News Summary
Generated by OK AI. Editorially reviewed.- त्रिभुवन विश्वविद्यालयमा आर्थिक वर्ष २०८१/०८२ मा विद्यार्थी भर्ना दर ५.६१ प्रतिशतले बढेको महालेखाले उल्लेख गरेको छ।
- विदेशी देशको भिसा कडाइ र जेनजी आन्दोलनका कारण विद्यार्थीले नेपालमै पढ्न थालेको उपकुलपति डा. सुशील बज्राचार्यले बताउनुभयो।
- सरकारले आर्थिक वर्ष २०८१/०८२ मा त्रिभुवन विश्वविद्यालयलाई १८ अर्ब ९१ करोड ६६ लाख रुपैयाँ अनुदान दिएको छ।
८ जेठ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा विद्यार्थीको भर्ना संख्या बढेको छ । महालेखा परीक्षकको ६३ औँ प्रतिवेदनमा त्रिविमा विद्यार्थीको संख्या ५.६१ प्रतिशतले बढेको उल्लेख गरेको छ ।
आर्थिक वर्ष २०८०/०८१ को तुलनामा २०८१/०८२ मा विद्यार्थी भर्ना दर ५.६१ प्रतिशतले बढेको हो । आर्थिक वर्ष २०७९/८० को तुलनामा २०८०/०८१ मा कुल विद्यार्थी भर्नादर ९.५८ प्रतिशतले घटेको थियो ।
आर्थिक वर्ष २०७९/०८० मा ५ लाख ८७ हजार ७१९ विद्यार्थी रहेकोमा आर्थिक वर्ष २०८०/०८१ मा घटेर ५ लाख ३१ हजार ३९९ मा आइपुगेको थियो ।
आर्थिक वर्ष २०८१/ ०८२ मा ५ लाख ६१ हजार १७० पुगेको छ । यो भर्ना संख्या त्रिविको आंगिक र सम्बन्धन प्राप्त कलेजको समेत हो ।
व्यवस्थापन संकायमा धेरै विद्यार्थी
त्रिविमा सबैभन्दा धेरै विद्यार्थी व्यवस्थापन संकायमा छन् । त्रिविको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९/ ०८०, २०८०/०८१ र २०८१/०८२ मा विद्यार्थीको संख्या क्रमशः २ लाख ७०१२०, २ लाख ६८ हजार १२९ र २ लाख ९९ हजार ४१६ विद्यार्थी छन् ।
त्यसैगरी शिक्षाशास्त्र संकायमा क्रमशः १ लाख ११ हजार ६१५, ९७ हजार ९६६ र १ लाख ३३ हजार ५७० विद्यार्थी छन् ।
मानविकी संकायमा अघिल्लो वर्षको तुलनामा विद्यार्थीको संख्या घटेको छ । तीन आर्थिक वर्षको तुलना गर्दा यो संकायमा विद्यार्थीको संख्या घटेको देखिन्छ ।
आर्थिक वर्ष २०७९ / ०८०, २०८०/०८१ र २०८१/०८२ मा विद्यार्थीको संख्या क्रमशः ६४ हजार ३, ६८ हजार ३३२ र ५८ हजार ७३७ रहेको छ ।
कानुन संकायमा पनि विद्यार्थीको संख्या घटेको छ । तीन आर्थिक वर्षमा क्रमशः ५ हजार ६१८, ७ हजार ३८७ र २ हजार १७५ रहेको छ ।
इन्जिनियरिङ, कृषि र पशुविज्ञान र विज्ञान तथा प्रविधिमा विद्यार्थी भर्ना दर घटेको छ । इन्जिनियरिङमा तीन आर्थिक वर्षको विद्यार्थी भर्ना संख्या ७३ हजार २१९, ५६ हजार ३५० र ३२ हजार १०९ रहेको छ ।
त्यसैगरी कृषि र पशुविज्ञानको पनि तीन आर्थिक वर्षमा विद्यार्थी भर्ना संख्या ५ हजार २०७, ३ हजार २९० र ४५० रहेको छ । चिकित्साशास्त्रमा तीन आर्थिक वर्षमा विद्यार्थी भर्ना ९ हजार ७२५, ६ हजार ३९९ र ११ हजार ५०३ रहेको छ ।
वनविज्ञानमा २ हजार १४३, १ हजार १४५ र १ हजार २६० रहेको छ । विज्ञान तथा प्रविधिमा ४६ हजार ०६९, २२ हजार ४०१ र २१ हजार ९५० विद्यार्थी भर्ना भएका छन् ।
महालेखाले प्राविधिक क्षेत्रमा विद्यार्थी सङ्ख्या घट्न नदिन सुधारका उपाय तर्जुमा गरी कार्यान्वयन गर्न भनेको छ ।

तर, समग्रमा विद्यार्थी संख्या बढ्नुमा विदेशी कारण रहेको त्रिविको निष्कर्ष छ । अमेरिका, अष्ट्रेलियाले भिसामा कडाइ गरेका कारण पनि त्रिविमा विद्यार्थीको संख्या बढेको तर्क गर्छन् उपकुलपति प्राध्यापक डा. सुशील बज्राचार्य ।
‘विदेशी कारण हो । अमेरिका र अष्ट्रेलियाले भिसामा कडाइ गर्यो । युक्रेन युद्धले पनि हुनसक्छ । अमेरिका र इरानमा पनि त्यस्तै भयो,’ उपकुलपति बज्राचार्यले भने, ‘जसका कारण छात्रवृत्ति पनि कम भयो । विदेश जान विद्यार्थीले धेरै पैसा तिर्नु पर्ने भयो । विद्यार्थीले नेपालमै पढे ।’
