News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकी प्राध्यापक फ्रान्सिस फुकुयामाद्वारा लिखित पुस्तकले आधुनिक उदारवादी लोकतन्त्रले सामना गरिरहेका विविध चुनौतीहरूको विश्लेषण गरेको छ ।
- नवउदारवादले बजारलाई अत्यधिक स्वतन्त्रता दिंदा सामाजिक असमानता बढेको र यसले उदारवादको मूल मर्ममा प्रहार गरेको पुस्तकमा उल्लेख छ ।
- लेखक फुकुयामाले उदारवादको अर्को विकल्प नभएकाले यसका कमीकमजोरी सुधार्दै मध्यमार्गी बाटो अपनाउनुपर्ने सुझाव दिनुभएको छ ।
‘उदारवाद र त्यसका असन्तुष्टिहरू’ (लिबरलिज्म एन्ड इट्स डिसकन्टेन्ट्स) नामक विश्वप्रसिद्ध पुस्तकका लेखक अमेरिकी नागरिक तथा प्राध्यापक फ्रान्सिस फुकुयामा हुन्। उनी लोकतन्त्र, उदारवाद, राजनीति तथा अन्तर्राष्ट्रिय सम्बन्ध सम्बन्धी अध्ययन र लेखनका लागि प्रख्यात छन्। यो पुस्तक उनले सन् २०२२ मा प्रकाशित गरेका हुन्। पुस्तकमा फुकुयामाले आधुनिक उदारवादी लोकतन्त्र र यसले सामना गरिरहेका दायाँ र बायाँ तथा आन्तरिक र बाह्य चुनौतीको विश्लेषण गरेका छन्।
यसमा उनले ‘द एन्ड अफ हिस्ट्री- १९९२’ मा उल्लिखित विचार र दृष्टिकोणभन्दा फरक र आधुनिक तर्क राख्दै, ‘उदारवाद आफू स्वयंको अतिवादका कारण सङ्कटमा परेको हुँदा त्यसप्रतिको असन्तुलन सिर्जना भएको’ विचार व्यक्त गरेका छन्। सानो सरकार, कानूनी शासन, व्यक्तिगत र बजार स्वतन्त्रता तथा समान अवसरमा आधारित शास्त्रीय उदारवादको उनले बचाउ गरेका छन्। उनी बायाँ र दायाँ (लेफ्ट एण्ड राइट) दुवैतर्फबाट उदारवादका मूल्य, मान्यता र सिद्धान्तमाथि गलत र भ्रामक व्याख्या भएको हुँदा यसप्रतिको असन्तुष्टि सिर्जना भएको ठान्दछन्।
बायाँ पक्षले व्यक्तिगत स्वतन्त्रताभन्दा समूहगत एकता र पहिचानलाई जोड दिने, जातीय, लैङ्गिक, भाषिक जस्ता समूहहरूमा विभाजन र व्यक्तिगत स्वतन्त्रतालाई नियन्त्रण गर्ने गर्दछन्। त्यसैगरी दायाँ पक्षले व्यक्तिगत र आर्थिक स्वतन्त्रतालाई निरपेक्ष बनाउने कार्यमा जोड दिने गरेको हुँदा सन् २००८ को सबप्राइम मोर्टगेज जस्तो वित्तीय सङ्कट सिर्जना भएको उनी ठान्दछन्।
