News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म उद्योगमा प्रिमियरमा गरिने बढाइचढाइपूर्ण प्रशंसा र कथित फिडब्याकले दर्शकमा वितृष्णा पैदा गर्ने गरेको छ।
- फिल्मकर्मीहरूले स्वस्थ आलोचना नदिँदा सिर्जनात्मकता सीमित हुँदै गएको र गुणस्तर सुधारमा बाधा पुगेको छ।
बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई अर्का कलाकार किरण केसी आएर ‘म्वाइँ’ खान्छन् । सेकेण्डभरमै अर्की निर्देशक तथा कलाकार दीपाश्री निरौला आएर भन्छिन् – ‘दाइ यति मज्जा आयो कि–ह्यात्तेरिका, ओएमजी भयो ।’
हलबाहिर युट्युबर तथा मिडियाकर्मीहरूका माइक तेर्सिएका छन् । किरण केसी भन्छन्, –‘लामो कुरा नगरौं, समग्र रूपमा पहाड फिल्मले नेपाल बोलेको छ । विदेशमा बसेका नेपालीहरूका लागि र स्वदेशमा केही गरौं भन्ने सन्देश दिएको छ । तुलसी दाइ जस्तो मान्छेले बनाएको फिल्मलाई यसो होला र उसो होला भन्नु नै हाम्रो मूर्खता हुन्छ । पार्ट–पार्टमा, प्वाइन्ट–प्वाइन्टमा राम्रो बनेको छ । विपिन कार्कीको काम त ‘उमम…म्मा ’! अर्को हिरो भाइ, अर्की बहिनीले आगो, ज्यानमारा अभिनय गरेका छन् ।’
त्यसपछि माइकमा आउँछन् कलाकार जितु नेपाल । उनी भन्छन्– ‘सबै कुरा किरण दाइले भनेजस्तै बेस्ट छ । सबैले उत्कृष्ट काम गरेका छन् । राम्रो सिनेमा हेर्न जुरेको रहेछ । सबैलाई शुभकामना ।’
फेरि दीपाश्री निरौला थप्छिन्,– ‘नयाँ वर्षले ठूलो हर्ष ल्यायो । यति धेरै दिग्गज कलाकार र निर्देशकले बनाएको चलचित्रमा यति मिठो कथा बुन्नुभएको छ कि हेर्दै गर्दा एकछिन पनि आँखा झिम्क्याउन सकिन्न । यस्तो रमाइलो छ । फिल्मको पूर्ण प्याकेज छ ।’
हामी चलचित्र ‘पहाड’ को प्रिमियरपछिको दृश्यको कुरा गर्दैछौं ।
प्रिमियरबाट निस्किएपछि नियमितजस्तै यसपटक पनि अतिथीहरूसँग प्रतिक्रिया लिइयो । सबैले पूरानै शैलीमा पुग्ने गरी शब्द बाँकी नराखी प्रशंसा गरे । उपस्थित निर्देशक, अभिनेत्री, अभिनेता सबै मख्ख बने ।
तर, रिलिज भएपछि चलचित्र ‘पहिलो शो’ देखि नै धर्मराउँदै दर्शक आउन थाले । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार यो चलचित्रले रिलिज भएको २० दिनमा ६३ लाख ९३ हजार १५२ रुपैयाँ मात्र व्यापार छ । यति अचाक्ली प्रशंसा पाएको चलचित्र पनि किन ‘फ्लप’ भयो ? यसका पछाडि अनेक कारण होलान् ।
काठमाडौंमा आयोजना हुने अधिकांश फिल्मका प्रिमियरमा यस्तै किसिमका प्रशंसाका सुनिन्छन् । चाहे चलचित्र राम्रो बनेको होस्, चाहे नराम्रो । उपस्थित अतिथि पनि त्यस्तै किसिमले बोलाइन्छ, जसले प्रशंसा गरिदियोस्, दुई शब्द घर गएर फेसबुकमा स्टाटस हालिदियोस् ।
यसको परिणाम के देखिन्छ भने– प्रिमियरमा गरिने बढाइचढाइपूर्ण प्रशंसा र कथित ‘फिडब्याक’ ले दर्शकमा वितृष्णा पैदा गर्ने गरेको छ । स्वयं फिल्म उद्योगका नियमित फिल्मकर्मीहरू समेत दुविधामा हुने अवस्था आएको छ ।
०००
फिल्म उद्योगमा सत्य ओकल्ने भन्दा पनि झुटो र मिठो कुरा गर्ने प्रवृत्ति बढी छ
किन यस्तो भइरहेको छ ?
