । विस्तृत र आधिकारिक जानकारीका लागि जल तथा मौसम विज्ञान विभागलाई नै कुर्नुपर्ने हुन्छ ।
प्रतिक्रिया 4