उदारवादका अन्य मुख्य चुनौतीमा उनले पपुलिज्म र प्रविधि वा सामाजिक सञ्जाललाई औंल्याएका छन्। पपुलिज्म आफैंमा एउटा राजनीतिक समस्या हो भन्दछन् भने प्रविधि वा सामाजिक सञ्जालले राजनीतिक ध्रुवीकरण बढाउने, गलत र भ्रामक सूचना फैलाएर लोकतन्त्रलाई कमजोर बनाउने तर्क गरेका छन्। उनका अनुसार उदारवादलाई त्याग्न नसकिने हुँदा मध्यमार्गी (मोडरेट) बनाउनुपर्ने तर्क गरेका छन्। जसका लागि लोकतन्त्र, कानूनी शासन र व्यक्तिगत स्वतन्त्रतालाई सुनिश्चित, विविधतालाई सम्बोधन गर्ने गरी एकल पहिचानको सट्टा नागरिक वा साझा राष्ट्रिय पहिचानको भावनालाई आत्मसात् गर्ने र अनियन्त्रित उदारवाद र सामाजिक अतिवादलाई नियन्त्रण गर्नुपर्ने जस्ता सुझाव प्रस्तुत गरेका छन्।
यस पुस्तकमा फुकुयामाको निष्कर्ष छ- उदारवाद सबैभन्दा उत्तम शासन व्यवस्था हो, तर यसलाई सुधार गर्नका लागि विगतका कमी–कमजोरी तथा असफलताहरूलाई सुधार्दै मध्यमार्गी बाटो अपनाउनुपर्छ ।
अर्थात्, उदारवाद सङ्कटमा भए पनि अझै आवश्यक छ भन्ने सन्देश लेखकको छ। तसर्थ, यस पुस्तकले उदारवादको महत्त्व औंल्याउने, कमजोरीहरूलाई उजागर गर्ने र सुधारको बाटो देखाउने काम गर्दछ। लेखकले १० वटा शीर्षकमा विषयवस्तुसँग सम्बन्धित सामग्रीहरू उल्लेख गरेका छन्, जसको सारसङ्क्षेप देहायबमोजिम रहेको छ:
१. शास्त्रीय उदारवाद भनेको के हो ?
फुकुयामाले यस भागमा ‘उदारवादलाई परिभाषित गर्ने केही व्यापक विशेषताहरू हुन्छन् जसले यसलाई अन्य सिद्धान्त र राजनीतिक प्रणालीबाट फरक बनाउँछ’ भन्ने जोन ग्रेको भनाइ राख्दै विषय प्रवेश गरेका छन्। यस खण्डमा फुकुयामाले क्लासिकल लिबरलिज्मको सटिक व्याख्या गरेका छन्। उनका अनुसार वैयक्तिक अधिकार र स्वतन्त्रतालाई केन्द्रभागमा राख्ने विचारधारा नै उदारवाद हो। राज्यले शान्तिसुरक्षा प्रदान गर्ने, कानून बनाउने र न्याय सम्पादन गर्ने जस्ता कार्यहरू गर्नुपर्दछ। सरकारको भूमिका सीमित हुनुपर्छ। नागरिकहरूमाथि अधिक नियन्त्रण गर्नुहुँदैन। सबै नागरिक कानूनका अगाडि समान हुनुपर्छ। विविधता बीचमा एकता कायम गर्नुपर्छ, जसले समाजमा शान्तिपूर्ण सहअस्तित्व कायम गर्नुका साथै स्थायित्व ल्याउन सघाउ पुर्याउँछ। शास्त्रीय उदारवादको जग भने जोन लकको व्यक्तिगत स्वतन्त्रता सहितको अधिकार र आदम स्मिथको स्वतन्त्र बजार सम्बन्धी अवधारणाले बसाएको हो। फुकुयामा उदारवादलाई आधुनिक लोकतान्त्रिक समाजको महत्त्वपूर्ण आधारस्तम्भ मान्दछन्।
२. उदारवाद नवउदारवादतर्फ परिवर्तन
