News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री बालेन शाहले शिक्षामन्त्री सस्मित पोखरेलको अध्यक्षतामा विश्वविद्यालय उपकुलपति तोक्न तीन सदस्यीय सिफारिस समिति गठन गर्नुभएको छ।
- सरकारले खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्त गर्ने तयारी गरिरहेको छ र भोलिसम्म सार्वजनिक सूचना जारी हुनेछ।
- उपकुलपतिका लागि कम्तीमा विद्यावारिधि, १० वर्ष अनुभव, ४० वर्ष उमेर र उच्च नैतिक चरित्र आवश्यक छ।
२३ वैशाख, काठमाडौं । विश्वविद्यालयहरूमा उपकुलपति सिफारिस गर्नका लागि सिफारिस समिति गठन भएको छ । प्रधानमन्त्री बालेन शाहले शिक्षामन्त्री सस्मित पोखरेलको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरेका हुन् ।
समितिको सदस्यमा शिक्षा सचिव र योजना आयोगको शिक्षा हेर्ने सदस्य रहेका छन् ।
‘प्रधानमन्त्रीज्यूले शिक्षामन्त्रीको अध्यक्षतमा समिति गठन गर्नुभएको छ । अब प्रक्रिया अगाडि बढ्छ,’ शिक्षा मन्त्रालयका एक अधिकारीले भने, ‘उपकुलपति आह्वानको लागि भोलिसम्ममा सार्वजनिक सूचना जारी हुन्छ ।’
सरकारले खुला प्रतिस्पर्धाबाट विश्वविद्यालयमा पदाधिकारी नियुक्त गर्ने जनाएको छ ।
नाम छनोट गर्न विज्ञ समिति पनि बनाउने तयारी रहेको शिक्षा मन्त्रालय निकट स्रोतले बताएको छ । विज्ञको टिमले नाम छनोट गरेर शिक्षामन्त्रीको अध्यक्षतामा गठिन समितिलाई पेस गर्नेछ । मेरिटको आधारमा प्रतिस्पर्धाबाट उपकुलपति नियुक्त गर्न लागिएको हो ।
‘विधि र प्रक्रियाबारे छलफल जारी छ । सार्वजनिक सूचनासँगै छनोटको विधि पनि आउँछ,’ मन्त्रालयका ती अधिकारीले भने ।
तत्कालका लागि निमित्त तोकिने
त्यस्तै, तत्कालका लागि भने विश्वविद्यालयहरूमा निमित्त उपकुलपति तोक्ने सरकारको तयारी छ ।
विश्वविद्यालयको डिनहरूबाट कसैलाई उपकुलपतिको जिम्मेवारी दिने तयारी भएको स्रोतले बतायो ।
‘सूचना जारी गरेर उपकुलपति छनोट गर्न समय लाग्ने भयो । तत्काल काम कारबाहीमा असर नपरोस् भनेर निमित्त दिन लागिएको हो,’ मन्त्रालय स्रोतले भन्यो ।
सरकारले अध्यादेशमार्फत सबै विश्वविद्यालयका पदाधिकारीलाई पदमुक्त गरेपछि नयाँ उपकुलपति चयन प्रक्रिया अगाडि बढाएको हो ।
त्रिभुवन विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय सेवा आयोग, काठमाडौं विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, सेवा आयोग, पूर्वाञ्चल विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, सेवा आयोग, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, सेवा आयोग, मध्यपश्चिम विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सेवा आयोगमा पदाधिकारी नियुक्ति गर्नुपर्ने छ ।
त्यसैगरी कृषि तथा वन विज्ञान विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, सेवा आयोग, राजर्षि जनक विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालय, सेवा आयोगमा पनि पादाधिकारी नियुक्त गर्नुपर्ने छ ।
उपकुलपतिको योग्यता
सरकारले हालै ल्याएको विश्वविद्यालय सम्बन्धी अध्यादेशमा पनि उपकुलपति हुनका लागि चाहिने योग्यता राखेको छ । उक्त अध्यादेशमा उपकुलपति हुन मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा विद्यावारिधि (पीएचडी) गरेको हुनुपर्ने भनिएको छ ।
त्यसैगरी अनुसन्धान र प्राज्ञिक क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव हुनुपर्ने छ ।
शैक्षिक वा प्राज्ञिक उन्नयनको क्षेत्रमा उत्कृष्ट व्यवस्थापन सम्बन्धि सीप र कौशल प्रदर्शन गरेको हुनुपर्छ । ४० वर्ष पूरा भएको र उच्च नैतिक चरित्र भएको हुनुपर्ने भनिएको छ ।
प्रतिक्रिया 4