News Summary
Generated by OK AI. Editorially reviewed.- श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले प्रधानमन्त्री बालेन शाहको राजीनामा मागेका छन्।
- राईले प्रधानमन्त्री शाहले आफ्नो कर्तव्य पूरा नगरेको आरोप लगाउँदै राजीनामा दिनुपर्ने बताए।
- राईले संसद नियमावली अनुसार प्रधानमन्त्रीले सीमा समस्या सम्बन्धी प्रश्नको जवाफ दिनुपर्ने उल्लेख गरे।
७ जेठ, काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद हर्कराज राई (हर्क साम्पाङ)ले प्रधानमन्त्री बालेन शाहको राजीनामा मागेका छन् ।
प्रधानमन्त्री शाहले आफ्नो कर्तव्य पालना नगरेको आरोप लगाउँदै राईले भने, ‘यदि आफ्नो कर्तव्य पूरा गर्न सक्नुहुन्न भने उहाँले मार्गप्रशस्त गर्दाखेरी राम्रो हुन्छ ।’
आजको संसद बैठक सुरु भएलगत्तै अघिल्ला दिनजस्तै उठेर राईले प्लेकार्ड प्रदर्शन गरेका थिए । त्यसपछि सभामुख डीपी अर्यालले उनलाई दुई मिनेट बोल्न समय दिए ।
आफ्ना भनाइ राख्ने क्रममा राईले प्रधानमन्त्री शाह पनि संसद सदस्य भए संसद निमावलीको नियम १५ को उपनियम २ मा भएको व्यवस्था अनुसार सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुपर्ने बताए ।
आफूले २०८३ साल वैशाख २८ र २९ गते उठाएका प्रश्नको जवाफ नपाएको गुनासो उनले गरे । आफ्ना प्रश्न केही गृह मन्त्रालय र केही रक्षा मन्त्रालयसँग सम्बन्धित रहेको र ती मन्त्रालय हाल प्रधानमन्त्री मातहत रहेकाले त्यसको जवाफ पनि प्रधानमन्त्री बालेन शाहले नै दिनुपर्ने बताए ।
सीमा समस्या खासगरी लिपुलेकसँग सम्बन्धी प्रश्न आफूले राखेको स्मरण गराउँदै राईले भने, ‘हाम्रो नियमावलीमा ७ दिनभित्र जवाफ दिनुपर्छ भन्ने उल्लेख छ तर १० दिन जति भइसक्यो । उहाँ यो पार्लियामेन्टको मेम्बर हो कि होइन ? यो देशमा पार्लियामेन्ट छ कि छैन ?’
उनले थपे, ‘हामी सबैजनाले लोकतन्त्र, यो संसदको गरिमालाई हामीले जोगाइराख्न पर्छ कि पर्दैन ? कर्तव्य पूरा गर्नुपर्छ कि पर्दैन ? म यो प्रश्न गर्न चाहन्छु ।’
प्रतिक्रिया 4