+
+
Shares

काठमाडौंको घर बेचेर गाउँमा उद्यम, २ करोड लगानीमा फार्मस्टे सञ्चालन

सुविधा खोज्दै शहर र विदेश भासिने लहरका बेला तनहुँकी गीता अधिकारीले काठमाडौंको घर बेचेर गाउँमा झण्डै २ करोड लगानीमा ‘ग्रीन हिमालय फार्म स्टे’ सञ्चालन गरेकी छिन् ।

सुवास पण्डित सुवास पण्डित
२०८३ वैशाख २४ गते ७:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तनहुँकी गीता अधिकारीले काठमाडौंको घर बेचेर गाउँमा 'ग्रीन हिमालय फार्म स्टे' सञ्चालन गरिरहेकी छिन्।
  • फार्म स्टेमा ७५ रोपनी जग्गामा तरकारी, फलफूल खेती र गाईपालन गरी पर्यटकलाई स्थानीय उत्पादन खुवाइन्छ।
  • फार्म स्टेले ६ जना नियमित रोजगार पाएका छन् र स्वदेशी तथा विदेशी पर्यटकहरू आकर्षित भएका छन्।

२४ वैशाख, चितवन । सुविधा र अवसरको खोजीमा गाउँ छाडेर शहर र विदेश पस्नेहरूको लहर जारी छ । तर तनहुँको भानु नगरपालिका–९ चितीकी गीता अधिकारी भने काठमाडौं सतुंगुलको अढाइतले घर बेचेर गाउँमा फार्म स्टे चलाइरहेकी छिन् ।

गाउँ छाडेको झण्डै २५ वर्षपछि गाउँमै फर्किएकी गीताले तनहुँको अर्चलधारा भन्ने ठाउँबाट करिब डेढ किलोमिटर भित्र ‘ग्रीन हिमालय फार्म स्टे’ सन्चालन गरेकी छन् ।

‘सुरुमा सामान्य हिसाबले गाउँमै बस्ने, तरकारी फलफूल रोप्ने मात्रै योजना थियो तर पछि गाउँमा बस्दा नयाँ केही गरौं भन्ने सोच आयो र परम्परागत घरलाई मर्मत गरेर झण्डै २ करोड लगानी गरी फार्म स्टे सञ्चालन गरेँ,’ उनले भनिन् ।

तनहुँको डुम्रे बजारबाट बेसिशहर जाने सडकखण्डको अर्चलधारा भन्ने ठाउँबाट १.३ किलोमिटर भित्र छ ‘ग्रीन हिमालय फार्म स्टे’ । परम्परा र आधुनिकताको मिश्रणयुक्त फार्म स्टेमार्फत् नयाँ पुस्तालाई समेत ग्रामिण पर्यटनसँग जोड्ने र नमूना सफल उद्यमी बन्ने लक्ष्य राखिएको छ ।

ढुंगामाटोको पुर्ख्यौली घरलाई मर्मत र रंगरोगन गरी चिटिक्क पारिएको छ । ‘किचन घर’ ढुंगैढुंगाले बनाइएको छ । सुविधाहरु थप गरिएका छन् । आँगनमा आकर्षक दुबो र फेनसिङ्ग तयार गरिएको छ ।

लोप हुँदै गएका सामग्रीहरूलाई संरक्षण गर्न गोलघर बनाइएको छ । सोही गोलघरको बाहिर ढिकी, जाँतो, हलो, जुवा, खुर्पेटो, माछा मार्ने भुरुङ्गहरु राखिएका छन् । यी पुराना सामग्री फार्म स्टे आगन्तुकका लागि आकर्षणको केन्द्र बनेका छन् ।

सोही गोलघरको भुइँ तला र पहिलो तलामा फार्म स्टे आउने पर्यटकहरूका लागि अट्याच्ड बाथरुमसहितका सुविधासम्पन्न कोठाहरु निर्माण गरिएका छन् ।  नजिकै रहेको लिचीको रुखमा ‘ट्रि हाउस’ बनाइएको छ । त्यहाँ पनि पर्यटकहरू बस्न र रात बिताउन सक्छन् । तीन कोठाको सुविधा सम्पन्न भिल्ला नजिकै दुई वटा ब्यारेल हाउस पनि छन् । त्यसमा बस्दा फरक अनुभूति हुन्छ ।

ब्यारेल हाउस

अधिकारी भन्छिन्, ‘हिजो हाम्रो गाउँघरमा घर ढुंगा र माटोले बनेका हुन्थे, आजकल यस्ता घरहरु भत्किन थाले, फार्ममा आउने पर्यटकलाई विगतको स्मरण र नयाँ पुस्तालाई जानकारी गराउन ढुंगामाटोको घर बनाएका छौं ।’