जेनजी आन्दोलनका कारण पनि विद्यार्थी नेपालमै पढ्न थालेको बताउँछन् उपकुलपति बज्राचार्य । ‘जेनजी आन्दोलनपछि नयाँ सरकार बन्यो । नेपालमै आशा पलाएकाले पनि विद्यार्थीको संख्या बढेको छ,’ उनले भने ।
‘नेपालमै उच्च शिक्षा सुधारमा थप पहल गर्ने प्रतिबद्धता उपकुलपति बज्राचार्यको छ । सकारात्मक पहल गर्नुपर्छ । उच्च शिक्षामा कहाँ कहाँ सुधार गर्नुपर्ने हो त्यो त्रिविले गर्छ,’ उनले भने ।
पास हुने नतिजा पनि सुध्रियो
जनशक्ति उत्पादनमा पनि सुधार आएको छ । महालेखाको प्रतिवेदन अनुसार कुल जनशक्ति उत्पादन आर्थिक वर्ष २०७९/०८० मा ७९ हजार २२५, आर्थिक वर्ष २०८०/०८१ मा ७४ हजार १४९ र २०८१/०८२ मा ८९ हजार १९१ रहेको छ ।
अघिल्लो वर्षको तुलनामा क्रमशः २०८०/०८१ मा समग्रमा ६.४१ प्रतिशतले घटेकोमा २०८१/०८२ मा २०.२८ प्रतिशतले वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ ।
प्राविधिक तथा व्यावसायिक शिक्षातर्फ २०८०/०८१ मा चिकित्साशास्त्र र व्यवस्थापन, शिक्षाशास्त्र बाहेक सबै विभागमा जनशक्ति उत्पादनमा र्हास आएको छ ।
‘पछिल्लो वर्ष प्राविधिकतर्फको नतिजामा वन विज्ञान तथा साधारणतर्फको मानविकी, कानुन र व्यवस्थापन बाहेक अन्य संकायमा सकारात्मक नतिजा प्राप्त भएको छैन,’ महालेखाको प्रतिवेदनमा भनिएको छ ।
पछिल्लो वर्षको नतिजा समग्रमा औसत १६.८६ प्रतिशतले वृद्धि भएको छ । साधारणतर्फ व्यवस्थापन र मानविकीतर्फ २८.७१ देखि ३१.२७ प्रतिशतसम्म वृद्धि भएको छ ।
महालेखाले त्रिविमा लगानी बढाउन सुझाव दिएको छ । ‘जनशक्ति उत्पादनको दरमा सुधार गरी सरकारी लगानीको प्रभावकारिता वृद्धि गर्नुपर्ने देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ ।

सरकारले त्रिविलाई दिँदै आएको अनुदान रकम पनि बढाएको छ । आर्थिक वर्ष २०८१ / ०८२ मा १८ अर्ब ९१ करोड ६६ लाख रुपैयाँ अनुदान दिएको छ ।
अघिल्लो आर्थिक वर्षमा विश्वविद्यालयलाई सरकारले ११ अर्ब ६० करोड १० लाख रुपैयाँ दिएको थियो ।
सरकारी अनुदान र आन्तरिक आय गरी २९ अर्ब ३५ करोड २३ लाख ९७ हजार आय प्राप्त गरेकोमा २२ अर्ब १४ करोड १३ लाख ५५ हजार (७५.४३ प्रतिशत) खर्च गरेको छ । सो खर्चमध्ये सरकारको अनुदान ८५.४३ प्रतिशत छ ।
विश्वविद्यालयको कूल विद्यार्थी सङ्ख्या ५ लाख ६१ हजारसँग तुलना गर्दा प्रतिविद्यार्थी खर्च ३८ हजार १७० रहेको देखिन्छ ।
त्रिविको आन्तरिक आम्दानी १० अर्ब ४३ करोड ५८ लाख ८ हजार (४७.१३ प्रतिशत) रहेको छ । बाँकी ५२.८७ प्रतिशत सरकारको रकम हो ।
‘विश्वविद्यालयले आफ्नो आन्तरिक आम्दानी वृद्धि गरी सङ्घीय सरकारको निर्भरता घटाउँदै आयमा दिगोपना ल्याउनुपर्दछ,’ प्रतिवेदनमा भनिएको छ ।
त्रिविको ६४ वटा आंगिक क्याम्पस, ४४ वटा केन्द्रीय विभाग, अनुसन्धान केन्द्र डिन कार्यालय गरी १५७ वटा युनिट त्रिविका छन् । त्यसैगरी सामुदायिक र सम्बन्धन प्राप्त निजी कलेजको संख्या १ हजार ५३ वटा रहेको छ ।
महालेखाको प्रतिवेदन अनुसार विश्वविद्यालय र अन्तर्गत निकायमा शिक्षक ७ हजार ९३८ र कर्मचारी ८ हजार १२४ समेत १६ हजार ६२ दरबन्दी रहेकोमा क्रमशः ८ हजार १२२ र ७ हजार ३०३ समेत १५ हजार ४२५ स्थायी (अस्थायीसमेत) पदपूर्ति भएको देखिन्छ । विश्वविद्यालयमा शिक्षक र कर्मचारीको अनुपात ९:८ रहेको र कुल कार्यरत कर्मचारीमध्ये श्रेणीविहीन कर्मचारी ३९.११ प्रतिशत रहेको छ । केन्द्रीय निकाय र क्याम्पसहरूको दरबन्दीमा पुनरावलोकन हुनुपर्ने प्रतिवेदमा औंल्याइएको छ ।
प्रतिक्रिया 4