+
+
Shares

सरकारको दाबी : ३० मिनेटमै आवेदन, भोलिपल्ट राहदानी

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ८ गते १८:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • परराष्ट्र मन्त्रालयले राहदानीका लागि ३० मिनेटभित्र आवेदन गर्न सकिने व्यवस्था मिलाएको दाबी गरेको छ।
  • राहदानी विभागले आवेदन दिएको भोलिपल्ट नै राहदानी जारी गर्ने व्यवस्था मिलाएको छ।
  • राहदानी विभागले 'मोफा मित्र' एप जेठ १२ गते सार्वजनिक गर्ने तयारी गरेको छ।

८ जेठ, काठमाडौं । परराष्ट्र मन्त्रालयले राहदानीका लागि ३० मिनेटभित्रै आवेदन गर्न सकिने व्यवस्था मिलाएको दाबी गरेको छ । आज पत्रकार सम्मेलन गर्दै मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले ३० मिनेटभित्र नै आवेदन गर्न सकिने व्यवस्था मिलाइएको दाबी गरे ।

हाल राहदानी सेवा सहज रहेको दाबी गर्दै मन्त्रालयले सेवाग्राहीलाई आफ्नो तोकिएको समयमा आवश्यक कागजातसहित उपस्थित हुन अनुरोध गरेको छ । कागजातसहित उपस्थित भएको ३० मिनेटभित्रमा आवेदन गर्न सकिने व्यवस्था मिलाइएको प्रवक्ता पौडेलले बताए ।

विभागमा आवेदन दिएको भोलिपल्ट नै राहदानी जारी हुने गरेको समेत उनले बताए । जिल्ला तथा इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगमा आवेदन दिएको ७ देखि १२ दिन भित्रमा राहदानी छपाइ गरी पठाउने व्यवस्था मिलाइएको उनको भनाइ छ । निजी ठेगानामा राहदानी ढुवानी गर्ने व्यवस्थाका लागि हुलाक सेवा विभागसँग समन्वय भइरहेको क्षेत्रीले बताए ।

राहदानी विभागमा नयाँ प्रणाली लागु गर्ने कार्य अन्तिम चरणमा रहेको जनाइएको छ । वर्तमान आपूर्तिकर्ताबाट प्राप्त कुल २ लाख ७ हजार ५ सय ९३ थान राहदानी र तीमध्ये २ लाख ७ सय ३७ थान साधारण राहदानी मौज्दात रहेको मन्त्रालयले जनाएको छ । आगामी पुस मसान्तसम्म राहदानी आवश्यक पर्ने सेवाग्राहीलाई सकभर जेठ मसान्तभित्रै राहदानी आवेदन दिन परराष्ट्रले अनुरोध गरेको छ ।

नयाँ आपूर्तिकर्ताले २ लाख ५० हजार थान राहदानी आपूर्ति गरेको, वैयक्तीकरणको परीक्षण उत्पादन सफलतापूर्वक सम्पन्न गरिएको समेत मन्त्रालयले जनाएको छ ।

राहदानी विभागले ‘मोफा मित्र’ एप ल्याउने तयारी गरेको छ । जेठ १२ गते परराष्ट्रमन्त्रीको उपस्थितिमा एप सार्वजनिक गर्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?