News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले संविधान संशोधन शासक वर्गको स्वार्थअनुकूल हुन थालेको टिप्पणी गरेका छन्।
- सिंहले संविधान संशोधन राष्ट्रिय आवश्यकताभन्दा शासक वर्गको सत्ता टिकाइराख्ने दाउपेचबाट प्रेरित भएको आरोप लगाए।
- सिंहले विदेशी शक्तिहरूको चलखेलले नेपालको सार्वभौमिकतामाथि प्रश्न उठाएको उल्लेख गरेका छन्।
२६ वैशाख, काठमाडौं । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले संविधान संशोधन शासक वर्गको स्वार्थ अनुकूल हुन थालेको टिप्पणी गरेका छन् ।
काठमाडौंमा आयोजित संविधान संशोधन बहस कार्यक्रममा बोल्दै उनले संविधान संशोधन राष्ट्रिय आवश्यकताभन्दा पनि शासक वर्गको निहित स्वार्थ र सत्ता टिकाइराख्ने दाउपेचबाट प्रेरित रहेको आरोप लगाए ।
महामन्त्री सिंहले देशको ऐतिहासिक आवश्यकता र जनताको हितका लागि संविधान संशोधन हुनुपर्नेमा जोड दिँदै अहिलेको सरकारले फासिस्ट स्वरूपलाई संस्थागत गर्न संशोधनको बाटो रोजेको दाबी पनि गरे ।
संविधान संशोधन नेपालको आन्तरिक विषय भएपनि यस प्रक्रियामा विदेशी शक्तिहरूको चलखेल देखिनु अवाञ्छित र गम्भीर रहेको उनको ठहर छ ।
नेपालको आन्तरिक मामिलामा हुने वैदेशिक हस्तक्षेपले मुलुकको सार्वभौमिकतामाथि प्रश्न उठाएको सिंहले उल्लेख गरे ।
‘देशको राष्ट्रिय आवश्यकताअनुसार संविधानको निर्माण वा संशोधन हुनुपर्ने हो, तर कतिपय अवस्थामा शासक वर्गले आफ्ना स्वार्थ अनुकूल कानुन निर्माण गर्ने गर्छन्,’ सिंहले भने, ‘अहिलेको सरकारले फासिस्ट रूप लिंदै गएको छ र त्यसैलाई पूर्णता दिन संविधान संशोधन गर्न थालिएको त होइन भन्ने गम्भीर प्रश्न उब्जिएको छ ।’
प्रतिक्रिया 4