१० जेठ, रोल्पा । रोल्पाका नागरिकले पहिलोपटक जिल्लामै चलचित्र हेर्न पाएका छन् । जेठ ८ गतेदेखि देशव्यापी रूपमा प्रदर्शनमा आएको चलचित्र ‘मितज्य” रोल्पामा प्रदर्शन हुने पहिलो चलचित्र बनेको छ । जिल्ला सदरमुकाम लिबाङमा चलचित्र प्रदर्शन गरिएको हो ।
रोल्पामा अहिलेसम्म पनि चलचित्र हल छैन । तर, सन स्टार युवा क्लबको समन्वयमा शुक्रबारदेखि लिबाङमा पहिलोपटक अस्थायी हल तयार पारेर चलचित्र प्रदर्शन गरिएको हो । रोल्पा नगरपालिका-४ टुडिखेलमा रहेको जिल्ला समन्वय समितिको हलमा ‘मितज्यू’ प्रदर्शन गरिएको हो ।
रोल्पामा यो नै पहिलो चलचित्र प्रदर्शन भएको सन स्टार युवा क्लबका सचिव तेकेन्द्र सेनले बताए । ‘हामीले रोल्पामा पहिलोपटक प्रोजेक्टमार्फत चलचित्र ‘मितज्यू’ प्रदर्शन गरेका छौं’, सचिव सेनले थपे, ‘रोल्पामा मितज्यू चलचित्रको प्रदर्शन अवधि २२ जेठसम्म रहेछ र दर्शकहरुको माग बढेमा प्रदर्शन अवधि थप्न सकिन्छ ।’
रोल्पामा चलचित्र प्रदर्शनका लागि समयसमेत निर्धारण गरिएको छ । बिहान ८ बजेदेखि ११ बजे, मध्याह्न १२ बजेदेखि दिउँसो ३ बजेसम्म र अपराह्न ४ बजेदेखि साझ ७ बजे समय तोकिएको छ ।
चलचित्र प्रदर्शन भएको पहिलो र दोस्रो दिन दर्शकको उल्लेख्य उपस्थिति रहेको छ । पहिलोपटक जिल्लामै चलचित्र प्रदर्शन भएपछि हेर्न जानेको संख्या उल्लेखनीय छ ।
पहिले रोल्पाका नागरिक चलचित्र हेर्न दाङको घोराही, तुल्सिपुर, बुटवल र नेपालगञ्ज पुग्ने गर्दछन् । १० दिन दाङ र २० दिन रोल्पाको सुलीचौर, सातदोबाटो र जेलबाङमा छायाङ्कन गरिएको थियो ।
निर्माता जनक घर्तीमगरको ‘मितज्यू’ दोस्रो प्रोजेक्ट हो । यसअघि उनले ‘घरज्वाइँ’ बनाएका थिए । सोही फिल्ममा निर्देशकीय सहकार्य गरेका अनिल बुढामगरले नै ‘मितज्यू’को निर्देशन गरेका छन् ।
चलचित्र ग्रामीण भेगमा चल्ने जिप चालकको कथावस्तुमा आधारित छ । शान्ति प्रक्रियापछिको रोल्पाको जनजीविकालगायतका विषय फिल्ममा चित्रण गरिएको छ ।
चलचित्र करिब ७५ प्रतिशत रोल्पाकै भूभागमा छायांकन गरिएको छ भने २५ प्रतिशत दाङको भूभागमा चलचित्र छायांकन गरिएको छ । जसले गर्दा रोल्पाली नागरिकहरुको आफ्नो गाउँठाउँमा निर्माण भएको चलचित्र हेर्नुपर्छ भन्ने बुझाइ रहेको छ ।
प्रतिक्रिया 4