+
+
Shares

बाराका दुई विद्यालयमा मेकर स्पेस र टेक ल्याब स्थापना

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ८ गते २१:४४

८ जेठ,  काठमाडौं  । बाराका दुई विद्यालयमा मेकर स्पेस  र टेक ल्याबको  उद्घाटन गरिएका छन् । महागढीमाईस्थित भोला माध्यमिक विद्यालय र  जनसमुदायिक माध्यमिक विद्यालयमा स्थापित  मेकर स्पेस र टेक ल्याबलाई अन्तरक्रियात्मक सिकाइ केन्द्रका रूपमा विकास गरिएको हो ।

विद्यार्थीहरूले विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणित सम्बन्धी विषयहरू व्यवहारिक अभ्यासमार्फत सिक्न मिल्ने गरी कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोईका)को सहयोगमा सञ्चालित इन्स्पायर परियोजनाअन्तर्गत सेभ द चिल्ड्रेनले ल्याब स्थापना गरेको हो ।

‘यी स्थानहरूले विद्यार्थीहरूलाई विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणित सम्बन्धी विषयहरू डिजिटल सिकाइसँग प्रत्यक्ष रूपमा जोडिने अवसर दिन्छन्,’ कोईकाका निर्देशक  मुहयुन कोंगले भने,  ‘यसले उनीहरूलाई प्रविधिको प्रयोग र सिकाइ प्रक्रियामा डिजिटल उपकरणको भूमिका बुझ्न सहयोग गर्छ ।’

विद्यार्थी र प्रविधिसँग सम्बन्धित संस्थाहरूको सहभागितामा प्रविधि प्रदर्शन कार्यक्रमसमेत आयोजना गरिएको छ । कार्यक्रममा सरल रोबोटदेखि डिजिटल डिजाइनसम्मका विभिन्न व्यवहारिक परियोजनाहरू प्रदर्शन गरिएका थिए ।

अन्तरक्रियात्मक प्रविधि प्रदर्शन कार्यक्रममा सातवटा विद्यालयका सयौँ विद्यार्थीहरूले रोबोटिक्स एसोसिएसन अफ नेपाल, कारखाना समूह, स्मार्ट चेली लगायत संस्थासँग अन्तरक्रिया गरेका थिए ।

कार्यक्रममा रोबोट, सर्किट मोडेल, होलोग्राम कला, विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणित सम्बन्धी  सिकाइ किट र ड्रोन प्रदर्शन गरिनुका साथै विशेषज्ञहरूसँग सिकाइ आदानप्रदान सत्र पनि सञ्चालन गरिएको थियो ।

सेभ द चिल्ड्रेनका कार्यक्रम विकास, गुणस्तर तथा प्रभाव निर्देशक आयुष श्रेष्ठ जोशीले मेकर र टेक स्पेसले प्रविधि र नवीन सोचमार्फत बालबालिकालाई विद्यालय, घर, समुदाय र देशका चुनौतीहरूको समाधान खोज्न सक्षम बनाउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?