२१ वैशाख, डोटी । जिल्ला प्रशासन कार्यालय डोटीले वैशाख ४ गते एक सूचना जारी गरेर सवै सार्वजनिक सवारी साधनमा अनिवार्य रूपमा सीसीटीभी क्यामरा जडान गर्न भनेको थियो । उक्त सूचनाअनुसारको निर्देशन पालन गर्न प्रशासनले वैशाख १२ गतेसम्म समयावधि दिएको थियो । जसमा सवारी साधनमा कम्तीमा तीन वटा सीसीटीभी क्यामरा जडान गर्न भनिएको थियो ।
तर, प्रशासनको सो निर्देशन जिल्लाका सार्वजनिक यातायात सेवा प्रदायकहरूले पनि अटेरी गरेका छन् । हालसम्म कुनै पनि सार्वजनिक यातायात सेवा दिने सवारी साधनले सीसीटीभी क्यामरा जडान गरेको देखिएको छैन ।
त्यसअघि सरकारले चैत्र १३ गते शासकीय सुधारका लागि घोषणा गरेका १०० कार्यसूचीमा सार्वजनिक यातायातमा हुने लैङ्गिक हिंसाका घटना न्यूनीकरण गर्न सीसीटीभी क्यामरा जडानको नीति लिएको थियो । त्यसपछि वैशाख ४ गते प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरेले जिल्लामा रहेका सार्वजनिक यातायात व्यवसायी संस्थाका प्रतिनिधि बोलाएर बैठक राखेकी थिइन् । सोही बैठकमा छलफल गरेर उक्त निर्देशन जारी भएको थियो ।
साथै बैठकले क्यामरा जडान भए/नभएको जाँच गर्ने जिम्मेवारी जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई दिएको थियो । क्यामरा जडान नभए कानुनबमोजिम कारबाही गर्न ट्राफिक प्रहरीलाई बैठकले म्यान्डेट नै दिएको थियो ।
तर, सीसीटीभी क्यामरा जडान गर्न दिएको समयसीमा घर्किएको १० दिनभन्दा बढी समय बित्दासमेत न सीसीटीभी क्यामरा जडान भएको छ, न ट्राफिक प्रहरीले चेकजाँच नै गरेको देखिन्छ ।
‘लामो रुटमा चल्ने केही बसहरूले त जडान गरेका छन्, तर माइक्रो बस र जिपले अझै जडान गरेका छैनन्’, जिल्ला ट्राफिक प्रहरी कार्यालय, डोटीका प्रमुख तेज साउँदले भने, ‘हामीले छिटो जडान गर्नुपर्यो भनेर ताकेता गरिरहेका छौँ, कसैले मगाएका छौँ भन्छन्, कोही जोड्दैछु भनिरहेका छन् ।’ आफूले नियमित चेकजाँच गरिरहेको उनले दाबी गरे ।
‘केही दिन सम्झाइबुझाइ गर्यौँ, अब पनि मानेनन् भने कानुनबमोजिम कारबाही गर्छौँ,’ उनले भने । उनले कम्तीमा तीन महिनासम्मको फुटेज स्टोरेज हुने क्षमताका क्यामरा जडान गर्न भनेको बताए ।
शैलेश्वरी सार्वजनिक यातायात प्रालिका अध्यक्ष गणेश मलासी कस्तो क्यामरा जोड्ने ? त्यसको अनुगमन कसले गर्ने ? जस्ता विषयमा अन्योल हुँदा क्यामरा जडान गर्न ढिलाइ भएको बताए । ‘एक त यतातिर क्यामरा पाउन पनि गाह्रो रहेछ, त्यसैले पनि अलि ढिला भएको हो’, उनले भने । अब सबैले छिट्टै क्यामरा जडान गर्ने उनले दाबी गरे ।
निर्धारितभन्दा बढी भाडा असुली
दिपायल सिलगढी रुटमा चल्ने यात्रुवाहक जिपले निर्धारितभन्दा बढी भाडा असुली गर्ने गरेको गुनासो पनि व्यापक छ । दिपायल सिलगढी नगरपालिका–३ कि महिसरा साउँद सोमबार दिपायलबाट सिलगढी आउँदा बढी भाडा तिर्नुपरेको बताइन् ।
‘दिपायलदेखि सिलगढीको निर्धारित भाडा ८२ रुपैयाँ छ । मैले त्यति मात्र दिन खोज्दा सहचालक झन्डै झगडा गर्न उत्रिए । १०० रुपैयाँ मागिछाडे,’ उनले भनिन्, ‘सबैसँग १०० असुली गरियो ।’
उनको जस्तै अनुभव सञ्चारकर्मी किरण धामीले पनि सुनाए । ‘गाडीमा भाडादरको सूची पनि टाँसिएको थिएन । मैले निर्णयअनुसारको भाडादर देखाउँदा पनि मानेनन्, १०० लिइछाडे,’ उनले भने । आफूले त्यो कुरा प्रमुख जिल्ला अधिकारी घिमिरेलाई फोन गरेर सुनाएको बताए । उनले अगाडि भने, ‘सीडीओलाई भन्दा पनि कुनै सुनुवाइ भएको देखिएन । अझैँ पनि जिपहरू १०० रुपैयाँ नै असुल्दैछन् । प्रशासन चुपचाप छ ।’
उता ट्राफिक प्रहरी कार्यालय प्रमुख साउँद भने बढी भाडा असुलेको गुनासो आइरहेको स्वीकार्दै बदमासी गरेको पाइए कारबाही हुने भन्दै पन्छिए ।
प्रतिक्रिया 4