यस भागमा उदारवाद (शास्त्रीय) कसरी रूपान्तरण हुँदै नवउदारवाद (नियो लिबरलिज्म) मा पुग्यो भन्ने व्याख्या गरिएको छ। अर्थशास्त्री फ्रेडरिक हायकद्वारा प्रस्तुत स्वतन्त्र बजार, व्यक्तिगत स्वतन्त्रता र सीमित सरकारको अवधारणा र मिल्टन फ्रिडम्यानले बजार स्वतन्त्रताको पक्षपोषण गर्दै सोहीअनुरूपको मौद्रिक नीति हुनुपर्ने वकालत गरेर शास्त्रीय उदारवादलाई आधुनिक रूप दिए। यही विचारबाट प्रभावित भएर सन् १९८० को दशकमा रोनाल्ड रेगन र मार्गरेट थ्याचरले व्यवहारमा लागू गरेर विश्वव्यापी बनाए। सरकारको भूमिका र आकारलाई सानो बनाउने, बजारको स्वतन्त्रता बढाउने, निजीकरणलाई प्राथमिकता दिने, कर घटाउने, प्रतिस्पर्धा बढाउने, निजी क्षेत्रलाई प्राथमिकता दिने जस्ता नीतिहरू अख्तियार गर्न पुगे।
त्यसताका सन् १९७० को आर्थिक सङ्कटको मूलकारण ठूलो र कमजोर प्रभाव भएको सरकारका कारणले गर्दा भएको हो, तसर्थ सरकारभन्दा बजार राम्रो हो भन्ने सोचको विकास भएको थियो। फुकुयामाका अनुसार उदारवादले स्वतन्त्रता र सीमित सरकारलाई सन्तुलनमा राख्दथ्यो। तर, उल्लिखित विशेषता बोकेको नवउदारवादको जब विकास भयो, यसले सरकारको भूमिकालाई घटाएर बजारलाई अत्यधिक स्वतन्त्रता दियो। परिणामस्वरुप प्रतिस्पर्धा, निजीकरण र आर्थिक वृद्धि बढे तापनि यसले सामाजिक असमानता बढायो। सामाजिक सुरक्षा कमजोर बन्न पुग्यो। गरिब र मध्यमवर्ग बढी प्रभावित हुनपुगे। नवउदारवादलाई पूँजीवादको पर्यायवाचीका रूपमा बुझ्ने र भन्ने गर्न थालियो। यसरी नवउदारवादले उदारवादको मूल मर्ममाथि प्रहार गरेकाले उदारवादप्रतिको असन्तुष्टि सिर्जना हुनपुग्यो। फुकुयामाले सरकार र बजारका बीचमा सन्तुलित भूमिका हुनुपर्नेमा जोड दिएका छन्।
३. स्वार्थी व्यक्ति
लेखकले यस भागमा नवउदारवादको प्रमुख विशेषताका रूपमा रहेको अत्यधिक व्यक्तिगत स्वतन्त्रताले मानिसलाई कसरी स्वार्थी बनाउँदै लैजान्छ र यसले सामाजिक सम्बन्धलाई कसरी कमजोर बनाउँदछ भन्ने जस्ता विषयमा व्याख्या गरेका छन्। अधिक व्यक्तिगत स्वतन्त्रताले व्यक्तिले आफ्नो इच्छालाई मात्र सर्वोपरि ठान्न थाल्छ। जसका कारण सामाजिक मूल्यमान्यता, परम्परा र सामूहिक जिम्मेवारी कमजोर बन्न पुग्छ। अन्ततः अधिक स्वतन्त्र व्यक्ति क्रमशः स्वार्थीमा रूपान्तरण हुन्छ। नवउदारवादले बजारलाई अधिक स्वतन्त्रता दिनका लागि राज्यको भूमिकालाई सङ्कुचन गरायो। उपभोक्ताको हितलाई केन्द्रभागमा राख्यो। यसरी मानिस फाइदामुखी बन्दै सामाजिक उत्तरदायित्वबाट पन्छिन थाल्यो। नैतिकतालाई तिलाञ्जली दिंदै आफ्नो स्वार्थअनुरूप चल्न थाल्यो।
