६ जेठ, बाजुरा । बाजुरा र हुम्ला जिल्लाको सिमानामा भएको विवादका घाइतेहरूमध्ये चार जनालाई उपचारका लागि सुर्खेत लगिएको छ । उनीहरूलाई हेलिकप्टरमार्फत सुर्खेत लगिएको हो ।
बाजुराको हिमाली गाउँपालिका–३ लाम्पाटामा अस्थायी प्रहरी चौकी निर्माण र सीमाको विषयमा मंगलबार विवाद भएको थियो । हुम्लाको खर्पुनाथ गाउँपालिका–२ थाली र लाम्पाटाका बासिन्दाबीच रानीसैन क्षेत्रको सीमाका विषयमा त्यसअघि पनि लामो समयदेखि विवाद कायम थियो ।
विवादका क्रममा धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालसहितको टोली ड्रोनसहित पुगेर भिडिओ बनाउन खोज्दा स्थिति असामान्य बनेर झडपमा परिणत भएको थियो ।
झडपमा ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेशबहादुर शाहीले बताए । उनका अनुसार घाइते हुनेमा हिमाली गाउँपालिका–३ का वडा सदस्य ३४ वर्षीय पेमा गारा गुरुङ, उनकी श्रीमती ३३ वर्षीया लक्ष्मी गुरुङ, २४ वर्षीया मिनु कुँवर, ५० वर्षीय नरबहादुर गुरुङ, प्रहरी चौकी बिच्छियामा कार्यरत प्रहरी सहायक हबल्दार महेश धामी र हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापा थिए ।
उनीहरूमध्ये पेमा गारा गुरुङ, लक्ष्मी गुरुङ, मिन कुँवर र नरबहादुर गुरुङलाई हेलिकप्टरबाट उद्धार गरेर उपचारका लागि सुर्खेत लगिएको प्रहरीले जनाएको छ ।
हेलिकप्टर उद्धारको रकम भने बिरामी आफैले तिर्ने तय भएको हिमाली गाउँपालिकामा कार्यरत कर्मचारी राजबहादुर भण्डारीले बताए ।
घाइतेहरूको ढाड, गर्धन, छाती तथा खुट्टामा चोट लागेको छ ।
प्रतिक्रिया 4