+
+
Shares

बोतल, जार र बिर्को बनाउने कच्चापदार्थ अभाव, धराशायी बन्दै पानी उद्योग

कच्चापदार्थको मूल्य ४० प्रतिशत बढ्यो

अध्यक्ष लिम्बूका अनुसार कोशी प्रदेशका धेरैजसो पानी उद्योगहरू कच्चापदार्थ सकिएर लगभग बन्द भइसकेका छन् । मधेस प्रदेशका उद्योगहरू पनि अबको केही दिनमै सोही अवस्थामा पुग्ने निश्चित छ ।

ऋतु काफ्ले ऋतु काफ्ले
२०८२ चैत ६ गते २०:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पश्चिम एसियामा जारी तनाव र लालसागर अवरोधले नेपालका खानेपानी उद्योगमा कच्चापदार्थ अभाव सिर्जना गरी उद्योग बन्द हुने स्थितिमा पुगेको छ।
  • नेपालमा प्लास्टिक दाना र रेजिनको मूल्य २० देखि ३० प्रतिशतले वृद्धि भई कच्चापदार्थको आपूर्ति ठप्प हुँदा उद्योगीहरूले नयाँ एलसी खोल्न नसकेको उद्योग महासंघले जनाएको छ।
  • काठमाडौं उपत्यकामा दैनिक ३ लाख जार र ४ लाख २० हजार लिटर बोतल पानीको माग भए पनि कच्चापदार्थ अभावले १५ देखि २० दिनभित्र पानी उद्योग बन्द हुने जोखिम बढेको छ।

६ चैत, काठमाडौं । पश्चिम एसियामा जारी तनाव र लालसागरको अवरोधका कारण नेपालका खानेपानी उद्योग गम्भीर संकटमा परेका छन् ।

खानेपानीको जार, बोतल, बिर्को (क्याप), लेभल र प्याकिङ सामग्री बनाउन प्रयोग हुने कच्चापदार्थ आपूर्ति ठप्प भएपछि देशभरिका पानी उद्योगहरू बन्द हुने स्थितिमा पुगेको उद्योगी तथा व्यवसायीहरूले बताएका छन् ।

प्लास्टिक दानाको मुख्य आधार कच्चा तेल (क्रुड पेट्रोलियम) रहेको र अहिले यसको उत्पादनमा आएको गिरावटका कारण विश्व बजारमै दानाको चरम अभाव देखिएको उद्योगीहरूले बताएका छन् ।

तेल प्रशोधन गर्ने ठूला कम्पनीहरूले उत्पादन कटौती गर्दा बजारमा दानाको उपलब्धता न्यून भएको उनीहरूको भनाइ छ । पश्चिम एसियामा जारी युद्धले पेट्रोलियम पदार्थको सम्पूर्ण आपूर्ति शृङ्खला नै बिथोलिदिएको छ, जसका कारण लजिस्टिक र ढुवानी खर्चमा भारी वृद्धि भएको छ ।

विशेषगरी ओमान, इरान र यूएईसँग जोडिएको रणनीतिक समुद्री मार्ग ‘स्ट्रेट अफ होर्मुज’ युद्धका कारण प्रभावित भएपछि समस्या झनै जटिल बनेको हो ।

अमेरिका–इजरायल र इरानबीचको बढ्दो तनावले खाडी मुलुकमा असुरक्षा बढ्दा उक्त मार्ग हुँदै नेपाल र भारतमा आयात हुने ग्यास तथा पेट्रोलियम पदार्थ ढुवानीमा प्रत्यक्ष अवरोध सिर्जना भएको छ ।

विश्वकै महत्त्वपूर्ण यो व्यापारिक मार्ग युद्धग्रस्त बनेसँगै त्यसको प्रत्यक्ष असर अहिले भारतीय र नेपाली बजारमा देखिन थालेको हो ।

यो मार्ग असुरक्षित भएपछि कुनै पनि अन्तर्राष्ट्रिय आपूर्तिकर्ताले नयाँ अर्डर लिन मानिरहेका छैनन् र पहिले नै खुलिसकेका प्रतीतपत्र (एलसी) हरूको सिपमेन्ट समेत रोकिएको छ ।

विशेषगरी खानेपानीको बोतल र जार बनाउन प्रयोग हुने ‘पेट रेजिन’ र बिर्को तथा जारका लागि आवश्यक ‘एचडीपीई’ को मूल्य अन्तर्राष्ट्रिय बजारमा पछिल्लो केही महिनामै २० देखि ३० प्रतिशत बढेको छ ।

बोतल उत्पादनका लागि प्रयोग हुने पेट रेजिनको अन्तर्राष्ट्रिय मूल्य अहिले प्रतिटन ९ सय ५० देखि १ हजार १ सय डलरको बीचमा पुगेको छ । युद्ध सुरु हुनुभन्दा पहिले यो मूल्य औसत ८ सयदेखि ८ सय ५० डलर हाराहारीमा सीमित थियो ।

