+
+
Shares

ई–बिडिङ प्रकरण : विक्रम पाण्डेको कम्पनीले ७ करोड घटाएर फेर्‍यो बोलकबोल

क्रिप्टोमार्फत रकम लेनदेन, ई–बिडिङ ह्याक प्रकरणमा २२ जनाविरुद्ध मुद्दा

बीड हाल्ने मिति गुज्रिएपछि पाण्डैले भाग लिएको टेण्डर आईडीबाट फाइनान्सियल डकुमेन्ट परिवर्तन गरी ६७ करोड बोलकबोललाई ६० करोडमा झारिएको सीआईबीको भनाइ छ ।

नारायण अधिकारी नारायण अधिकारी
२०८३ वैशाख २७ गते २१:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेको कम्पनीले ई–बिडिङ सिस्टम ह्याक गरी ७ करोड रुपैयाँ मूल्य घटाएर बोलकबोल गरेको सीआईबीले खुलासा गरेको छ।
  • सीआईबीले २२ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ जसमा कम्प्युटर अपरेटर दिवाकर देउजा र अन्य सञ्चालकहरू समावेश छन्।
  • अनुसन्धानमा ठेक्का सेटिङका लागि क्रिप्टोमार्फत रकमको लेनदेन भएको र पीपीएमओ सर्भरमा अनधिकृत पहुँच गरी बिडिङ डकुमेन्ट हेरफेर गरिएको पाइएको छ।

२७ वैशाख, काठमाडौं । ई–बिडिङ ह्याक प्रकरणमा मुद्दा चलाइएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष तथा पूर्वमन्त्री विक्रम पाण्डेसम्बद्ध कालिका कन्स्ट्रक्शन प्रालिले सिस्टममा अनधिकृत पहुँच पुर्‍याएर बोलपत्रको रकम हेरफेर गरेको खुलेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले करिब दुई महिना लगाएर गरेको अनुसन्धानमा कालिका कन्स्ट्रक्शनले महेन्द्र राजमार्गअन्तर्गत बकैया नदी पुल निर्माणका लागि सुरुमा ६७ करोड रुपैयाँको बोलकबोल गरेको देखिएको छ ।

तर, पछि ई–बिडिङ प्रणालीमा अनधिकृत पहुँचमार्फत उक्त रकम घटाएर ६० करोड पुर्‍याइएको सीआईबीको निष्कर्ष छ ।

अनुसन्धानमा मुख्य अभियुक्त मानिएका शहरी तथा भवन निर्माण आयोजना धनकुटा शाखामा कार्यरत कम्प्युटर अपरेटर दिवाकर देउजासँग मिलेमतो गरी यस्तो हेरफेर गरिएको उल्लेख छ ।

सीआईबीका अनुसार ‘युजर नेम कालिका’ प्रयोग गरी देउजाले तयार गरेको समानान्तर सर्भरमार्फत सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) को ई–गभर्मेन्ट प्रोक्युरमेन्ट प्रणालीमा अनधिकृत पहुँच पुर्‍याइएको थियो । त्यसपछि ‘अवार्ड अफ कन्ट्रयाक्ट’ सुनिश्चित गर्न बोलपत्रसम्बन्धी गोप्य विवरण हेरेर आर्थिक प्रस्ताव संशोधन गरिएको दाबी अनुसन्धान प्रतिवेदनमा गरिएको छ ।

सीआईबीका एक अनुसन्धान अधिकारीका अनुसार बोलपत्र दर्ताको समय सकिएपछि पनि वित्तीय विवरण परिवर्तन गरी ६७ करोडको प्रस्तावलाई ६० करोडमा झारिएको थियो ।

तर, बयानका क्रममा विक्रम पाण्डेले भने आफू वा आफ्नो कम्पनीको कुनै संलग्नता नरहेको दाबी गरेका छन् । उनका अनुसार कम्पनीका कर्मचारी सुरेन्द्र पाण्डेले गोप्य रूपमा बिडिङ प्रक्रियाको काम गरेका थिए र बोलपत्रमा कुनै संशोधन गरिएको थिएन ।

‘कसैले मलाई र मेरो कम्पनीलाई बदनाम गर्न यस्तो गरेको हुन सक्छ, त्यसतर्फ पनि अनुसन्धान हुनुपर्छ,’ पाण्डेको बयान उद्धृत गर्दै अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

यद्यपि, उक्त ठेक्का कालिका कन्स्ट्रक्शनले भने पाएको थिएन । अनुसन्धानमा अन्य कम्पनीहरूले पनि यस्तै शैलीमा बोलपत्रको समय सकिएपछि आर्थिक प्रस्ताव हेरफेर गरेर ठेक्का हात पारेको देखिएको सीआईबीको भनाइ छ ।

‘दुई वर्षदेखि चलिरहेको थियो सेटिङ’

सीआईबीका अनुसार यो समूहले सन् २०२३ देखि नै पीपीएमओको ई–जीपी प्रणालीमा अनधिकृत पहुँच पुर्‍याएर ई–टेन्डरमा पेश भएका बोलपत्रका विवरण हेरफेर गर्दै आएको थियो ।

