News Summary
Generated by OK AI. Editorially reviewed.- बाजुराको लाम्पाटा क्षेत्रमा सीमा विवादका कारण धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल नेतृत्वको टोलीलाई स्थानीयले ढुंगामुढा गरी रोक्न पुगेका थिए।
- हिमाली गाउँपालिका–३ का वडा सदस्य पेमा गारा गुरुङ र उनको परिवारलाई प्रहरी चौकी निर्माणका कारण मरणासन्न हुने गरी कुटपिट गरिएको छ।
- धनगढी टोलीलाई साइपाल रानीसैन बेसक्याम्प जान सुरक्षा निकायले पूर्व जानकारी नदिँदा टोली आक्रमणमा परेको र पछि संयमता अपनाएर फर्किएको छ।
७ जेठ, धनगढी । बाजुरामा सीमा विवादको विषयलाई लिएर आक्रोशित समूहले ढुंगामुढा गरेपछि पर्यटन प्रवर्द्धनका लागि साइपालको रानीसैन बेसक्याम्प हिँडेको टोली फर्किएको छ ।
‘हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौँ’ अभियान लिएर धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल नेतृत्वको टोली साइपाल हिमालको रानीसैन बेसक्याम्प गइरहको थियो ।
तर, बाजुरा–हुम्ला सीमा विवादका कारण हिमाली गाउँपालिका–३ को लाम्पाटामा एक समूहले मेयर हमाल नेतृत्वको टोलीलाई अघि बढ्न दिएन । ढुंगामुढा गर्दै उनीहरु आक्रमणमा उत्रिएपछि पर्यटन प्रवर्द्धनका लागि पुगेका जनप्रतिनिधि, कर्मचारी र अन्य सरोकारवालाले भागेर ज्यान जोगाए ।
झन्डै तीन सयको संख्यामा रहेका हुम्लाको खार्पुुनाथ गाउँपालिका–२ थालीका स्थानीयले ढुुंगामुढा गरेपछि भ्रमणमा हिँडेकाहरु भागिरहेको दृष्य सामाजिक सन्जालमा सार्वजनिक भिडियोहरुमा देखिन्छ ।
थालीका बासिन्दाले विगतदेखि नै लाम्पाटा क्षेत्रमा दाबी गर्दै आएका थिए । सोही कारण त्यहाँ विवाद थियो ।
सुदूूरपश्चिम प्रदेश सरकारले प्रहरी चौकी निर्माण गर्न ४० लाख बजेट विनियोजन गरेपछि थप विवाद बढेको थियो । कुनै पनि हालतमा प्रहरी चौकी निर्माण गर्न नदिने अडानमा खार्पुनाथका बासिन्दा थिए । धनगढीबाट टोली आउँदैछ भन्ने थाहा पाएपछि स्थानीयबासिन्दा त्यहाँ जम्मा भएको पाइएको छ ।
वडा सदस्यको परिवारमाथि मरणासन्न हुनेगरी कुटपिट
हिमाली गाउँपालिका–३ का वडा सदस्य पेमा गारा गुरुङले लाम्पाटामा अस्थायी प्रहरी चौकी निर्माणका लागि जग्गा दान गरेका थिए । त्यसपछि उनी हुम्लाको खार्पुनाथको थाली गाउँको नजरमा परे ।
लाम्पाटा क्षेत्र आफ्नो दाबी गर्दै आएका थालीपासीको योजनामा गुरुङको परिवारमाथि आक्रमण गरिएको स्थानीय बताउँछन् ।
२ जेठदेखि नै दुई जिल्लाको सीमामा पर्ने लाम्पाटास्थित वडा सदस्यको घरमा उनीहरु जम्मा भएका थिए । प्रहरी चौकी बनाउन जग्गा दिएको निहुँमा उनीहरुले ३ जेठमा गुरुङको घरमा आक्रमण गरेका थिए । गुरुङ र उनकी श्रीमती लक्ष्मी गुरुङलाई घरमै कुटपिट गरिएको थियो ।
हिमाली गाउँपालिकाका अध्यक्ष गोबिन्दबहादुर मल्लले वडा सदस्यको परिवारमाथि कुटपिट गर्दै घर कब्जा गरी लुटपाट समेत गरेको पाइएको बताए ।
सोही क्रममा हिमालीका प्रमुुख प्रशासकीय अधिकृत कुलबहादुर थापामाथि पनि आक्रमण भएको उनी बताउँछन् । तर, सञ्चार सम्पर्क नभएका कारण त्यहाँको वस्तुस्थितिबारे यथेष्ट सूचना प्राप्त गर्न सकिएको थिएन ।
धनगढीका मेयर हमालसहितको टोलीलाई साइपाल लैजान सहजीकरण गरेका अध्यक्ष मल्लले प्रहरी प्रशासनले समेत पर्याप्त सूचना नदिएपछि दोस्रो आक्रमणको स्थिति बनेको सुनाए ।
‘त्यहाँ पहिले नै वडा सदस्यको परिवारलाई कुटपिट गरेर हुुम्लाको खार्पुुनाथका स्थानीयले नियन्त्रणमा लिइसकेका रहेछन् । जिल्लाका प्रहरी प्रमुखलाई बुझ्दा घटना समान्य हो । साम्य भइसक्यो भन्नुभयो,’ अध्यक्ष मल्लले अनलाइनखबरसँग भने, ‘त्यसपछि धनगढीको टोली अघि बढेको हो । तर त्यहाँ पुग्दा अवस्था अर्कै देखियो । बल्लतल्ल ज्यान जोगाएर फर्कियौँ ।’
उनका भनाइमा लाम्पाटा पुुगेपछि मात्र वडा सदस्यको परिवारलाई मरणासन्न हुने गरी कुटपिट भएको थाहा भएको थियो । धनगढीको टोली पुगेपछि मात्र उनीहरु आक्रोशित समूहको नियन्त्रणबाट मुुक्त भएका थिए ।
ड्रोन उडाएका कारण आक्रमण भएको हो ?

