+
+
Shares

मेस्सीको शरीरमा छन् १८ बढी ट्याटु, कुन किन खोपाए ?

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १४ गते १५:०४

फुटबलका कारण लियोनल मेस्सी जति चिनिएका छन्, सायद एउटा निश्चित वर्गमा सही, उनी ट्याटुका कारण पनि चिनिएका छन् । ३८ वर्षको उमेरमा हिँडिरहेका उनको शरीरमा आज १८ वटा फरक–फरक ट्याटु छन् ।

विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार उलने हरेक ट्याटु एउटा खास कारण खोपेका हुन् । यसैले ती ट्याटुहरू उनको जीवनको डायरी भएको बताउने पनि धेरै छन् । उनले परिवार, आस्था, फुटबल, प्रेम आदिको सम्झनामा ट्याटु खोपाएका छन् ।

सन् २०१० मा उनले सबैभन्दा पहिले ट्याटु खोपाएका हुन् ।

त्यसबेला उनी बार्सिलोनामा थिए । मौसम गर्मीको थियो । मेस्सीले बायाँ काँधको पछाडि आमा सेलिया मारिया कुचितिनीको पोट्रेट खोपाएका थिए । पोर्ट्रेटमा सेलिया मुस्कुराइरहेको देखिन्छ ।

यो ट्याटु उनले आमाको सम्मानमा खोपाएका थिए । किनकि उनै आमाले मेस्सीलाई आर्थिक कठिनाइका बाबजुद फुटबल सपना पूरा गर्न बार्सिलोना पठाएकी थिइन् ।

ट्याटुहरू खोपाए पनि मेस्सीले कहिल्यै पनि यीबारे केही भनेनन् । ट्याटुबारे उनी शान्त रहे, जसरी मैदानमा हरदम शान्त हुन्छन् । तर उनका ट्याटुहरू हेरेर धेरै कुरा थाहा पाउन सकिन्छ ।

 

आमाको पोर्ट्रेटपछि दोस्रो ठूलो ट्याटु उनले सन् २०१२ मा हाने । पहिलो छोरा थियागो जन्मिएपछि उनले बायाँ खुट्टाको पछाडि भागमा थियागोको हातको निशान खोपाए । यो ट्याटु खोप्दा सुरुमा हातको निशान मात्र थियो । तर, केहीले यसलाई म्याराडोनाको ‘ह्यान्ड अफ गड’सँग जोडिदिए ।

त्यसपछि मेस्सीले थियागोको नाम थपेर ‘मेरो छोराको हो’ भन्ने सन्देश दिए।

दोस्रो छोरा माटियो जन्मिएपछि उनले यो नाम थपे । सन् २०१८ मा तेस्रो छोरा सिरो जन्मिएपछि उनले दायाँ खुट्टाको घुँडामाथि तीनै छोराको नाम र जन्म मिति खोपाए ।

मेस्सीको प्रेमिका/श्रीमती एन्टोनिला रोकुजाको नाम पनि त्यहीँ छ । मेस्सीले एन्टोनिलाको ओठ, आँखा र क्राउनको ट्याटु पनि खोपाएका छन् । त्यस्तै एन्टोनिलाले पनि दायाँ बाइसेप्समा क्राउन खोपाएकी छिन् । यो उनीहरूको साझा प्रेमको प्रतीक बनेको देखिन्छ ।

त्यस्तै ट्याटुमार्फत मेस्सी आस्थावान र आध्यात्मिक पनि देखिएका छन् । उनले दायाँ काँधमा येशुको ट्याटु हानेका छन् । बार्सिलोनाको प्रसिद्ध सागराडा फ्यामिलिया चर्चको रोज विण्डोको ट्याटु पनि उनले दायाँ कुहिनामा हानेका छन् । कमलको फूलको ट्याटु पनि छ उनको शरीरमा ।

कमल कठिन परिस्थितिमा पनि फुल्ने क्षमता भएको फूल हो । मेस्सी पनि बाल्यकालको रोग र आलोचनालाई पार गरेर आएका थिए । मेस्सीले घडी र कोगको ट्याटु पनि हानेका छन् । यसले समयको महत्व र जीवनको गतिलाई सम्झाउने बताइन्छ ।

फुटबलप्रतिको समर्पण मेस्सीको बायाँ खुट्टामा देखिन्छ । त्यो भाग उनको करियरको क्यानभास जस्तै छ । त्यहाँ फुटबल बलको ट्याटु छ, नम्बर १० (उनको जर्सी नम्बर), र बार्सिलोना क्लबको क्रेस्ट छ । तर खुट्टाको तल्लो भागमा ठूलो ब्ल्याक इंक छ, जसले पुराना ट्याटु (स्वर्ड, एन्जेल विङ्स, रोज) लाई कभर गरेको छ ।

किन खोपाए मेस्सीले ट्याटु ?

विश्व स्टार बन्दै जाँदा नै मेस्सीले ट्याटु खोपाउन थालेका थिए । सन् २०१० देखि यताको समयमा मेस्सीलाई हेर्ने हो भने हरेक वर्ष उनका शरीरमा ट्याटुहरू थपिँदै गएको देखिन्छ । विशेष समय र सम्झनामा उनले ट्याटु खोपाएका छन् । अहिलेसम्म उनले कुनै ब्रान्ड प्रमोशन गर्न, फेसन गर्न ट्याटु खोपाएका छैनन् ।

प्राय: खेलाडीहरूले ट्याटु खोपाउनु सामान्य हो ।सम्भवत: मेस्सीले पनि आफ्नो यात्रालाई बारम्बार सम्झिरहन ट्याटु खोपाएका हुन सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?