News Summary
Generated by OK AI. Editorially reviewed.- साथी चिल्ड्रेनले आफ्नो २५औँ स्थापना दिवस मनाउँदै हालसम्म ४०० भन्दा बढी बालबालिकालाई शिक्षा र सीपमार्फत आत्मनिर्भर बनाएको जनाएको छ।
काठमाडौं । लैङ्गिक हिंसामा परेका महिला र उनीहरूसँग आएका बालबालिकालाई तत्काल आश्रय दिने उद्देश्यले सुरु गरिएको कार्यक्रम अहिले उनीहरूलाई आत्मनिर्भर बनाउने अभियानमा रूपान्तरण भएको छ ।
हिंसाबाट प्रभावित बालबालिकाका लागि काम गर्दै आएको ‘साथी चिल्ड्रेन’ ले पछिल्लो २५ वर्षमा ४०० भन्दा बढी बालबालिकालाई शिक्षा, सीप र सुरक्षित भविष्यतर्फ डोर्याएको जनाएको छ । आइतबार २५औँ स्थापना दिवस मनाउने क्रममा साथी चिल्ड्रेनले यस्तो जानकारी दिएको हो ।
साथी संस्थाले सन् १९९२ मा हिंसामा परेका महिलाका लागि पहिलो आश्रयस्थल सञ्चालन गरेको थियो । त्यसपछि आमासँग आएका बालबालिकाको संरक्षण आवश्यक देखिएसँगै सन् २००१ देखि ‘साथी चिल्ड्रेन’ कार्यक्रम सुरु गरेको थियो । अहिले काठमाडौं, नेपालगन्ज, बारा र कञ्चनपुरमा बालक र बालिकाका लागि छुट्टाछुट्टै आवासीय संरक्षण केन्द्र सञ्चालनमा छन् ।
कार्यक्रम संयोजक अन्जु सिंहका अनुसार संस्थाले बालबालिकालाई माध्यमिक तहदेखि स्नातकसम्म अध्ययनको अवसर उपलब्ध गराउँदै आएको छ ।
यसका साथै प्लम्बिङ, सिलाइ, कम्प्युटर, होटल व्यवस्थापनलगायतका सीपमूलक तालिम पनि प्रदान गर्दै आएको छ । ‘१८ वर्ष पुगेपछि बाहिर पठाउने होइन, उनीहरू आफ्नै खुट्टामा उभिन सक्ने अवस्था नआएसम्म साथ दिन्छौं’ सिंहले भनिन् ।
हाल संस्थाका विभिन्न आवासीय केन्द्रमा २०० भन्दा बढी बालबालिका र किशोरकिशोरी बस्दै आएका छन् । २५ वर्षको अवधिमा ४०० भन्दा बढी बालबालिकाले यहाँबाट शिक्षा र सीप हासिल गरी आत्मनिर्भर जीवन सुरु गरिसकेको संस्थाले जनाएको छ ।
संस्थाबाट लाभान्वित राजन गहतराजले साथीकै सहयोगका कारण आफूले शिक्षा र सीप प्राप्त गरी अहिले परिवारसहित सम्मानपूर्वक जीवन बिताउन सकेको बताए । ‘साथीले नपढाएको र सीप नदिएको भए आज आफ्नै घर बनाएर परिवारसँग बस्न सक्ने अवस्था आउने थिएन’ उनले भने । विनिता सुचीकार, सोनिया श्रेष्ठ र अनिलकुमार सार्कीले पनि संस्थाको सहयोगले उच्च शिक्षा हासिल गर्न सकेको अनुभव सुनाए ।
कार्यक्रममा फ्रान्सेली फार्मासिस्ट जिन–मिशेल पेनीलाई संस्थाको दीर्घकालीन सहयोगका लागि विशेष सम्मान गरिएको थियो । उनले स्थापना गरेको स्मार्ट फार्मा कम्पनीको नाफा, आफ्ना परिवार तथा कर्मचारीबाट संकलित रकममार्फत प्रत्येक वर्ष साथीलाई आर्थिक सहयोग गर्दै आएका छन् ।
‘बालबालिकाको जीवन छोटो परियोजनाले परिवर्तन हुँदैन’ उनले भने, ‘उनीहरू उच्च शिक्षा र सीप हासिल गरेर सक्षम नागरिक नबन्दासम्म मेरो सहयोग निरन्तर रहनेछ ।’
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले महानगरले महिला, बालबालिका र ज्येष्ठ नागरिक लक्षित सामाजिक कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएको बताए ।
साथी संस्थाकी अध्यक्ष सजनी अमात्यले हिंसामा परेका महिला, अभिभावकविहीन बालबालिका, सडक बालबालिका तथा आमासँग मात्रै आश्रित बालबालिकालाई सुरक्षित संरक्षण, शिक्षा र आत्मनिर्भर जीवनतर्फ अघि बढाउनु संस्थाको मुख्य उद्देश्य रहेको बताइन् ।
प्रतिक्रिया 4