दार्शनिक रुसोका अनुसार ‘मानिस स्वतन्त्र जन्मिन्छ तर पछि उसलाई समाजले बाँध्छ’ भन्ने भनाइ नै असमञ्जस्यतामा पर्यो। यस्तो प्रवृत्तिले समाजमा सामाजिक एकता र सहकार्य कमजोर बन्न पुग्यो। आर्थिक असमानता बढ्यो। पहिचानवादी चिन्तनले सामाजिक द्वन्द्व सिर्जना भयो। व्यक्तिगत स्वतन्त्रता आवश्यक छ तर अधिक स्वतन्त्रता खतरनाक हुन्छ। तसर्थ संयम आवश्यक छ। व्यक्तिगत अधिकार र सामाजिक जिम्मेवारीमा सन्तुलन कायम गर्नुपर्छ। अन्यथा यसले समाज, लोकतन्त्र र एकतालाई कमजोर बनाउँछ।
४. स्वयं सार्वभौम
‘स्वयं सार्वभौम’ भन्नाले आफ्नो जीवनको पूर्ण नियन्त्रण आफैंमा राख्ने व्यक्तिलाई जनाउँछ। अर्थात् हरेक व्यक्ति आफैं आफ्नो जीवनको पूर्ण वा सार्वभौम मालिक हो। उसले आफ्नो मूल्यमान्यता, पहिचान, नैतिकता आफैं बनाउने अधिकार स्वतन्त्रता राख्दछ। व्यक्तिको पूर्ण स्वतन्त्रता उदारवादको महत्त्वपूर्ण विशेषता र समस्या पनि हो। फुकुयामाका अनुसार आधुनिक नवउदारवादी समाजमा ‘स्वयं वा आफैं’ भन्ने भावनाको विकास भयो। जसले मानिसलाई स्वअधिकार र पहिचानमुखी बनायो। आफूलाई सर्वश्रेष्ठ ठान्न थाल्यो।
यही विचार, स्वभाव, प्रवृत्तिलाई लेखकले ‘स्वयं सार्वभौम’ भनेका छन्। यसरी मानिसले आफ्नो बारेमा मात्र सोच्न र काम गर्न थाल्यो भने पारिवारिक, सामाजिक र राष्ट्रिय भावना कमजोर बन्दै जान्छ। सामाजिक उत्तरदायित्व हराएर जान्छ। सामाजिक द्वन्द्व बढ्दछ। खासगरी दार्शनिक रुसोले भित्री भावनालाई महत्त्व दिएका थिए भने कान्टले वैयक्तिक स्वतन्त्रतालाई। यिनै भावनाहरूको विकसित रूप नै आज स्वयं सार्वभौम बन्न पुगेको छ। फुकुयामाका अनुसार व्यक्तिगत स्वतन्त्रता र सामाजिक जिम्मेवारी बीच सन्तुलन आवश्यक छ।
५. उदारवाद आफैंमाथि फर्किन्छ
यस भागमा फुकुयामाले उदारवादलाई बाहिरी वा वातावरणीय प्रभावले मात्र नभएर उदारवादभित्रकै विचार र प्रवृत्तिले कमजोर बनाउँदै लैजाने तर्क गरेका छन्। एकातर्फ बायाँ पक्षले प्रहार गर्छ भने अर्कातर्फ उदारवाद स्वयंले सिर्जना गरेका अधिक व्यक्तिगत स्वतन्त्रता र उत्तरदारवादी विचारले चुनौती दिनेछ।
यही प्रवृत्तिलाई लेखकले ‘उदारवाद आफैंमाथि फर्किन्छ वा खनिन्छ’ भनेका छन्। क्रमशः ध्रुवीकरण बढ्दै जान्छ। दायाँ-बायाँको प्रभावका साथै उदारवादीहरू प्रहारको निशाना बन्दछन्। यसरी उदारवादको समस्या उदारवादकै विकृत वा चरम रूप बन्दछ। तसर्थ उदारवाद मध्यमार्गी बन्नुपर्छ। व्यक्ति र समाजका बीचमा सन्तुलन हुनुपर्छ।
६. तर्कप्रति आलोचना