फिल्म उद्योगका यस्ता दृश्य र उनीहरूको मनोदशा नजिकबाट हेर्दा, यसका केही स्पष्ट कारणहरू देखिन्छन् । पहिलो कारण– सम्बन्ध बिग्रिने डर । धेरैले के सोच्छन् भने, साँचो कुरा भन्यो भने सम्बन्ध बिग्रिन्छ । कामको अवसर गुम्छ ।
उसले नराम्रो मान्छे । त्यसैले उनीहरू प्रिमियरमा होस् कि बाहिर– ‘राम्रो छ’, ‘दमदार छ’, ‘आगो’, खायो, जस्ता शब्द सुन्न मन पराउँछन् । यस्तै खालका बयान गरेर एकले अर्कालाई उचाल्ने नराम्रो प्रवृत्ति छ ।
भलै भित्रै धेरै सुधार गर्नुपर्ने कुरा हुन्छन्, ती प्रिमियरमा भनिँदैनन् । भन्नुपर्ने कुरा कफी सपका गफमा पोखिन्छन् । किन ? – प्रत्यक्ष रूपमा भनियो भने, भन्ने व्यक्ति नराम्रो ठहरिन्छ । सुन्नेले पनि त्यसलाई व्यक्तिगत रूपमा लिन्छ । यही प्रवृत्ति विस्तारै ‘कल्चर’कै रूपमा स्थापित हुँदै गएको छ यस उद्योगमा ।
दोस्रो कारण– अहंकार र असहजता । कतिपय फिल्मकर्मीहरू आलोचनालाई व्यक्तिगत आक्रमण जस्तो लिन्छन् । उनीहरूलाई लाग्छ– आलोचना भनेको आफ्नै क्षमतामाथि प्रश्न उठाउनु हो । यही सोचले गर्दा साँचो प्रतिक्रिया दिने वातावरण नै कमजोर बनेको छ आजभोलि ।
तेस्रो कारण– संस्कृतिको कमी । हाम्रो फिल्म क्षेत्रमा खुला संवाद र स्वस्थ आलोचनाको अभ्यास छैन । आलोचना स्वीकार्ने र त्यसलाई सुधारको अवसरको रूपमा हेर्ने बानीको विकास हुँदैन– त्यहाँ फ्ल्याटरी स्वाभाविक रूपमा बढ्छ ।
तर, यसको असर गम्भीर रूपमा देखिएको छ । जब साँचो फिडब्याक हराउँछ, तब सिर्जनात्मकता पनि सीमित हुन्छ । उस्तै किसिमका कामहरू दोहोरिन थाल्छन्, गुणस्तरमा सुधार आउँदैन । फिल्म र सेलिब्रेटीहरूसँग दर्शकसँगको दूरी बढ्दै जान्छ ।
०००
फिल्म उद्योगलाई अगाडि बढाउन चाप्लुसी होइन इमानदार प्रतिक्रिया आवश्यक छ । लामो समयदेखि पत्रकारिता गर्दै आएका समीक्षक तथा फिल्म लेखक सामिप्यराज तिमल्सेना भन्छन– ‘चलचित्रको स्वस्थ आलोचना अत्यन्त जरुरी हुन्छ, किनकि यसले कला, समाज र दर्शकबीचको सम्बन्धलाई सन्तुलित र समृद्ध बनाउँछ ।’
उनका अनुसार, स्वस्थ आलोचनाले चलचित्रको गुणस्तर सुधार गर्न महत्वपूर्ण भूमिका खेल्छ । ‘जब समीक्षकहरूले कथा, अभिनय, निर्देशन वा प्राविधिक पक्षहरूबारे वस्तुगत विश्लेषण गर्छन्, त्यसले निर्माता र निर्देशकलाई आफ्ना कमजोरीहरू बुझ्न र भविष्यमा अझ राम्रो काम गर्न प्रेरित गर्छ,’ उनी थप्छन् ।
आलोचना गर्दा नियत सही भए, त्यसलाई सहर्ष स्वीकार्न सक्नुपर्छ । सही नियतका साथ गरिएको आलोचनाबाट डराउन नपर्ने स्वयं चलचित्रकर्मीहरू पनि स्वीकार गर्छन् ।
निर्देशक तथा लेखक मनोज पण्डितका अनुसार, यस्ता इमानदार आलोचनाले दर्शकलाई पनि सही मार्गदर्शन गर्छ । ‘सबै दर्शकले सबै फिल्म हेर्न सक्दैनन्, त्यसैले आलोचनाले कुन फिल्म कस्तो छ भन्ने जानकारी दिई समय र पैसा बचाउन सहयोग गर्छ’ पण्डित भन्छन्, ‘राम्रो आलोचना हुँदा दर्शकले सचेत भएर छनोट गर्न सक्छन् तर अहिले उद्योगमा यो कल्चर अलि भद्रगोल देखिन्छ ।’
