+
+
Shares

झनै घट्यो गण्डकी प्रदेशका उद्योगको उत्पादन क्षमता

अर्थतन्त्रमा आएको सुस्तताका कारण समग्र मागमा सुधार नआउँदा गण्डकीका उद्योहरूको उत्पादन क्षमता घटेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ८ गते १४:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल राष्ट्र बैंक गण्डकी प्रदेशको अध्ययन अनुसार चालु आर्थिक वर्ष पुससम्म उद्योगको औसत उत्पादन क्षमता उपयोग ३९.५६ प्रतिशत रहेको छ, जुन गत वर्षको ४१.४० प्रतिशतभन्दा कम हो।
  • गण्डकी प्रदेशमा चालु आव पुससम्म प्रमुख कृषि बालीले ढाकेको क्षेत्रफल ६.८७ प्रतिशतले घटेर ३ लाख ९२ हजार ४ सय २५ हेक्टर पुगेको छ।
  • कालीगण्डकी करिडोर अन्तर्गत मालढुंगा–राम्दी–गैँडाकोट खण्डमा करिब ८१ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ र वित्तीय प्रगति ७५ प्रतिशत छ।

८ जेठ, काठमाडौं । चालु आर्थिक वर्ष पुसम्ममा गण्डकी प्रदेशका उद्योगहरूको उत्पादन क्षमता झनै घटेको छ ।

अर्थतन्त्रमा आएको सुस्तताका कारण समग्र मागमा सुधार नआउँदा उद्योहरूको उत्पादन क्षमता घटेको हो ।

नेपाल राष्ट्र बैंक गण्डकी प्रदेशको अध्ययन अनुसार चालु आव पुसम्म उद्योगको औसत उत्पादन क्षमता उपयोग ३९.५६ प्रतिशत छ । गत वर्ष सोही अवधिमा ४१.४० प्रतिशत थियो ।

चालु आव सोही अवधिमा तोरी तेल, ड्राई सिरप, क्याप्सुल, ओइन्टमेन्ट, ट्याब्लेट तथा झोल औषधि उत्पादन अघिल्लो वर्ष सोही अवधिको तुलनामा वृद्धि भएको देखिएको छ भने प्रशोधित दूध र चुरोट उत्पादन अघिल्लो वर्ष सोही अवधिको तुलनामा घटेको छ ।

आव २०८२/८३ मा गण्डकी प्रदेशको आर्थिक वृद्धि ५.०१ प्रतिशत रहने प्रारम्भिक अनुमान राष्ट्रिय तथ्यांक कार्यालयको छ । प्रदेशको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा प्राथमिक, द्वितीय र सेवा क्षेत्रको योगदान क्रमश: २६.२८, १८.३७ र ५५.३५ प्रतिशत रहने अनुमान छ ।

२०८२/८३ को प्रथम अर्धवार्षिक अवधिमा गण्डकी प्रदेशमा प्रमुख कृषि बालीले ढाकेको क्षेत्रफल अघिल्लो वर्ष सोही अवधि (संशोधित तथ्यांक) को तुलनामा करिब ६.८७ प्रतिशतले ह्रास आई ३ लाख ९२ हजार ४ सय २५ हेक्टर कायम भएको छ । गत आव सोही अवधिमा यस्तो क्षेत्रफल ३.५२ प्रतिशत घटेको थियो ।

चालु आव पुस मसान्तमा गण्डकी प्रदेशमा तरकारी बालीले ढाकेको क्षेत्रफल ७.२५ प्रतिशत वृद्धि भएको छ भने मसलाबालीले ढाकेको क्षेत्रफल ७.३६ प्रतिशत र फलफूलले ढाकेको क्षेत्रफलमा ३.९१ प्रतिशत ह्रास आएको छ ।

यस प्रदेशको कृषि उपजले ढाकेको कुल क्षेत्रफलको ८८.४१ प्रतिशत प्रमुख खाद्य तथा अन्न बाली, ५.३३ प्रतिशत तरकारी, ४.२६ प्रतिशत फलफूल तथा १.७५ प्रतिशत मसला लगाइएको क्षेत्रफल छ ।

चालु आव पुसम्ममा खाद्य तथा अन्य बाली उत्पादन ७.०६ प्रतिशत तथा तरकारी उत्पादन ५.५ प्रतिशत ह्रास आएको छ । प्रदेशमा चिया उत्पादन १.८५ प्रतिशत, फलफूल २.९५ र मसला ०.२५ प्रतिशत वृद्धि भएको छ ।

त्यस्तै पशुजन्य उत्पादनतर्पm गण्डकीमा अन्डा उत्पादन २३.५८ प्रतिशत, दूध र माछा उत्पादनमा क्रमश: ०.७४ प्रतिशत र १.०३ प्रतिशतले वृद्धि भएको छ भने मासु उत्पादन १३.७७ प्रतिशतले ह्रास आएको छ ।

यसैगरी वनजन्य उत्पादनतर्पm काठ उत्पादन ३१.५३ प्रतिशतको वृद्धि भएको अध्ययनले देखाएको छ । २०८२ पुस मसान्तमा गण्डकीका बैंक तथा वित्तीय संस्थाबाट कृषि क्षेत्रमा २३ अर्ब १६ करोड २९ लाख कर्जा लगानी भएको छ । उक्त रकम यस प्रदेशमा प्रवाहित कुल कर्जाको ६.३८ प्रतिशत छ ।

बैंक तथा वित्तीय संस्थाले गण्डकीमा प्रवाहित कुल कर्जाको ७.९१ प्रतिशत अर्थात् २८ अर्ब ७२ करोड औद्योगिक क्षेत्रतर्फ प्रवाह गरेका छन् । बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन र कर्जा लगानी गत वर्ष सोही अवधिको तुलनामा क्रमश: १९.१७ प्रतिशत र ३.७७ प्रतिशत वृद्धि भएको छ ।

कालीगण्डकी करिडोर अन्तर्गत मालढुंगा–राम्दी–गैँडाकोट खण्डमा करिब ८१ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ भने वित्तीय प्रगति ७५ प्रतिशत छ ।

बेनी–जोमसोम–कोरला खण्डको भौतिक प्रगति करिब ८८ प्रतिशत र वित्तीय प्रगति करिब ८४ प्रतिशत छ । तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७३ प्रतिशत र वित्तीय प्रगति ६९ प्रतिशत छ ।

यस्तै बुढीगण्डकी जलविद्युत् आयोजनाको भौतिक प्रगति करिब १६.५५ प्रतिशत र वित्तीय प्रगति करिब १०.८ प्रतिशत भएको छ । यस प्रदेशमा विदेशी पर्यटक आगमन संख्यामा ३३.२ प्रतिशतले ह्रास आएको छ भने हवाई यात्रु आगमन संख्यामा १०.७ प्रतिशतले ह्रास आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?