फुकुयामाका अनुसार उदारवादको एउटा पिल्लर तर्क हो। तर आधुनिक समयमा तर्क (Reason) माथि चुनौती खडा हुने गरेको छ। जसले उदारवादको जगमा कम्पन ल्याएको छ। तर्कले सत्य पत्ता लगाउने र निर्णयमा पुग्ने गरिन्छ भने बहसले सही निष्कर्षमा पुगिन्छ, जसले लोकतन्त्र, कानुन र विज्ञानलाई अघि बढाउँदछ। उत्तर-उदारवादमा मानिसले सोच्ने तर्क पनि निष्पक्ष हुँदैन। सत्य भनेको शक्तिशालीहरूले बनाएको विषय मात्र हो।
शक्तिमा केन्द्रित सोचले सत्यलाई निश्चित मान्दैन, केवल व्याख्या मात्र ठान्दछ। जसले समाजलाई विभाजित गर्छ, लोकतन्त्रलाई कमजोर बनाउँछ। तर्कमा मात्र विश्वास गर्दा नीतिनियम, कानुन बनाउन र सत्य र गलत छुट्याउन गाह्रो हुन्छ। यसरी आधुनिक समाजमा तर्कमाथि भइरहेको प्रहारले अन्ततः उदारवादलाई कमजोर बनाउँछ। परिणामस्वरुप लोकतन्त्र र उदारवाद दुवै सङ्कटमा पर्न सक्छन्।
७. प्रविधि, गोपनीयता र स्वतन्त्र अभिव्यक्ति
यस भागमा लेखकले आधुनिक युगमा प्रविधिले उदारवादलाई कसरी प्रभाव पारेको छ भन्ने विषयमा व्याख्या गरेका छन्। आधुनिक युगमा प्रविधि, गोपनीयता र स्वतन्त्र अभिव्यक्तिले समाजलाई प्रत्यक्ष रूपमा प्रभाव पारेको छ। प्रविधिले एकातर्फ सूचनामा पहुँच बढाउने, हरेकको धारणा व्यक्त गर्ने प्लेटफर्म दिने भएकाले लोकतन्त्रलाई बलियो बनाएको छ। अर्कातर्फ समाजलाई इको चेम्बरमा विभाजित गर्न, गलत र भ्रामक सूचना फैलाउन, कर्पोरेट कम्पनीहरूले शक्ति अभ्यास गर्ने जस्ता नकारात्मक प्रभाव पारेको छ।
डिजिटल युगमा गोपनीयताको सुनिश्चितता गर्न गाह्रो हुन्छ। सङ्कलित डाटाहरूमा सरकारी निगरानी बढ्ने हुँदा व्यक्तिको निजी जीवन कमजोर बन्दछ। फुकुयामाका अनुसार गोपनीयता समाप्त भयो भने वैयक्तिक स्वतन्त्रता पनि कमजोर बन्छ। उदारवादको महत्त्वपूर्ण विशेषताका रूपमा रहेको अभिव्यक्ति स्वतन्त्रतामाथि सरकारले मिडियालाई नियन्त्रण गरेर कुण्ठित बनाउन सक्छ। आलोचनालाई दमन गर्न सक्छ।
सामाजिक सञ्जालमाथि नै नियन्त्रण गरेर अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप गर्न सक्छ। प्रविधिको विकासले राज्यसँग भएको शक्तिको केही भाग मिडिया हाउसमा पनि सरेको हुन्छ। जसले सामाजिक ध्रुवीकरण बढाउनुका साथै तार्किक बहसलाई पनि कमजोर बनाउँदछ। यसरी उदारवादको त्रिखम्बाका रूपमा रहेको गोपनीयताको सुनिश्चितता, व्यक्तिगत स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतालाई प्रविधिले चुनौती दिएको छ। यसरी प्रविधिले पनि उदारवादलाई नयाँ ढङ्गले सङ्कटपूर्ण दबाब सिर्जना गरेको छ।
८. यसको विकल्प के ?
