+
+
Shares

पश्चिम एसियाको अवस्था सुधारोन्मुख, नेपाली सुरक्षित : परराष्ट्र मन्त्रालय

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ८ गते १७:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • परराष्ट्र मन्त्रालयले पश्चिम एसियामा रहेका नेपाली नागरिकको सुरक्षा र हितप्रति सरकार सजग रहेको जनाएको छ।
  • मन्त्रालयले स्ट्रेट अफ होर्मुजको अवरोध चाँडै खुल्ने र बजार मूल्य सामान्यीकरणतर्फ उन्मुख हुने अपेक्षा गरेको छ।
  • पश्चिम एसियामा रहेका नेपालीले मन्त्रालयको अनलाइन पोर्टलमा ८७ हजार ८ सय ६३ जनाले विवरण दर्ता गराइसकेका छन्।

८ जेठ, काठमाडौं । परराष्ट्र मन्त्रालयले पश्चिम एसियाको पछिल्लो अवस्थालाई नजिकबाट नियालिरहेको बताउँदै त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षा र हितप्रति सरकार सजग रहेको जनाएको छ ।

मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले पश्चिम एसियामा तनाव कायम रहेपनि सार्थक वार्ताको सम्भावना बलियो रहेको र मे महिनायता परिस्थिति क्रमशः सुधारोन्मुख रहेको बताए । उनले शान्तिका लागि भइरहेका कूटनीतिक प्रयास सफल पार्नु, ‘स्ट्रेट अफ होर्मुज’ को अवरोध खुलाउनु तथा उक्त क्षेत्रमा दिगो शान्ति स्थापना गर्नु अहिलेको मुख्य आवश्यकता रहेको उल्लेख गरे ।

नेपालले ‘स्ट्रेट अफ होर्मुज’ खुलाउन भइरहेका द्विपक्षीय तथा बहुपक्षीय प्रयासहरूको समर्थन गर्ने उनले बताए । अवरोध चाँडै खुल्ने र त्यसबाट प्रभावित आपूर्ति शृङ्खला तथा आकासिएको बजार मूल्य क्रमशः सामान्यीकरणतर्फ उन्मुख हुने अपेक्षा रहेको मन्त्रालयले जनाएको छ ।

प्रवक्ता क्षेत्रीका अनुसार पश्चिम एसियामा रहेका नेपालीको अवस्था हाल सामान्य छ । उनीहरूको सुरक्षा र हितका विषयमा निरन्तर सक्रिय रहेको जनाउँदै उनले मन्त्रालयमा स्थापना गरिएको ‘इमर्जेन्सी कन्ट्रोल रूम’, कन्सुलर सेवा विभागको अनलाइन दर्ता प्रणाली तथा सम्बन्धित नेपाली नियोगका हटलाइन सेवा अझै सञ्चालनमै रहेको बताए । अब उक्त कन्ट्रोल रूम २४ घण्टाको सट्टा बिहान ९ बजेदेखि राति ९ बजेसम्म सञ्चालन गरिने उनको भनाइ छ ।

हालसम्म कन्ट्रोल रूममा १६० भन्दा बढी फोन, ५० भन्दा बढी इमेल तथा ११० भन्दा बढी अनलाइन माध्यमबाट सम्पर्क भएको मन्त्रालयले जनाएको छ । १० जनाभन्दा बढी व्यक्ति भौतिक रूपमा उपस्थित भई कुल ३३० भन्दा बढी पटक सम्पर्क भएको र पछिल्लो ४८ घण्टामा मात्र दुई पटक सम्पर्क प्राप्त भएको जानकारी पनि मन्त्रालयले दिएको छ ।

त्यसैगरी, कन्सुलर सेवा विभागले सञ्चालन गरेको अनलाइन पोर्टलमा हालसम्म ८७ हजार ८ सय ६३ जनाले विवरण दर्ता गराएका छन् । पछिल्लो १४ दिनमा भने १२ जनाले मात्रै नयाँ दर्ता गरेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले पश्चिम एसियामा रहेका नेपाली नागरिकलाई कुनै समस्या परेमा नजिकको नेपाली नियोगमा सम्पर्क गर्न, स्थानीय सुरक्षा नियमहरूको पालना गर्न तथा साइबर कानुन आकर्षित हुने कुनै पनि निषेधित गतिविधिमा संलग्न नहुन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?