+
+
Shares

पश्चिम एसियाका केही देशमा पुनः श्रम स्वीकृति खुलाउन सिफारिस

नयाँ मन्त्रीको निर्णय कुर्दै मन्त्रालय

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २७ गते १८:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • परराष्ट्र मन्त्रालयको इमर्जेन्सी रेस्पोन्स टिमले पश्चिम एसियाका बाँकी केही देशमा श्रम स्वीकृति पुनः खुला गर्न सिफारिस गरेको छ।
  • श्रम मन्त्रालयले इरान, इराक र लेबनान बाहेक इजरायल, कुवेत र बहराइनमा श्रम स्वीकृति पुनः खुला गर्ने तयारी थालेको छ।
  • प्रधानमन्त्रीले श्रम मन्त्री दिपक कुमार साहलाई पदमुक्त गरेपछि निर्णय प्रक्रिया प्रभावित भएको र नयाँ मन्त्री रामजी यादव नियुक्त भइसकेको छ।

२७ चैत, काठमाडौं । परराष्ट्र मन्त्रालय अन्तर्गतको इमर्जेन्सी रेस्पोन्स टिम (ईआरटी) ले पश्चिम एसियाका केही देशमा स्थगित गरिएको श्रम स्वीकृति पुनः खुला गर्न सिफारिस गरेको छ । परराष्ट्र सचिव अमृतबहादुर राईको अध्यक्षतामा बसेको पाँचौं बैठकले यस्तो सिफारिस गरेको हो ।

यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले फागुन १७ गतेको निर्णयअनुसार पश्चिम एसियाका १२ देशमा श्रम स्वीकृति स्थगन गरेको थियो । स्थगित भएका देशमा साउदी अरब, यूएई, कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनान, टर्की र इजरायल थिए ।

पछि चैत ३ गते साउदी, यूएई, कतार, ओमान, यमन, जोर्डन र टर्कीका लागि पुनः श्रम स्वीकृति खुला गरिएको थियो । तर, इरान, इजरायल, बहराइन, कुवेत, इराक र लेबनानमा भने अझै बन्द नै राखिएको छ ।

पश्चिम एसियाको पछिल्लो अवस्था क्रमशः सहज बन्दै गएको निष्कर्षसहित ईआरटीले बाँकी केही देशहरूमा पनि पुनः श्रम स्वीकृति खुला गर्न श्रम मन्त्रालयलाई सिफारिस गरेको परराष्ट्र मन्त्रालयका सहसचिव रामजी खड्काले जानकारी दिए । द्वन्द्वरत पक्षबीच अस्थायी युद्धविराम भएको, अवस्था निगरानीमा राख्नेगरी केही देशमा श्रम स्वीकृति खोल्ने तयारी भएको हो ।

ईआरटीको सिफारिसपछि श्रम मन्त्रालयले इरान, इराक र लेबनान बाहेक इजरायल, कुवेत र बहराइनमा पुनः श्रम स्वीकृति खुला गर्ने तयारी थालेको छ । मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेका अनुसार यससम्बन्धी निर्णयका लागि प्रक्रिया अघि बढाइएको छ ।

तर, यसअघि मन्त्रिस्तरीय निर्णयबाट स्वीकृति स्थगन गरिएकोले पुनः खुलाउन पनि मन्त्रीस्तरको निर्णय आवश्यक पर्ने भएको छ । बिहीबार प्रधानमन्त्री बालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपक कुमार साहलाई पदमुक्त गरेपछि निर्णय प्रक्रिया प्रभावित भएको हो ।

नयाँ श्रममन्त्रीका रूपमा रामजी यादव नियुक्त भइसकेकाले अब मन्त्रीस्तरीय निर्णयपछि ती देशमा पनि पुनः श्रम स्वीकृति खुला गर्ने तयारी छ । साथै, श्रम स्वीकृति खुलाउने विषय भने परराष्ट्र मन्त्रालयको विश्लेषण तथा सिफारिसका आधारमा अघि बढाइने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?