उदारवाद समस्याग्रस्त छ भने यसको अझ राम्रो विकल्प छ ? यस भागमा लेखकले यो मूलभूत तर्कमाथि वैकल्पिक विचारहरूको विश्लेषण गरेर किन उदारवाद अझै पनि सबैभन्दा उपयुक्त प्रणाली हो भन्ने प्रस्ट पार्न खोजेका छन्। प्रविधिले ल्याएको समस्या, बायाँ पक्षधरहरूको प्रहार तथा बढ्दो सामाजिक असमानताले ‘अब उदारवाद असफल भयो’ भन्ने जस्ता सवाल उठाइएको छ।
फुकुयामाका अनुसार अधिनायकवादी शासन व्यवस्था भएका मुलुकहरूमा राज्य शक्तिशाली, निर्णय प्रक्रिया छिटो छ। तर यो वैयक्तिक स्वतन्त्रता विरुद्धमा छ। राष्ट्रवादी शासन व्यवस्था (हिटलरद्वारा सञ्चालित) मा आफ्नो पहिचानलाई मात्र श्रेष्ठ ठान्ने प्रवृत्ति हुने भएको हुँदा समाज विभाजित हुन्छ। सहकार्य कमजोर हुन्छ। द्वन्द्व निरन्तर हुन्छ।
लोकतन्त्र नाममात्रको निरीह बन्छ। प्रियतावादी हावी भएको राष्ट्रमा आफूलाई मात्र जनताको साँचो प्रतिनिधि ठान्ने प्रवृत्तिले कानूनी शासन, संस्थागत संरचना र स्वतन्त्रतालाई कमजोर बनाउँदछ। लोकतन्त्रको नाममा अधिनायकवाद जन्मने खतरा हुन्छ। समाजवादी राष्ट्रहरूमा अर्थतन्त्रमाथि राज्यको नियन्त्रण हुन्छ भने एकदलीय शासन व्यवस्था हुन्छ।
यी विश्लेषणहरूको आधारमा फुकुयामा के निष्कर्षमा पुगेका छन् भने कुनै पनि प्रणाली आखिर पूर्ण रहेनछ। त्यसकारण उदारवादमा समस्याहरू छन् तर यसको विकल्प भने अझ कमजोर मात्र छ। व्यक्तिगत स्वतन्त्रता, कानूनी शासन, जवाफदेहीपूर्ण लोकतान्त्रिक सरकार उदारवादमा हुने भएको हुँदा यसको आवश्यकता अझै रहेको छ। उदारवाद पूर्ण छैन तर अहिलेसम्मको सबैभन्दा राम्रो प्रणाली हो। उदारवादलाई त्याग्ने होइन सुधार गर्नुपर्छ।
९. राष्ट्रिय पहिचान
यस भागमा आधुनिक उदारवाद र राष्ट्रको पहिचान बीचको सम्बन्धलाई विश्लेषण गरिएको छ। कुनै देशका नागरिकहरू बीचमा हुने साझा भाषा, इतिहास, संस्कृति, मूल्यमान्यता तथा संस्थागत विश्वास नै राष्ट्रिय पहिचान हो। जसले ‘हामी को हौं ?’ भन्ने सवालको जवाफ दिन्छ। उदारवादले व्यक्तिको स्वतन्त्रता, समानता र अधिकारलाई प्राथमिकता दिन्छ।
तर फुकुयामाका अनुसार समाज अस्तित्वमा रहन सामूहिक पहिचानको पनि आवश्यक हुन्छ, व्यक्तिगत स्वतन्त्रता मात्र पर्याप्त हुँदैन। राष्ट्रिय पहिचान कमजोर भयो भने राजनीतिक अस्थिरता बढ्छ। सामाजिक विश्वास घट्छ। अन्ततः समाज विभाजित बन्छ।
राष्ट्रिय एकताका लागि राज्यका अङ्गहरूमाथि आस्था र विश्वास हुनुपर्छ। नागरिकहरू बीचमा पारस्परिक विश्वास हुनुपर्छ। सबै नागरिकले आफूलाई राष्ट्रको एउटा अङ्ग ठान्नुपर्छ। यसले लोकतन्त्रलाई सुदृढ बनाउँदछ। सामाजिक द्वन्द्व न्यूनीकरण हुन्छ।
राजनीतिक स्थायित्व र आर्थिक वृद्धि हुन्छ। आधुनिक समाजका धेरै देशले बहुसांस्कृतिक समाज बोकेका छन्। फुकुयामाका अनुसार आधुनिक राजनीति जाति, भाषा, धर्म, लिङ्गजस्ता सामूहिक पहिचानका आधारमा भइरहेको छ। मानिसहरूमा ‘हामीहरू’ र ‘उनीहरू’ भन्ने भावनाको विकास हुँदै गएको छ।