स्वस्थ्य आलोचना समाजको दर्पण पनि हो । चलचित्रले समाजका विभिन्न पक्षहरू प्रस्तुत गर्छ, र आलोचनाले ती विषयहरू जस्तै:- संस्कृति, राजनीति, लैंगिक समानताबारे बहस र छलफललाई अघि बढाउँछ ।
यसले सिर्जनात्मक स्वतन्त्रता र जिम्मेवारीबीच सन्तुलन राख्छ । आलोचनाले फिल्म निर्मातालाई स्वतन्त्र रूपमा सिर्जना गर्न प्रोत्साहन दिन्छ ।
साथसाथै सामाजिक जिम्मेवारी पनि सम्झाउँछ । स्वस्थ्य आलोचना बिना चलचित्र क्षेत्र एकतर्फी र स्थिर हुन सक्छ । विश्व बजारको रफ्तारमा जसरी अन्य उद्योग दौडिरहेका छन् त्यसैगरी नेपालको फिल्म उद्योगले फड्को मार्न नसक्नुमा यो पनि महत्वपूर्ण कारण रहेको फिल्म उद्योगका जानकारहरू बताउँछन् ।
त्यसैले सकारात्मक, निष्पक्ष र रचनात्मक आलोचना चलचित्र उद्योगको विकासका लागि अत्यावश्यक हुन्छ । नेपाली फिल्म उद्योगमा बनावटी प्रशंसा क्रमशः ‘कल्चर’कै रूपमा स्थापित हुँदै गएको कुरा स्वयं फिल्मकर्मीहरू स्वीकार गर्छन् ।
निर्माता रोहित अधिकारी फिल्मको प्रिमियरमा गरिने प्रशंसालाई दर्शकले अत्यधिक गम्भीर रूपमा नलिन आग्रह गर्छन् ।
सबैले राम्रो मात्र सुन्न चाहनु मानवीय स्वभाव नै भएको अधिकारी बताउँछन् । प्रिमियरमा सबैले सबैलाई राम्रो भन्नुको कारण सम्बन्धले पनि दबाब सिर्जना गर्ने उनको भनाइ छ । ‘मेरो फिल्मको प्रिमियरमा वा रिलिजको समयमा अरूले राम्रो भन्छन्, म पनि अरूको फिल्मलाई राम्रै भन्छु’ अधिकारी भन्छन्, ।
प्रिमियरमा भनिएका कुरालाई आधार मानेर दर्शकले फिल्मको पूरा मूल्यांकन गर्न नहुने उनले स्पष्ट पारे ।
‘मैले कसैको बारेमा प्रिमियरमा पुगेर केही भनेँ भने त्यसलाई अन्तिम सत्य ठान्नुस् भन्दिन’ उनी भन्छन्, ‘अरूले मेरो वा अरू कसैको बारेमा जे भन्छन्, त्यसमा पनि त्यति भावुक नहुनुहोस् ।’
निर्माता अधिकारीका अनुसार, यस उद्योगमा एकअर्काको चित्त नदुखोस् भन्ने भावनाले हार्दिक रूपमा प्रशंसा गर्ने बानी विकास भएको हो । तर, उनी स्पष्ट रूपमा भन्छन्, –फिल्मको गुणस्तर सुधार गर्न स्वस्थ आलोचना अत्यावश्यक छ ।
नेपाली मिडियामा आलोचनात्मक सामग्रीको उपस्थिति निकै कमजोर देखिन्छ । अधिकांश प्लेटफर्महरूमा गहिरो समीक्षा भन्दा बढी प्रशंसात्मक सामग्रीले स्थान पाएको अवस्था छ, जसले सन्तुलित पत्रकारिताको अभाव झल्काउँछ ।
के होला कारण ?
फिल्म पत्रकार तथा लेखक सुशील पौडेलले कतिपय अवस्थामा आलोचनात्मक हुन नसक्नुमा आर्थिक पाटो पनि रहेकोतर्फ इंगित गर्छन् । उनी भन्छन्, ‘पछिल्लो समय अधिकांश पत्रकारका आफ्नै न्यूज पोर्टल वा युट्युब च्यानल पनि भएकोले उनीहरूका लागि सेलिब्रिटी आवश्यक परिरहन्छ ।’
सेलिब्रिटीका अन्तर्वार्ताको भ्युज बढी जाने वा एक्स्क्लुसिभ न्यूजको लोभमा त्यस्ता पत्रकार हम्मेसी फिल्मकर्मी वा सेलिब्रिटीका बारेमा नराम्रो लेखेर सम्बन्ध विगार्न नचाहाने अधिकारी बताउँछन् ।
प्रतिक्रिया 4