News Summary
Generated by OK AI. Editorially reviewed.- स्याङ्जाका स्थानीय तहहरूले लोपोन्मुख काठे गाई र हल गोरु संरक्षणका लागि किसानलाई नगद वितरण गरेका छन्।
- गल्याङ नगरपालिकाले ११५ जना किसानलाई हल गोरु पालेबापत प्रतिहल पाँच हजार रुपैयाँका दरले प्रोत्साहन रकम वितरण गरेको छ।
- अर्जुनचौपारी गाउँपालिकाले लोपोन्मुख काठे गाई संरक्षण गर्न प्रतिगाई वार्षिक १२ हजार रुपैयाँका दरले रकम वितरण गरेको छ।
२९ असार, स्याङ्जा । स्याङ्जाका स्थानीय तहहरूले लोपोन्मुख लोकल काठे गाई र हल गोरु संरक्षणका लागि किसानलाई नगद अनुदान दिने कार्यक्रम विस्तार गरेका छन् । परम्परागत पशुपालन जोगाउने र कृषकलाई त्यसतर्फ आकर्षित गर्न भन्दै विभिन्न पालिकाले प्रोत्साहन रकम वितरण गरेका हुन् ।
स्याङ्जाका ११ स्थानीय तहमध्ये गल्याङ नगरपालिका र फेदीखोला गाउँपालिकाले हल गोरु पाल्ने कृषकलाई नगद उपलब्ध गराएका छन् भने अर्जुनचौपारी गाउँपालिकाले लोकल काठे गाई पाल्नेलाई प्रोत्साहन अनुदान दिएको छ । बिरुवा गाउँपालिकाले भने आगामी आर्थिक वर्षदेखि हल गोरु पाल्नेलाई नगद दिने नीति लिएको जनाएको छ ।
गल्याङ नगरपालिकाले ११ वटै वडाका ११५ जना कृषकलाई पाँच हजार रुपैयाँका दरले पाँच लाख ७५ हजार रुपैयाँ वितरण गरेको छ । नगरप्रमुख गुरुप्रसाद भट्टराईका अनुसार पछिल्लो समय पावर टिलरलगायत आधुनिक प्रविधिको प्रयोग बढेसँगै हल गोरु पाल्ने चलन घट्दै गएको छ । यही अवस्थालाई ध्यानमा राखेर परम्परागत कृषि प्रणाली जोगाउन प्रोत्साहन कार्यक्रम सञ्चालन गरिएको हो ।
उनका अनुसार ११५ जना कृषकबाट ११६ हल गोरुको आवेदन परेपछि सोही आधारमा अनुदान उपलब्ध गराइएको हो । यो कार्यक्रम चालु आर्थिक वर्ष २०८२/८३ को कृषक प्रोत्साहन योजनाअन्तर्गत सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।
यसैगरी, फेदीखोला गाउँपालिकाले पनि चार वर्षदेखि हल गोरु पाल्ने कृषकलाई प्रोत्साहन रकम उपलब्ध गराउँदै आएको छ । यस वर्ष ११ हल गोरुका लागि प्रतिहल १० हजार रुपैयाँका दरले अनुदान वितरण गरिएको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले बताए ।
उनका अनुसार गाउँपालिकाले प्रत्येक दुई वर्षमा हल गोरु पाल्ने कृषकलाई प्रोत्साहन रकम उपलब्ध गराउने नीति लिएको छ । गत आर्थिक वर्षमा भने ११४ हल गोरुका लागि अनुदान वितरण गरिएको थियो ।
अर्जुनचौपारी गाउँपालिकाले भने लोप हुने अवस्थामा पुगेको लोकल काठे गाई संरक्षणलाई प्राथमिकतामा राखेको छ । गाउँपालिकाले एउटा काठे गाई पाल्ने कृषकलाई मासिक एक हजार रुपैयाँका दरले वार्षिक १२ हजार रुपैयाँ उपलब्ध गराएको छ ।
गाउँपालिका अध्यक्ष प्रकाश तिवारीका अनुसार काठे गाई राष्ट्रिय सम्पदा मात्र नभई यसको गोबर, गहुँत, सिङ र हड्डीसमेत विभिन्न प्रयोजनमा उपयोग हुने भएकाले संरक्षण आवश्यक छ । यही उद्देश्यले कृषकलाई प्रोत्साहन रकम उपलब्ध गराइएको उनले बताए ।
चालु आर्थिक वर्षमा अर्जुनचौपारी गाउँपालिकाले ८१ वटा काठे गाईका लागि नौ लाख ७२ हजार रुपैयाँ अनुदान वितरण गरेको छ ।
यसैबीच, बिरुवा गाउँपालिकाले पनि आगामी आर्थिक वर्षदेखि एक हल गोरु पाल्ने कृषकलाई १० हजार रुपैयाँ प्रोत्साहन रकम उपलब्ध गराउने नीति सार्वजनिक गरेको छ । स्थानीय तहहरूले सञ्चालन गरेका यस्ता कार्यक्रमले परम्परागत पशुपालन संरक्षणसँगै कृषकलाई व्यवसायमा टिकाइराख्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया 4