जिल्ला प्रहरी कार्यालय बाजुराले पठाएको विवरणमा धनगढी उपमहानगरपालिकाको टोलीले लाम्पाटामा ड्रोन उडाएर भिडियो खिच्ने क्रममा वादविवादपछि आक्रमणको घटना भएको उल्लेख छ ।
जबकी धनगढीको पर्यटन प्रवर्द्धनको टोली नपुुग्दै वडा सदस्यलगायतमाथि कुटपिट गरिएको थियो । तर, ड्रोन उडाएको विषय नभएर विगतदेखिको सीमा विवाद र योजनाअनुसार नै आक्रमणको घटना भएको पालिका अध्यक्ष मल्ल बताउँछन् ।
हिमाली गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी समेत रानीसैन बहस कार्यक्रम आयोजना गर्न साइपालको रानीसैन जाँदै थिए । उनीहरुसँगै जिल्ला समन्वय समितिका प्रमुख तुलसीराम रोकाया पनि थिए ।
अघिअघि हिमाली गाउँपालिकाको टोली र पछिपछि धनगढीबाट गएको टोली थियो । धनगढीबाट गएको टोली घटना भएको ठाउँसम्म पुग्न नपाएको खुलेको छ तर खार्पुनाथबाट आएको स्थानीय समूहले हिमाली गाउँपालिकाको टोलीलाई आक्रमण गर्दै उनीहरु भएको ठाउँसम्म लखेटेको थियो ।
प्रहरीले दिएन पूर्वजानकारी
धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले लाम्पाटामा स्थानीयबीच सीमा विवादको विषयमा द्वन्द्व रहेको र कुटपिटको घटनाबारे पूर्व जानकारी नभएको बताएका छन् ।
लाम्पाटाको फेदतिर पुुग्ने बेला मात्र वडा सदस्यसहितमाथि कुटपिट भएको कुरा थाहा पाएको बताउँदै त्यसपछि माथितिर नगएको हमालले जानकारी दिए ।
तर, हिमालीका अध्यक्षसहितलाई लखेट्दै आफूहरु भएको ठाउँसम्म पुगाएको उनी बताउँछन् । ‘त्यहाँ स्थानीयबीच द्वन्द्व छ भन्ने थाहा भएको भए हामी जादैनौँ थियौँ । त्यो कुरा थाहा पाएनौँ,’ हमालले भने, ‘वडा सदस्यलाई कुटपिट गरेको थाहा पाएपछि हामी डाँडा चढेनौँ । हिमालीको अध्यक्षमाथि आक्रमण हुन थालेपछि उहाँ दौडिँदै तल आइपुग्नुुभयो । आक्रोशित समूहले काठे पुल पनि भत्काइदिए । त्यसपछि हामी पनि फर्कियौँ ।’ तर ड्रोन उडाएका कारण घटना नभएको हमालले बताए ।
‘हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौँ’ अभियान लिएर धनगढीका मेयरसहितको टोली ३१ वैशाखमा साइपाल बेस क्याम्प रानीसैनतर्फ हिँडेको थियो । भ्रमण तालिकाबारे २९ बैशाखमै बाजुराका प्रमुख जिल्ला अधिकारीलाई जानकारी दिइएको थियो ।
तर, रानीसैन हिँडेको मेयरसहितको टोलीलाई सुरक्षा निकायले लाम्पाटामा भएको घटनाबारे जानकारी नदिएकै कारण उनीहरु समेत आक्रमण र दुुर्व्यवहारमा परेको पाइएको छ ।
धनगढी र बाजुराको हिमाली गाउँपालिकाको भ्रमण टोली संयमता अपनाउँदै फिर्ता भएपछि दोहोरो घटना हुन पाएन ।
हिमाली गाउँपालिकाको गुम्बा पुगेपछि मेयर हमालले प्रमुख जिल्ला अधिकारी र गृह सचिव सम्पर्क गरेर त्यहाँको घटनाबारे जानकारी गराउँदै घाइतेको तत्काल उद्धार गर्न ध्यानाकर्षण गराएका थिए । त्यसपछि ३ जेठमा मरणासन्न हुने गरी कुटिएका वडा सदस्यसहितलाई सरकारले हेलीकोप्टरमार्फत बुुधबार मात्र उद्धार गरेको थियो ।
प्रतिक्रिया 4