अनुसन्धानमा डाटा हब प्रालिको क्लाउड सर्भरमा परीक्षण प्रयोजनका लागि लिइएको भीपीएस सर्भरमा अनधिकृत पहुँच पुर्‍याएर बिडिङ मूल्य परिवर्तन गरिएको उल्लेख छ ।

प्रहरीका अनुसार प्रतिवादीहरूले ठेक्का मिलाइदिने उद्देश्यले बोलपत्रका गोप्य विवरण हेर्ने, कम मूल्य राखेर प्रस्ताव संशोधन गर्ने तथा त्यसबापत आर्थिक लेनदेन गर्ने गरेका थिए ।

मुख्य योजनाकार सरकारी कर्मचारी

सीआईबीले शहरी तथा भवन निर्माण आयोजना धनकुटा शाखामा कार्यरत ३३ वर्षीय कम्प्युटर अपरेटर दिवाकर देउजालाई यो प्रकरणको मुख्य योजनाकार ठहर गरेको छ ।

सीआईबीका एआईजी डा. मनोज केसीका अनुसार देउजाले बोलपत्रको समय सकिएपछि प्रणालीमा अनधिकृत पहुँच पुर्‍याएर प्रतिस्पर्धी कम्पनीहरूको विवरण हेर्ने र आफूअनुकूल सबैभन्दा कम मूल्य राखेर प्रस्ताव संशोधन गर्ने गरेका थिए ।

अनुसन्धानमा उनले ठेकेदार कम्पनीहरूसँग सम्पर्क गरी रकममा ‘बार्गेनिङ’ गर्ने र सहमति भएपछि अनलाइन बोलपत्रमा पहुँच पुर्‍याएर विवरण परिवर्तन गर्ने गरेको खुलेको छ ।

सीआईबीका अनुसार देउजाले प्रोग्रामिङ, क्लाउड सर्भर र पीएचपी प्रयोग गरी आईएमएस सर्भर ह्याक गर्ने तथा ‘ब्याकडोर’ तयार गर्ने काम गरेका थिए । उनले ‘जीवन लिम्बु’ नामको नक्कली परिचय प्रयोग गरेर ह्वाट्सएप र इमेलमार्फत ठेकेदारहरूसँग सम्पर्क गर्ने गरेको पनि अनुसन्धानमा उल्लेख छ ।

देउजा यसअघि २०७७ असारमा नेपाल टेलिकमको मोबाइल एप सर्भर ह्याक प्रकरणमा पनि पक्राउ परेका थिए । त्यतिबेला उनले सर्भरमा अनधिकृत पहुँच पुर्‍याएर टेलिकमको राजस्व र व्यावसायिक छविमा क्षति पुर्‍याएको आरोप लागेको थियो । पछि उनी अदालतबाट छुटेका थिए ।

क्रिप्टोमार्फत रकम कारोबार

अनुसन्धान प्रतिवेदनअनुसार ठेक्का ‘सेटिङ’ गरेबापत रकमको लेनदेन क्रिप्टो करेन्सीमार्फत हुने गरेको पाइएको छ ।

प्रतिवादी भाष्करराज अर्यालले अमेरिकामा रहेका साथीमार्फत बिटक्वाइनमा भुक्तानी गराउने र नेपालमा नगद मिलान गर्ने गरेको प्रहरीको दाबी छ ।

अनुसन्धानका क्रममा आर्थिक प्रस्ताव हेरफेर गरेर ठेक्का सुरक्षित गराइदिएबापत रकम मागिएको विवरण पनि फेला परेको छ । अभियोगपत्रअनुसार प्रतिवादी सञ्जय भट्टले पहिलो किस्तामा १३ लाख र दोस्रो किस्तामा १० लाख रुपैयाँ बराबरको बिटक्वाइन ट्रान्सफर गरेका थिए ।

भट्ट सोली थुम्का निर्माण सेवा प्रालिका सञ्चालक हुन् । सागर कटुवाल र भाष्करराज अर्यालले समेत क्रिप्टोमार्फत आर्थिक कारोबार गरेको स्वीकार गरेको सीआईबीले जनाएको छ ।

२२ जनाविरुद्ध मुद्दा

यो प्रकरणमा सीआईबीले काठमाडौं जिल्ला अदालतमा २२ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

प्रतिवादीहरूमा दिवाकर देउजा, विक्रम पाण्डे, सञ्जय भट्ट, सागर कटुवाल, भाष्करराज अर्याललगायत विभिन्न निर्माण कम्पनीका सञ्चालक तथा कर्मचारी छन् ।

उनीहरूमाथि विद्युतीय प्रणालीमा अनधिकृत पहुँच पुर्‍याउने, संगठित अपराध गर्ने तथा क्रिप्टो कारोबारसम्बन्धी कसुरमा मुद्दा दायर गरिएको छ ।

सीआईबीले सुरुमा २८ फागुनमा दिवाकर देउजालाई पक्राउ गरेर अनुसन्धान थालेको थियो । हालसम्म १३ जना पक्राउ परिसकेका छन् भने बाँकीलाई फरार प्रतिवादी बनाइएको छ ।

लेखक
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?