News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म ‘पर्मानेन्ट रेसिडेन्ट : पीआर’ को प्रिमियर क्यूएफएक्सको सामाखुसीस्थित सिटी स्क्वायर हलमा बुधबार बेलुका गरिएको छ।
- फिल्मले नेपाली विद्यार्थीले अस्ट्रेलियाको स्थायी आवासीय पत्र प्राप्त गर्न संघर्ष गर्ने कथालाई चित्रण गरेको छ।
- यो १२८ मिनेट लामो ड्रामा फिल्म शुक्रबारदेखि देशब्यापी प्रदर्शनमा आउँदैछ।
काठमाडौं । प्रदर्शन तयारीमा रहेको फिल्म ‘पर्मानेन्ट रेसिडेन्ट : पीआर’ लाई बुधबार बेलुका प्रिमियर गरिएको छ ।
क्यूएफएक्सको सामाखुसीस्थित सिटी स्क्वायर हलमा आयोजित प्रिमियरमा फिल्मको कास्ट एन्ड क्रू सहभागी रहे । निर्देशक शोभित बस्नेत, कलाकार सुरज पौडेल, विनिता कार्की देखिए ।
दिनेश डीसी, दीपाश्री निरौला, गौरी मल्ल, रेजिना उप्रेती, करिश्मा केसी, दीपक आचार्य काकु, रेखा थापा, जयकिशन बस्नेत, सविन श्रेष्ठ, निर्मल शर्मा, देविका बन्दना पनि सहभागी रहे ।
प्रिमियरमा फिल्म हेरेपछि अभिनेत्री रेखाले फिल्म राम्रो बनेको र नवकलाकारको काम मन परेको प्रतिक्रिया दिइन् ।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले निर्देशकको काम र कलाकारको अभिनय राम्रो बनेको प्रतिक्रिया दिए । उनले हरेक नेपालीले यो फिल्म हेर्न जरुरी रहेको समेत बताए ।
अभिनेता सलिनमान बनियाले कलाकारले राम्रो अभिनय गरेको बताए । ‘डेब्यू मूभीका लागि उहाँहरुले एकदमै राम्रो गर्नुभएको छ,’ मिडियासँगको कुराकानीमा उनले भने, ‘एकदमै राम्रो लाग्यो । मैले डेब्यू गर्दाको फिल्मभन्दा उहाँको अझ राम्रो लाग्यो ।’
निर्देशक बस्नेतले एक्टरहरूले प्रशंसा पाउँदा खुसी लागेको बताए । उनले भने, ‘यिनीहरु हलभित्र छिर्दा कसैले चिनेको थिएन । बाहिर निस्किँदा वाह–वाह भनेको देखेर चाहिँ मलाई भनेको जस्तो लाग्यो । किनभने हिरो–हिरोइनसँग फोटो खिच्न तानातान गरेको देख्दा म आफै छु जस्तो फिल्म भइरहेको थियो ।’
दीपाश्री निरौला, गौरी मल्ल, रेजिना उप्रेती, करिश्मा केसी, दीपक आचार्य काकु, जयकिशन बस्नेत, सविन श्रेष्ठले फिल्म असाध्यै राम्रो बनेको र नव कलाकार सुरज र विनिता कार्कीलाई बधाई तथा शुभकामना दिए ।
रेजिनाले आफूलाई केही दृश्यले भावुक बनाएको प्रतिक्रिया दिइन् । नेपाली विदेशमा पुगेपछि कस्तो अवस्थामा पुगिँदो रहेछ भन्ने कुराले आफूलाई छोएको भन्दै उनी भावुक देखिइन् ।

नेपाली विद्यार्थीले अस्ट्रेलियाको स्थायी आवासीय पत्र प्राप्त गर्नको लागि गर्ने संघर्षको कथामा फिल्म आधारित छ । अस्ट्रेलिया र नेपालमा छायांकन गरिएको यो फिल्मले वैदेशिक अध्ययनको सामाजिक पाटोलाई केलाउने बताइएको छ ।
१२८ मिनेट रनटाइमको यो फिल्मलाई ड्रामा जनरामा राखिएको छ । फिल्म शुक्रबारदेखि देशब्यापी प्रदर्शन तयारीमा छ ।





प्रतिक्रिया 4