यहाँबाट उत्तरतर्फ विभिन्न हिमशृङ्खला, रमणीय पहाडहरु देखिन्छन् । हरिया पहाडहरुको उपत्यकाको बीचमा रहेकाले ग्रिन हिमालय भिलेज फार्म स्टे नाम राखिएको अधिकारी बताउँछिन् । ग्रामीण पर्यटनलाई कृषिसँग जोड्ने, स्थानीय उत्पादनको प्रयोग गर्दै आयआर्जनसमेत हुने गरेर फार्म स्टे सुरु गरिएको अधिकारीले बताइन् ।

‘फार्म टु किचन, किचन टु फार्म’ को अवधारणा अनुसार नयाँ पुस्तालाई समेत ग्रामिण पर्यटनसँग जोड्ने धेय राखिएको गीताका श्रीमान राजेन्द्र देव पाण्डे बताउँछन् ।

फार्म स्टेमा हाल ६ जनाले नियमित रोजगारी पाएका छन् भने अन्यलाई आवश्यकता अनुसार काममा लगाउने गरिन्छ । अप्रत्यक्ष रुपमा धेरै जना यससँग जोडिएका छन् । यहाँ तनहुँ, चितवन, लमजुङ, काठमाडौं, पोखरा, धनकुटा, इलाम, बुटवल लगायतका क्षेत्रबाट स्वदेशी र अन्य विदेशी पर्यटक समेत आउने गरेका छन् ।

बस्न आउने पर्यटकका लागि प्रतिव्यक्ति दुई हजार पाँच सय रुपैयाँ र दुई जना संयुक्त रुपमा आएमा चार हजार पाँच सय रुपैयाँ निर्धारण गरिएको छ । १० जना भन्दा माथिको समूह आए प्रतिव्यक्ति दुई हजार लिने गरिएको छ ।

पाहुनाहरुलाई मोही, मकैसहितको खाजाबाट स्वागत गर्ने, साँझ स्थानीय कुखुराको मासुसहित खाना, बिहान फलफूल, दूध, दही, कोदोको रोटी, तरकारीसहितको नास्ता खुवाउने गरिएको छ ।

फार्म स्टेमा एक रातमा ३० जनालाई पाहुनालाई राख्न सकिने अधिकारीले बताइन् । ‘अलि एडजस्ट गरौं भन्दा ४० जनासम्म अटाउन सकिन्छ,’ उनी भन्छिन् ।

फार्म स्टेमा दिउँसोमा आएर खाजा खाने, घुम्ने, फोटो खिचेर जाने पाहुनाहरु पनि उल्लेख्य मात्रामा हुने गरेको गीताले बताइन् ।

पाहुनालाई आफ्नै बारीको उत्पादन

फार्म स्टेमा आउने पाहुनालाई आफ्नै बारीको उत्पादन खुवाउने भनेर तरकारी तथा फलफूल खेती गरिएको छ । झण्डै ७५ रोपनी जग्गामा फैलिएको छ फार्म स्टे । १० रोपनी जग्गामा घरसहितका संरचना छन् । बाँकी जग्गामा तरकारी खेती, विभिन्न प्रजातिका बोट विरुवा लगाइएको छ । गाईपालन र स्थानीय जातका कुखुरापालन पनि गरिएको छ ।

फार्म स्टेमा आउने पाहुनालाई आफ्नै खेतबारीमा उत्पादन भएको धानको चामल, तोरीको तेल, तरकारीका साथै लोकल कुखुराको मासुका साथ दूध, दही, मोही र घ्यु खुवाउने गरिन्छ ।

आँप, लिची, आरु, एभोकाडो, मेवा लगायतका फलफूल पनि पर्यटकलाई खुवाउने गरिन्छ । आफ्नो बारीको उत्पादनले नपुगे गाउँघरतिरबाट किनेर ल्याउने र पाहुनालाई अर्गानिक नै खुवाउने उनको दावी छ । नजिकै गाउँहरुले उत्पादन गरेका ताजा तरकारी, फलफूल, कुखुरा, अण्डा, दूध समेत खरिद गरिन्छ । जसले गर्दा स्थानीयहरुले आयआर्जन गर्न सकेका छन् ।

‘हामीले छाडेपछि पुरै खेतबारी बाँझो थियो, पाती र सिरुले भरिएको जमिनलाई हामीले पुन: खेती गर्न योग्य बनाएका छौं, विभिन्न बहुउपयोगी जातका फलफूलका विरुवा तथा जटिबुटीका बोटबिरुवा लगाएका छौं,’ गीता भन्छिन्, ‘पर्यटकहरुलाई यहाँ आउँदा फरकपनको अनुभूति दिलाउने भरपुर प्रयास गरेका छौं ।’