यस्तै जार र बिर्को बनाउन प्रयोग हुने उच्च घनत्वको प्लास्टिक दाना एचडीपीई र पीपीको मूल्य प्रतिटन १ हजार ५० देखि १ हजार २ सय ५० डलरसम्म पुगेको छ । खाडी मुलुकका तेल प्रशोधन केन्द्रहरूले उत्पादन कटौती गरेपछि यसको अभाव विश्वव्यापी रूपमै खड्किएको छ ।

लालसागर र स्ट्रेट अफ होर्मुज जस्ता रणनीतिक व्यापारिक मार्गहरू युद्धग्रस्त बनेपछि जहाजहरूले लामो बाटो प्रयोग गर्नुपरेको छ । यसले गर्दा अन्तर्राष्ट्रिय ढुवानी कम्पनीहरूले ढुवानी भाडा र युद्ध जोखिम शुल्क प्रतिकन्टेनर भाडामा २ सय प्रतिशतसम्म वृद्धि गरेका छन् ।

साथै, बीमा कम्पनीहरूले ‘वार रिस्क सर्चार्ज’ थपेका कारण सामानको अन्तिम मूल्य निकै महँगो पर्न गएको छ ।

नेपाल पानी उद्योग महासंघ अध्यक्ष विक्रम लिम्बूका अनुसार पेट्रोलियम पदार्थको उपउत्पादनका रूपमा रहेका यी कच्चापदार्थ आयातका लागि खोलिएका प्रतीतपत्र (एलसी) धमाधम रद्द भइरहेका छन् र नयाँ एलसी खुल्न सकेका छैनन् । जसका कारण बजारमा कच्चापदार्थ अभाव देखिएको छ ।

यो संकटको मुख्य जड पेट्रोलियम पदार्थको सहउत्पादनका रूपमा रहेका प्लास्टिक दाना र रेजिनको आपूर्तिमा आएको अवरोध भएको अध्यक्ष लिम्बूले बताए ।

‘अन्तर्राष्ट्रिय बजारमा देखिएको अस्थिरताका कारण नेपालका बैंकहरूले नयाँ प्रतीतपत्र खोल्न छाडेका छन्,’ उनले अनलाइनखबरसँग भने, ‘पहिले नै खोलिएका कतिपय एलसी समेत रद्द भएका छन्, यसले गर्दा उद्योगीहरूले कच्चापदार्थ मगाउनै नसक्ने अवस्था सिर्जना भएको छ ।’

यो संकटको असर देशैभरि फैलिइसकेको छ । अध्यक्ष लिम्बूका अनुसार कोशी प्रदेशका धेरैजसो पानी उद्योगहरू कच्चापदार्थ सकिएर लगभग बन्द भइसकेका छन् ।

मधेस प्रदेशका उद्योगहरू पनि अबको केही दिनमै सोही अवस्थामा पुग्ने निश्चित रहेको उनले बताए । ‘सुदूरपश्चिम र कर्णाली प्रदेशमा जम्मा एक साताका लागि मात्रै कच्चापदार्थ मौज्दात छ,’ उनले थपे ।

देशको मुख्य खपत केन्द्र काठमाडौं उपत्यकामा पनि अवस्था निकै नाजुक रहेको उनले बताए । ‘यहाँ बोतल र बिर्को उत्पादन गर्ने ठूला कारखानाहरू भएकाले केही दिन थेग्न सके पनि बढीमा १० देखि १२ दिनभन्दा बढी पुग्ने सामग्री कसैसँग पनि छैन,’ अध्यक्ष लिम्बूले भने, ‘यदि यही अवस्था रहे दुई हप्ताभित्र काठमाडौंका उपभोक्ताले पानीको जार र बोतल पाउन मुस्किल हुने देखिन्छ ।’

आयात सकस र लागतमा ४० प्रतिशत वृद्धि

नेपालले पहिले भारतबाट कच्चापदार्थ ल्याउने गरेको थियो, तर अहिले भारतमै पनि यसको अभाव देखिएको छ । अध्यक्ष लिम्बूका अनुसार भारतमा सामान नपाइएपछि विकल्पका रूपमा चीनतर्फ मोडिनुपर्ने बाध्यता आएको छ । तर, चीनबाट ल्याउँदा ढुवानी दुरी र लागत दुवै असामान्य रूपमा बढ्छ ।

‘खाडी मुलुकबाट उत्पादित कच्चापदार्थ पहिले चीन पुग्ने र त्यहाँबाट नेपाल आउँदा त्यसको लागत थेग्नै नसकिने गरी बढ्न पुग्छ,’ उनले भने ।

उनका अनुसार पहिले प्रतिकिलो २ सय २५ रुपैयाँमा पाइने प्लास्टिक दानाको मूल्य अहिले २ सय ९० रुपैयाँ पुगेको छ । त्यसैगरी, अलि महँगो अर्थात् पहिले २ सय ८० रुपैयाँ पर्ने दानाको मूल्य अहिले बढेर ३ सय ५० रुपैयाँसम्म पुगेको छ ।

