News Summary
Generated by OK AI. Editorially reviewed.- सगरमाथा आधार शिविरबाट दोस्रो शिविरतर्फ जाने क्रममा खुम्बु आइसफलमा ठूलो सेराक भत्किँदा भारतीय आरोही निमिस कुमार सिंह र शेर्पा गाइड पेम्बा टेन्डुक घाइते भएका छन्।
- घटना बिहान ५ः४५ बजे भएको थियो र उद्धारका लागि लुक्लाबाट हेलिकप्टर ६ः३० बजे घटनास्थलमा पुगेको थियो।
- उनीहरूलाई काठमाडौंस्थित ह्याम्स अस्पतालमा उपचारका लागि ल्याइएको छ र अवस्था खतरामुक्त रहेको पर्यटन विभागले जनाएको छ।
२२ वैशाख, काठमाडौं । सगरमाथा आधार शिविरबाट दोस्रो शिविरतर्फ रोटेसनका लागि जाने क्रममा खुम्बु आइसफलमा आरोही र शेर्पा गाइड घाइते भएका छन् ।
पर्यटन विभागका अनुसार गत साता मात्र खुला गरिएको खुम्बु आइसफलमा जोखिमपूर्ण मानिएको ठूलो सेराक (हिँउको थुम्का) भत्किएर आरोही हिँड्ने बाटोसम्म आइपुगेको थियो ।
सो सेराकका कारण एक भारतीय (पुने) का आरोही ४० वर्षीय निमिस कुमार सिंह र गाइड ४४ वर्षीय पेम्बा टेन्डुक शेर्पालाई चोट लागेको छ । घटना आज बिहान ५ः४५ बजे भएको हो । घटनालगत्तै पायोनियर एडभेन्चर प्रालि र समिट फोर्स एक्स्पिडिसनका शेर्पा गाइड टोलीले तत्काल उद्धार गरी आधार शिविरमा खबर गरेको थियो ।
आधार शिविरबाट सेभेन समिटको टोलीले समन्वय गरेपछि ६ः३० बजे लुक्लाबाट हेलिकप्टर घटनास्थलमा पुगी आरोहीलाई उद्धार गरिएको थियो ।
सेभेन समिट ट्रेकका अनुसार उनीहरुलाई अहिले काठमाडौंस्थित ह्याम्स अस्पतालमा उपचारका लागि ल्याइएको छ । उनीहरूको अवस्था खतरामुक्त रहेको समेत विभागले जनाएको छ ।
प्रतिक्रिया 4