गाउँघरमा रौनक

गीता अधिकारी र राजेन्द्रदेव पाण्डेको गाउँ पहलले गाउँमा चहलपहल बढाएको छ । ‘पढेलेखेका, जागिर खाएका मान्छे त गाउँ फर्किएका छन् भने हामी किन गाउँ छाड्ने भन्ने भावना जागृत भएको पाएको छु,’ पाण्डेले भने, ‘शहरमा भन्दा गाउँमा नै बस्न ठिक ठानेर हामी थातथलोमा फर्किएका हौं । श्रीमतीले गाउँ नजाने भनेको भए मैले जबर्जस्ती गर्न सक्दैनथेँ, तर उनी आफैं राजी भएपछि म यसै पनि खुसी हुने भएँ । सन्देशका हिसाबले पनि यो अति महत्वपूर्ण छ ।’

गीता–राजेन्द्रको जोडीले गाउँमा गरेको लगानी देखेर गाउँका अन्य घरहरुमा पनि सामुदायिक होमस्टे सुरु भएको छ । होमस्टेसँग मिलेर पाहुनाहरु शेयर गरेर बस्ने र संयुक्त रुपमा पाहुनाका लागि सांस्कृतिक कार्यक्रम पनि सञ्चालन गर्ने गरिएको छ ।

गीता र पाण्डेका दुई सन्तानमध्ये छोरा अमेरिकामा छन् भने छोरी काठमाडौंमै काम गर्छिन् । सुरुमा गाउँ फर्किने कुरामा विरोध गर्ने उनीहरु पनि हाल गाउँ फर्किन लालायित भएको गीताले सुनाइन् ।

परम्परागत सामाग्रीको संरक्षण, एग्रो टुरिजमलाई जोड्ने प्रयास

नयाँ पुस्तालाई कृषि कर्म र परम्परागत सामग्रीहरुको बारेमा जानकारी गराउन एग्रो टुरिजम एक महत्वपूर्णले भूमिका खेल्ने पाण्डे दम्पतीको साझा बुझाइ छ । फार्म स्टेमा आउने विभिन्न विद्यालयका विद्यार्थी, कृषक समूह, सहकारी समूहहरुले खाली हुँदै गरेका ग्रामिण बस्तीलाई कसरी पुनर्जागृत गर्न सकिन्छ भन्ने कुरा सिकेर जाने गरेको पाण्डेले बताए ।

पहिले भन्दा अहिले गाउँमा पूर्वाधार थपिएका छन् । गाउँ जाने सडक कालोपत्रे भएको छ । पानी, इन्टरनेट, स्वास्थ्य चौकीको सुविधासमेत पुगेको छ । गाउँमा उर्बर भूमि पनि छ, हावापानीको विविधता छ । पढेलेखेका र बुझेका मान्छेहरु गाउँ फर्किएर केही गर्ने हो भने, यसले समाजमा सकारात्मक प्रभाव पार्ने पाण्डे बताउँछन् । भन्छन्, ‘हामी आफैंले सुखको जीवन छाडेर गाउँमा दु:ख नै किन नहोस् त्यसलाई स्वीकार गरेर समाजका लागि केही गरौं भनेर आएका हौं ।’

कृषि समूह, सहकारी, विद्यार्थीहरुको समूह पनि एग्रो टुरिजमका बारेमा हेर्न र जान्नका लागि फार्म स्टेमा आउँदा आफूहरू खुसी हुने गरेको पाण्डे दम्पतीको धारणा छ । विद्यार्थीहरू आउँदा उनीहरुले परम्परागत सामाजिक परिवेश र संरचनाको अध्ययन र अवलोकन गर्न पाएको फार्म स्टे सञ्चालक गीताको बुझाइ छ ।  ‘गाउँ कस्तो थियो र हुन्छ ?’ भन्ने थिमलाई गाउँमा नै स्थापित गर्ने आफूहरुको उद्देश्य रहेको उनीहरुको भनाइ छ ।

गीता भन्छिन्, ‘शहरमा कोचिएर बस्नुभन्दा आफ्ना हातखुट्टा फिजाएर काम गर्नुको आनन्द बेग्लै हुन्छ । मलाई काठमाडौंको घर बेचेर गाउँ फर्किएकोमा कुनै पश्चाताप छैन । अझै केही गर्नुपर्छ भन्ने भावना आएको छ ।’

 

लेखक
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?