यसले राष्ट्रिय एकतालाई कमजोर बनाउँदछ। जसका लागि समावेशी राष्ट्रिय पहिचान कायम गर्न सबैको प्रतिनिधित्वलाई सुनिश्चित गरिनुपर्छ। अर्थात् उदारवाद कायम रहनका लागि सुदृढ राष्ट्रिय पहिचान आवश्यक छ, तर यो समावेशी हुनुपर्छ, विभाजनकारी होइन।
१०. उदारवादी समाजका सिद्धान्तहरू
यस भागमा लेखकले आधुनिक युगमा उदारवादी समाजलाई कायम राख्न, अझ सन्तुलित बनाउन र प्रभावकारी बनाउन कसरी सकिन्छ भन्ने सवालमा केही ठोस सिद्धान्त प्रस्तुत गरेका छन्। यो भाग पुस्तकको सारांश र निष्कर्ष जस्तै रहेको छ। आधुनिक उदारवादी समाजमा व्यक्तिगत स्वतन्त्रतालाई प्रमुख विशेषताका रूपमा लिएको पाइन्छ। तर स्वतन्त्रता सीमाविहीन हुन सक्दैन। नियम, नैतिकता र सामाजिक दायित्वको बन्धन हुनुपर्छ।
उदारवादको अर्को महत्त्वपूर्ण विशेषता कानूनी शासन हो। सबै नागरिक कानूनका अगाडि बराबर हुन्छन्। कानूनभन्दा माथि कोही हुँदैन। उनका अनुसार उदारवादको परिणाम समता होइन, अवसरको समानता हो। आधुनिक उदारवादी समाजमा पहिचानमा आधारित राजनीति चुनौतीका रूपमा रहेको छ। यसले समाजमा राष्ट्रिय पहिचानलाई कमजोर बनाउनुका साथै समाजमा द्वन्द्व सिर्जना गर्दछ।
यसका लागि साझा नागरिक पहिचानमा जोड दिनुपर्छ। उदार समाजको स्थायित्वका लागि न्यायालय, संसद्, नागरिक समाज, प्रशासन, संवैधानिक अङ्गहरू, पत्रकार जगत जस्ता संस्थाहरूको सुदृढीकरण र निष्पक्ष कार्यसम्पादन हुनुपर्छ। सरकार सानो मात्र होइन प्रभावकारी पनि हुनुपर्छ। सुशासनको प्रत्याभूति हुने गरी सार्वजनिक सेवा प्रवाह हुनुपर्छ।
उदार समाजमा कानूनी पक्षका साथै नागरिक व्यवहारको पनि महत्त्वपूर्ण भूमिका हुन्छ। हरेक नागरिकहरूमा सामूहिक जिम्मेवारी, सहिष्णुता तथा अरूको अधिकारको सम्मान गर्ने भावना हुनुपर्छ। बजार अर्थतन्त्रले असमानतालाई बढाउने हुँदा सरकारले सामाजिक सुरक्षालाई उच्च प्राथमिकता दिनुपर्छ।
लेखकले यस पुस्तकमा शास्त्रीय उदारवादका मूलभूत मूल्यहरू व्यक्तिगत स्वतन्त्रता, कानूनको शासन, सहिष्णुतामा चुनौती आएको हुँदा त्यसतर्फ सचेत गराएका छन्। पपुलिज्म, उग्रदक्षिणपन्थी, उग्रवामपन्थी तथा पहिचानवादी राजनीतिले उदारवादलाई कमजोर बनाएको तर्क गरेका छन्। उदारवादलाई जोगाउन मध्यमार्गी बाटो र संयम आवश्यक रहेको उल्लेख गरेका छन्।
विश्वव्यापी रूपमा भएको राजनीतिक ध्रुवीकरण बुझ्न र लोकतन्त्रको रक्षाका लागि सचेत गराएका छन्। उदारवादको असन्तुष्टि उदारवादको अन्त्य होइन, सुधारका लागि गरिएको अपिल मात्र हो। तसर्थ उदारवाद त्याग्ने होइन सुधार गर्दै सन्तुलित बनाउनुपर्छ भन्ने सन्देश दिएका छन् ।
प्रतिक्रिया 4