यतिमात्र नभई बोतल र जार प्याकिङ गर्न प्रयोग गरिने र्‍यापिङ प्लास्टिकमा पनि किलोकै ८० रुपैयाँ वृद्धि भएको छ । जुन पहिले २ सय ५० रुपैयाँ थियो भने अहिले ३ सय ३० रुपैयाँ पुगेको छ । यसरी हेर्दा कच्चापदार्थ लागतमा मात्रै करिब ४० प्रतिशतको वृद्धि देखिएको उनले बताए ।

काठमाडौंको माग र आपूर्ति

काठमाडौं उपत्यकामा मात्रै दैनिक ३ लाख थान जार र ४ लाख २० हजार लिटर बोतल पानीको माग छ । बजारमा १० लाखभन्दा बढी जार रहे पनि तिनका लागि आवश्यक पर्ने नयाँ बिर्को र सिल बनाउने कच्चापदार्थ सकिएकाले आपूर्ति प्रणालीमा जोखिम बढेको छ । दैनिक ३ लाख ५० हजार बिर्कोको माग पूरा गर्न सक्ने क्षमता अहिले उद्योगहरूसँग छैन ।

महासंघले अब परराष्ट्र मन्त्रालय मार्फत कूटनीतिक पहलका लागि ज्ञापनपत्र बुझाउने तयारी गरेको छ । उद्योगीहरूको स्पष्ट माग छ– कि त सरकारले कच्चापदार्थ आयातमा भन्सार र कर छुट दिएर उपभोक्तालाई सस्तोमा पानी खुवाउने वातावरण बनाउनुपर्छ, होइन भने उद्योग बचाउन ४० प्रतिशतसम्म मूल्य वृद्धि गर्न अनुमति दिनुपर्छ ।

नयाँ सरकार बनिरहेको समयमा मूल्य बढाउँदा असहयोग गरेको ठहर्ने भएकाले मात्र आफूहरूले अहिलेसम्म धैर्य गरेको लिम्बूले बताए ।

यदि कर छुट नदिने हो भने बजारमा पानीको मूल्य बढाउन अनुमति दिनुपर्ने उनको माग छ ।

‘हामीले २० रुपैयाँमा बेचिरहेको बोतललाई २५ रुपैयाँ वा २५ को वस्तुलाई ३०–३५ रुपैयाँ पुर्‍याउनुपर्ने बाध्यता हुन्छ,’ उनले भने, ‘तर, नयाँ सरकार गठन भइरहेका बेला मूल्य बढाउँदा असहयोग गरेको भन्ने पर्छ कि भन्ने डरले हामी पर्ख र हेरको अवस्थामा छौं ।’

काठमाडौं जिल्ला पानी उद्योग संघ अध्यक्ष गोकुल थापा पनि अबको १५ देखि २० दिनभित्र काठमाडौं उपत्यकामा खानेपानी आपूर्ति ठप्प हुन सक्ने बताउँछन् ।

अध्यक्ष थापाले विगत दुई–तीन महिनादेखि नै कच्चापदार्थ अभाव देखिन थालेको र अहिले आइपुग्दा ठप्प प्राय: भएको बताए ।

‘अहिले चीनमा मात्रै कच्चापदार्थको मूल्य प्रतिकिलो २ सय २० रुपैयाँ हाराहारी पुगिसकेको सुनिएको छ,’ थापाले भने, ‘त्यहाँबाट काठमाडौंसम्म आइपुग्दा यो झनै महँगो हुने देखिन्छ, एकातिर मूल्य बढ्नु र अर्कातिर सामान नै नआउनुले उद्योगहरू धराशायी बन्दैछन् ।’

उनले १५ देखि २० दिन अवधिभित्र नयाँ सामान आइपुगेन भने उपत्यकाका सबै पानी उद्योग बन्द हुने अवस्थामा पुग्ने बताए ।

उनका अनुसार काठमाडौं उपत्यकामा मात्रै बोतलको पानी उत्पादन गर्ने उद्योग ३० वटा सञ्चालनमा छन् । २० लिटरको जारको पानी उत्पादन गर्ने उद्योग करिब १ सय ५० वटा छन् ।

यो समस्या ७ वटै प्रदेशमा देखिएको थापाले बताए । देशभरि जम्मा ५ सय ८० हाराहारीमा पानी उद्योग सञ्चालनमा छन् ।

‘यो निकै गम्भीर अवस्था हो, यदि सरकारले छिट्टै व्यवस्थापनमा ध्यान दिएन भने जनताले पिउने पानीसमेत नपाउने स्थिति आउन सक्छ,’ थापाले भने ।

अहिले उद्योगीहरू कच्चापदार्थ सकिँदै जाँदा उत्पादन कटौती गर्न र उद्योग नै बन्द गर्नुपर्ने मानसिक दबाबमा छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
लेखक
ऋतु काफ्ले

काफ्ले अनलाइनखबरकाे बिजनेस ब्युराे संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?